पाकिस्तानका कोरोना भाइरस संक्रमितको उपचारमा सक्रिय दुई नेपाली चिकित्सकको अनुभव 



Download our app to get more features

पाकिस्तानमा पहिलो पटक २६ फेब्रअरीमा कोरोना भाइरस संक्रमित फेला परेका थिए । करिब डेढ महिनाको अवधिमा पाकिस्तानमा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ । पाकिस्तान स्वास्थ्य मन्त्रालयका अनुसार १५ अप्रिलसम्ममा यहाँ कोरोनाका कारण ६ हजार ३ सय ८३ जना संक्रमित भएका छन् भने एक सय ११ जनाको मृत्यु भइसकेको छ । जसमा १४ सय ४६ कोरोना संक्रमित स्वस्थ भई घर फर्कीसकेका छन् ।
श्वासप्रश्वासमा सबैभन्दा बढी संक्रमण गर्ने कोरोना भाइरसका कारण अस्पतालमा बिरामीको चाप थेगिनसक्नु छ । यो भाइरसले रेस्पिरेटरी सिस्टमलाई फेल गराउने र मानिसको ज्यानै लिन्छ छ । अस्पतालमा भर्ना भएका सबै बिरामीलाई आईसियूमा भर्ना गर्नुपर्छ भन्ने हुँदैन । तर, स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गएपछि भने बिरामीलाई आईसीयू र भेन्टिलेटरमा राख्नु पर्ने पनि हुन्छ । 

  • जे पनि हुन सक्छ भन्ने मानसिकतामा छु

डा. दिपेन्द्र महासेठ
मायो अस्पताल, एनेस्थेसिया एण्ड क्रिटिकल केयर

विभिन्न विधामा अध्ययनका लागि २ सय ४५ जना नेपाली अहिले पाकिस्तानमा छन् । तीमध्ये ४० जना जति त डाक्टर नै छन् । पाकिस्तानको सबैभन्दा पुरानो र ठूलो मानिएको मायो हस्पिटलको आईसीयूमा विशेषगरि मेरो ड्यूटी हुन्छ । एक साता वा बढीमा १० दिनको सिफ्ट गरिसकेपछि ७ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ । उसो त विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमितको सम्पर्कमा आएमा वा संक्रमण फैलिएको स्थानबाट आएमा कम्तिमा १४ दिन क्वारेन्टाइन बस्नु पर्ने हुन्छ । तर, जनशक्ति अभावका कारण ७ दिन मात्रै क्वारेन्टाइन बस्ने गरेका छौं ।

उपचार गर्दागर्दै श्वासप्रश्वास प्रक्रिया नै फेल भएर डाक्टरको पनि केहि नलाग्दा कोरोना संक्रमितको मृत्यु भएको मैले देखेको छु । अन्य विभागमा भन्दा कोरोना विशेष आईसीयूमा काम गर्दा निकै नै त्रसित हुन्छ । तर, अहिले सामान्य बनिसकेको छ । जब कोरोना पाकिस्तानमा देखिन सुरु भयो त्यतिबेला ड्यूटीमा जान पनि एक किसिमको डर लाग्थ्यो । तर, पछि बुझ्दै जादा र उपचारमा नियमित आउन थालेपछि अहिले सामान्य बनिसकेको छ । 

सावधानी अपनाइएन भने जे पनि हुन सक्छ भन्ने अझै पनि छ । किनभने कोरोना संक्रमितको उपचारमा खट्दा आफू नै कोरोना संक्रमित हुने डर हुन्छ । फेरि डाक्टर भनेको त यस्तो साधन जस्तै हो जो आफू संक्रमित भयो भने उसले एक दिनमा कम्तिमा पनि २० देखि ३० वा त्यो भन्दा बढीलाई नै कोरोना सार्न सक्छ । किनकी बिरामी मात्रै नभएर अस्पतालकै कतिपय कर्मचारीको सिधै सम्पर्कमा आउने डाक्टर नै हो । त्यसकारण काममा आउनासाथ सबैभन्दा पहिले त आफ्नो सुरक्षा उपकरण लगाइन्छ । म संक्रमित भए भने अरुलाई संक्रमित नबनाउ भन्नेमा नै डाक्टरको ध्यान हुन्छ । 

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिनासाथ बिरामीहरु अस्पताल आउँछन् । अवस्था हेरेर उनीहरुको उपचार गरिन्छ । इटली, स्पेन, लण्डनलगायत मुलुकमा कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टर र नर्सहरुको मृत्यु भएको पनि सुनिन्छ । त्यसले पनि एक किसिमको सचेतना अपनाएर काम गर्नुपर्ने सोच आउँछ । तर, यति हुँदाहुँदै पनि आखिर पाकिस्तानमा त ती ठूला मुलुकको भन्दा कमजोर नै छ हरेक व्यवस्थामा । तर, के गर्ने सरकारको जागिर र चिकित्सकीय पेशामा आइसकपेछि सबैभन्दा ठूलो भनेकै बिरामी हो र हुन्छ । त्यसकारण पनि आफ्नो धर्मलाई निर्वाह गर्न ध्यान केन्द्रीत हुन्छ । 

पाकिस्तान कै बलुचिस्तान, सिन्ध लगायतका प्रान्तमा डाक्टरहरु व्यक्तिगत सुरक्षा उपकरण बिनै काम गर्नुपरेको छ । डाक्टर नै स्वस्थ भएन भने उसले बिरामीको उपचार कसरी गर्ने भन्ने कुरामा सरकारको ध्यान पुगेर पनि विश्वभर नै पीपीईको अभावका कारण डाक्टरहरु आन्दोलितपनि भएका छन् । तर, दुर्भाग्य हामी डाक्टरकै हो । जो विश्वको यो समस्यालाई बुझेर हामीलाई चाहिने अत्यावश्यक सामाग्री पुर्याउन सक्ने कोही छैन । 

आफ्नो घर आफ्नो देशभन्दा टाढा अरुको देशमा आएर काम गर्नुको पनि पीडा हुँदो रैछ । घरपरिवारका सदस्यले सबै छोडेर घर फर्किन भन्छन्, रुन्छन् कराउँछन् तर, अवस्था यतिबेला सामान्य छैन । जो उनीहरुको कुरा सुनेर पाकिस्तान छोडेर घर फर्किउँ । आफूले रोजेको पेशा नै यस्तो छ की चाहेर पनि सेवा गर्न छोड्न सकिन्न । किनकी चिकित्सकलाई भगवानपछिको दर्जा दिइएको छ । हामीले बिरामीलाई उसको रोगबाट छुट्कारा दिलाउन हरसम्भव प्रयास गर्नुपर्छ र गरिरहेका छौं । तर, कतिपय अवस्था डाक्टरको अधिनमा पनि हुँदैन । सायद यतिबेला म नेपालमा भएको भए र नेपालमापनि पाकिस्तान वा अन्य मुलुकको जस्तो अवस्था भएको भए म आफ्नो धर्मबाट पछि हट्ने थिइन् । किनभने आखिर मैले गर्ने भनेको बिरामीको उपचार नै हो । मैले गर्दा यदि कसैले जीवन पाउँछ भने त्योभन्दा ठूलो कुरा केही हुन सक्दैन । 

विराटनगरस्थित नोवेल मेडिकल कलेजबाट एमबिबिएस सकाएर पाकिस्तान सरकारको पूर्ण छात्रवृत्तिमा एमएस एनेस्थेसिया एण्ड क्रिटिकल केयर पढ्न आएको तीन वर्ष भयो । अध्ययनकै क्रममा युनिभर्सिटिकै मायो हस्पिटलको अप्रेशन थिएटर र आईसीयूमा काम गर्दैछु । सरकारबाट अस्पताल मै नियुक्ति पाएर काम गर्ने कर्मचारी नै पनि भएको छु । कुनै कुनै बेला मात्रै कोरोना विशेष आईसीयूमा मेरो ड्यूटी पर्छ । त्यसकारण पनि काम गर्न सहज नै छ । तर, कोरोना आईसीयूमा कतिबेला कोरोनाका कारण सिरियस बिरामी आउँछन भन्ने नै थाहा हुँदैन । कोरोना आईसीयूमा ड्यूटि परेको बेला पिपिई अनिवार्य लगाउनुपर्ने हुन्छ । एक साता कम्तिमा कोरोना आईसीयूमा ड्यूटिपछि सेल्फ क्वारेन्टाइनमा बसिन्छ । एक साताको बसाईमा यदि कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण देखिएन भने अर्को सिफ्ट र अर्को सर्जरी विभागमा ड्यूटी हुन्छ । अवस्था अहिले विस्तारै असामान्य नै बन्दै गएको छ । अस्पतालमा कोरोना संक्रमित बिरामी आउने क्रम पनि बढ्दै गएको छ । जे पनि हुन सक्छ भन्ने मानसिकतामा छु । हेरौं के हुन्छ ।

 

  • बिरामीको उपचारबाट डाक्टर वा स्वास्थ्यकर्मी भाग्नु हुन्न

डा. सुमित रौनियार
मायो अस्पताल, मेडिसिन विभाग 

अन्य विभागको भन्दा मेडिसिनमा बिरामीको चाप बढी हुन्छ । दक्षिण एसियामा पछिल्लो समय भारतपछि सबैभन्दा बढी पाकिस्तान कोरोना भाइरसले प्रभावित बन्न थालेको छ । 
पाकिस्तानमा कोरोना संक्रमितको संख्या बढ्दैछ । पाकिस्तानको पञ्जाव, बलुचिस्तान र सिन्धमा कोरोनाले सबैभन्दा बढी मानिस संक्रमित भएका छन् । हामी यही ठाउँमा खटिएका छौं  । पाकिस्तान सरकारको पूर्ण छात्रवृत्तिमा मास्टर्स इन मेडिसिन गर्न यहाँ आएका हौं । एफसिपिएस मेडिसिन दोस्रो वर्षमा अध्ययनरत छु । दुई वर्ष भयो पाकिस्तानमा अध्ययनका लागि आएको । निकै नै गम्भीर बन्दै गएको अवस्थामा सिफ्ट अनुसार काम गरिरहेका छौं । 
अस्पतालको ओपीडि बन्द भएका कारण बिरामी मेडिसिन विभागमा आउँछन् । एउटा वार्डमा कम्तिमा पनि ४० देखि ४५ जना कोरोना संक्रमित बिरामी हुन्छन् । ती सबैको इक्जामिनको लागि जाँदा मनमा डर हुन्छ तर आफूलाई थाहा भइसकेको हुन्छ की कुन बिरामीको अवस्था कस्तो छ त्यहि अनुसारले सावधानी अपनाउँदै उपचार गरिहेका छौं । 

कोरोनाको लक्षण देखिँदैमा अस्पतालमै भर्ना गरिँदैन तर सावधानी अपनाएर पहिले कोरोना हो कि होइन भनेर पुष्टिका लागि स्वाब संकलन गरेर ल्याब पठाइन्छ । त्यहिञ्जेल बिरामीलाई आइसोलेसनमा राखिन्छ । कोरोना पुष्टि भइसकेको अवस्थामा लक्षण कस्तो अवस्थासम्म पुगिसकेको छ त्यो हेरेर उपचार सुरु गरिन्छ । पिपिईको प्रयोग एक पटकमा एउटा मात्रै गर्ने हुनाले वार्डमा भएका बिरामीको परीक्षणमा जाँदा सबैको एकै पटक जाँच गरेर सुरक्षित तरिकाले पिपिईको व्यवस्थापन गर्नुपर्ने हुन्छ । डाक्टर र नर्सले प्रयोग गर्ने पिपिई यदि सुरक्षित साथ व्यवस्थापन गरेनौं भने त्यसले अर्को खतरा निम्तिन सक्छ र अरुलाई कोरोना संक्रमण हुनसक्छ । त्यसकारण सतर्क र सचेत भएर बिरामीको उपचारमा खटिने गरेका छौं ।

उपचार गरिरहेकै बेला कहिलेकाही आफुलाई पनि संक्रमण होलाकी भन्ने डर भइरहन्छ । तर चिकित्सकीय पेशा रोजे पछि आफु भन्दा बिरामी बचाउने दायित्व सम्झेर उपचारमा खटिने गरेको छौं । अवस्था जतिसुकै बिग्रिए पनि चिकित्सकीय धर्ममा बिरामीको उपचारबाट डाक्टर वा स्वास्थ्यकर्मी भाग्नु हुन्न । यो बेला घरको याद अझ बढी आउने रहेछ । 

३१ डिसेम्बरमा हिलोपटक देखा परेको कोरोना भाइरस (कोविड १९) अहिले विश्वका २ सय भन्दा बढी देशमा फैलिसकेको छ । कोरोनाको उपचारमा खटिएका विश्वका विभिन्न मुलुकमा सयौको संख्यामा डाक्टरहरुको कोरोनाका कारण मृत्यु भएको छ । हजारौंको संख्यामा  संक्रमित भएका छन् । चिकित्सकको सुरक्षामा यदि ध्यान दिइएन भने बिरामीको उपचार कसले कसरी गर्ने भन्ने प्रश्न पाकिस्तान मात्रै होइन विश्वका सबै मुलुकका लागि हो । तसर्थ जसरी कोरोना संक्रमितको उपचारमा स्वास्थ्यकर्मी खटिएका छन् उनीहरुको सुरक्षाको लागि सबैले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ ।
 

Last modified on 2020-04-16 16:08:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts