विश्व मधुमेह दिवस

'आयुर्वेद' मा मधुमेह हुने कारण र नियन्त्रणका उपाय...



Download our app to get more features

आयुर्वेदको भाषामा पनि मधुमेह रोगलाई मधुमेह नै भनिन्छ । यसलाई आयुर्वेदमा महारोगका रुपमा लिने गरिन्छ । किनकी यस रोगबाट शरीरका सबै अंगप्रत्याङ्ग प्रभावित हुन्छन् । यो रोग लागेपछि शरीरका हरेक कोशिका प्रभावित हुन्छन् । आयुर्वेदका अनुसार मानिसका पाँचै कोष अन्नमय कोष, प्राणमय कोष, मनोमय कोष तथा आनन्दमय कोषलाई मधुमेह रोगले नकारात्मक प्रभाव पार्ने गर्छ । 

आयुर्वेद व्यवस्था विभागका प्रमुख वासुदेव उपाध्यायका अनुसार मानिसलाई २० प्रकारका प्रमेहले सताउँछ । जसमध्ये १० प्रकारका प्रमेह कफ जम्मा हुने विकृतीका कारण उत्पन्न हुन्छ । ६ प्रकारका पित्तजको विकृती र ४ प्रकारका प्रमेह वातज दोषको विकृतिका कारण उत्पन्न हुने गर्छ । आयुर्वेदका अनुसार २० प्रकारका प्रमेह मध्ये मधुमेह एक प्रमेह हो जुन वात जमा आउने गडबडीका कारण हुने गर्छ । 

जति पनि नसर्ने रोग छन् तिनीहरू आयुर्वेदको भाषामा हरि, वरी र करीबाट प्रभावित हुने आयुर्वेद विशेषज्ञ उपाध्यायको भनाइ छ । उपाध्ययका अनुसार हरि भनेको हतार, वरी भनेको चिन्ता र करी भनेको चिल्लो, पिरो र मसलेदार खाना हुन् । मधुमेहको मुख्य कारण जीवनशैलीमा व्यायामको कमी, धेरै गुलिया, चिल्लो तथा उष्ण भोजन रहेको आयुर्वेदमा उल्लेख छ । 

आयुर्वेदमा मधुमेह हुने कारणलाई दुई भागमा विभाजन गरिएको छ :

१. विना कुनै बाहिरी कारण उत्पन्न हुने मधुमेह

२. गलत खानपानका कारण उत्पन्न हुने मधुमेह

आयुर्वेद विशेषज्ञ वासुदेव उपाध्यायका अनुसार योग र खानपानमा सुधार गरे प्रारम्भिक मधुमेह धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । उनका अनुसार मधुमेह नियन्त्रणका लागि यी जडिबुटी सेवन गर्दा धेरै हदसम्म लाभ पुग्छ । 

मधुमेह नियन्त्रणका लागि जडिबुटी

जामुनको बियाँको चूर्ण : जामुन अथवा जमुनाको सुकेको बिउलाई धुँलो चूर्ण बनाएर मनतातो पानीसँग खानाले लाभ मिल्छ ।

गुडमारको पातको चूर्ण : एक चम्चा गुडमारको सुकेको पातको चूर्ण मनतातो पानीसँग खाने । 

विजय साल : विजय सालको भाँडा बजारमा पनि पाउन सकिन्छ । यो सालद्वारा निर्मित गिलास वा भाँडोमा रातभर पानी राखी अर्को दिन बिहान पिउनाले मधुमेह रोग नियन्त्रणमा सहयोग गर्छ ।

तेजपत्ता : यो नेपाली भान्छामा नछुट्ने मसाला मध्ये एक हो । यसलाई खानामा नियमित समावेश गरे मधुमेहका रोगीलाइ लाभ हुन्छ ।

करेलाको रस : करेलाको रस पनि मधुमेहका बिरामीका लागि निकै उपयोगी हुने आयुर्वेदमा उल्लेख छ । २० मिलिलिटर करेलाको जुस हरेक दिनको भोजनमा समावेश गर्दा उत्तम हुन्छ । 

बेसार : बेसार आफैमा एक औषधि हो । यसको नियमति प्रयोगले मधुमेह घटाउन निकै मद्दत गर्छ ।

मेथी : मधुमेहका बिरामीले मेथीको धुलो बनाएर नियमित एक चम्चाको दरले सेवन गर्दा रगतमा चिनीको मात्रा घट्छ भने सामान्य मानिसले पनि नियमित सेवन गर्दा मधुमेह लाग्ने जोखिम कम हुन्छ । 

हर्रो : हर्रो पनि मधुमेह नियन्त्रणका लागि रामवाण सरह भएको उपाध्यायको भनाइ छ । यसको चूर्ण बनाएर दैनिक सेवन गरेमा धेरै फाइदा मिल्छ  । 

उपाध्यायका अनुसार आयुर्वेदमा विभिन्न ६ प्रकारका रसका बारेमा वर्णन गरिएको छ । त्यसमध्ये टर्रो रस भएका जति पनि खानेकुरा, फलफूल तथा जडिबुटी छन्, ती सबै मधुमेह नियन्त्रणका लागि निकै उपयोगी हुन्छन् । यी कच्चा जडीबुटी बाहेक आयुर्वेदलाई प्रशोधन गरेर बनाइएका गोली तथा धुलो औषधिहरू पनि बजारमा उपलब्ध छन् । जस्तैं चन्द्र प्रभावती, प्रमेह गोली इत्यादी । 

आयुर्वेदमा मधुमेह नियन्त्रणका लागि योगलाई पनि उत्तिकै महत्व दिएको आयुर्वेद विशेषज्ञ उपाध्याय बताउँछन् । उनका अनुसार निम्न योगासन र विधि मधुमेहका लागि लाभदायी मानिन्छ । 

—सूर्य नमस्कार

—मण्डुकासन

—पश्चिम उत्तानासन इत्यादी । 

Last modified on 2019-11-14 15:14:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts