कोविड–१९ः विश्वव्यापी महामारी घोषणा भएको एक महिना, यस्तो छ ११ अप्रिलसम्मको अवस्था



Download our app to get more features

काठमाडौं, ३० चैत । गत डिसेम्बर ३१ मा चीनको हुबेइ प्रान्तको वुहान शहरमा पहिलोपटक देखिएको नोवेल कोरोना भाइरस अर्थात् कोविड–१९ लाई विश्वव्यापी महामारी घोषणा गरिएको हो शनिवार अर्थात् ११ अप्रिलका दिन एक महिना पुरा भएको छ ।

चीनको वुहानमा कोरोनाका कारण संक्रमण फैलने गति तीव्र हुँदै गएपछि र मानिसहरुको मृत्युपनि तीव्र हुन थालेपछि गत जनवरी ३० मा विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्व आपतकाल भनेर घोषणा गर्यो । आपतकाल घोषणा हुनु अगावै कोरोनाले नेपालमा पनि प्रवेश पाइसकेको थियो । वुहानबाट नै नेपाल आएका एक नेपाली युवकमा २४ जनवरीमा कोरोना पुष्टि भएको थियो । हाल उनी स्वस्थ भएर घरमै बसिरहेका छन् । त्यसपछि नेपालमा भारत र तेस्रो मुलुकबाट नेपाल आएका ८ जनामा कोरोना पुष्टि भएको छ । आजमात्रैपनि नेपालमा थप ३ जनामा कोरोना पुष्टि भएको पाइएको छ । वीरगञ्जको जामेमस्जिदमा दिल्लीमा आयोजित मरकजमा सहभागि ३ जना भारतीय नागरिकमा कोरोना पुष्टि भएको हेटौंडास्थित प्रयोगशालाले जनाएको छ । त्यसको औपचारिक रुपमा भने केन्द्र सरकारले घोषणा गर्न बाँकी छ ।

विश्व आपतकाल घोषणा गरेको १२ दिनपछि संगठनले यसलाई विश्व महामारीको रुपमा घोषणा गर्यो । त्यति बेलासम्म कोरोनाले चीनको वुहानलाई छोडेर मध्यपूर्व मुलुक इरानमा आफ्नो संक्रमणलाई फैलाउन थाल्यो । इरानमा स्वास्थ्यमन्त्रीदेखि ठूला नेता र सांसदलाई कोरोनाको संक्रमणले आक्रमण गर्यो र कतिले ज्यान पनि गुमाए । हाल इरानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ सय पुगेको छ भने संक्रमित हुनेको संख्या ७० हजारभन्दा बढी छ ।

मध्यपूर्वी मुलुक इरानपछि कोरोनाले युरोपलाई आफ्नो चपेटामा लिइसकेको थियो । र त्यसको सबैभन्दा बढी प्रभाव इटलीमा पर्न थाल्यो । युपोपिय मुलुक इटलीका साथसाथै कोरोनाले एकपछि अर्को गर्दै युरोपका सबैजसो मुलुकलाई आफ्नो केन्द्र बनायो । 

चीनको वुहानपछि सबैभन्दा बढी मानवीय क्षति इटलीमा भयो । जहाँ मानिसहरु दिनप्रतिदिन आफ्नो जीवनको लडाइमा हार व्यहोर्दै गए र विस्तारै विश्वकै सुन्दर मुलुकमध्येको एक शमसानघाट जस्तै लाग्न थाल्यो । विस्तारै त्यहाँ कोरोनाका कारण ज्यान गुमाउने र संक्रमित हुनेको संख्यामा कमी आउँदैछ । तर, हालसम्म त्यहाँ कोरोनाका कारण झन्डै १९ हजार ४ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमित हुनेको दर १ लाख ४७ हजारभन्दा बढी छ । 

इटलीमा कोरोना उपचारमा खटिएका एक सयभन्दा बढी डाक्टरहरुको मृत्यु भइसकेको छ भने हजारौंको संख्यामा नर्स र डाक्टरहरु संक्रमित भएका छन् । पछिल्लो समय इटलीमा मृत्यु हुने र संक्रमित हुनेको दरमा कमी आएपनि इटली सरकारले मुलुकमा गरिएको लकडाउनलाई मे ३ सम्मलाई लागू गरेको छ ।

इटलीपछि सबैभन्दा बढी क्षति स्पेनमा भएको छ । इटलीमा कोरोनाको कहर सुरु हुनासाथ स्पेनमा सावधानी अपनाइयो । लकडाउन गरियो तरपनि त्यहाँ फैलिएको कोरोनाले मानिसहरुलाई आफ्नो चपेटामा लिन थालेपछि अझै त्यो गति रुकेको छैन । हालसम्म स्पेनमा कोरोनाका कारण १७ हजारले ज्यान गुमाइसकेका छन् भने १ लाख ६२ हजारको हाराहारीमा मानिसहरु संक्रमित भएका छन् । स्पेनमा कोरोना उपचारमा खटिएका झन्डै १४ हजार स्वास्थ्यकर्मीहरु कोरोनाका कारण संक्रमित भएका छन् । २० बढी डाक्टरले ज्यान पनि गुमाइसकेका छन् ।

कोरोनाले विश्वका ठूलाबडा र दिग्गजहरुलाई पनि आफ्नो चपेटमा लिन सक्यो । पूर्वप्रधानमन्त्रीदेखि विश्वका शक्तिशाली राष्ट्र मध्येका वर्तमान प्रधानमन्त्रीपनि कोरोना संक्रमित भए । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन त अझै अस्पतालमा नै उपचाररत छन् । गत मार्च २६ मा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि हुनासाथ उनले आफूलाई सेल्फ आइसोलेसनमा राखे । तर, अवस्था असामान्य बन्दै गएपछि उनी सघन उपचार कक्षमा भर्ना भएर अहिले सेन्ट थोमस अस्पतालकै वार्डमा छन् । बेलायती प्रधानमन्त्री मात्रै होइन बेलायतको शाही परिवारलाईपनि कोरोनाले छोडेन । त्यहाँका राजकुमार प्रिन्स चालर््सपनि कोरोनाले संक्रमित भए । तर, अहिले उनी स्वस्थ भइसकेका छन् । बेलायत मात्रै होइन स्पेनको शाही परिवारमा त एक जनाले ज्यान नै गुमाउनु पर्यो ।

बेलायतमा हालसम्म कोरोनाका कारण १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ८० हजारभन्दा बढी संक्रमित भएका छन्  । यसैबीच बेलायत सरकारले विकासोन्मुख मुलुकलाई कोरोनासँग लड्नका लागि २०० मिलियन डलर आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । यस्तै बेलायतमा कोरोना उपचारमा खटिएका झन्डै १९ जना डाक्टरहरुको मृत्यु भएको छ । बेलायती विज्ञहरुले कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा उपकरण अभावका कारण उपचारमा समस्या हुने गरेको चेतावनी यसअघि नै दिइसकेको छ ।

स्पेनकी ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको कोरोना संक्रमणकै कारण मार्च ३० मा मृत्यु भयो । पछिल्लो समय कोरोनाका कारण सउदी अरबका राजपरिवारमा कोरोनाले गर्दा १ सय ५० जनाभन्दा बढी संक्रमित भएका छन् । कोरोनाको पुष्टि भएपछि सउदी अरबका राजकुमार फैजल बिन अब्दुल अजीज अल साउदलाई सघन उपचार कक्षमा राखिएको छ । फैजल सउदी अरबको राजधानी रियादका गभर्नर हुन् । त्यसबाहेक सउदी अरबका ८४ वर्षका राजा सलमान जेद्दापनि आइसोलेशनमा छन् । जबकि क्राउन प्रिन्स मोहम्मद बिन सलमान सहित शाही परिवारका अन्य सदस्य र मन्त्री अन्य क्षेत्रमा सेल्फ आइसोलेसनमा छन् ।

त्यस्तै अस्ट्रेलियाका गृहमन्त्री पिटर डुटोन, क्यानेडियन प्रधानमन्त्रीकी श्रीमति सोफि ग्रेगोइर ट्रुड्यु कोरोना संक्रमित भए भने लिबियाका पूर्व प्रधानमन्त्री महमुद जिब्रिल सहित विश्वका चर्चित खेलाडी र नायक नायिकाको पनि कोरोनाले गर्दा मृत्यु भयो ।

फ्रान्समा पनि कोरोनाले ठूलै क्षति भएको छ । हालसम्म कोरोनाका कारण फ्रान्समा ११ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमित हुनेको संख्या ७२ हजारभन्दा बढी छ ।

युरोपछि अमेरिका अहिले कोरोनाको केन्द्र बनेको छ । अमेरिकाको पछिल्लो तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी क्षति त्यही भएको छ । संक्रमित हुनेको दर ५ लाख ७० हजारभन्दा बढी छ भने मृत्यु हुनेको संख्या २० हजार ५ सय कटेको छ । अमेरिकाको जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोनाका कारण सबैभन्दा बढी क्षति अमेरिकामै भएको छ । त्यहाँका वैज्ञानिकहरुले नै अमेरिकामा कोरोनाका कारण एकदेखि २ लाख मानिसको मृत्यु हुन सक्नेभन्दै चेतावनि दिइसकेका छन् ।

दक्षिण एसियाली मुलुकबाट युरोप, अमेरिकासहितका पश्चिमा मुलुकपछि फेरि कोरोना एसियाली मुलुकमा सरेको छ । पछिल्लो समय कोरोनाका कारण जापान, भारत, बंगलादेश, पाकिस्तान लगायतका मुलुकलाई विस्तारै आफ्नो चपेटामा लिन थालेको छ । जसको सबैभन्दा बढी प्रभाव भारत र पाकिस्तानमा देखिएको छ । भारतमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । हालसम्म भारतमा कोरोनाका कारण २ सय ७३ जनाले ज्यान गुमाइसकेका छन् भने ८ हजारभन्दा बढी मानिसहरु संक्रमित भएका छन् । 

पाकिस्तानमा पछिल्लो समय कोरोनाका कारण ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमित हुनेको संख्या ५ हजारको नजिक पुगेको छ । 

गएको ३ महिनामा कोरोनाले गर्दा विश्वभर १ लाख ८ हजार ८ सय १९ जनाको मृत्यु भएको छ भने १७ लाख ८० हजार ४ सय ५० संक्रमित भएका छन् । यसका साथै ४ लाख ४ हजार ५४ जना स्वस्थ भएर घर फर्किएका छन् । यो अवधिमा फेरि केहिमा दोहोरिएरपनि कोरोनाले संक्रमण गरेको छ । जो व्यक्ति कोरोनाको संक्रमणबाट स्वस्थ भइसकेका थिए तीनैमा फेरि कोरोनाले संक्रमण गर्न थालेकोपनि विश्व स्वास्थय संगठनले बताएको छ । 

युरोप, अमेरिकापछि अहिले अफ्रिकी मुलुकमापनि कोरोनाले संक्रमण फैलाउन थालेको छ । अफ्रिकी मुलुक सोमालिया, केन्या, इथियोपिया, युगान्डा, जाम्बिया, हाइटी लगायतका मुलुकमा कोरोनाले विस्तारै संक्रमण फैलाउँदै गएको छ । 

हालसम्म कोरोनाले विश्वका २ सय ३२ देशमध्ये २ सय २६ देशमा आफ्नो स्थान बनाइसकेको छ भने ६ वटा मुलुकमा कोरोना पुग्न सकेको छैन । 

यो बीचमा कोरोनालाई लिएर अमेरिका र विश्व स्वास्थ्य संगठनका प्रमुखबीच एक किसिमको द्वन्द्व नै चल्यो । अमेरिकामा कोराना संक्रमण तीव्र रुपमा फैलिन थालेपछि र मृत्यु हुनेको संख्यापनि बढ्न थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहयोग कटौती गर्ने चेतावनी दिए । उनले विश्व स्वास्थ्य संगठनले चीनलाई बढी प्राथमिकता दिएको भन्दै विश्व स्वास्थ्य संगठनले अन्य मुलुकलाई हेला गरेको हुनाले आर्थिक सहयोग नै कटौती गर्न लागेको बताए । त्यसअघि अमेरिकाका केही शिर्ष नेताहरुले विश्व स्वास्थ्य संगठनका प्रमुख डा.टेड्रोस अधोनम घेब्रेयसुसको राजीनामा नै माग गरेका थिए । 

अमेरिकाको चेतावनीपछि विश्व स्वास्थ्य संगठनका प्रमुख डा. घेब्रेयसुसले कोरोनामाथि राजनीति नगर्न आग्रह गरे । उनले आफूलाई विभिन्न क्षेत्रबाट ज्यान मार्ने धम्की आएको भन्दै आफ्नो रंगमाथि पनि बेला बेलामा टिकाटिप्पणी हुने गरेको बताए । उनले विश्व स्वास्थ्य संगठनले कसैलाई प्राथमिकता नदिएको र कसैलाई हेला नगरेको स्पष्ट पनि पारे ।

३ महिनाको अवधिमा निकै नै खतरनाक मानिएको कोविड १९ को औषधि वा खोपको विषयमा विभिन्न मुलुकले अध्ययन र अनुसन्धान गरेका छन् । चीनले पनि भ्याक्सिनको आविष्कार गरेको र त्यो सफल भएको दावी गरेको छ भने अमेरिका र अस्ट्रेलियाले पनि विभिन्न खोज गरिरहेको छ । तर, हालसम्म त्यो कति सफल भयो र कहिले बजारमा आउँछ भन्ने टुङ्गो लागि सकेको छैन । जबसम्म यसको कुनै ठोस औषधि वा भ्याक्सिन निमार्ण हुँदैन तबसम्म कोरोनाबाट जोगिनका लागि घरभित्रै बस्न विश्व स्वास्थ्य संगठनले सुझाव दिएको छ । 

आउने केहि हप्ता विश्वका लागि झन् संवेदनशिल हुने भन्दै संगठनले सबैलाई सचेत भएर यसबाट जोगिने रणनीति अबलम्बन गर्नपनि भनेको छ ।

Last modified on 2020-04-12 10:34:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts