आयुर्वेद तालिम केन्द्र छाडेर प्रदेश १ स्तरीय ४२ दिने क्षारसुत्र तालिम नरदेवी चिकित्सालयमा



Download our app to get more features

काठमाडौं, १९ फागुन । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य तालिम केन्द्र प्रदेश नं. १ को अग्रसरतामा प्रदेश मातहतका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा कार्यरत आयुर्वेद चिकित्सकलाई क्षारसुत्रसम्बन्धी तालिम राजधानीमा सुरु भएको छ ।

सो प्रदेशका ५ जना चिकित्सकलाई आयुर्वेद चिकित्साको शल्यकर्म अन्तर्गत क्षारसुत्र सम्बन्धि ४२ दिन क्षमता अभिवृद्धि तालीम आयुर्वेद चिकित्सालय नरदेवीमा शुरु भएको प्रदेश १ स्वास्थ्य तालिम केन्द्रका निर्देशक रोहितराज पाण्डेले जानकारी दिए । 

पाण्डेले आयुर्वेद चिकित्सालय, नरदेवीको शल्यचिकित्सा शाखामा बिरामी तथा सेवाग्राहीको चाप बढ्दो रहेको र प्रभावकारी सेवाको कारण तालिमको प्रयोगात्मक पक्ष एवं गुणस्तर पक्ष राम्रो भएको भन्दै तालिम पश्चात् आयुर्वेद चिकित्सकहरुले प्रदेश नं. १ का विभिन्न जिल्लामा लागु भएको विस्तारित क्षारसुत्र सेवालाई प्रभावकारी रुपमा सेवा प्रवाह गर्नसक्ने विश्वास व्यक्त गरे । यसअघि यस्ता तालिम आयुर्वेद तालिम केन्द्र कीर्तिपुरमा हुने गरेपनि प्रदेश तालिम केन्द्रले नरदेवी नै रोजेको हो । कीर्तिपुरमा एकसाताभन्दा कम समयको तालिम हुने र त्यसबाट हुने सिकाई पूर्ण नहुने भन्दै तालिम कार्यक्रम नरदेवीमा आयोजना गरिएको हो । 

तालिम चिकित्सालयको शल्यशाखा प्रमुख डा. शोभाराम सुवेदी, विशेषज्ञ शल्यचिकित्सक डा. रमेश पौडेलले क्षारसुत्र चिकित्साको तालिम सञ्चालन गरेका छन् । आइतवार सुरु भएको तालिम कार्यक्रममा उपस्थित भएका आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुका महानिर्देशक डा. वासुदेव उपाध्यायले अहिलेसम्म संघीय सरकारले सञ्चालन गर्न नसकेको तालीम प्रदेश नं. १ सरकारको अग्रसरतामा सुरु हुनु सुखद भएको भन्दै अन्य प्रदेशले पनि यस्ता क्षमता अभिवृद्धि कार्यक्रमहरु यथाशिघ्र थालनी गर्नुपर्ने बताए । 

आयुर्वेद चिकित्सालय, नरदेवीका निर्देशक डा. प्रदीप के.सीले आयुर्वेद चिकित्सासँग सम्बन्धित तालिम कार्यक्रम प्रदेश नं. १ स्वास्थ्य तालीम केन्द्रको अग्रसरतामा सञ्चालन हुनु आयुर्वेद चिकित्सा क्षेत्रमा कार्यरत सबैलाई प्रेरणादायी भएको भन्दै कार्यतालिका बिनाका छोटा तालिम सञ्चालन गर्नुभन्दा निश्चित उदेश्य सहितका तालीम सञ्चालन हुनुपर्नेमा जोड दिए । 

तालिम चैत ३० गतेसम्म चल्नेछ । ४२ दिन चल्ने तालिम कार्यक्रममार्फत विश्व स्वास्थ्य संगठनद्वारा मान्यताप्राप्त क्षारसुत्र चिकित्सा पद्धतिको सेवा जिल्ला स्तरका सेवाग्राहीले समेत सर्वसुलभ रुपमा पाउने बाटो खुल्नेछ । तालीम कार्यक्रममा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान आयुर्वेद चिकित्साका विशेषज्ञ शल्यचिकित्सक र अन्य विशेषज्ञ जनशक्ति मार्फत प्रदान गरिनेछ । सहभागीले क्षारसुत्र विधिद्वारा उपचार हुने मलद्वार र त्यसको वरिपरि देखा पर्ने विभिन्न किसिमका रोगहरु जस्तै पाईल्स, फिस्टुला, फिसर, पाईलोनाईडल साईनस आदिको सरल र सफल उपचार गर्नसक्ने क्षमता हासिल गर्नेछन् भने मलद्वारको क्यान्सर, जटिल खालका फिस्टुला आदिलाई पहिचान र निदान गरी सम्बन्धित चिकित्सा केन्द्रमा प्रेषण गर्न सक्नेछन् । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts