योगशैली तपाईंंका लागि
योग धेरैले बुझेजस्तो आधा–एक घण्टामा गर्ने व्यायाम कसरत हैन । यो प्रतिपल, प्रतिक्षण र सास सासमा चलिरहने प्रक्रिया हो । महर्षि अरविन्दले भन्नुभएको छ ‘प्रत्येक श्वास योग साधना हो ।’ व्यवहारिक परिप्रेक्ष्यमा योग जीवन जिउने कला हो । योग विज्ञानका अध्येताहरूको अनुभवमा योग समग्र जीवन पद्धति हो, सर्वांगीण जीवनदर्शन हो । अध्यात्म वैज्ञानिकहरूको दृष्टिकोणमा योग सबै विज्ञानभन्दा माथि चेतनाको महाविज्ञान हो । ऋषिमहर्षि सूक्ष्मद्रष्टाहरूको भनाइमा योग समाधिको यात्रा हो ।
उपरोक्त विश्लेषणहरूमध्ये तपाईंलाई जुन उपागम अधिक जँच्दछ, त्यसलाई सहर्ष स्वीकार्न सक्नुहुनेछ । व्यक्ति पिच्छे रुचि, क्षमता, कर्मसंस्कार र प्रारब्धको स्तर भिन्न भिन्न हुने गर्छ । कुनै व्यक्ति तर्कशील र बौद्धिक हुन्छ भने कुनै व्यक्ति भावनाशील र भक्तिवान् हुन्छ । जसमा जुन किसिमको क्षमता र अभिरुचि हुन्छ सोही अनुरूप ऊ योगमार्गको चयन गर्न सक्दछ ।
त्यसैले गर्दा योग–आविष्कारहरूले अनेकौं प्रकारका योग प्रणालीको प्रवर्तन गरेका छन् । पृथक पृथक प्रकारका योग पद्धतिहरूको अवधारणा खास गरी विविधतापूर्ण जिज्ञासु र अनुयायीहरूको सुविधामाथि ध्यान राखेर विकसित भएको हुनुपर्छ ।
प्रचलित प्रमुख योग प्रणाली यस्ता छन्– कर्मयोग, ज्ञानयोग, राजयोग, अष्टाङ्ग योग, भक्तियोग, मन्त्रयोग, हठयोग, क्रियायोग, नादयोग, प्राणयोग, ध्यानयोग । आजभोलि योगको नाममा जुन आसन, प्राणायाम र केही मुद्राबन्धको प्रयोग गरिन्छ, त्यो हठयोगको एउटा सानो अंश मात्र हो । समग्रतामा योग अत्यन्त व्यापक, असीम र वैविध्यपूर्ण छ । यसर्थ योग गर्नलाई कसैलाई कुनै पनि कुराले र कहिल्यै पनि छेक्दैन । जहिले पनि जहाँ पनि, जुनसुकै परिस्थितिमा पनि योग गर्न सकिन्छ ।
शरीर रहुन्जेल हाम्रो शरीर कुनै न कुनै आसनमा अवस्थित हुने गर्दछ । आसन बिना शरीर अस्तित्वमै रहँदैन । हरघडी शरीरको अवस्था, दशा, लयबद्धताप्रति सजग हुनु नै आसनाभ्यास हो । प्रत्येक मिनेट १६–१७ पटक लिनेछाड्ने श्वासप्रश्वासलाई परिष्कृत गर्नु प्राणायाम हो । यसरी जीवनका प्रत्येक आयाममा उत्कृष्टता, विशुद्धता र दिव्यता थप्दै जानलाई केले छेक्ने ? स्मरण रहोस्, शरीर र मनको उपलब्धता नै योगको प्रयोगशाला हो । एकपटक फेरि श्री पट्टाभि जोइस भन्नुहुन्छ कि ‘जो यसलाई चाहन्छ योग हरेकका लागि सम्भव छ । योग एक ब्रह्माण्डीय विषय हो तर यसलाई व्यापारिक उद्देश्य र सांसारिक कमाइको उद्देश्यले प्रयोग गर्ने भुल नगर ।’
योग नगरे गुम्छन् यी फाइदा
शारीरिक– ओजस्वी शरीर, आरोग्यवान् एवं स्वस्थ शरीर, तन्दुरुस्त एवं सुगठित काया, कर्मसामथ्र्यले युक्त तन, तेजोमय मुखमण्डल, स्फूर्तिवान् व्यक्तित्व, भरिपूर्ण जीवनीशक्ति, दुःखकष्ट घामपानी सहन सक्ने ज्यान ।
प्राणिक– प्राणसम्पन्न व्यक्तित्व, आँखामा तेज, त्वचामा चमक, प्रबल रोग प्रतिरोधी क्षमता, जाडो गर्मी जुनसुकै स्थानमा अनुकूलित हुन सक्ने, उन्नत एवं सुविस्तृत आभा मण्डल भएको ।
मानसिक– तीक्ष्ण आई. क्यू. (बौद्धिक क्षमता), एकाग्रता क्षमता, स्मृति क्षमता, वोधक्षमता, ग्रहण क्षमता, धारणा क्षमता, ध्यान क्षमता जस्ता मानसिक क्षमताले युक्त । सृजनात्मकता, रचनात्मकता, मनस्वीता, अन्तज्र्ञान, भाषिक चातुर्यता, भेद चातुर्यता, निर्णयशीलता, लक्ष्यशीलता, नेतृत्वक्षमता, प्रबन्धक्षमता, कलाकौशल आदि कसौटीमा प्रखर ।
नैतिक– नीतिवान्, सदाचारी, सत्यनिष्ठ, अहिंसावादी, एम.आई. अर्थात् मोरल इन्टेलिजेन्स सम्पन्न, विश्वसनीय, अपरिग्रही (अनावश्यक सम्पत्ति नथुपार्ने), समाजनिष्ठ, सामुहिकता एवं सहकारिताको गुणयुक्त, सहअस्तित्वप्रेमी, प्रकृतिप्रेमी, पर्यावरणप्रेमी, आदर्शवान् ।
आध्यात्मिक– हृदयवान्, भावनाशील, परानुभूतियुक्त, कर्मशील, कर्मफल विधानको अनुयायी, संस्कारवान्, संकल्पशील, ईश्वरानुरायी, आसक्तिविहीन, न्यायप्रेमी, सर्वप्रिय, प्रेमवान्, दिव्य गुणहरूले युक्त ।
केही पंक्ति तपार्इंका लागि
एते गुणाः प्रवर्तन्ते योगमार्गकृत श्रमैः ।
यस्माद्योगं समादाय सर्वदुःखवहिष्कृतः ।।
ब्रह्मविद्योपनिषद्– ५८
योगाभ्यासमा जे जति श्रम गरिन्छ त्यो कदापि निरर्थक जाँदैन । प्रयत्नपूर्वक साधनाले समस्त दुःख, शोकसुर्ताको निवारण गर्दछ ।
अभ्यासात्कादिवर्णानि यथाशास्त्राणि बोधयेत् ।
तथा योगं समासाद्य तत्वज्ञानं च लभ्यते ।।
घेरण्डसंहिता १।५
जसरी ‘क ख ग घ’ बाट अक्षरारम्भ गरी अभ्यास गर्दै जाँदा विषय विशेषज्ञता वा विद्वता हासिल हुन्छ, त्यसैगरी योगको अभ्यास निरन्तर गर्दै जाँदा एक दिन तत्वज्ञान प्राप्त हुन्छ ।
युवावृद्धोऽतिवृद्धो वा व्याधितो दुर्बलोऽपि वा ।
अभ्यासात्सिद्धिमाप्नोति सर्वयोगेष्वन्द्रितः ।।
हठयोग प्रदीपिका १।६४
युवा, वृद्ध, अतिवृद्ध, रोगी, दुर्बल जोसुकैले पनि योगाभ्यास गरेर सफलता (सिद्धि) प्राप्त गर्न सक्दछ ।
यस्तो त सम्भव छ भने
बी.के.एस.आयंगर विश्वप्रसिद्ध समकालीन योगगुरु हुनुहुन्छ । योगविज्ञानलाई पाश्चात्य जगत्मा स्थापित गराउन उहाँको अतुलनीय योगदान छ । उहाँले लेख्नुभएका योगसम्बद्ध कृतिहरू अत्यन्त उत्कृष्ट, वैज्ञानिक र युगानुकूल छन् । योगुरु आयंगरले आरम्भ गर्नुभएको आयंगर योगपद्धति आज विश्वभर सबैजसो देशमा फैलिएकाे छ । यस्ता योगमूर्तिको जीवनगाथा भने विलक्षण किसिमको छ । योगमार्गमा प्रवेश गर्नु अगाडि उहाँ क्षयरोगको असाध्य बिरामी हुनुहुन्थ्यो । युवावस्थासम्म क्षयरोगको आक्रमणले सुकेर ढल्न लागेको शरीर थियो । कतिले त उनलाई जीवित देख्ने आशासमेत मारिसकेका थिए ।
त्यस्ता व्यक्ति सौभाग्यवश सद्गुरुदेव सांख्य–योग–शिखामणि प्राध्यापक टी. कृष्णमाचार्यको सान्निध्यतामा पुग्नुभयो । सद्गुरुको महत्वपूर्ण मार्गदर्शन र आयंगरको समर्पणपूर्ण साधना एवं गुरुनिष्ठाले उनको सबै रोग शान्त भयो । योगबलले भित्रको आत्मबल र ज्ञानबललाई जगायो । कठिन योगसाधना एवं सद्गुरुकृपाले उहाँ स्वयं योगगुरु बनेर विश्वशिक्षणमा निस्कनुभयो । तर्कप्रधान र भौतिकवादी पाश्चात्य मुलुकमा योगलाई स्थापित गराउन उहाँको अमूल्य योगदान छ । भारत लगायत पूर्वीय राष्ट्रहरूमा पनि आयंगर योग प्रसिद्ध छ ।
एउटा टी.बी. लागेको मरणासन्न व्यक्ति आपूmलाई संकल्पबद्ध गराई एकदिन ज्वलन्त योगमूर्ति योगाचार्य बन्न सक्छ भने हामी किन सक्दैनौँ ? आजभोलि हामीलाई टी.बी. लाग्न छाडिसकेको छ बरु टि.भि. यानिकी टेलिभिजन कुलत भने धेरैजसोलाई लागेको छ । टी.बी. रोग त निको हुन्छ भने टि.भि. कुलत रोग कसो निको नहोला ? यस यथार्थलाई हृदयगंगम गरी तपाईंं हामी प्रत्येक योगमार्गमा अघि बढौँ र योगशैलीमा पारंगत बनौँ । यो नै समयको पुकार हो ।
अहिलेको पुस्ता क्रमशः दुर्बल र नपुंसक हँुदै गइरहेको छ । बलहीनताका कारण अहिलेको युगलाई तनाव र डिप्रेसनको युग भन्न थालिएको छ । धनसम्पत्ति, पदप्रतिष्ठा, यन्त्रउपकरणको स्वामी भएकै कारण आजको मान्छे आफूलाई बलवान ठान्ने गर्छ जबकि यदि उसको स्वामित्वको वस्तु हटाइदिने हो भने उसको शरीरबल र मनोबल नितान्त क्षीण हुँदै गएको अवस्था छ ।
यस परिपे्रक्ष्यमा अब योग बाहेक अर्को समाधानै देखिँदैन उसको मानसिक नपुंसकता र दुर्बलतालाई निवारण गर्ने । योगमा केवल विरासन र सिंहासन मात्रै गरिँदैन । यसले वीर र सिहंस्वरूप समेत बन्न सिकाउँछ । अन्यथा योगमा निहित बलप्रदायक विशेषताको वर्णन योग गुरु अमित राय किन यसरी गर्नुहुन्थ्यो ‘योग केवल केही आसनहरूको पुनरावृत्ति होइन, यो त्यो विद्या हो जसले हामीभित्र विद्यमान सूक्ष्म ऊर्जाभण्डार खोज्ने र प्रष्फुटित गर्ने काम गर्दछ ।’
धेरैजसो मान्छेहरू आज धनबलको बन्दोबस्त गर्ने अन्तहीन दौडानमा छन् । मान्छेलाई न चैन छ न विश्राम गर्ने समय । धनबलको दौडानमा जब मान्छे थाक्दछ, वाक्कदिक्क हुन्छ, उसलाई अन्ततः योगको छहारी याद आउँछ । ऊ आउने आखिर योगकै शरणमा हो । चाहे त्यो कालो होस् चाहे गोरो । चाहे त्यो सनातनी होस् चाहे गैरसनातनी ।
चाहे त्यो साम्यवादी होस् चाहे अरू कुनै वादी । हाम्रा आर्ष अन्वेषक पूर्वजहरूले प्रवर्तन गरेको योग, हामी तिनैका सन्ततिहरू भएर पनि तेतिसारो गर्दैनौं । हाम्रो पूर्वीय इतिहाससँग कुनै तालुक नभएका पश्चिमाहरू अहिले योगको क्षेत्रमा धमाका गरिरहेका छन् । के यो योगबलको प्रभाव हैन ?
तपाईंं हामी मध्ये कतिपयको योग शुरु गरौँला भन्दा भन्दै वर्षाैंवर्ष बितेर जान्छ । उनीहरू भने ‘योग गरौं आजैदेखि’ भन्ने नारा बोकेर दिनैपिच्छे लाखौं मान्छेहरूलाई योगसँग जोडिरहेका छन् । जहाँ जहाँ योग विषयक उत्सव, महोत्सव, कार्यशाला र कुम्भमेला हुने गर्छ गोरो छाला भएकाहरूको संख्या ठूलो हुने गर्दछ । यसबाट लाग्छ कि उनीहरू धनबलको साधनाबाट अघाएर अब योगबलको मार्ग खोजिरहेका छन् ।
संयुक्त राज्य अमेरिकामा मात्रै आजको दिनमा योग क्षेत्रमा करोडौं डलरको कारोबार भइरहेको छ । महँगा–महँगा शहरहरूमा महँगा–महँगा पाराका योगा स्टुडियो, लाइफ स्टाइल क्लिनिक, योगा पार्लर, योगा सेनिटोरियम र योगा क्लबहरू धमाधम खुलिरहेका छन् । यदि योग विज्ञानमा त्यति बल नभएको भए योग यसरी फैलिने थिएन होला ।
योगबलका बारेमा यसरी बहुआयामिक व्याख्या गर्नुको उद्देश्य यो आलेख पढ्दै गर्ने तपाईंंलाई योगशैलीको पारखी बन्न प्रेरित गर्नु हो । योग गर्न कुनै थप योग्यता चाहिँदैन र तपाईंं नै यसको उत्कृष्ट पात्र हुनुहुन्छ । यो कुरा कृपया राम्ररी हृदयंगम गर्नुहोला ।
अाफैँ रोज्नुहोस् उत्तम योगपथ
‘योग’ को विषयलाई आज कथित ठालुहरूले धेरै जटिल बनाइदिएका छन् । आम जनमानस कस्तो छ भने योग भनेको भेषधारी, वैरागी, गृहत्यागी, जटाधारी, अकर्मण्यहरूले हिँड्ने बाटो हो । बल्ल आएर एउटा वर्ग हठयोगप्रधान आसन प्राणायाम चाहिं हामीले पनि गर्न हुने रहेछ भनेर मान्न तयार भएको छ । बाँकी दुनिया योगलाई अझै पनि जीवनको गैर–विषयवस्तु सम्झन्छ । जबकि योग सबैका लागि र प्रत्येक मनुष्यका लागि हो । मनुष्य चोलामा जन्म लिनु नै योगको सार्वभौमिक योग्यता हो ।
युगऋषि आचार्य श्रीराम शर्माले भन्नुभएको छ ‘यस्तो सुगम मार्गलाई पनि आज मान्छेले दुर्गम मानेर बसेका छन् । योग गर्नलाई ‘मन’ भए पुग्छ । मनमा तत्परता र तन्मयता छ भने योग जसले पनि गर्न सक्छ । यो कुनै पनि हालतमा कठिन छैन । यसमा न अरू कसैको आवश्कयता पर्छ । आफ्नै हातको खेल हो । तर साहस र श्रद्धा चाहिँ चाहिन्छ ।’
हो, योग तपाईंं पनि गर्न सक्नुहुन्छ । यसबाट तपाईंं पनि कृतकृत्य हुन सक्नुहुन्छ । पेसा, काम, जातजाति, लिंग, धर्म र भाषाले रोक्दैन । ‘उठ ! जाग र आफ्नो लक्ष्यतर्पm अग्रसर होऊ जबसम्म गन्तव्य हासिल हुँदैन ।’ स्वामी विवेकानन्दको यो जागरण उद्घोष लक्ष्यार्थ योग नै हो किनकि योग नै मनुष्य जीवनको अन्तिम गन्तव्य हो । तपार्इंको व्यक्तित्व, अभिरुचि, आन्तरिक संस्कार र क्षमता अनुसार जुन योगपथ उपयुक्त हुन्छ, त्यसमा अग्रसर हुनुहोस् ।