नयाँ कोरोना भाइरसबारे नेपालमा फैलिएको फोबिया र वास्तविकता



Download our app to get more features

मंगलबार दिउँसोको सवा एक बज्नै लागेको थियो । रिपोर्टिङको सिलसिलामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेको थिए । अस्पतालका डाक्टर शेरबहादुर पुनसँग पहिला नै समय लिएर अस्पताल गएको थिए । यसकारण उनीसँग सहजै भेट भयो । 

सरुवा रोग तथा संक्रामक रोगहरूबारे सूचना चाहिए म डा. पुनलाई नै सोधीखोजी गर्छु । मंगलबार पनि डा. पुनसँगको कुराकानी करिब एक घण्टा जति भयो । विशेषगरि पछिल्लो समय विश्वभर चर्चामा रहेको रोग नयाँ कोरोना भाइरस अर्थात् कोभिड–१९ बारेमा अस्पताल आउनेहरुको अवस्था बारेमा बुझ्न म अस्पताल पुगेको थिए । 

अस्पतालमा भएका केही अनौंठा घटना यहाँ प्रस्तुत गर्नु उपयुक्त हुन्छ जस्तो लाग्यो । चीनबाट आएका व्यक्तिसँग कुराकानी गरेको आधारमा समेत संका लागेर परीक्षण गराउन आउने गरेका रहेछन् । कोरोना फोबिया अर्थात् कोरोना नै लाग्यो की भनेर त्रास फैलिएको अवस्था छ । हुनत यस्तो पहिलो पटक भएको घटना होइन । यसअघि डेंगु संक्रमण फैलिएको बेला पनि मानिसहरूमा यस्तै आतंत थियो । सुई आतंकले पनि केही समय विकराल अवस्था आएको थियो । हुनत यस्ता विषयमा संका गर्नु नराम्रो पनि होइन । तर चीनबाट आएका सबैमा कोरोना लागेको होला भनेर ठान्नु गलत हो । शहरतिर यस्ता हल्ला र फोयिबा चाँडै फैलिन्छ । अहिले गाउँघरतिर पनि देखिन थालेको छ । कोरोना संक्रमण फैलियो की भनेर अस्पताल आउनेको संख्या अहिले पनि दैनिक १० देखि १५ जना हुने गरेको डा. पुनले बताए । कस्ता मानिस अस्पताल आउने गरेका छन् ? भन्ने प्रश्नको जवाफमा उनले सुनाए :– 

घटना १
केही दिनअघि नुवाकोटका एक वृद्ध अस्पताल आएका थिए । उनलाई कोरोना भाइरसको नाम पनि राम्रोसँग सम्झना थिएन । मैले सोधे, ‘के भएर आउनुभयो ?’ उनले भने, ‘त्यो चीनमा अहिले के रोग आएको छ नी त्यही लाग्यो की भनेर जचाँउन आएको ।’ मैले भने, ‘कोरोना लागेर आउनुभयो ?’ उनले हो भने । कसरी थाहा भयो भनेर प्रश्न गर्दा टिभीमा जति बेला पनि त्यहि रोगको बारेमा मात्रै भनेको देख्छु भन्ने जवाफ दिए । वृद्धले भने, ‘त्यो हेर्दाहेर्दै मेरो नी छाती दुख्न थाल्यो त्यसैले आए ।’ 

घटना २
यो पनि मंगलबार कै घटना हो । एक व्यक्ति चिनियाँ पर्यटकहरुसँग केही दिनअघि लुम्बिनी पुगेका रहेछन् । उनलाई साथीहरुले त जान्ने छस् । भाषा पनि राम्रो बोल्छस् भनेर लुम्बिनी सँगै लगेका रहेछन् । घुमघाम गर्दै गर्दा, बोलचाल हुँदै जाँदा उनले थाहा पाए ती पर्यटकहरु त सबै चिनियाँ नागरिक रहेछन् । थाहा पाउना साथ उनी आत्तिएर काठमाडौं फर्किएछन् र अस्पताल आइपुगेछन् । उनले झ्यालबाटै सोधिखोजी गर्ने प्रयास गरिरहेका थिए । भित्र अन्य डाक्टरहरुसँगै रहेका डा. पुन सोधे, ‘किन आउनुभयो ? ती व्यक्तिले जवाफ दिए । म केही दिनदेखि चिनियाँहरुसँग घुमफिर गर्दै थिए । मेरो टाउको दुख्न थालेको छ । ज्वरो आउँछ । छाती पनि दुख्छ । मलाई त कोरोना भाइरस संक्रमण भयो भन्ने लाग्छ । अब के गर्ने ? डा. पुनले नआत्तिन सुझाव दिँदै घुमफिर गर्दै कोरोना नलाग्ने बताए । 

यस्ता आशंका लागेर काठमाडौंभित्रका मात्रै होइन गाउँघरमा पनि कोरोना भाइरसको त्रास र एक किसिमको फोबिया देखिन थालेको छ । डेंगु संक्रमण फैलिँदा पनि यस्ता आशंका र डेंगु फोबियाले दिनमै सय जना भन्दा बढी नागरिक अस्पताल धाउने गर्थे । 

घटना ३
चीनमा रहेका आफ्ना छोराछोरी र परिवारजनलाई स्वदेश फर्काइदेउ भनेर अभिभावकहरुले सरकारसँग माग गरे । यो माग अभिभावकले मात्रै होइन देशभरि नै आवाज उठ्यो की त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्काउनुपर्छ । सरकारले त्यसका लागि तयारी गर्दै जाँदा उनीहरुलाई कहाँ राख्ने, कसरी राख्ने, कस्तो व्यवस्था गर्नेलगायत तयारी गर्दै जाँदा भक्तपुरको खरिपाटीमा राख्ने निर्णय भयो । सरकारको यो निर्णयपछि त्यस क्षेत्रका नागरिकले सरकारको विरोध नै गर्यो । चीनबाट फर्काइने नेपालीलाई यहाँ राख्न नदिने भन्दै विरोध गरिए पनि सरकारले खरिपाटीलाई नै क्वारेन्टाइन बनायो । सरकारको यो निर्णयपछि त्यस क्षेत्रका केही बासिन्दाले घरमा ताल्चा लगाएर बसाई सरेको सुन्न आएको छ । उनीहरुको भनाइ थियो । यदि ती नेपालीलाई यहाँ राख्ने हो भने हामीलाई पनि कोरोना भाइरसको संक्रमण हुन्छ । हामी पनि बिरामी हुन्छौं र हाम्रो पनि मृत्यु हुन्छ । जबकी चीनको वुहान र आसपासका क्षेत्रबाट फर्कने नेपालीलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड, चीन सरकारको पूर्ण स्वास्थ्य जाँच र नेपाल सरकारको तयारीपछि मात्रै नेपाल फर्काइयो । 

कोरोना प्रभावित क्षेत्रबाट फर्कने नेपालीमा कोरोना नै छ भनेर विश्वास गरिहाल्नु उचित हुन्छ र के उनीहरुलाई कुनै ठाउँमा राख्दैमा कोरोना संक्रमण अरुलाई पनि भइ हाल्छ ? यी दुई प्रश्को जवाफमा डा. पुनले भने, ‘पहिलो कुरा चीनबाट फर्केका नेपालीको सम्पूर्ण मापदण्ड अनुसार स्वास्थ्य जाँच गरिएको हुन्छ । शंका लागेका चीनमै रोकिएका छन् । र अर्को कुरा क्वारेन्टाइनमा राखिनु भनेको उनीहरुमा कोरोना संक्रमण भएर होइन । विश्व स्वास्थ्य संगठनका अनुसार कम्तिमा १४ दिनमा कोरोना संक्रमणको लक्षण देखिन सक्ने भएर हो । यस अवधिमा लक्षण देखिए उचित उपचार गर्न क्वारेन्टाइनमा राखिएको हो । लक्षण देखिए आइसोलेसन वार्डमा भर्ना गरिन्छ । 

डा. पुनका अनुसार कोरोना भाइरस प्रभावित क्षेत्रबाट फर्कदैमा कसैमा पनि कोरोना संक्रमण भएको हो भनेर पुष्टि तबसम्म हुँदैन जबसम्म उनीहरुमा त्यसको लक्षण देखिँदैन । साथै क्वारेन्टाइनमा सरकारले गरेको व्यवस्था हेर्दा पनि डराउनुपर्ने अवस्था छैन । 

मौसमी फ्लूसँग कोरोना भाइरसको लक्षण मिल्दोजुल्दो भएकाले मानिसहरु आत्तिने गरेका छन् । २९ माघमा सिन्धुपाल्चोकमा फ्लू कै कारण केही मानिस बिरामी भए । चीनसँग सीमा नाका जोडिएकै भरमा कोरोना हो भनेर आशंका गरियो । सञ्चार माध्यममा पनि त्यहि किसिमको सूचना सार्वजनिक भयो । तर, त्यसको वास्तविकता के हो भनेर बुझ्नु आवश्यक हुन्छ । डा. पुन भन्छन्, ‘चीन नजिक छ । अनेक कामकाजका कारण आवतजावत हुने गर्छ । तर, कोरोना नै हो भनेर मनलाग्दी फलाक्नु भन्दा उपचारतर्फ जानुपर्छ । यसको अर्थ यो पक्कै पनि होइन की हामी हेलचेक्र्याइँ गर्नेतर्फ लाग्छौ । सचेत हुनुपर्छ ।’

कुन अवस्थामा कोरोना संक्रमण होला भनेर आशंका गर्ने ? उनकाअनुसार नेपालमा अहिलेसम्म कोरोना संक्रमण फैलिएको छैन । एक जनामा पुष्टि भएको थियो । उनको पनि उपचारपछि घर फर्की सकेका छन् । त्यसबाहेक यहि अस्पतालमा अहिलेसम्म १८–२० जनामा कोरोना भाइरसको आशंकापछि आइसोलेशन वार्डमा भर्ना गरेर जाँच गरियो । तर उनीहरुमा कोरोना संक्रमण भेटिएन । साथै सरकारले पनि कोरोना भाइरसको संक्रमणको आशंकामा चीनबाट फर्किएका नेपाली सहित २ सय १० जनाको जाँच गरिएकोमा एक जनामा मात्रै कोरोना भाइरस पुष्टि भएको र बाँकी सबै स्वस्थ रहेको बताएको छ । क्वारेन्टाइनमा रहेका नेपालीको अब १४ औं दिनमा फेरि नमूना परिक्षण गरिनेछ । यसको अर्थ नेपालमा कोरोनाको संक्रमण फैलिएको छैन । अर्को कुरा यदि कुनै एक ठाउँमा कोरोना प्रभावित क्षेत्रबाट फर्केका व्यक्ति छन् र उनीहरुको कारण कोरोनासँग मिल्दोजुल्दो लक्षण अरुमा पनि देखिन थाल्यो भने त्यो अवस्थामा आशंका गर्न सकिन्छ । तर, कोही पनि कोरोना प्रभावित क्षेत्रबाट नआएको अवस्थामा ज्वरो लाग्यो, बिरामी पर्यो भने कोरोना नै हो भनेर आशंका गर्नु ठिक होइन । अहिलेको मौसमी रोग फ्लुमाथि पनि आशंका गर्न सकिन्छ ।

चीनमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेमा विशेषगरि ४० वर्ष उमेर कटेका नागरिक धेरै रहेको विभिन्न अध्ययनले देखाएको छ । चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले मंगलबार एक तथ्याङ्क सार्वजनिक गरेको छ । जसमा कोरोना भाइरस संक्रमित मध्ये ८० प्रतिशतभन्दा बढी वृद्धवृद्धा छन् । जसमा उमेर समूह अनुसार मृत्युदर हेर्ने हो भने सबैभन्दा धेरै ७० वर्ष माथिका ८ प्रतिशत छन् । यस्तै ६० देखि ६९ वर्ष उमेर समूहका ३ दशमलव ६ प्रतिशत, ५० देखि ५९ वर्षका १ दशमलव ३ प्रतिशत, ४० देखि ४९ वर्षका शून्य दशमलव ४ प्रतिशत, १० देखि ३९ वर्षका शून्य दशमलव २ र ९ वर्षमुनिका शून्य प्रतिशत रहेको छ ।

यो तथ्याङ्कलाई हेर्ने हो भने कोरोना भाइरसबाट वृद्धवृद्धा बढी प्रभावित छन् । यस्तो किन ? डा. पुनका अनुसार कोरोना भाइरसले मुख्यगरि श्वासप्रश्वासमा समस्या गराउने हो । ती उमेर समूहका व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले चाडै संक्रमण गरेको हो । स्वभाविक रुपमै शरीरभित्रको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनासाथ मानिसलाई कुनै पनि रोगले तुरुन्तै संक्रमित गर्छ । त्यसकारण फोक्सोमा सिधै संक्रमण गर्ने हुँदा ती उमेर समूहका नागरिक यसको चपेटामा परेका हुन् । विश्व स्वास्थ्य संगठनका अनुसार पनि मृत्यु हुने र प्रभावित हुनेमा वृद्धवृद्धा नै बढी हुनुको कारणमा दीर्घरोगी, फोक्सोको समस्या भएकाहरु बढी छन् । 

कोरोना भाइरस संक्रमण हुँदैमा के मानिसको मृत्यु नै हुन्छ ? 
यसमा चीनका अधिकारीहरुले नै प्रष्ट पारेका छन् की कोरोना भाइरस संक्रमणका कारण उपचार गराउनेहरुमध्ये अहिलेसम्म १२ हजारभन्दा बढी स्वस्थ भएर घर फर्कि सकेका छन् । नेपालमै पनि कोरोना पुष्टि भएका व्यक्ति उपचारपछि घर फर्किसकेका छन् । त्यसकारण कोरोना भाइरस संक्रमण हुँदैमा मृत्यु नै हुन्छ भन्ने छैन । उपचार समयमै गर्नुपर्छ र सचेत हुनुपर्छ ।

डा. पुनका अनुसार सकेसम्म रुघाखोकी लागेको वा फ्लूजस्तो लक्षण देखाउने व्यक्तिको सम्पर्कबाट टाढा रहे यस्तो संक्रमण नहुन सक्छ । साथै मास्कको प्रयोग गर्ने (आफूले खोक्दा वा हाच्छ्यूँ गर्दा वा अरुले गर्दा जोगिन सकिन्छ), सरसफाइमा विशेष ध्यान दिने (हातधुने, वरिपरिको वातावरण सफा राख्ने, खानपान गर्दापनि स्वच्छ र स्वस्थ खाने), जनावरको सम्पर्कमा सकेसम्म नजाने (माछा, मासु, अण्डा राम्रोसँग पकाएर खाने), फ्लू वा कोरोनाको लक्षण देखिए चिकित्सकसँग परामर्श गर्ने । 

डा. पुन भन्छन्, ‘कोरोना भाइरस मात्रै होइन कुनै पनि रोग लाग्न नदिन नागरिक आफै सचेत हुनु आवश्यक छ । सबैको हात हातमा अहिले स्मार्ट फोन छ । तर, अनेक हल्लाको पछाडि लाग्नु भन्दा आफू र अरुलाई कसरी स्वस्थ र सुरक्षित राख्नेमा ध्यान दिनुपर्छ । सञ्चार माध्यमहरुले यसमा विशेष ध्यान पुर्याएर सूचना र समाचार सम्प्रेषण गर्नुपर्छ । कुनै पनि रोगको हल्ला चल्यो वा देखियो भने त्यसको वास्तविकता के हो ? कसरी सर्छ ? कस्ता लक्षण देखिन्छ ? जोगिन के गर्ने ? लगायतका विषयमा सञ्चार माध्यम र नागरिक जागरुक हुनुपर्छ । अनिमात्रै नागरिक र देश स्वस्थ रहन सक्छ ।’

Last modified on 2020-02-20 08:20:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts