अनुहारमा ५ किलो ट्यूमर बोकेर बाँचेका कवाडीलाई नेपाल क्यान्सरले दियो नयाँ जीवन

What's This?


Download our app to get more features

काठमाडौं, २७ फागुन । महोत्तरीका ४० वर्षीय अनिल कवाडीले सोचेका पनि थिएनन् कि म फेरी उही अवस्थामा फर्किने छु र नयाँ जीवन बाँच्नेछु । तर, अहिले त्यो सम्भव भएको छ । उनले नयाँ जीवन पाएका छन् । चरम गरिबीले चेपिएका कवाडीको दुःख  तब सुरु भयो जब उनको अनुहारमा मासु (ट्युमर) पलाउन थाल्यो । विसं २०७१ सालतिरबाट पलाउन थालेको मासु हालसम्म आउँदा ५ किलोको भैसकेको थियो । त्यसो त उनी पहिले नै वीर अस्पतालमा उपचारका लागि आएका थिए । तर, सो ट्युमरको शल्यक्रिया त्यहाँ सम्भव नभएपछि उनी फर्किएका हुन् । निजी अस्पतालमा गएर उपचार गर्नसक्ने उनको क्षमता थिएन । अभाव र रोगले निम्त्याएको विवशतापूर्ण जीवन बाँचिरहेका कवाडी जब नेपाल क्यान्सर अस्पताल आइपुगे उनको नयाँ जीवन पाउने झिनो आशाले रंग लियो । 

अस्पताल, सहयोगी संघसंस्था र  त्यहाँका विशेषज्ञ शल्यचिकित्सकहरुको मन भक्कानियो । अभावको भूमरीमा रोगको महासागर बोकेका कवाडीको निःशुल्क उपचार गर्ने निर्णय गरे ।  सोमबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा कवाडीको ट्यूमरको शल्यक्रिया टोलीको नेतृत्व गर्ने नाक, कान, घाँटी शल्यचिकित्सक डा. प्रभातचन्द्र ठाकुरले विपन्न बिरामीको उपचारमा सबैले स्वयंसेवी भएर निःशुल्क काम गरेको बताए । उनले भने, 'उहाँको स्वास्थय अवस्था कमजोर रहेछ हामीले उपचार नगरे उहाँले ट्युमर बोकेरै बाँच्नुपर्ने देखेपछि सबै मिलेर आआफ्नो तर्फबाट निःशुल्क शल्यक्रिया गर्यौ ।' अनुहार, आँखा, तालु सबै नै ढाकिने गरि बढेको ट्यूमरको अघिल्लो साता बुधवार शल्यक्रिया गरिएको हो । सोमबारको कार्यक्रममा कवाडीका परिवारका सदस्यहरु उपस्थित थिए । उनीहरुले अस्पताललाई आभार व्यक्त गरेका छन् । 

डा. ठाकुरका अनुसार कवाडीलाई भएको समस्या अस्टियोसार्कोमा हो । यो हड्डीबाट पलाउने एक प्रकारको ट्यूमर हो । ५ किलोको ट्यूमर निकालिएसँगै सो स्थानमा तिघ्राको मासु काटेर प्रत्यारोपण गरिएको छ । अर्को एकहप्तासम्म बिरामी डिस्चार्जको अवस्थामा पुग्ने चिकित्सकले जानकारी दिए । कवाडीलाई भविष्यमा चाहिने फलोअप उपचार पनि निःशुल्क प्रदान गर्ने अस्पतालले जनाएको छ । 

अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न बिरामीको उपचार गर्ने गरेको अस्पतालका अध्यक्ष एवं वरिष्ठ क्यान्सर विशेषज्ञ डा. सुदीप श्रेष्ठले बताए । नेपालमा यस्ता विभिन्न जटिल शल्यक्रिया सम्भव भैसकेको भन्दै डा. श्रेष्ठले विदेश जानुपर्ने अवस्था नरहेकोे दावी गरे । 
कवाडीको शल्यक्रियाका निम्ति नेपाल सरकारले प्रदान गर्ने सहुलियत लिइएको थियो भने  इन्जिनीयरिंग श्रीमति संघले पनि सहयोग गरेको थियो । 
 

Last modified on 2020-03-10 18:42:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts