जाडोमा स्वास्थ्यको ख्याल यसरी गरौँ



Download our app to get more features


काठमाडौं लगायत सहरमा बिस्तारै अहिले धेरै नै जाडोको महशुस गरिएको छ  भने हिमाली भेगमा अत्यधिक चिसोका साथै हिमपात भइरहेको छ । जाडोयाममा देखिने रोगहरू अरू समयमा देखिनेभन्दा केही फरक हुन्छ । यसबाट बच्न विशेष ध्यान पु¥याउनुपर्छ । कुनै रोग जाडो याममा मात्र देखिने पनि हुन्छ भने केही जाडो समयमा बल्झिने हुन्छ । 

रुघाखोकी र सिजनल फ्लु
जाडोको सुरुवात र मौसम परिवर्तनसँगै रुघाखोकी र भाइरल फ्लुहरू बढी मात्रामा देखिन थालेका छन् । मुख्यतः भाइरसका कारण हुने यस्तो किसिमको रुघाखोकी समयमै ठीक भएन भने पछि ब्याक्टेरियाको संक्रमण हुने र निमोनिया पनि हुन सक्छ । विशेषगरी साना बालबालिका र रोगसँग लड्ने क्षमता कम भएका वृद्धवृद्धामा यो समस्या बढी हुन्छ । भाइरल सिजनल फ्लु पाँच–सात दिनमा आफैँ ठीक भएर जान्छ । यसका लागि त्यस्तो कुनै औषधि सेवन गर्नुपर्दैन ।

यसका लक्षणहरू
हाच्छिउँ आउने
नाकबाट पानी बग्ने
टाउको दुख्ने
जिउ दुख्ने
ज्वरो आउने
आलस्य हुने
यस्तो समस्या देखिएको बेला झोल पदार्थ प्रशस्त खाने, न्यानो रहने र तातोपानी सेवन गर्नुपर्छ । प्रायः आफैँ सन्चो हुने यस किसिमको रूघाखोकी ठीक नभए वा झन् बढी हुँदै गएमा भने चिकित्सकको सल्लाह र निगरानीमा केही जाँच र औषधि सेवन आवश्यक हुन सक्छ । त्यसका लागि नजिकैको अस्पताल गएर चिकित्सकसँग परामर्श लिनु उपयुक्त हुन्छ ।

चिसो र श्वासप्रश्वाससम्बन्धी समस्या 
चिसो मौसममा पुरानो श्वासप्रश्वाससम्बन्धी समस्या (जस्तै ः दम) बल्झिने सम्भावना हुन्छ । चिसो मौसममा सुक्खा हुने र हावाहुरी चल्ने कारण धुलो र परागहरूको मात्रा वातावरणमा बढ्ने हुन्छ । यसको कारण पुरानो एलर्जी र दमको समस्या भएकाहरूले विशेष ख्याल पु¥याउनुपर्ने हुन्छ ।

चिसोमा भाइरल रूघाखोकीको कारण पनि दम बिग्रने सम्भावना हुन्छ । विशेषगरी वृद्ध र रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम भएका बिरामीले सावधानी अपनाउन पर्ने हुन्छ । आफूले कुनै इनहेलर वा श्वासप्रश्वासको औषधि लिइरहेको छ भने त्यसलाई छोड्नुहँुदैन । न्यानो रहनुपर्छ र धुलो तथा एलर्जी गराउने बस्तुबाट टाढै बस्नुपर्छ ।

चिसोमा मुटुको समस्या
चिसोयाममा मुटुको समस्या भएकाहरूको रोग बल्झिने र रोग नदेखिएकालाई पनि रोग देखिने सम्भावना उच्च हुन्छ । उच्च रक्तचाप र मधुमेह भएका बिरामीले चिसो मौसममा विशेष ध्यान पु¥याउनु आवश्यक हुन्छ । धेरै अध्ययनले यस्ता समस्या भएका व्यक्तिमा जाडोमा हृदयघातको सम्भावना बढ्ने देखाउँछ । मुटुको रक्तनली चिसोमा खुम्चिने र पहिले नै यदि त्यो रक्तनली साँघुरिएको छ भने त्यसले हर्ट एट्याक निम्त्याउन सक्छ । त्यसैले रक्तचाप, मधुमेह र कोलेस्ट्रेरोल बढी भएका बिरामीले बिहानको चिसोमा सकेसम्म दौड वा व्यायाम नगर्न सल्लाह दिइन्छ । बढी धपेडी गर्दा छाती दुखेमा वा अप्ठेरो महसुस भएमा तुरुन्त अस्पताल गएर चिकित्सकलाई देखाइहाल्न आवश्यक हुन्छ ।

चिसो र छालाको समस्या
यो मौसममा छालाको समस्या पनि देखिने गर्छ । जाडो मौसममा वातावरण सुक्खा रहने र धुलोधुवाँ तथा एलर्जी गराउने वस्तुहरूको मात्रा बढ्ने हुनाले छालाको पनि विशेष हेरचाह गर्नुपर्ने हुन्छ । छालालाई चिसोबाट बचाउन न्यानो र शरीर पूरै ढाकिने कपडा लगाउन सकिन्छ भने सुक्खा हुनबाट जोगाउन मोइस्चराइजिङ क्रिम लगाउन सकिन्छ ।

कठ्यांग्र्रिएर हुने मृत्यु
मुख्यतः तराई भेगमा कठ्यांग्रिएर धेरैको मृत्युु भएको समाचार यो बेला आउँछन् । अत्यधिक चिसोबाट हाइपोथर्मिया भएर मानिसको मृत्यु हुने गर्छ । यसबाट बच्ने एउटै मात्र उपाय भनेको चिसोबाट बच्ने नै हो । पर्याप्त कपडा लगाउने, चुरोट र रक्सी सेवन नगर्ने र न्यानो भएर बस्ने गर्नुपर्छ । सरकार र सम्बन्धित निकायले यस्तो खालको समस्या आउनबाट रोक्न विशेष ध्यान दिनुपर्ने हुन्छ ।
 

Last modified on 2020-03-18 15:22:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts