कोभिड–१९ को निदानात्मक परीक्षण विधि, हालको आवश्यकता र समाधानका उपाय
हाल विश्वव्यापी महामारीको रुपमा देखिएको कोभिड–१९ को जोखिमबाट नेपाल पनि अछुतो रहन सकेन । फलतः नेपालमा पनि यसद्वारा संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै जाँदा निदान परीक्षण विधि बारेमा बहस गर्न जरुरी देखिएको छ । यसको परीक्षण विधि अन्तर्गत द्रुत परीक्षण र सबैभन्दा उत्तम मानिएको रियल टाइम रिभर्स ट्रान्सक्रिप्टस पोलिमेयर चेन रियाक्सन (आरटिपिसिआर) चर्चा छ । यी परीक्षण विधिको विवेचना गर्नुअघि भाइरस, कोभिड–१९ गराउने भाइरस र यसको निदानका विधि बारे प्रष्ट्याउन जरुरी ठानेको छु ।
भाइरस (विषाणु)
भाइरस एउटा अत्यन्तै सुक्ष्म जीवाणु हो, तर यसले नत सजिवको मात्रै गुण देखाउँछ नत निर्जीव वस्तुको नै सम्पूर्ण गुण देखाउँछ । यसले सजिव वस्तुका केही गुण र निर्जीव वस्तुका केही गुणहरु देखाउँछ । तसर्थ, यसलाई सजिव तथा निर्जीव वस्तुको पुल को रुपमा लिने गरिन्छ । भाइरस ब्याक्टेरिया भन्दा हजार गुणा सानो हुन्छ । ब्याक्टेरियालाई नांगो आँखाले देख्न सकिदैन । त्यसैले ब्याक्टेरियाहरुलाई हेर्न कम्पाउण्ड माइक्रोस्कोप प्रयोग गरिन्छ भने भाइरसलाई यस माइक्रोस्कोपले पनि देखिदैन । त्यसैले भाइरसलाई अल्ट्रा माइक्रोस्कोपिक सुक्ष्म जीवाणु पनि भनिन्छ । भाइरसलाई हेर्न इलेक्टो«न माइक्रोस्कोप प्रयोग गरिन्छ । जुन उपकरण असाध्यै महंगो हुन्छ ।
भाइरसका जीवित गुण
भाइरसहरूले आफै स्वतन्त्र रुपमा सन्तान उत्पादन गर्न सक्दैनन् । तसर्थ, यिनीहरूलाई प्रजनन्को लागि जीवित कोषको आवश्यकता पर्छ । मानिसलाई रोग लगाउने भाइरसहरूले मानिसका जिवित कोषहरूमा टाँसिएर कोषभित्र प्रवेश गरि कोषको विभिन्न जैविक वस्तु उत्पादन गर्ने संयन्त्र (बायो सेन्थिसिस् मेकानिज्जम) लाई आफ्नो नियन्त्रणमा लिन्छ । त्यसपछि आफु अनुसार आफ्ना सन्ततीका लागि आवश्यक पर्ने जैविक वस्तुहरुको उत्पादन गर्छ । अन्त्यमा मानिसको कोषमा लाखौंलाख सन्तति उत्पादन गरि जीवित कोषलाई क्षति पुर्याएर सन्तती बहिर निस्कने गर्छन् । अर्को महत्वपूर्ण जीवित वस्तुको चरित्र भनेको भाइरसको जेनेटिक वस्तुमा हुने अपरझट परिवर्तन हो । यी दुई वटा चरित्र बाहेक अरु सबै गुण निर्जीव वस्तुसँग मिल्छ ।
भाइरसका प्रकार
भाइरसभित्र रहेको जेनेटिक म्याट्रियलको आधारमा यसलाई दुई भागमा बाँडिएको छ ।
१) आरएनए भाइरस
२) डिएनए भाइरस
मनिसलाई रोग लगाउन सक्ने भाइरस मध्ये तीन चौथाइ भन्दा बढी आरएनए भाइरसहरु रहेका छन् । डिएनए भाइरसले थोरै मात्रामा मात्र रोग लगाउने गर्छन् । तसर्थ, अरएनए भाइरसको परिवारको संख्या डिएनए भाइरसहरुको तुलनामा अत्याधिक ठूलो छ । डिएनए भाइरसहरुसँग रहेको जेनेटिक म्याट्रियल स्थिर हुन्छ । त्यसैले रेडियसन, रसायन र वातावरणमा आएको असरलाई यसले सहन सक्ने हुनाले यसमा अपरझट हुने परिवर्तन कम हुने गर्छ । तर आरएनए भाइरसमा रहेको जेनेटिक म्याट्रियल अस्थिर हुन्छ । जसलाई सजिलै माथि उल्लेखित तत्वहरूको असर पर्न जाँदा अपरझट हुने परिवर्तन सजिलै र बढी मात्रामा हुने हुनाले यो परिवर्तनसँगै नयाँनयाँ प्रजातिको जन्म हुने गर्छ । त्यसैले विश्व इतिहासमा बेलाबेलामा आरएनए भाइरसहरूको संक्रमणले महामारी रुप लिदै आएको पाइन्छ । जस्तैं इन्फ्लुइन्जा, इबोला र नोवेल कोरोना भाइरस, आदि ।
कोभिड–१९ रोग
कोरोना भाइरस आरएनए भाइरस भएकोले यसलाई विभिन्न तत्वहरूले सजिलै उत्परिवर्तन गराउने हँुदा बेलाबेलामा यसका नयाँ नयाँ प्रजाति (मार्स, सार्स, कोभिड–१, कोभिड–२) को विकास भई यिनीहरूले विभिन्न खालका श्वासप्रश्वाससम्बन्धी रोग लगाउने र मानिसको मृत्युसम्म गराइरहेका छन् । माथि उल्लेखित ज्यानै लिन सक्ने कोरोना भाइरसको प्रजाति मध्ये अहिले फैलिएको सार्स–कोभिड२ एक नयाँ प्रजाति हो । जसलाई नोभल कोरोना भाइरस पनि भनिन्छ । यसले लगाउने रोगलाई कोभिड–१९ भनिएको छ ।
रोग प्रतिरोधात्मक क्षमता
सार्स–कोभिड२ भाइरसले संक्रमण गर्दा हाम्रो शरीरले यसलाई परास्त गर्न रोग प्रतिरोधात्मक शक्तिको रुपमा एन्टिबडी उत्पादन गर्छ । जुन एन्टिबडी निम्न प्रकार छन् ।
आइजिएम एन्टिबडी : यस कोभिड–१९ भाइरसका विरुद्ध हाम्रो शरीरले तीन दिनपछि नै आइजिएम एन्टिबडी उत्पादन गर्न थाल्छ । यसको उत्पादन सबै भन्दा बढी एकदेखि दुई साताको बीचमा हुने गर्छ । तसर्थ, द्रुत परीक्षणबाट यसलाई पत्ता लगाउनु भनेको हालसालै संक्रमण भएको र सक्रिय संक्रमणको चरणमा रहेको बुझाउँछ । यस्तो अवस्थामा अरुलाई रोग सर्ने संभावना बढी हुन्छ ।
आइजिजि एन्टिबडी : यस भाइरस संक्रमणको करिब एक सातापछि आइजिजि एन्टिबडी उत्पादन हुन शुरु थालछ । दुईदेखि चार सातासम्ममा सबैभन्दा बढी उत्पादन हुने गर्छ । जब यसको उत्पादन बढ्दै जान्छ क्रमशः आइजिएमको उत्पादन घट्दै जान्छ । यसको उत्पादन सबैभन्दा बढी भएपछि क्रमशः घट्छ र एउटा निश्चित मात्रामा उच्च दरमा शरीरमा रहिरहन्छ । तसर्थ, यसको मात्रा बढी देखिनुको अर्थ संक्रमण विगतमा भएको तर संक्रमण घट्दै गई निको हुने क्रममा रहेको वा पूर्णतय निको भएको भन्ने बुझिन्छ ।
कोभिड–१९ को निदानात्मक परीक्षण विधि
कोभिड–१९ को निदान गर्ने विभिन्न परीक्षणका विधि भए पनि महत्वपूर्ण विधिको रुपमा सेरोलोजिकल र न्यूक्लिक एसिड डिटेन्सन विधिलाई लिइन्छ । सेरोलोजिकल विधि अन्तर्गत द्रुत निदानात्मक परीक्षण (आरडिटी, इएलआइएसए, इम्युन फ्लोरेसेन्स ) पर्छन् । यिनीहरूले संक्रमितको रगतमा भएको एन्टिजीन वा एन्टिबडी पत्ता लगाउने गर्छन् । द्रुत निदानात्मक परीक्षणबाहेका माथि उल्लेखित परीक्षणका लागि महंगो सेटअप चाहिने र परीक्षण समय पनि बढी लाग्ने भएकाले तत्कालै नतिजा दिने परीक्षण विधि प्रयोगमा धेरै छ । न्यूक्लिक एसिड पत्ता लगाउने परीक्षणको रुपमा आरटि पिसिआरलाई लिइएको छ, जसलाई सबैभन्दा स्तरीय र भरपर्दो मानिन्छ ।
द्रुत निदानात्मक परीक्षण
द्रुत निदानात्मक परीक्षण (आरडिटी) विभिन्न किसिमका हुन्छन् । जसले छोटो समयमा संक्रमितको रगतमा भएको एन्टीजिन वा एन्टीबोडी पत्ता लगाउने हुनाले यस निदानात्मक परिक्षणलाई द्रुत भनिएको हो । यसका अन्य निम्न विशेषताहरुका कारणले यसको प्रयोग साधारणतय बढी गर्ने गरिन्छ ।
सस्तो परीक्षण
कम झण्जटिलो
प्रयोग गर्न सजिलो
विशिष्ट उपकरण आवश्यक नपर्ने
बिरामी भएकै ठाउँमा नै परीक्षण गर्न मिल्ने
प्राविधिकलाई कम तालिम भए पुग्ने
नतिजा छुट्टयाउन सजिलो हुने
नेपालमा प्रयोग भएको डब्लुओएनडिएफओ कम्पनीद्वारा निर्मित द्रुत निदानात्मक परीक्षण किट हो । यो रगतमा आधारित द्रुत परीक्षण किटको इस्पेसिफिसिटी ९९.५ प्रतिशत छ भने सेन्सेटिभिटी ८६.४३ प्रतिशत छ । यसको अर्थ दुई सय जना कोभिड–१९ बाट संक्रमित मध्ये १७ जनालार्ई यसले नेगेटिभ देखाउँछ भने कोभिड–१९ संक्रमण नभएका मध्ये एक जनामा पोजेटिभ देखाउने गर्दछ । द्रुत परीक्षणमा नेगेटिभ नतिजा आएमा पनि बिरामी संक्रमित छैन भन्न मिल्दैन । तसर्थ, यसलाई पक्कापक्की गर्नका लागि पिसिआर परीक्षण गर्नैै पर्छ ।
विद्यमान समस्या
१) हालसालै विभिन्न क्वारेन्टाइनमा राखिएका व्यक्तिलाई द्रुत परीक्षण नेगेटिभ आएको भरमा नै घर पठाइएको समाचार बाहिरिएको छ । यसरी पक्कापक्की रोग नलागेको भन्ने परीक्षण पिसिआर नगरि घर पठाउँदा समाजमा झन संक्रमण फैलने डर हुन्छ । किनकी द्रुत परीक्षणमा नेगेटिभ नतिजा आएमा पनि बिरामी संक्रमित छैन भन्न मिल्दैन । अझ उक्त व्यक्तिहरुमा कोभिड–१९ संक्रमण रहेको तर द्रुत परीक्षणले पत्ता लगाउने मात्रा भन्दा कम एन्टीबडीको मात्रा रहेकोले द्रुत परीक्षणमा नेगेटिभ रिपोर्ट आएको पनि हुन सक्छ ।
२) हाल नेपालमा प्रयोग भएको द्रुत परीक्षण किटमा दुई वटा मात्र डिटेक्सन ब्याण्ड छ । जहाँ एउटा कन्ट्रोल र अर्को टेष्ट लाइन हो । यदि टेष्ट लाइनमा पोजेटिभ देखियो भने यो पोजेटिभ आइजिवि वा आइजिएम वा दुवैको कारणले हो भन्ने छुट्याउन सकिदैन । जसले गर्दा संक्रमण हालको हो कि पहिला देखिको हो भन्ने यसले छुट्याउन सक्दैन । जसले गर्दा बिरामीमा अहिले संक्रिय संक्रमण छ वा छैन भनी छुट्याउन आरटि पिसिआर नगरि आइसोलेशनमा राख्नुपर्ने हुन्छ ।
हालको आवश्यकता/समाधानका उपाय
१) हाल प्रयोगमा आएको द्रुत परीक्षणमा गल्तीले संक्रमित नभएको (नेगेटिभ रिजल्ट) देखाउने सम्भावना बढी देखिएकोले पिसिआर गरेर मात्र क्वारेन्टाइनबाट घर फर्किने व्यवस्था गरिनुपर्छ ।
२) हरेक व्यक्तिको रोग प्रतिरोधात्मक शक्ति देखाउने क्षमता फरक फरक हुने हुँदा पिसिआर सबै क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुमा आवश्यकता अनुसार गर्न नसकिने भएमा कम्तीमा थप केही दिन राखि विकल्पमा इएलआइएसए परीक्षण गरि घर पठाउन उपयुक्त हुन्छ ।
३) हामीले पिसिआरबाट पर्याप्त मात्रामा परीक्षण गर्न नसकेको वर्तमान परिप्रेक्षमा कम्तीमा अब हामीले दु्रत परीक्षण किट प्रयोग गर्दा तीन वटा डिटेन्सन ब्याण्ड रहेको दु्रत परीक्षणलाई तत्कालै प्रयोगमा ल्याउनु पर्छ । यसमा एक वटा कन्ट्रोल लाइन र दुई वटा टेष्ट लाइनहरु (एक लाइन आइजिजिको लागि र अर्को लाइन आइजिएमको लागि) रहेको हुन्छ । जसले गर्दा आइजिजि र आइजिएम वा दुवै एण्टीबडी छ भनि पत्ता लगाउन सकिन्छ । जसले केही हदसम्म भए पनि वर्तमान र विगतको संक्रमणलाई छुट्याउन मद्दत गर्दछ । यहि नतिजा अनुसार बिरामीको व्यवस्थापनसम्बन्धी काम गर्न सकिन्छ । साथै सम्पर्क खोजीमा समेत यसले उपयुक्त मार्ग प्रशस्त गर्न सक्ने देखिन्छ ।
तत्कालै प्रयोगमा ल्याउनुपर्ने तीन वटा डिटेन्सन व्याण्ड रहेको द्रुत निदानात्मक परीक्षण किट
अन्त्यमा, विभिन्न अध्ययनहरुका अनुसार कोभिड–१९ को परीक्षणमा सबै भन्दा भरपर्दो मानिएको पिसिआर गर्न संक्रमणको एक सातासम्म स्वाब उपयुक्त हुने र त्यसपछि बिस्तारै संक्रमण फोक्सोतिर सर्ने हुनाले संक्रमणको दोस्रो साता परीक्षणका लागि खकार उपयुक्त हुने देखिएकोले हामीले पनि सोही अनुसार गर्न वान्छनिय देखिन्छ ।
(लेखक चितवन भरतपुरस्थित बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालका क्लिनिकल माइक्रोबायोलोजिस्ट हुन् र विद्यावारिधीका शोधार्थी पनि)