चिकित्सक–नर्स : काममा सँगसँगै, अधिकारमा फरक
काठमाडौं, ३० वैशाख । अहिलेको अवस्थामा जति सक्रिय रुपले डाक्टरहरु काम गरिरहेका छन् त्यति नै सक्रिय भएर नर्सहरु पनि काम गरिरहेका छन् । विश्वव्यापी महामारीको यो लडाईंमा डाक्टर र नर्स अग्रस्थानमा खटिएका छन् । भूमिका फरक भएपनि काम खटाईको दृष्टिकोणले नर्सले डाक्टरको भन्दा बढी काम गरिरहनु परेको छ ।
कोभिड १९ को यो लडाईंमा डाक्टर भन्दा बढी नर्सले बिरामीलाई समय दिनुपर्ने र उनीहरुको रेखदेखमा खटिनु परेको छ । तर, अधिकारको कुरा आउँदा सँधै नर्सलाई सरकारले वेवास्ता गर्ने गरेको नर्सहरुको गुनासो छ ।
सरकारले सँधै चिकित्सको अधिकारलाई ध्यानमा दिएर नीति र विधेयक ल्याउने कुराले पनि नर्सको अधिकार ओझेलमा पर्ने गरेको नर्सिंग संघकी अध्यक्ष मन कुमारी राईको भनाइ छ । कोरोनाको उपचारमा चिकित्सक जतिकै जोखिममा नर्सहरु खटिएपनि उनीहरुलाई विभिन्न स्थानमा विभेद गरिएको समाचार सुन्नुपरेको र यसमा सरकारले अझैं नर्सहरुको सुरक्षाका लागि कुनै व्यवस्थापन गर्न नसकेको आरोप लगाईन् ।
नेपाल नर्सिङ परिषद्का अनुसार नेपालमा करिब ९० हजार नर्स छन् । यस्तै नेपाल चिकित्सक संघका अनुसार नेपालमा हाल २५ हजारको संख्यामा चिकित्सक छन् । डाक्टरले बिरामीको चेकजाँच गरिसकेपछि बिरामीको सम्पूर्ण रेखदेख गर्ने नर्सले नै हो । नर्सले आफ्नो भूमिका यदि सक्रिय रूपमा निर्वाह गरेनन् भने बिरामीको अवस्था झन् नाजुक हुनसक्छ । किनकी बिरामीले खाने औषधिदेखि बिरामीको सम्पूर्ण अवस्थाको ख्याल गर्ने भनेको नर्स नै हुन् । अस्पतालमा डाक्टर र नर्सको सम्बन्धका कारण नै बिरामीको सेवा सुविधा दिन सहज हुने गर्छ र बिरामी निको भएर घर फर्कने गर्छ ।
बिरामीको रेखदेखका लागि यदि नर्स भएन भने डाक्टरहरूले लेखेको वा के भनेको छ भन्ने बुझ्न बिरामीलाई निकै समस्या हुन्छ । यसकारण अस्पतालमा यी दुईको महत्व कसैले पनि बुझ्न सक्दैन । तर, जब नर्स वा डाक्टहरूको अधिकारको लागि आन्दोलन गर्छन त्यसबेला नर्स र चिकित्सक बिलकुलै फरक हुन्छन । उनीहरूको बाटो सँधै अलग हुन्छ । चिकित्सकको आन्दोलन हुँदा नर्सको सहभागिता हुँदैन भने नर्सको आन्दोलनमा चिकित्सको भूमिका हुँदैन । २५ हजार चिकित्सकका लागि सबैले आ–आफ्नो स्थानबाट प्रयास गर्दै अघि बढ्छ भने नर्सलाई महिला भएकै कारण हेप्नेहरूको संख्या पनि धेरै छ । खासमा नर्सका कुराहरू उठाइदिने, उनीहरूको समस्या समाधान गरिदिने र नर्सलाई सम्मानका साथ सबै स्थानमा राख्नका लागि पनि खासै सबैको प्रयास भएको देखिदैन ।
अचम्म लाग्दो अवस्था त्यस बखत हुन्छ जब डाक्टरको आन्दोलनमा नर्सको संलग्नता हँुदैन र नर्सको आन्दोलनमा डाक्टरको भूमिका हुँदैन । डाक्टर बिना नर्स र नर्स बिना डाक्टरको काम अधुरो हुन्छ । तर, यी दुईबीच नै समन्वय नहुँदा यी दुईको तालमेल अन्य काममा पनि सोचे अनुसारको हुँदैन । नर्सहरूका लागि मुलुकका ठूला निकायहरूमा भएका पदहरू पनि खारेज गरेर नर्सको अस्तित्व नै सरकारले धरापमा पार्न खोज्दा पनि नर्सको लागि आवाज उठाउने कोहि भेटिँदैन । हुन त नर्सको हकहितका लागि भनेर नेपाल नर्सिङ संघ त छ तर नर्सको मागमा भने सरकारकै पनि खासै चासो देखिँदैन । डाक्टरहरूको आन्दोलन हुँदा सम्पूर्ण डाक्टरका साथै मानवअधिकारकर्मी, सर्वसाधारण सडकमा उत्रिन्छन् तर नर्सको आन्दोलनलाई सँधै दबाइएको देखिन्छ ।
नर्सका अधिकार डाक्टरलाई थाहा नहुनसक्छः डा. कार्की
जसरी डाक्टरको अधिकारका लागि सबै एकजुट हुन्छन् त्यसरी नै नर्सहरूको आन्दोलनमा कोहीपनि अगाडी आएको देखिदैन । डाक्टरहरूले किन नर्सको आन्दोलनमा सहभागिता जनाउँदैन भन्ने जिज्ञासाको बारेमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की भन्छन्, ‘सबैको हक हितका लागि संस्थाहरू छन् । उनीहरूले आफ्नो हक अधिकारका लागि आफैंले आवाज उठाउन सक्नुपर्छ ।’
डा. कार्कीका अनुसार नर्सहरूको आफ्नै पीडा भएको हुँदा आफूले कुन मागलाई कसरी उठाउने भन्ने नै थाहा नहुँदा समस्या भएको हो । उनले भने, ‘आन्दोलनमा जाँदा वा कुनै पनि समस्या हुँदा डाक्टरहरूको साथ खोज्ने भन्दा पनि आफैं बलियो भएर अगाडी आउनुपर्छ । फेरि यस्तो बेलामा डाक्टरले पाउने अधिकार नर्सलाई पनि उस्तै हुन्छ भन्ने हुँदैन । सबैको हक अधिकार फरक फरक हुन्छ ।’ उनले थपे, ‘नर्स र डाक्टर एकै सिक्काका दुई पाटा हुन्, त्यहि भएर हामी सँधै समानान्तर ढंगबाट अघि बढ्न खोज्छौं । तर, नर्सहरूले नै हामीलाई वास्ता गर्दैनन् ।’
विधेयकमै विभेदः पोखरेल
राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमै असन्तुष्ट रहेको नर्सिङ संघले विधेयकको नाम परिवर्तन गर्नुपर्छ भन्दै आएको छ । नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष तारा पोखरेलले चिकित्सा शिक्षा विधेयकमा नर्सको सम्बन्धमा कुनैपनि कुरा उल्लेख नगरेको भन्दै विधेयक हामीलाई स्वीकार्य नहुने बताइन् । उनले भनिन्, ‘चिकित्साको अर्थ चिकित्सा क्षेत्रमा कार्यरत सम्पूर्ण व्यक्ति हो तर, चिकित्सा शिक्षा विधेयकमा नर्सिङको बारेमा कतै उल्लेख नै छैन । त्यसकारण यो विभेदकारी विधेयक स्वीकार्य हुँदैन ।’
उनले नर्सलाई समस्या परेको बेला चिकित्सकले वास्ता नगर्ने हुनाले उनीहरूको आन्दोलनमा सहभागिता नजनाएको बताइन् ।
समग्रमा हेर्दा नर्सको आन्दोलनमा सरकारले निर्वाह गरेको भूमिका डाक्टरको आन्दोलमा गरेको भूमिका भन्दा फरक हुने गरेको छ । सरकार २५ हजार चिकित्सकका लागि ठोस निर्णय, नीति निर्माण गर्छ भने ८५० हजार नर्सहरूको लागि भएको पदहरू खोस्दै जाँदा नर्सहरूको अस्तित्व नै जोखिममा पारेको देखिन्छ ।
सरकारले गरेको यो भेदभावबाट नर्सहरूदुखि हुनु पनि स्वभाविक हो । किनकी हाल मुलुकमा प्रतिवर्ष सरदर ७ हजार ७ सय ४० को संख्यामा विभिन्न तहका नयाँ नर्सिङ्ग जनशक्तिको उत्पादन भइरहेका छन् । अर्कोतिर वर्षेनी करिब एक, दुई सयको हाराहारीमा नयाँ बिएस्सी नर्सिङ्ग विदेशबाट अध्ययन गरी फर्किन्छन् । हाल नेपाल सरकार मातहतको सरकारी तथा सरकारी स्वामित्वमा रहेका अस्पतालहरूमा साधारणता एक नर्स बराबर २०–२५ जना बिरामीलाई जनरल वार्डमा सेवा पु¥याउँदै आइरहेको देखिन्छ । यति धेरै संख्यामा नर्सहरू उत्पादन हुँदा पनि उनीहरूलाई बेवास्ता गर्नाले स्वास्थ्य क्षेत्रमा यसै पनि ठूलो प्रभाव पर्ने देखिन्छ ।
संघकी पूर्व अध्यक्ष पोखेरेल अहिले चिकित्सा शिक्षा आयोगमा सदस्य छिन् । नर्सहरुले विधेयकको विरोध गर्न थालेपछि सरकारले उनलाई नर्सको तर्फबाट सदस्यमा नियुक्त गरेको भन्ने पोखरेलकै बुझाई छ । पोखरेल भन्छिन्, 'नर्सको आन्दोलनकै कारण मलाई आयोगमा सदस्य राखिएको हो । त्यस कारण जति सकिन्छ नर्सको हक र अधिकारका लागि आयोगमा व्यवस्था गर्न लगाउने र हरसम्भव प्रयासबाट नर्सिंग क्षेत्रको विकासका लागि काम गर्छु ।'
हजार जनाका लागि ५ जना नर्स
सन् ०१२ को तथ्याङ्क अनुसार नेपालमा प्रति हजार जनसंख्यामा ०.०५ नर्सिङ्ग जनशक्ति रहेको देखिन्छ । जबकी विश्व स्वास्थ्य संगठनको अनुसार गुणस्तर स्वास्थ्य सेवा प्रदान गर्न प्रति हजार जनसंख्यामा २३ नर्सिङ्ग जनशक्तिको व्यवस्था हुनुपर्छ भनी निर्धारण गरेको छ । कुनै पनि राष्ट्रको स्वास्थ्य क्षेत्रको मानव संसाधन सम्बन्धी दीर्घकालीन, मध्यकालीन तथा अल्पकालीन नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्नु राज्यको दायित्व हो ।
मानव संसाधन योजनाको मूल उद्देश्य विद्यमान अवस्थाको विश्लेषण गरी मुलुकको जनसंख्यामा भावी दिनहरूमा आउने परिवर्तन, जनस्वास्थ्यका चुनौतिहरू पहिल्याउनु पर्ने हुन्छ । स्वास्थ्य क्षेत्रको मानव संसाधन योजना महत्वपूर्ण रूपमा अन्तर्राष्ट्रिय जगतमा लिएको पाइन्छ । यसो गर्न सके मात्र लक्ष्य अनुसारको गुणस्तरीय सेवा प्रदान गर्नको लागि सहयोग मिल्छ । विद्यमान अवस्था विश्वभर स्वास्थ्य सेवा क्षेत्रमा स्वास्थ्य जनशक्ति मध्येको ठूलो हिस्सा ओटेको नर्सिङ्ग जनशक्ति रहेको अवस्था जगजाहेर छ ।
नर्सिङ्ग तथा मिड्वाइफ्री जनशक्ति र जनसंख्याको अनुपातका साथै चिकित्सक र जनसंख्याको अनुपात देशको आर्थिक र सामाजिक स्तरको विकासको अवस्थासँगै फरक फरक रहेको पाइन्छ । सामान्यतया स्वास्थ्य क्षेत्रमा धेरै लगानी गर्ने राष्ट्रहरूमा स्वास्थ्य जनशक्तिको बलियो उपस्थिति देखिन्छ । यसको अनुपात विकासशील मुलुकहरूको दाँजोमा विकसित मुलुकमा राम्रो रहेको पाइन्छ ।