मोबाइल र होशियारी



Download our app to get more features

मोबाइलले कतिलाई मिलाएको होला, कतिलाई नजिक बनाएको होला । कतिको काम बनाएको हुन्छ, ज्यानै पनि बचाएको होला । सही प्रयोगले समय र अरु धेरै कुराको बचत गरिरहेको पनि छ । पठनपाठन, घर, अफिसका कामदेखि कुराकानी, सूचना सञ्चार, सामाजिक सञ्जाल, अनेकौं सेवा सुविधाका कारण मोबाइल सोचे भन्दा शक्तिशाली साधन बनेको छ । यसमा आममानिसले सोचे भन्दा निकै धेरै एप्लिकेसन हुन्छन् । 

तर मोबाइल प्रयोगकर्ताको विवेक कम भयो वा गुम्यो भने दुःखदायी पनि बन्ने रहेछ भन्ने उदाहरण यस अघिका लेखहरुमा उल्लेख गरिएको थियो । कायौं पात्रहरुलाई मोबाइल उपहार होइन, अभिशाप बन्यो । के नाबालक रन्जन, के हुर्किरहेकी किशोरी सबिना वा युवा रविन । युवती बन्दैगरेकी लक्ष्मी हुन् वा जीवनलाई मेहनत र सावधानीले सिंचित गदै गरेकी पञ्चमाया र रहरमानको वयस्क जोडी । के देश खाएर शेष भएका भट्टराई सर, सबैलाई मोबाइलले टाउको दुखाएको थियो । लापरबाही र अविवेकपुर्ण कदम, अहिलेको लहर, माहोलले गर्दा मोबाइल सबैका लागि श्राप, विष वा टाउको दुखाइ बनेको थियो । 

उपहारै दिनु पर्दा मोबाइल कतिको उपयुक्त होस एक, दुई, तीन होइन, बारबार सोच्नुपर्ने भएको छ । हाम्रो आर्थिक अवस्था र बर्कतले भ्याए पनि, जसलाई दिइँदैछ, ऊ मोबाइल यस्तो अस्त्र सम्हाल्न चलाउन सक्ने परिपक्व र विवेकी भैसकेको छ कि छैन ? भोलि गएर त्यस्तै केहि परेमा जिम्मेवार भएर आफूले निगरानी र हेरदेख गर्न सकिने अवस्था र क्षमताको छ छैन ?  उपहार दिएर कतै हानी त गरिरहेको छैन ? उपहार पाउनेले पनि गुन्न जरुरी छ । उपहारको रुपमा मोबाइल कसैले किन दिन्छ ? कतै खराब नियत त लुकेको छैन ? सोच्नुहोस्, सोच्नुहोस्, सोच्नुहोस् । उपहार दिनलाई अरु धेरै कुराहरु छन् जुन यो जस्तो घातक, विषाक्त छैनन् । अहिले मोबाइलको उपहारले जस्तो रोमाञ्चित पल नदेला तर पछि आउनसक्ने दुःखद परिणती त रोकथाम हुनसक्छ । त्यसैले, मोबाइल उपहार दिने लिने दुवै होसियार हुनु जरुरी छ । 

मोबाइलको प्रयोग, दुरुपयोग, लतले बिषम अवस्था र जटिलता आइनपरोस् भनेर केही विषयमा सबैले साबधानी अपनाऔं । 
१. ठिक बेठिक छुट्याउन नसक्ने वा हुर्किरहेका नाबालक, बालबालिका, किशोरकिशोरीहरुलाई मोबाइल जस्ता साधनदेखि दुर राखौं । चलाउनै पर्ने अवस्थामा पनि निगरानीमा राखौं । मोबाइलभन्दा पनि सजिलोसँग देखिने ल्यापटपमा अति आवश्यक कुरा मात्र, त्यो पनि प्रत्यक्ष रेखदेखमा गर्न दिऔं । 
२. वयस्क मानिस पनि अनुशासित, संयमित र होसियार भएर मात्र यसको उपयोग गरौं । 
३. निश्चित समयमा मात्र मोबाइल उपयोग गर्ने, अरु बेला सिमित प्रयोग गर्ने, इन्टरनेटमा त झन् कम मात्र रहने स्वनियम पालना गरौं । आजकल सबैतिर इन्टरनेट खुला रुपमा उपलब्ध हुँदा यसको नियन्त्रण र अनुशासन कायम गर्न आवश्यक छ । 
४. कतै अनावश्यक कुरा, चाहिने भन्दा ज्यादा मोबाइल, इन्टरनेटमा समय बित्दैछ की, लत पो बन्दैछ की, यसले आफ्नो काम कारवाही, पढाइ र जीवनमा हाबी भएको छ की भनेर बेलाबेला मनन् गरौं । 
५. मोबाइल र यसमा उपलब्ध सुविधाले जीवन, समाज र हाम्रो मनस्थिति प्रभावित हुन नदिऔं । तिनलाई चाहिनेभन्दा ज्यादा महत्व नदेऔं । 
६. केहि गरेर माथि भनिएजस्तै खालका जटिलताहरु आइपरेको खण्डमा जवरजस्ती नगरौं, सुझबुझ अपनाएर साबधानीपुर्वक समाधान खोजौं । आवश्यक परेमा परामर्शदाताको सहयोग लेऔं । 
७. मोबाइल खराब आचरण, अस्वस्थ जिविका र अस्वीकृत व्यवहार वा कर्मको माध्यम बन्दैछ की भनेर पनि सजग रहनुपर्छ । जस्तैः अश्लील सामग्री, असामाजिक च्याट, डेटिङ वा अरुलाई फसाउने, दुःख दिने नियतका कामकारवाहीमा मोबाइल सरल माध्यम बनिरहेको हुन्छ । आजकल साइबर अपराधमा मोबाइल अत्यधिक प्रयोग भएको देखिन्छ । 
८. मोबाइलबाट निस्कने विकिरण पनि सदाकाल मोबाइलमा झुण्डिनेहरुका लागि कुनै न कुनै रुपमा हानिकारक हुने कुरा अगाडि आएको छ । कम्तिमा मोबाइल सिरानी मुनि राखेर सुत्ने नगरौं ।
९. मोबाइलको प्रयोग गर्दा आँखा, घाँटी र जोर्नीहरुको ख्याल राख्ने गरौं । एकटकले र एकै पोजिसनमा लामो समय मोबाइल, इन्टरनेटमा नबसौं । बेलाबेला आराम गरौं । 
१०. मोबाइल, इन्टरनेट मार्फत सामाजिक जटिलता र अपराध नहोस् भन्नाका खातिर जो पायो त्यसलाई नम्बर दिने, कुरा गर्ने, लिफ्ट दिने नगरौं । समाजमा हर खाल र प्रकृतिका मानिस हुन्छन् भन्ने नभुलौं र पाइलापाइलामा होसियार रहौं । 
११. भेटघाट, भोजभट्टेर, पार्टी, सभा र अरु सामुहिक भेलामा मोबाइल र नेटको प्रयोगलाई निरुत्साहित गरौं ।

स्कुल, क्याम्पस र अफिसमा पनि अनुशासित, संयमित र मर्यादित हिसाबले न्युनतम मात्र मोबाइल तथा इन्टरनेट उपयोग गरौं । चिकित्सकको क्लिनिकमा जचाउन र कन्सल्टेसन, पुजापाठ, ध्यान, प्रवचन, कक्षा, मिटिङ आदि जस्ता ठाउँहरुमा मोबाइलले डिस्टर्व गरिरहेको देखिन्छ । सहभागी र सम्बन्धित सबैले सभ्य र मर्यादित हुन सिकौं । ड्राइभिङ गर्दा वा मेसिनहरु चलाउँदा त कानुनतः बर्जित हो । तर पनि पालना भएको भने देखिँदैन । फ्लाइटमा एयरप्लेन मोड वा अफ गर्नुपर्ने हुन्छ । 

आजकल सडक काट्दा, बाटामा हिँड्दा वा भर्याङ्ग चढ्दा पनि वा यात्रामा मोबाइलमै आँखा टाँसेर हिँड्नेहरुका कारण दुर्घटना बढेको देखिन्छ । चौबाटो वा गल्लीमा ढुकेर मोबाइल च्याप्दै हिड्ने ठिटाठिटीहरुले घरपरिवार, छरछिमेक र समाजको माहोल बिगारेको देखिँदैछ । बिगारेको त मतिभ्रष्ट मान्छेले हो तर मोबाइल आजभोलि जे पनि सहज र बिना सोंच र तयारी चाँडो गरिदिन्छ । बिगार्ने काम पनि । अतः होसियारी अब पाइला पाइलामा आवश्यक भएको छ । मोबाइल उपहार लिनदिन रोकौं । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts