मधेशमा शीतलहरकाे कहर: कसरी कट्ला याे जाडाे !



Download our app to get more features

धनुषा, २६ मंसिर । खरको झुप्रो, बिहानको तुवाँलोका कारण आँगनमा शीतका थोपा झरि जस्तै खसिरहेको छ । धनुषाका हरिदेव पासवान, उमेरले ६७ कटेका छन् । तराईमा हरेक वर्ष शितलहरका कारण उनलाई जाडो छल्न दिनरात सोच्नुपर्छ । हरिदेव भन्छन्, ‘शितलहर र वर्षा त नआईदिए हुन्थ्यो ।

आफूले जेनतेन चिसोबाट जोगिने प्रयास गरेपनि नातिनातिनीको चिन्ताले पिरोली राख्छ ।’ हरिदेवको १२ जनाको परिवार छ । श्रीमतिको ३ वर्ष अघि चिसोको कारण निमोनियाले मृत्यु भयो । निकै सिकिस्त बनेपछि अस्पताल पुर्याउँदा श्रीमतिलाई निमोनिया भएको डाक्टरले बताएका थिए । घरमा साना साना नातिनातिनी छन् । ज्यू छोप्ने लुगा छैन । अरुले दिएको र मागेर लुगा लगाइन्छ तर, त्यसले मात्रै नपुग्दा उनीहरुपनि बिरामी भइराख्छन् । हरिदेव सुनाउँछन्, ‘आफ्नो शरीरपनि कमजोर हुँदैछ । बिरामी भइराख्छु । औषधि उपचार गराउने पैसा छैन । यसपालीको शीतलहरबाट कसरी जोगिने भन्ने चिन्ताले सताउन थालिसक्यो ।’

सप्तरीका सुखनी देवीको कथा पनि उस्तै छ । उमेरले ७० पुगेकी सुखनीको घरमा त खरको छानो पनि छैन । नदी किनारमा त्रिपाल लगाएर ६ महिनादेखि बस्दै आएका सुखनीको स्थायी बसोबास छैन । ६ महिना एउटा गाउँ ६ महिना नदी किनारमा बास बस्ने गरेको सुनाउँदै सुखनीले घर परिवारलाई चिसोबाट जोगाउन समस्या भएको र रोगले च्याप्ने गरेको भनिन् । आफूपनि चिसोका कारणले बेला बेलामा बिरामी हुने गरेको भन्दै उनले पोहोर त खासै चिसोले समस्या नभएपनि यो वर्ष त शितलहर सुरु हुने बेला भइसकेकाे भन्दै चिन्ता व्यक्त गरिन् ।

हरिदेव र सुखनी जस्ता प्रदेश २ का झन्डै ७९ प्रतिशत नागरिक घरबार विहीन छन् । उनीहरुसँग स्थायी बसोबास नै छैन । जसका कारण बाढी र शितलहरको चपेटामा दिन बित्छ भने कैयौंले अकालमै ज्यान गुमाउने गरेका छन् । प्रदेश २ सरकार र संघीय सरकारको तथ्यांक हेर्ने हो भने चिसोका कारण प्रत्येक वर्ष कम्तिमा पनि २५ देखि ३० जनाको मृत्यु हुने गरेको छ भने प्रभावित हुनेको सङ्ख्या २५ लाखसम्म पुग्छ । बाढीका कारण घरबारविहीन भएका पीडितहरू भने शीतलहर पनि खुल्ला आकासमुनि नै बिताउनुपर्छ भन्ने चिन्तामा छन् ।

यो वर्षपनि प्रदेश २ मा बाढीका कारण झन्डै १० लाख नागरिक प्रभावित बनेका छन् । चिसो बढ्दै गर्दा यसपाली प्रदेश २ सरकार र स्थानीय तहले तयारी सुरु गरिसकेको छ । विपद्को रुपमा लिने गरिएको शितलहरबाट जोगिन प्रदेश २ का विभिन्न स्थानीय सरकारले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, रेडक्रस र सम्बन्धित गैर सरकारी र मन्त्रालयसँग छलफल गरिरहेको छ ।

केन्द्रीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले २० दिनअघि शितलहरसहित प्राकृतिक प्रकोप व्यवस्थापन र न्यूनीकरणका विशेष कार्ययोजना बनाउन प्रदेश र स्थानीय तहलाई भनिसकेको छ । त्यसै अनुसार जिल्ला प्रशासन कार्यालयहरूले तयारी थालेका छन् ।

नेपालमा तराई र भित्री मधेसका २० जिल्ला शीतलहरको उच्च जोखिममा छन् । त्यसमा पनि प्रदेश २ का ८ जिल्लामा शीतलहरले दैनिक जनजीवन प्रभावित हुने गरेका छन् ।

शितलहरबाट जोगिनका लागि प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले पनि दाउरा वितरण, कम्बल, न्यानो लुगा, औषधि व्यवस्था, अस्पताल सबैलाई तयारी अवस्थामा रहन भनिसकेको बताए । उनले प्रदेश सरकारबाट योजना बनाएर स्थानीय सरकार र सम्बन्धीत निकायलाई पठाइ सकेको र उनीहरुलाई पनि आफ्नो ठाउँको योजना र अवस्थाबारे जानकारी गराउन भनिएको बताए ।

मन्त्री यादवले यो वर्ष शितलहरका कारण कसैको मृत्यु नहोस् भन्नेमा प्रदेश सरकार सचेत रहेको र मिलेर शितलहरबाट जोगिने विषयमा छलफल भइरहेको बताए ।

Last modified on 2019-12-15 06:18:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts