आज ६६ औं कुष्ठरोग दिवस, जानौं कुष्ठरोगीले ध्यान दिनुपर्ने यी कुराबारे
आज ६६ औं कुष्ठरोग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । सरकारले सन् २०२० सम्ममा नेपालबाट कुष्ठरोग निवारण गर्ने लक्ष्य लिएपनि त्यसमा चुनौती थपिएको छ । वर्षेनी कुष्ठरोगीको संख्या ३ हजारका दरले बढ्दै जाँदा अबको एक वर्षमा कुष्ठरोग निवारण हुनेमा आशंका व्यक्त गर्न थालिएको छ ।
जानौं कुष्ठरोगबारे महत्वपूर्ण जानकारी
कुष्टरोग एउटा सूक्ष्म किटाणुको कारणले हुने रोग हो । यो सूक्ष्म जीवाणु शरीरमा प्रवेश गरेपछि हाम्रो शरीरमा हल्का फुस्रो खालका दाग देखा पर्न सक्छ ।
सो दागले तातो, चिसो तथा अन्य कुनै पनि आभास पाउँदैन । चिमोट्दा पनि थाहा पाउँदैन । कोही गोरो मानिसमा भने रातो रङको दाग पनि हुन सक्छ ।
नेपालमा कुष्टरोगीको संख्या अहिले न्यून भइसकेको छ । अहिले वार्षिक तीन हजार नयाँ कुष्टरोगी पहिचान भइरहेको देखिन्छ । पहिलेको तुलनामा संख्या कम भएपनि निर्मूल हुन भने केही समय लाग्ने देखिन्छ ।
कुष्टरोगका लक्षण
कुष्टरोगको संक्रमणमा परेका बिरामीको आँखा र हातखुट्टाको नसालाई असर पार्न सक्छ । जसले गर्दा हातखुट्टा झमझमाउने, तातो चिसो छुट्याउन नसक्ने हुन्छ ।
बिस्तारै त्यसको असरले हातखुट्टा र आँखाको ढकनीको मांसपेशी कमजोर हुँदै जान्छ । यस्तो भएमा आँखाको ढकनी बन्द गर्न नसक्ने हुन्छ । त्यस्तै, हातखुट्टाका औँला कमजोर भई केही पनि समात्न नसक्ने अवस्थामा पनि पुग्न सक्छ ।
हातखुट्टाका औँला बाँगो हुन सक्छ । स्पर्श थाहा नपाउने भएकाले चोटपटक लोगेको या घाउ भएको पनि थाहा हुँदैन । दैनिक काम गर्दा विभिन्न किसिमका चोट लाग्न सक्छ । तर, त्यसको आभाससमेत नपाउँदा समस्या हुन सक्छ ।
केही बिरामीमा धेरै किटाणु भएको अवस्थामा कानका लोती झुन्डिने, जोर्नीहरु दुख्न थाल्ने जस्ता समस्या पनि देखापर्न सक्छन् ।
परीक्षणबाट थाहा हुन्छ
लक्षण देखिदैँमा कुष्टरोग लागेको यकिन गर्न सकिदैँन । यस्तो देखिएमा शंका भने गर्न सकिन्छ ।
नजिकको स्वास्थ्य संस्थामा परीक्षण गराउनु भने जरुरी हुन्छ । यसका लागि कान र प्रभावित छालाबाट तन्तु रस झिकेर ल्याब परीक्षण गर्नुपर्ने हुन्छ । तर, यो सुविधा सबै स्थानमा उपलब्ध नहुन सक्छ ।
रोगीले ध्यान दिऔँ
रोग पत्ता लागेपछि नियमित उपचार गर्नुपर्छ । चिकित्सकले जटिलता हेरेर बहुऔषधि दिन्छन् । सोहीअनुसार सेवन गर्नुपर्छ ।
कहिलेकाँही शरीर र किटाणुको बीचमा थप जटिलता देखिन सक्छ । रोगको रियाक्सनका कारण थप औषधि पनि दिनुपर्ने हुन्छ । त्यस्तो अवस्थामा स्वास्थ्य संस्थामा परीक्षण गरेर नै दिने हो ।
हातखुट्टाको स्पर्शशक्ति हराएको पनि हुन सक्छ । त्यस्तो भएमा स्वास्थ्यकर्मीले सिकाएअनुसार उपचार गर्नुपर्ने हुन्छ । हातखुट्टा चिसो बनाउने, चिल्लो पदार्थ तेल, नौनी या भ्यास्लिनको प्रयोग गरी सकेसम्म चिल्लो बनाइराख्नुपर्छ ।
रोगीले चोटपटक लाग्नबाट भने निकै जोगिनुपर्छ । त्यस्तै, आगो या अन्य तातोबाट पनि जोगिनुपर्छ ।
चिसो मौसममा जाडो भयो भन्दैमा आगो ताप्नु हुँदैन । यसको सट्टा कोठालाई न्यानो बनाउनु राम्रो हुन्छ । आगोको ताप अनुभव गर्न नसक्ने हुनाले रोगी झन् नजिक गएर छाला सुन्निने तथा अन्य घाउ हुने सम्भावना पनि हुन्छ ।
एकपटक रोग लागेपछि निर्मूल नै भयो भनेर ठोकुवा गर्न सकिँदैन । पुनः फर्कने सम्भावना पनि रहन्छ । त्यसैले पुनः लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गएर दोहो¥याएर उपचार गर्नुपर्ने हुन्छ । यस्तो दोहोरिने समस्या भने निकै कम मात्र देखिएको छ ।