बालबालिकामा व्यायामको कमी एक विश्वव्यापी समस्या
नेपालका ८१.८ प्रतिशत बालक र ८६.८ प्रतिशत बालिकाहरूमा शारीरिक व्यायाम पुग्दैन
बीबीसी, १२ मंसिर । संसारभरका ८० प्रतिशत ११ देखि १७ वर्षका बालबालिका र युवाहरूले आवश्यक शरीरिक गतिविधि नगर्ने गरेको एउटा अध्ययनले देखाएको छ ।
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले यसका कारण बालबालिका र युवाको स्वास्थ्य खराब हुनुका साथै मस्तिष्क विकास र सामाजिक सीपमा समेत असर गरिरहेको बताएको छ ।
अध्ययनले धनी र गरीब सबैखाले देशमा बालबालिका र युवाहरूले प्रतिदिन एक घण्टा पनि शारीरिक व्यायाम नगर्ने गरेको बताएको छ ।
अध्ययन गरिएका १ सय ४६ देशहरूमध्ये चारबाहेक अन्य देशमा बालकहरूभन्दा बलिकाहरू शारीरिक रूपमा कम सक्रिय रहेको पाइएको छ ।
कुन गतिविधि व्यायाम हो ?
मुटुको धड्कन बढ्ने र फोक्सोले तेज स्वास फेर्ने सबै गतिविधि व्यायाममा गनिन्छ ।
व्यायाम हुनसक्ने केही गतिविधिहरूः
♦ दौड्नु
♦ साइकल चलाउनु
♦ पौडी खेल्नु
♦ फुटबल खेल्नु
♦ उफ्रिनु
♦ डोरी खेल्नु
♦ जिम्न्यास्टिक
बालबालिका र युवाहरूको लागि लक्ष्य कम्तिमा दैनिक एक घण्टा व्यायाम हो ।
“यो कुनै असम्भव लक्ष्य हो जस्तो मलाई लाग्दैन,” डब्ल्यूएचओका डा. फियोना बुलले भनिन् ।
“राम्रो स्वास्थ्य र विकासका लागि यो तथ्यमा आधारित लक्ष्य हो ।”
व्यायाम सामान्यदेखि र्गाहो तहसम्म गर्नुपर्ने बताइन्छ । गाह्रो व्यायाम भन्नाले गरिसकेपछि केही क्षण कुराकानी गर्न नसक्ने गरी श्वास फेर्नुपर्ने अवस्थामा पुग्नु हो ।
व्यायाम किन महत्वपूर्ण ?
♦ व्यायाम महत्वपूर्ण हुनुको खास कारण तत्काल र भविष्यको स्वास्थ्यका कारणले हो ।
♦ अल्पकालीनरूपमा सक्रिय हुनुको अर्थः
♦ स्वस्थ मुटु र फोक्सो हुनु हो ।
♦ बलियो हड्डी र मांशपेशी हुनु हो ।
♦ राम्रो मानसिक स्वास्थ्य हुनु हो ।
♦ र कम तौल हुनु हो ।
“सक्रिय बालबालिका र युवाहरू पछि गएर सक्रिय रहन्छन्,” डब्ल्यूएचओका डा. रेजिना गुट्होल्ड भन्छन् ।
जीवनभर सक्रिय हुनेहरूमा धेरै रोगको खतरा कम हुन्छ । तर अध्ययनकर्ताहरूले सक्रिय हुँदा मस्तिष्कको विकास हुने तथ्यहरू सङ्कलन गर्न थालेका छन् ।
के बालबालिका अल्छी भएका हुन् ?
के यो अध्ययनले मौका पाउने बित्तिकै सोफामा ढल्कने हामी सबैको बानी प्रतिबिम्बित गर्छ ?
“बालबालिकाहरू अल्छी हुँदैनन्,” डा. बुल भन्छिन् ।
किन बालबालिका र युवाहरू व्यायाम गर्दैनन् भन्ने प्रश्नको एउटा उत्तर छैन । तर केही सम्भावनाहरू छन् ।
तीमध्ये एउटा शारीरिक स्वास्थ्यभन्दा शिक्षामा दिइएको प्राथमिकता हो ।
“यो उमेर समूहका मानिसहरूलाई परीक्षामा राम्रो गर्न मेहनत गर्न प्रोत्साहन गरिन्छ,” एक अध्ययककर्ता लिन रिले भन्छन् ।
“उनीहरू लामो समय विद्यालयमा बिताउँछन् र घरमा पनि गृहकार्यमा समय दिन्छन् त्यसैले सक्रिय हुने मौका पाउँदैनन् ।”
अध्ययनकर्ताहरूले सुरक्षित, सहज र सस्तो खेलकुद वा व्यायामका सुविधाहरू उपलब्ध नहुनुलाई पनि यसको कारक देखाएका छन् ।
असुरक्षित सडक भएका कारण साइकल चलाउने वा विद्यालय जाँदा हिँडेर जाने अवस्था छैन ।”
साथासाथै ‘डिजिटल खेल’ बढ्दै गएको छ । फोन, ट्वाबलेट र कम्प्युटरमा खेल्ने र रमाइलो गर्ने धेरै कुरा उपलब्ध हुँदा उनीहरू घर बाहिर निस्कँदैनन् ।
देशहरूको अवस्था के छ ?
डब्ल्यूएचओका अनुसार यस्तो असक्रियता अफगानिस्तानदेखि जिम्बाबेसम्म नै समस्या हो ।
बाङ्ग्लादेशमा सबैभन्दा कम असक्रियता छ यद्यपी ६६ प्रतिशत बालबालिकाहरू दैनिक एक घण्टा व्यायाम गर्दैनन् ।
अध्ययनका अनुसार फिलिपिन्सका ९३ प्रतिशत बालक र दक्षिण कोरियाका ९७ प्रतिशत बालिकाहरू सक्रिय छैनन् ।
नेपालमा ८१.८ प्रतिशत बालक र ८६.८ प्रतिशत बालिकाहरूमा शारीरिक व्यायाम नपुग्ने अध्ययनमा उल्लेख छ ।
के यो अवस्था झन् बिग्रँदै छ ?
होइन । यो केही सुध्रँदै छ ।
द लान्सेटमा प्रकाशित सो अध्ययनले सन् २००१ र सन् २०१६ को तथ्याङ्क हेरेको थियो ।
यो पन्ध्र वर्षको अवधिमा असक्रियता बालकमा ८० बाट घटेर ७८ प्रतिशतमा र बालिकाको भने ८५ प्रतिशतमा यथावत रहेको छ ।
विज्ञ के भन्छन् ?
क्यानाडाका डा. मार्क ट्रेम्बले भन्छन् “विद्युतीय क्रान्तिले मानिसहरूको हिँडडुलको तरिका फेरिदिएको छ । हामी कसरी बस्छौँ, सिक्छौँ, काम गर्छौँ, खेल्छौँ र यात्रा गर्छौँ भन्ने कुरा फेरिएको छ र हामी धेरैजसो समय घरभित्रै बसेर बिताउछौँ ।”
“मानिसहरू कम सुन्छन्, धेरै बस्छौँ, कम हिड्छौँ, धेरै गाडी चलाउछौँ र कम शारीरिक व्यायाम गर्छौँ ।”