कोरोना भाइरस महामारी रोकथाममा फर्मासिस्टको भूमिका 



Download our app to get more features

सन् २०१९ डिसेम्बरमा चीनको हुवेई प्रान्तको वुहान शहरमा देखिएको नोवेल कोरोना भाईरस (कोभिड–१९) ले विश्वका शक्तिशाली र उत्कृष्ठ स्वास्थ्य सेवा भएका देशहरूलाई समेत रोग नियन्त्रण र रोकथाम हम्मे हम्मे बनाइरहेको छ । यस्तो अवस्थामा कोरोना भाइरस नियन्त्रणमा नेपाललाई सहज हुने सम्भावना नै भएन । कोरोना संक्रमित  दिनहु बढ्न थालेपछि ३१ जनवरी २०२० मा विश्व स्वास्थ्य संगठनले सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरि विश्वको ध्यानाकर्षण गराएको थियो । 

कोभिड–१९ को महामारीविरुद्ध विश्व नै लडिरहेको विषम घडीमा अन्य स्वास्थ्यकर्मीसँगै फर्मासिस्ट  र सहायक फर्मासिस्टहरू पनि अग्रीम मोर्चामा क्रियासिल छन् भन्ने कुरालाई नकार्न सकिँदैन । इन्टरनेशनल फर्मास्युटिकल्स फेडेरेसनका अनुसार हालसम्म विश्वभर १८ फार्मेसी पेशाकर्मीले कोभिड–१९ को संक्रमणका कारण ज्यान गुमाएका छन् । जसमध्ये चीन र स्पेनमा १–१ जना छन् भने इटालीबाट १०, टर्कीबाट ४ र बेलायतका २ जना छन् । तसर्थ, कोभिड–१९ महामारी व्यवस्थापनमा सामुदायिक साथै अस्पताल फार्मेसीमा कार्यरत फर्मासिस्ट  र सहायक फर्मासिस्टहरूको पृथक साथै झट्ट नदेखिने अदृश्य र महत्वपूर्ण भुमिका रहेको विषयलाई बुँदागत रुपमा यसरी प्रष्ट्याउने कोसिस गरेको छु ।

  • स्वास्थ्य सेवा प्रणालीमा पहिलो तहमा ठोकिने भनेको आफू नजिक रहेको फार्मेसी (औषधि पसल) हो । यसकारण स्वास्थ्यकर्मी भएको नाताले पनि यस महामारीसम्बन्धी सही र सत्य सूचना प्रवाह गर्नु समाजप्रतिको नैतिक दायित्व हो । 
  • कोभिड–१९ महामारीका कारण देशभर भएको बन्दाबन्दीले गर्दा औषधि तथा औषधिजन्य सामाग्रीको अभाव खड्किन सक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै  विशेषगरि दैनिक सेवन गर्ने दीर्घकालिन रोग (जस्तै : मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल, श्वासप्रश्वास) सम्बन्धी औषधिहरू, सामान्य रुघाखोकी र ज्वरोमा धेरै प्रयोग हुने औषधि साथै कोभिड–१९ महामारीकाे रोकथामका निम्ति प्रयोग हुने सामग्री (जस्तै: माक्स, ह्यान्ड स्यानिटाइजर, थर्मोमिटर र अल्कोहल बेस ह्यान्ड रब) आदिको आवश्यक र उचित व्यवस्था गरि स्वास्थ्य उपचारको प्रत्याभुति गराउनुमा फार्मेसी पेशाकर्मीको महत्वपुर्ण भूमिका रहन्छ ।
  • फर्मासिस्ट औषधि तथा औषधिजन्य सामग्रीसम्बन्धी विज्ञता तथा ज्ञान हासिल गरेको अब्बल जनशक्ती भएकाले अत्यन्त जटिल अवस्था बाहेक फार्मेसी सेवा लिन आउने र आफ्नो समुदायमा दीर्घकालिन औषधि सेवन गर्ने बिरामीलाई औषधि सेवन तथा औषधिजन्य सामग्रीकाे उचित प्रयोग र स्वास्थ्य सुधारका निम्ति जीवन शैलीमा परिवर्तन गर्नुपर्ने आचरणसम्बन्धी आवश्यक परामर्श दिएर सामुदायिक फार्मेसीमा कार्यरत फर्मासिस्ट र सहायक फर्मासिस्टले यो महामारीको समयमा अस्पतालमा हुनसक्ने अनावश्यक भीडभाड नियन्त्रणमा अदृश्य भूमिका निर्वाह गर्नसक्छ ।
  • स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने सामुदायिक तथा अस्पताल फार्मेसीमा कार्यरत फर्मासिस्ट  र सहायक फर्मासिस्टलाई कोभिड–१९ र यसको रोकथाम सम्बन्धमा विज्ञमार्फत आवश्यक परामर्श साथै तालिम दिने हो भने फार्मेसीमा आउने बिरामीले देखाएको लक्षण साथै सो व्याक्तिको ट्राभल हिस्ट्री हेरेर नजिकको फिबर क्लिनिक तथा कोभिड–१९ उपचारमा संलग्न अस्पतालसँग समन्वय गरि बिरामीको स्क्रिनिङमा महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्छ भन्ने उदाहरण अमेरिकाको विभिन्न शहरमा कार्यरत फर्मासिस्टको योगदान र त्यहाँको राज्य सरकारले दिएको अधिकारलाई लिन सकिन्छ ।
  • कोभिड–१९ भाइरस रोकथाममा इबुप्रोफेनको कुनै भुमिका नभएको तथ्य विश्व स्वास्थ्य संगठनले पुष्टि गरिसकेको अवस्थामा  फर्मासिस्टले यस्ता अपडेटहरु अन्य स्वास्थ्यकर्मीहरुलाई जानकारी गराउने र फार्माकोभिजिलेन्स एवं उपचार परिणामको निगरानी गरि औषधिबाट हुनसक्ने नकारात्मक असर न्युनिकरण गर्दै बिरामीको सफल स्वास्थ्य उपचारमा महत्वपूर्ण भूमिका खेल्छ ।
  • नेपाल सरकार स्वास्थ्य तथा सूचना केन्द्रले प्रकाशित गरेको जानकारीमुलक सन्देशयुक्त पोस्टर र पम्प्लेटहरु अस्पताल एवं सामुदायिक फार्मेसीमा राखेर आउने बिरामीहरुलाई जानकारी गराउने । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट यस महामारीसम्बन्धी प्रकाशित आधिकारिक तथ्य बारे जनचेतना जगाउनाले सामाजिक सञ्जालमा फैलिएका भ्रामक एवं त्रासयुक्त पोस्टहरुले मानिसको मनोविज्ञनमा पर्न गएको नकारात्मक असरलाई न्युनिकरण गर्न फर्मासिस्टहरुले सकारात्मक भूमिका निर्वाह गर्नसक्छ ।
  • यसरी कोरोना उपचारसँगसम्बन्धी औषधिजन्य भ्रमहरूबाट सबैलाई सुसूचित गराउँदै प्रत्येक फार्मेसी जनशक्तिले आ–आफ्नो ठाउँबाट आफ्नो सीप क्षमताले भ्याएसम्मको योगदान दिई उल्लेखित गतिविधिहरूमा खरो उत्रन सके यो विषम परिस्थिति फार्मेसी पेशाको निम्ति चुनौती मात्र नभएर पेशालाई नै विकास गर्ने सुनौलो घडी सावित हुनेमा कुनै दुई मत छैन । (लेखक थापा मगर भरतपुर अस्पताल चितवनका फार्मेसी ईन्चार्ज हुन् ।)
Last modified on 2020-05-09 12:10:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts