अस्पतालको बगैँचा



Download our app to get more features

प्रसंग मंगलबार बिहानको हो । साधारण चेकअपको लागि म बिहान छ बजे नै शिक्षण अस्पताल महाराजगञ्ज पुगें । रातभरी पानी परेकाले होला बाटो ओसिलो मात्र थिएन ठाउँ ठाउँमा पानी जमेको पनि थियो । बिहानीको चिसो वातावरणले होला अस्पताल पुग्नुअघि मेरो मानस्पटलमा अनेकन यादहरू सल्बलाएकाले अस्पताल पुगेको पत्तै भएन । 

देशकै ठुलो मध्यको एक र गरिबदेखि पहुँचवालासम्मको रोजाइमा पर्ने अस्पताल भएकोले पनि शिक्षण अस्पतालमा बिरामीहरुको आवागमन बाक्लै भइसकेछ । अस्पतालको प्रांगणलाई एक फन्को नियालेर हतार हतार टोकन लिएँ र चारैतिर हेरें, मेरो हेराइ देखेर वरिपरीका मानिसहरू पनि अनौठो मानेर मलाई नै निहालिरहेका थिए । सोचें, उनीहरु पनि आ–आफ्नै तरिकाले मेरा बारेमा मनमनै व्याख्या गर्दै होलान् ।  

त्यही भीडबाट झुस्स दाह्री पालेको, हल्का फुलेको कपाल र निराश देखिने एकजना अधबैँसे पुरुषले सोधिहाले, ‘भाई के भयो ?’ 

मैले भने, ‘केही भएको छैन दाजु ।’ कुरै कुरामा अस्पताल अगाडी रहेको फूलबारीमा बस्ने निर्णय भयो जसका लागि म अघिदेखि नै यता उति नियालिरहेको थिएँ । 

रातभरीको वर्षातले होला बिहानको मौसम निकै लोभलाग्दो थियो । खुल्ला आकाश सूर्यको किरणले भरिँदै थियो र अस्पतालको बगैँचा पनि बिस्तारै बिरामीले भरिँदै गयो । ह्विलचियरका बिरामीदेखि आफैं हिँड्न सक्ने बिरामीको पनि उपस्थित बाक्लिँदै गयो फुलबारीको वरिपरी । त्यहाँ आउने हरेक बिरामी र आफन्तले अनुहारमै छरपस्ट पारेका थिए आ–आफ्ना पीडा । 

रातभरी अस्पतालमा बसेकाहरू बिहानीको शीतलमा आनन्द मान्दै बगैँचामै सुतिरहेका थिए रंगीचंगी फूलहरुको बास्ना लिएर । कोही आफन्तसँग कुरा गरिरहेका थिए भने कोही बच्चा फकाउन व्यस्त । भँगेराको चिरबिरसँगै आनन्दित यो फूलबारीको डिलमा रहेका अधबैँसे पुरुष अघि नै निदाइसकेछन् । 

रातभरी बिरामी बाबुलाई कुरेर बसेको कुरा सुनाउँदै थिए । सायद त्यसैले होला उनी बगौंचामा आउने बित्तिकै निदाइसकेछन् । म भने आफ्नै तालमा बोलिरहेको थिएँ, उ प्रति प्रश्नहरू तेस्याइरहेको थिएँ र गफिँदै पनि । त्यो देखेर मैले वरिपरी हेरें, मनमनै हाँसे र आफैसँग लाज माने, एक्लै बोलेको सम्झेर । 

म पनि प्रकृतिको त्यो सुन्दरतामा मस्त भएँ ।  त्यत्तिकैमा गुलाबको फूलमा भरिएको शीतको थोपा हावाको वाहावले झर्यो र मस्त सुतिरहेको पुरुषको दायाँ निधारमा पर्यो । झसङ्ग हुँदै ङिच्च हाँस्दै भन्यो भाई म त झ्याप्पै निदाएँछु । उ ननिदाओस् पनि कसरी ? विभिन्न जातका फूलका विरुवा र ढकमक्क फूलेका रङ्गीबिरङ्गी  फूल, हरियो वातावरण,  शान्त मौसम र सुमधुर सुगन्ध ।

यस्तो लाग्दै थियो, सारा कुरा बिर्सेर फूलबारीमै पल्टिएर सुसेली हाल्दै बिहान बिताइदिउँ । हुनपनि अस्पताल भित्रको त्यो हालतलाई बिर्सेर यो फुलबारीमा बसेर सोच्ने हो भने जो कोहीले पनि यहि सोच्छन् । 

रातभरी अस्पतालको बेडमा छट्पट्टिएका बिरामीलाई पनि अवस्था हेरेर बिहानको हावा खाना बाहिर पठाउँदो रहेछ अस्पतालले । यत्तिकैमा नजिकै रहेका एक वृद्धले भने ‘यहाँ आएपछि त रोकिएको सास पनि आउँछ बाबु मेरो त ।’ ह्विल चियरमा बसेका वृद्धले कालो चियाको चुस्कीसँगै शब्द फूलबारीप्रतिको आफ्नो प्रेम दर्साए । 

मनमनै सोचेँ, यो फूलबारीकै जस्तो स्वच्छता अस्पताल भित्र पनि भइदिए त हरेक बिरामीको आधा रोग त त्यसै निको हुन्छ । तर, शिक्षण अस्पतालभित्र गएर हेर्ने हो भने यी सबै आशा तत्कालै निरासामा परिणत हुन्छन् । आश गरौँ बगैँचा जति सुन्दर र मनमोहक छ त्यति नै समग्र शिक्षण अस्पताल पनि एकदिन सुन्दर र व्यवस्थित हुनेछ ।

Last modified on 2016-06-29 16:32:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts