किशोरी र चेलीलाई मनोसुझाव
आज मेरो साइकियाट्री क्लिनिकमा एक यस्तो केश ल्याइए, आए कि नानु, मैंले तिमीलाई झल्याँस्स सम्झेँ । नेपालमा छोरी, चेली, महिलाका रुपमा जन्मने मानिसको जीवन, परिस्थिति, मन, मनोदशा, मनस्थिति, मनोस्वास्थ्य, मनोरोगका विषयमा श्रृंखलावद्ध भएर केहि सुझावहरु आए जुन म यहाँ लेख्दैछु । प्यारी नानु, अन्त्।रमनले तिमी तिनको चिन्तन्मनन् गर्नू है... ।
उमेरका हिसावले १०–१५ वर्षमा केटीहरु किशोरावस्थामा प्रवेश गर्छन् र सँगै जीवन, जगत् र समाज परिस्थिति आदिका बारेमा जान्न, बुझ्न थाल्दछन् । छोरी भएको कारण बेलामौकामा दिक्दारी, दुःख आइपर्छ; तिमीलाई पनि त्यस्तो दिक्दारी हुनसक्छ । नानु, तिमीले छोरी, चेली, महिला भएर महसूस हुने हिनता र पीडाबाट माथि उठ्न सिक्नुपर्छ ।
हो, हाम्रो समाज र माहोलमा महिला भएर जन्मनु र बाँच्नुका खास चुनौती र अप्ठेराहरु छन् । हाम्रा यथार्थ, परिस्थिति महिलामैत्री नहुनसक्छन् । अरु मानिस र समाज महिलाप्रति उदार र अनुकूल नहुनसक्छन् । उनीहरुको दृष्टिकोण र व्यवहार अनि महिलाका आफ्नै अन्तरनिहित व्यवधानहरुले पनि छोरी भएर जन्मेकोमा दिक्दारी हुनसक्छ । महिला, चेली, केटी, आइमाई भनेर तल्लो दर्जा, कमजोर, अरुको आश्रय चाहिने अबला, बच्चा जन्माउने साधन, रमाइलो वा यौन तुष्टीको साधन आदि इत्यादि अमर्यादित र शोभनीय सम्बोधन र विशेषण भरजन्म पाइनेछ । आफ्नै व्यवहार, स्वभाव, प्रवृत्ति र जिविकाले आफूलाई कमजोर, हिन वा अमर्यादित सिद्ध हुन नदेऊ; तिम्रा कमजोरीमा हाँस्ने र फाइदा उठाउनेहरुसँग आत्म–समर्पण नगर्नू है ..... ।
दुःखको कुरा; तिम्रा आफन्त, मित्र, साथी वा आत्मीय भन्ने, देखिने, देखाउने वा दावा गर्नेहरुले पनि मौका छोपीछोपी तिमीमा रुप भए हुञ्जेल सुन्दरताको प्रशंसा गरेझैं गरी फुस्ल्याएर; कुनै क्षमता, सम्पत्ति वा शक्ति भए त्यसैको आडमा तिम्रा अगाडि फुलाएर पछाडि तिमीबाट फाइदा उठाउन उद्यत् रहनेछन् । तिमीलाई त्यसको छनकसम्म नहुनसक्छ । पुरुषका लागि आवश्यक वा मनोकारी रुप वा कुनै कुरा तिमीमा नभए, तिमीलाई कसैले हेर्नेसम्म छैनन् । पुरुष मात्र हैन, तिमीलाई महिलाले नै झन् बढी दुःख दिनेछ ।
पुरुष खेल यस्तो हुनेछ कि तिमीलाई चरालाई चारा हालेझैं गरी पुरुष मोह, सम्बन्ध वा जालमा पारिनेछ । प्रष्ट भन्ने र व्यवहारमा देखाउनेहरु त तिमी देख्लाऊ तर यस्ता छद्मभेषी पुरुष स्वभाव अझ तिम्रा लागि घातक हुनेछन् । जानीजानी पनि बेलामौका तिमी महिला भनेर हेपिनेछौ, दबिनेछौ, ठगिनेछौ, पाखा लगाइनेछौ, हाँसो, रमाइलो वा यौन कठपुतलीका रुपमा हेरिनेछौ । उहि कुरा पुरुषले गरे पुरुषार्थ र तिमीले गरे गल्ती मानिनेछ । त्यस्ता गल्ती गर्न तिमीलाई उक्साइनेछ । पुरुष प्रवृत्ति, स्वभाव, रंग, गन्ध, शक्ति, अनुभव यस्तो छ कि युगयुगदेखि आमा, दिदी, बहिनीभन्दा महिला प्रेमिका, पत्नीका रुपमा बढी प्रिय र चर्चित बनेको दृष्टान्त देखिन्छ । पुरुष जे जस्तो चाहन्छ, महिला त्यसकै कठपुतली बन्नुपरेको छ । तिमी आफू र तिम्रो अवस्था केकस्तो छ, सोच्नू नानु ।
यसो भनेर फेरि तिमी हतास नहुनू नि । चुनौती र अप्ठेरालाई अवसरका रुपमा लिएर धैर्यपुर्वक मेहनत गरे तिमी वास्तवमा महिला हुनुको फाइदामा छौ भन्ने पनि नबिर्स । हाम्रै देशमा राष्ट्रपति, सभामुख, प्रधानन्यायाधिस सबैजसो उच्च ओहदा र सम्मानित स्थानमा महिला आरोहित भइसकेको अवस्था छ । चिकित्सक, इन्जिनियर, प्रशासक, नेतृ हरेकजसो भुमिकामा जे पनि गर्न, बन्न र जहाँ पनि पुग्नसक्ने सामथ्र्य र क्षमता महिलामा हुन्छ भन्ने देखिसकिएको कुरा हो । हरेक घरमा आमालाई सम्झे यो कुरा स्पष्ट हुन्छ । अझ कतिपय कुरामा त प्रकृतिले पुरुषभन्दा महिलालाई बढी क्षमता दिएको देखिन्छ । कतिपय अवस्थामा एउटै काम पुरुषले भन्दा महिलाले गर्दा सहज, सफल र सुखद् भएको दृष्टान्तको साक्षी तिमी आफै हौ नि, होइन ? तिमी हाम्रा लागि कति प्यारी, मनपसन्द र गौरबको आधार हौ भन्ने तिमीले बुझेकै हौलाऊ ।
सफल, सबल, सक्षम, सम्पन्न, सुन्दर वा कुनै हिसाबले अब्वल महिला दम्भले फुल्दा भने गिरिन्छ र तल परिन्छ भन्ने पनि बुझ नानु । किशोरावस्थामा आफ्नो सुन्दरता, पुष्टता, बौद्धिकता, क्षमता र बलले तिमीलाई घमण्ड र दम्भको लागि उक्साइरहन्छ; सजग रहनू । नारीको सौन्दर्य, हाउभाउ, कटाक्ष, आकर्षणको अगाडि मै हुँ भन्ने पुरुष पनि गल्दछ । यस्तो क्षमता र विशेषताको दुरुपयोग चाहिँ नगर्नू है । मन मिल्दा साथीसंगी वा कसैसँग गरेका बेहोसी, फिल्मी खालका नखरमाउला बेशरम वा रंगिला व्यवहार र अनियन्त्रित प्रदर्शनले भोलि आफैं ग्लानि भोग्न र जुनियरहरुमा खराब उदाहरण बन्न नपरोस्; पछि पछुताउनु पर्ला । सबल र सक्षम छु भनेर अरुलाई आफ्नो बोली, व्यवहार, हाउभाउ, संकेत, लवाइखवाई वा कुनैपनि हिसाबले जानीजानी बसिभूत, भ्रमित, पीडित वा अपहेलित बनाउँदा पनि तिम्रो गरिमा बढ्नेछैन ।
समाजमा धेरै नियत, प्रवृत्ति, स्वभाव र खालका मान्छेहरु हुन्छन्; अनुशासित, सभ्य, संयमित, परोपकारी र स्वस्थ अनि असामाजिक, असभ्य, स्वार्थी, दुराचारी र बिरामी मनस्थिति, दुवै कोटिका । सहि मानिस तिमीले जे गरेपनि सहि बाटो नै लाग्छन् । तिम्रा सम्पर्कमा यस्ता मानिस कमै आउँछन् र हुन्छन् । तर ‘इद’का गुलाम दोश्रा खालका मानिस भने यत्रतत्र सर्वत्र दृश्य, अदृश्य सबै रुपमा बग्रेल्ती हुन्छन् । त्यस्ता मान्छे नै तिम्रा वरिपरि झुम्मिने हुन्, त्यस्ताले नै तिमीलाई बढी पछ््याउने हुन् । जानीनजानी फेसन वा भड्किला पहिरन वा हाउभाउ वा ब्यवहारले पहिला खालका त होइनन्, दोश्रो खालका ब्वाँसाहरुलाई भने पक्कै खिँचिरहेको हुन्छ । तिमीबाट त्यस्तालाई आफूतिर खिँच्ने र आफैंलाई खतरा बढाउने काम त भैरहेको छैन? ख्याल राख्नू है । साथमा, केहि परे, आफ्नो सुरक्षा आफैं गर्नसक्ने हालमा रहनू है । आत्मरक्षाका कला, सिप, उपाय र शक्ति तिमीलाई कुनै न कुनै समयमा उपयोगी नै हुनेछ । अनि, कोहि आफ्नै कारण र कर्मले गिर्छ भने त्यसमा तिमी टाउको दुखाउने काम नगर । नारीलाई दोष दिनमा त यो दुनियाँ माहिरै छ, अरुले के भन्छ त्यसबाट बिचलित नहोऊ । तर तिमी आफू पनि आफूलाई सम्हाल है नानु ।
महिला अक्सर पुरुषको खटन र दलनमा पर्ने गर्छन्, अरुमा निर्भर अवस्थामा हुन्छ वा मेमसाहेब, सोकेश जस्तो निष्कृय तर आकर्षणको रुपमा हुन्छ । खानदानीदेखि सर्वसाधारण घरमा समेत लखरलखर बिना काम डुलिहिँड्ने अनुत्पादक, बेकामे, बेरोजगार मेमसाबहरु हुन्छन् र आफ्नो अस्तित्वहिन परिचय बनाउँछन् । खाली दिमाग शैतानको घर । काम बिनाको फुर्सदले मानिसमा नाना हानिकारक बिचार र पथभ्रष्ट हुने खतरा बढाउँछ । आजभोलि बिदेशमा काम गर्ने कतिपय श्रीमानका श्रीमतीहरुले यस्तै व्यहोरा देखाएका छन् । श्रीमान् बिदेशको मरुभूमि र कारखानामा दिनरात दलिने, श्रीमती भने घरमा मोज गर्ने मात्र होइन, नाजायज कर्ममा पौडिने । कति महिलाहरु भने घोडाझैं दौडिने श्रीमान्लाई साँझ फगत् पर्खने भूमिकामा रमाइरहेका हुन्छन् । श्रीमान् र अरु पुरुषहरुसँग काँधमा काँध मिलाएर जीवनरथ र सामाजिक जीवन हाँक्ने महिला इज्जत हामीलाई चाहिएको होइन र नानु ......? तिमी के बन्न चाहन्छौ? म त चाहन्छु; तिमी मेहनती र आत्मनिर्भर हुनू ।
अगेनामा बसेर घरपरिवार, छरछिमेक, दुनियाँ वा टेलिसिरियलको अन्तहिन छेउ न टुप्पाको गफ चुट्ने, अरुको कुरा काट्ने महिलाको परिचय बन्ला ! आर्थिक, सामाजिक, शैक्षिक, साँस्कृतिक, साहित्यिक, खेलकूद वा धार्मिक जुन हिसाबको भएपनि एउटै खालका सहि, असल र र्नििर्दष्ट विचार, सिद्धान्त र उद्धेश्य भएका जुझारु, शालिन र निर्भिक संगीहरुको समूहमा आबद्ध भएर हेर । अहिलेको यो वर्तमानको लागि, केहि समयको लागि अल्पकालीन र जीवनकै लागि लक्ष तय गर्नू । हरक्षण परिलक्षित रहनू ताकि पुरुषगन्ध, कुखुरेबैंस वा जीवन परिस्थिति, केहिकेहि कुराले पनि तिमीलाई तिम्रो उद्धेश्यबाट बिमुख र बिचलित बनाउन नसकून् ।
यसको मतलब तिमी जीवनको रमाइलो गर्न छाड्नू, गल्तीको डरले केहि गर्नबाट पछि हट्नू भनेको होइन; तिमी खुला आकाशमा स्वतन्त्र भएर माथिमाथि जहाँजहाँ मन लाग्छ, जताजता तिम्रो गन्तव्यले डोहो¥याउँछ, स्वस्फूर्त र स्वच्छन्द उड्नू । मर्यादा, आफ्नो इज्जत, कूलपरिवार र अभिभावकलाई चटक्क बिर्सेर मजनुसँग आवेसमा जीवनको कावा खाने लैला चाहिँ पक्कै बन्दैनौ हौला । संयम, नियम र मर्यादाको ख्याल राख्नू भनेको ताकि आफूले जिएको जीवन र गरेका कर्म आफ्नै लागि भारी, बोझिलो वा ग्लानिपूर्ण नबनोस् । यत्ति गर्दा पनि गल्ती हुन गएछ भने, पश्चातापमा अडिएर नबस्नू बरु त्यसबाट पाठ सिकेर अघि बढ्नू ।
सहि, उपयुक्त, आत्मीय र आफ्नो हितैषी चिन; जुन सजिलै पाइन्न । अभिव्यक्तिको सहजता, स्वतन्त्रता र स्वच्छन्दताको यो यूगमा हुने नहुने कुरा, प्रस्ताव वा अभिव्यक्ति तिमीले जरुरै ब्यहोर्नु पर्नेछ । यस्तोमा मन लोभिने, तानिने, उद्वेलित हुने, उन्मादित हुने, तनावग्रस्त, उदास, बेचैन वा बेहोस बनाउने पलहरु पनि आउनसक्छन् । तनाव त जीवनको अभिन्न अंश नै हो भन्ने नबिर्सनू । उपयुक्त तरिकाले ब्यहोर्दा तिमीले पाठ सिक्ने अबसर पाउनेछौ; लापर्वाही गर्दा जटिलताले जीवन र मन गाँज्नेछ । यस्तोमा हतार नगर, ठण्डा दिमागले सोच; विवेकी मानवले जे गर्छ, त्यहि गर । के गर्ने उपाय ठम्याउन सकेनौ, आफूलाई एक्लो नसम्झ । आफ्नो कल्याणमित्र, अभिभावक, शिक्षक वा जो यथार्थ शुभचिन्तक हो ऊसँग भलाकुसारी गर, सहयोग माग । यसो गर्दा तिमी भूलबाट बच्नेछौ । तर मनको कुरा शेयर गर्दा भने सहि उपयुक्त व्यक्ति चिनेर मात्र गर्नू ।
जति गर्दा नि भएन; नाना तरंग, भाव, साेंचले बारम्बार लामो समय अनियन्त्रित रुपमा मन बिचलित, बेचैन, भ्रमित, उदास, बिद्रोहि वा उद्वेलित भईरहे भनेपनि, नआत्तिनू । यस विषयमा परामर्श, सल्लाह, सहयोग र उपचार दिनसक्ने तालिमप्राप्त व्यक्ति विशेषज्ञहरु हुन्छन् । समयमै सहि कदम चाल्नसके सम्भावित जटिलताहरु हट्छन् । प्रतिकूल परिस्थितिले तिमीलाई जीवनशिक्षा मिल्छ र तिमी अझ परिपक्व बन्नेछौ ।