प्लाष्टिक, पर्यावरण र जनस्वास्थ्य



Download our app to get more features

प्लाष्टिकको आविष्कार अठारौं सताब्दीको उत्तराद्र्धमा बेलायती वैज्ञानिक अलेक्जेण्डर पार्केसले गरेका हुन् । उनको नाममा त्यस बेला प्लाष्टिकलाई पार्केजाइन भनिन्थ्यो । पार्केसले यसको आविष्कार नाइट्रोसेलुलोजद्वारा गरेका थिए ।

प्रारम्भिक प्लाष्टिक अत्यधिक कठोर थियो । यसलाई तेल र कपुर मिलाएर मुलायम बनाइयो । प्लाष्टिक शब्दको उत्पति ग्रीक भाषाको प्लाष्टिककोज सब्दद्वारा भएको हो । जसको अर्थ बनाउन या तयार गर्न भन्ने हुन्छ । प्लाष्टिक बनाउने व्यापारिक विधिका जन्मदाता भने लियो ह्यान्ड्रिकस आर्थर बेकलैण्ड हुन् । उनले प्लाष्टिकको निर्माण सन् १९१० मा फिनोल र फर्मल्डी हाइडको रासायनिक क्रिया गराएर बनाएका थिए । यसपछि प्लाष्टिक निर्माणका नयाँ नयाँ तरिकाहरु आउन थाले । इथाइलिनको बहुलिकरण गरेर पोलीइथाइलिनको निर्माण पनि हुन थाल्यो । आज यस्ता पदार्थहरूबाट प्लाष्टिक तयार गरिन्छ, जसको गुणवत्ता र उपयोग बहुमुखी छ ।

प्लाष्टिक एउटा यस्तो पदार्थ हो जो हाम्रो दिनचर्यामा पूर्ण–रुपेण घुलमील भइसकेको छ । यो यस्तो पदार्थ हो जसको उपयोगिताको वर्णन जति गरे पनि कमै हुन्छ । पोलेथिन व्यागदेखि लिएर खेलौना, भाँडाकुडा, पाइप, फर्निचर, बट्टा आदि अनेक उपयोगी वस्तुहरुको निर्माण प्लाष्टिकद्वारा हुने गर्छ । यसैले त प्लाष्टिक र शिशालाई आधुनिक रसायनको महत्वपूर्ण खोजको उपनाम दिइएको हो । यी दुई तत्वहरुलाई मात्र हाम्रो जीवनबाट हटाइदिने हो भने जीवन साँघुरो हुनजानेछ । 

यसरी एकातिर प्लाष्टिक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ, भने अर्कोतिर चाढो नगल्ने, नसढ्ने गुणको कारण पर्यावरण र जनस्वास्थ्यका लागि भयंकर खतरा सावित हुँदै गइरहेको छ । मौसम, पानी, किराफट्यांग्रालगायत जीवाणु, विषाणु, लेउ, झ्याउ र ढुसी पनि यसलाई गलाउन असक्षम सावित भइसकेका छन् । अम्ल, क्षार, लवणलगायत अन्य रसायनहरुसँग क्रिया गराउँदा पनि प्लाष्टिकलाई गलाउन नसकिने हुँदा प्लाष्टिकको फोहोर हाम्रो वातावरणमा दिनप्रतिदिन बढिरहेको छ । समुन्द्रको तट होस् या हिमाल, मरुभूमि होस या घना जंगल, तालतलैया हुन् या नदि–नाला लापर्वाहिकपूर्वक फ्याकिएका प्लाष्टिकको फोहोरले सुन्दर मनोहर दृश्य भएका यी प्राकृतिक संरचनालाई दिनप्रतिदिन कुरुप बनाउदै गइरहेको छ । 

हामीले प्रयोग गर्ने प्याष्टिकजन्य ९५ प्रतिशत वस्तुको उत्पादनमा ईष्टर–थ्यालेट भन्ने तत्व हुन्छ । यो तत्व प्लाष्टिकजन्य वस्तुहरुलाई मुलायम, टिकाउ, दरिलो र वहुउपयोगि बनाउन प्रयोग गरिन्छ । तर प्लाष्टिक र ईष्टर–थ्यालेटको बीच कुनै पनि रासायनिक बन्धन नहुने हुँदा प्लाष्टिक पुरानो हुँदै गएपछि ईष्टर–थ्यालेटका धुलोहरु वातावरणमा फैलिने र श्वासनली, मुख, छाला आदि हुँदै शरीरभित्र प्रवेश गरि मिथोक्सि–एसीडिक–एसीड भन्ने अत्यन्त हानिकारक विष बनाउँछ । यो विषको अत्यन्त सूक्ष्म मात्रा पनि शरीरका विभिन्न अंगहरुका क्रियाशिल कोषहरुलाई मार्न सक्षम छन् । विशेष गरि अण्डकोष, डिम्बशाय, थाईमस ग्रन्थी, गर्भमा हुर्कदै गरेको बच्चा र अन्य छिट्टै विकसित हुने कोषहरुलाई मिथोक्सि–एसीडिक–एसीडले चाडै मार्छ । यी कोषहरुको मृत्यु पश्चातव्यक्तिमा नपुंषकता, बाँझोपन, हर्माेनहरूको गडबडी र गर्भ मै बच्चा मर्ने अथवा विकृत बच्चाहरु जन्मने समस्याहरु आउँछन् । ईष्टर–थ्यालेट र यसका स्वास्थ्यमा पर्ने प्रतिकुल असरहरुमा हजारांै अनुसन्धान भइरहेका छन् र यो तत्वलाई विभिन्न रोगहरूको कारकतत्वको रुपमा बुझिदै गईएको छ । 

आज फेरी उही प्रश्न उठ्दछ की, यो समस्याबाट मुक्ति कसरी पाउने ? अवैज्ञानिक तरिकाले गरिएको प्लाष्टिक बिसंर्जनले पर्यावरण प्रदुषित गर्नका साथै जनस्वस्थ्यमा ठुलो क्षति पु¥याईरहेको छ । प्रायजसो हामी नगल्ने प्लाष्टिकबाट बच्नका लागि यसलाई जलाइदिन्छौ । तर यसको जलनबाट वातावरणमा कार्बनडाइअक्साइड, कार्बनमनोअक्साइड  र अन्य विषालु ग्यासको मात्रा बढ्न जाने हँुदा जनस्वस्थ्यका लागि झन् ठूलो समस्या श्रृजना गर्छ । अर्कोतर्फ यसको जलनाट उत्पन्न विशिष्ट उष्माधारीतावाला ग्यासको उत्पादनले पर्यावरण तातिदै जाने र ग्लोबल वार्मिन जस्तो भयावह समस्या उत्पन्न हुन गई जनस्वास्थ्य अझ विकाराल बन्न पुगेको छ । प्लास्टिक बिसर्जनको अर्को तरिका स्वरुप यसलाई हामी खाल्डो खनेर गाडिदिने गर्दर्छांै । तर यसो गर्दा प्लाष्टिक हाम्रो आँखाको सामुन्नेबाट केहि छिनको लागी त हट्छ तर सही स्थान र सहि तरिकाले नगाडेमा यसले ल्याउने जैव उत्पादकत्वसम्बन्धी समस्या झन बिकाराल छन् । माटोको पत्र भन्दा मुनि प्लास्टिकले आफ्नै पत्र बनाउदा यसलाई छेडेर पानीको आदानप्रदान हुन सक्दैन फल स्वरुप त्यो ठाउँमा बिज अंकुरण हुननसकि जैब उत्पादकत्व घट्छ । अंकुरण भईहाले पनि जमीनमुनिको प्लास्टिक पत्रलाई छेडेर बिरुवाका जरा गहिराई सम्मपुग्न सक्दैनन् ।

प्लाष्टिकका गुण भन्दा अवगुण धेरै
विभिन्न गुण प्लाष्टिकमा भए पनि नराम्रा पक्षहरु ज्यादा छन् । विशेषतः पर्यावरणीय समस्याका साथसाथै अदृश्य रुपमा जनस्वास्थ्यमा देखा परिरहेका  भयावह रोगहरुका कारण पनि प्लाष्टिकलाई नै मान्न थालिएको छ । यस समस्याबाट मुक्ति पाउन विश्वका धेरै देशहरुले प्लाष्टिक र प्लाष्टिकजन्य पदार्थहरुलाई कडाइका साथ प्रतिबन्ध लगाउदै गएका छन् । हाम्रो देशमा पनि पोलिथिनको उपयोग र बिक्री वितरणलाई निरुत्साही गर्न विभिन्न कानुनको व्यवस्था छ । फोहरमैला व्यवस्थापन ऐन ०६८ अुनसार पोलिथनजन्य वस्तुहरुको उपयोग तथा बिक्री वितरण गर्नेलाई १५ हजार देखि एक लाखसम्म जरिवाना हुने व्यवस्था छ । तर हालसम्म कसैमाथि पनि कारवाही हुन सकेको छैन । नीति नियममा पनि प्लाष्टिकजन्य पदार्थ भन्दा पोलीथिन प्रयोगलाई मात्र निरुत्साही गर्ने खालको कानुन छ । तर प्लाष्टिक भनेको पोलोथिन मात्र हैन, पोलोथिनलाई मात्र निरुत्साही गरेर यस समस्याको समाधान हँुदैन । ढिलै भए पनि प्लाष्टिकजन्य पदार्थ र पोलिथिनको अव्यवस्थित बिसर्जनले ढल–निकासमा हुने जामको मर्मत गर्दागर्दा वाक्क भएको काठमाडौं महानगरपालिकाले यो समस्याबाट मुक्ति पाउन पोलिथिन ब्यागको प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यले जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै जाने निर्णय गरेको छ । तर यसको कार्यान्वयन पक्ष कतिसम्म सफलिभुत हुन सक्छ त्यो त भविष्यले नै देखाउला । तथापि यसको प्रयोग गर्ने उपभोक्तालाई पाँच सय र बिक्रीकर्तालाई एक हजारसम्म जरिवाना गर्ने काठमाडौ महानगरपालिकाको नीति मात्र कार्यान्वयन भई दियो भने प्लाष्टिकको प्रयोग निकै हदसम्म नियन्त्रण हुनेछ । 

वास्तवमा प्लाष्टिक तथा प्लाष्टिकयुक्त वस्तुहरु वातावरण र जनस्वास्थ्यकालागि अत्यन्त हानिकारक तत्व भए पनि यसको उपयोग र बिक्री वितरण यथावत नै चलिरहेको छ । प्लाष्टिकबाट बनेका वस्तुका तात्कालिन फाइदा देखेर यसका जनस्वास्थ्यमा र वातावरणमा पर्ने दीर्घकालिन असरलाई आँखा चिम्लिदिने हो भने एक दिन जीव, जीवन र जगतले अपुरणीय क्षतिव्यहोर्नु पर्नेछ । यो दुर्घटनाबाट बच्ने एउटै उपाय भनेको यसको उत्पादनमा नै प्रतिबन्ध लगाउनु हो । 
 

Last modified on 2019-12-24 11:42:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts