धनुषाका बर्थिङ्ग सेन्टरमा प्रसूति गराउने महिलाको संख्या बढ्यो
जनकपुरधाम, १९ फागुन। धनुषा जिल्लामा यस आर्थिक वर्षको सात महिनाको अवधिमा बर्थिङ्ग सेन्टरमा प्रसूति गराउने महिलाको संख्या तुलनात्मक रुपमा बढेको पाइएको छ ।
यो वर्षको साउनयता माघसम्ममा स्वास्थ्य संस्था मार्फत ७ हजार १ सय ९ जनाले प्रसुती गराएका छन् । जसमध्ये ५ हजार ९ सय १३ जनाले जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा बच्चा जन्माएका छन् भने २ सय ६ जना महिलाले मात्रै घरमा बच्चा जन्माएको स्वास्थ्य कार्यालय धनुषाको तथ्यांकमा उल्लेख छ । प्रदेश २ मा यो संख्या ३१ हजार ८० रहेको छ भने देशभरीमा १ लाख ८७ हजार ३ सय ४५ जना महिलाले स्वास्थ्य संस्थामा बच्चालाई जन्म दिएका छन् ।
धनुषा जिल्लामा क्षिरेश्वर नगरपालिकामा अवस्थित महेन्द्रनगर प्राथमिक स्वास्थ्य केन्द्र, मिथिलाबिहारी नगरपालिकाको तरापट्टी हेल्थ पोष्ट, धनुषाधाम नगरपालिकामा रहेको धनुषा प्राथमिक स्वास्थ्य केन्द्र,खलक्ष्मिनीया गाउँपालिकामा सिनुरजोडा हेल्थ पोष्ट, मिथिला नगरपालिकामा ढल्केबर हेल्थ पोष्ट, गणेशमान चारनाथ नगरपालिकामा भरतपुर हेल्थ पोष्ट र गोदार हेल्थ पोष्ट रहेको छ । त्यस्तै सबैला नगरपालिकामा सबैला प्राथमिक स्वास्थ्य केन्द्र,शहिदनगर नगरपालिकामा यदुकुहा प्राथमिक स्वास्थ्य केन्द्र,विदेह नगरपालिकामा बफै हेल्थ पोष्ट,औरही गाउँपालिकामा देउरी परवाहा प्राथमिक स्वास्थ्य केन्द्र, हंसपुर नगरपालिकामा हंसपुर कठपुल्ला हेल्थ पोष्ट, जनकपुरधाम उपमहानगरपालिकाको कुर्था हेल्थ पोष्ट र जनकनन्दनी गाउँपालिकामा खजुरी हेल्थ पोष्ट लगायत १४ वटा बर्थिङ्ग सेन्टर सरकारी स्तरमा सञ्चालनमा रहेको स्वास्थ्य कार्यालय जनकपुरकी पब्लिक हेल्थ नर्स किरण कुमारी चौधरीले जानकारी दिइन् ।
जसमध्ये धनुषाधाम नगरपालिकास्थित धनुषा प्राथमिक स्वास्थ्य केन्द्र निश्कृय अवस्थामा रहेको छ । त्यहाँ चालु आर्थिक वर्षको सात महिनाको अवधिमा एकजना महिलाले मात्र प्रसूति गराएको उनले बताइन् । जबकी धनुषा प्राथमिक स्वास्थ्य केन्द्र यस जिल्लाको सबैभन्दा पुरानो स्वास्थ्य केन्द्र हो ।
यता शहिदनगर नगरपालिकास्थित यदुकुहा प्राथमिक स्वास्थ्य केन्द्रमा यस सात महिनाको अवधिमा ५ सय ७२ जनाले प्रसूति गराएका छन् । यो जिल्लाकै सबैभन्दा ठूलो संख्या हो । सरकारले संस्थागत रुपमा सुत्केरी गराउनेका लागि विभिन्न प्रकारको सुविधाको व्यवस्था समेत गरेको छ । संस्थागत रुपमा सुत्केरी गराउनेका लागि १ हजार रुपैयाँ यातायात खर्चको व्यवस्था, एक जना कुरुवा सहित ३ दिन बासको व्यवस्था र खानाको व्यवस्था उपलब्ध गराएको छ । यदि कुनै महिलाको शल्यक्रिया मार्फत सुत्केरी हुन्छ भने उनीहरुका लागि विशेष सुविधाको व्यवस्था गरिएको छ । शल्यक्रियाबाट हुने सुत्केरीका लागि ७ हजार ५ सय रुपैयाँसम्मको सहयोगको व्यवस्था गरिएको छ ।
स्वास्थ्य कार्यालय जनकपुरकी पब्लिक हेल्थ नर्स चौधरीले धनुषाका अधिकांश अनमी र नर्सिङ्ग स्टाफहरुले तालिमको अभावमा पनि राम्रो सेवा प्रदान गरिरहेको बताईन् । उनले अनमि र नर्सिङ्ग स्टाफलाई अझ बढि दक्ष बनाउन झापाको दमकस्थित आम्दा हस्पिटलमा २ महिने स्किल बर्थ एटेन्डेन्टस तालिममा पठाईएको जानकारी दिईन् । शहिदनगरस्थित यदुकुहा प्राथमिक स्वास्थ्य केन्द्रबाट किरण मण्डल, सबैलास्थित सबैला प्राथमिक स्वास्थ्य केन्द्रबाट बबिता यादव र प्रस्तावित बर्थिङ्ग सेन्टर दुबरकोट हेल्थ पोष्टबाट पुनम लेखीलाई तालिममा पठाइएको हो ।
गतवर्ष बर्थिङ्ग सेन्टरमा प्रसूति गराउने महिलाको संख्या १३ हजार ६८ थियो भने ५ सय ७२ जनाले मात्र घरमा बच्चा जन्माएको स्वास्थ्य कार्यालय धनुषाको तथ्यांकमा उल्लेख छ ।