जब विनायक साहु बोले...
दाङ्ग, १२ माघ । माघ महिनाको चिसो । रातको करीब ९ बजेको थियो । निलसागरको प्रांगणमा २५–३० जनाजतिको समुह थियो । भित्रबाट विनायक साहु बाहिर निस्कए । उनकी भतिजी संगीताले आँशु थाम्न सकिनन् र अंगालो हाल्दै डाँको छोडेर रुन थालिन् । संगीता र साहुको आँशुमा पीडा, करुणा, प्रेम र खशी सबै मिसिएको थियो । उनीहरुको आँशुअघि सबैका आँखा नतमष्तक भए र रसाइरहे ।
त्यसो त यो कुनै पीडाको रोदन थिएन । दाङ्गको राप्ती गाउँपालिका वडा नं ८, सिसहनियामा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रमा बसिरहेका भारत उडिसाबाट ९ महिना पहिला हराएका विनायक साहु र उनको परिवारबीच भेट हुँदाको संयोग थियो । एउटा सुन्दर संयोग । उनलाई एक महिना पहिला दाङ्गको लमही क्षेत्रबाट बोल्न नसक्ने अवस्थामा उद्दार गरी निलसागरमा ल्याइएको थियो । मानसिक सन्तुलन गुमाएका, चिन्तित जस्तो देखिने अवस्थामा भेटिएका उनलाई उद्दार गरी ल्याइएको थियो । उनको वाक्य फुटेको थिएन । सबैलाई लागेको थियो उनि बोल्न सक्दैनन् ।
माघीसंक्रान्तिको दिन थियो । निलसागरमा विस्तारै चहलपहल बढ्दै थियो । बोल्न नसक्ने साहुले उपस्थित सबैलाई केही इसारा गरे जसरी नमस्कार गरिरहेका थिए । एक्कासी उनले स्थानीय शिक्षिका रेमाकुमारी राना बुढालाई ‘आप मेरी मा जैसी हैं” भने । उनको पहिलो वाक्य फुट्यो । ‘हामी सबै आश्र्चयमा पर्यौ¬ं ।” उक्त क्षण सम्झँदै हरियाली बचत तथा क्रण सहकारी संस्थाका अध्यक्ष शिवध्वज मल्लले भने । साहु बिस्तारै बोल्दै गए । निलसागरमा नियमित उपचार, खानपान र स्याहार पछि उनि बोल्न थालेका हुन् । उनले परिवार तथा आफ्नो बारेमा सबै कुरा खोल्दै जाँदा भारतको उडीसा आफ्नो घर भएका बताएका थिए ।
स्थानीय हनि मेडिको डिस्ट्रिव्यटरका दिपेन्द्र न्यौपाने र मल्ल उनको परिवार पत्ता लगाउन जुटे । गुगल लगायत प्रविधिको प्रयोग गरे, त्यहाँको प्रहरीको सहयोग लिए र उनको परिवारसम्म पुगे ।
साहुका परिवारले विश्वास मानेका थिएनन् विनायक नेपालमा छन् भन्ने । पछि न्यौपानेले भिडियो कल गरि विनायकसँग कुरा गराएपछि मात्र उनीहरुले विश्वास गरेका थिए । परिवार त पत्ता लाग्यो अव के गर्ने, परिवारलाई नेपाल ल्याउने की साहुलाई घर पुर्याउन उडिसा नै जाने ? अन्ततः परिवार नै नेपाल आउन तयार भयो । नियमित ह्वाट्सएपको कुराकानी पछि उनीहरुलाई नेपालसम्म ल्याउन न्यौपानेले विशेष भुमिका खेले । भावुक हुँदै न्यौपानेले भने ‘म धेरै खुसी छु, दुई हजार किलोमिटर टाढा रहेको परिवारलाई नेपालसम्म ल्याएर मिलन गराउन पाउँदा ।”
भारतको गुलनथरा जिल्ला, ब्रहमपुर उडीसाबाट बिनायक साहुलाई लिन उनका दाजु गणेश साहु, भतिजी संगिता साहु र साडु भाई दिलेश्वर साहु नेपाल आए । ‘म सडक छाप भइसकेको थिएँ, सोचेको पनि थिएन घर परिवारसँग यसरी मिलन हुन्छ भन्ने” साहुले भने ‘नयाँ जीवन पाउँछु भन्ने सोचेको थिइँन ।” उडीसामा उनको ८० वर्षीय आमा, श्रीमती र ४ वर्षकी एक छोरी छिन् ।
साहु वेपत्ता भएपछि परिवारले धेरै खोजी गरेका थिए । २ महिनासम्म पनि पत्ता नलागेपछि प्रहरीमा समेत उजुरी दिए । यसभन्दा पहिला पनि साहु एक वर्ष हराएका थिए । त्यस समयमा उनि आफै घर फर्किएको सम्झदै उनका साडु भाई दिलेश्वरले भने ‘त्यस समयमा कहाँ गएका थिए थाहा भएन तर अहिले यति टाढा नेपालसम्म आउनुभएछ ।”
साहु नेपाल कसरी आई पुगे ?
कोलकत्ताको केल्भीन जुट मिलमा कार्यरत साहु उडीसामा रहेको ससुराली जानका लागि निस्किएका थिए । रातको समय । स्टेशनमा मानिसको धेरै भीड थियो । उनि रेल चढे तर, उक्त रेल उडीसाको लागि नभई बिहारको लागि छुटेको थियो । रेलमा उनि लुटीए । सम्पुर्ण पैसा, कपडा चोरी भइसकेको थियो । त्यसपछि उनि बोल्न नसक्ने अवस्थामा पुगे । भौतारीदै उनी नेपाल प्रवेश गरे । सायद उनलाई थाहा पनि थिएन होला म नेपालमा पुगें भन्ने । उनी केही सयम दाङ्गको भालुवाङ्ग क्षेत्रमा बसेको बताए । त्यस समयमा चोरी गरेको भन्दै प्रहरीले नियन्त्रणमा समेत लिएको थियो । तर उनको मुखबाट बोली फुटेको थिएन । पछि उनलाई प्रहरीले छाडीदियो । उनि बिस्तारै लमही क्षेत्रमा पुगे । त्यहि बस्न थाले । त्यसपछि उनलाई निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रमा ल्याइएको थियो ।
निलसागरमा साहु जस्ता असहाय, अशक्त गरी ३० जना रहेका छन् भने ५ जनालाई परिवारको जिम्मा लगाइसकिएको छ । उनिहरुलाई त्यहाँ पालन पोषण र औषधि उपचार गरी राखिएको निलसागर सेवा केन्द्रका जिल्ला अध्यक्ष प्रकास विष्टले बताए । केन्द्र पछिल्ले समय दाङ्गको देउखुरी क्षेत्रलाई सडक मानव मुक्त बनाउने अभियानमा पनि जुटेको छ ।