नवजात शिशुमा निमोनिया भएको कसरी थाहा पाउने ? यस्ता छन् उपाय
निमोनिया श्वासप्रश्वाससँग सम्बन्धित एक प्रकारको रोग हो । हाम्रो शरीरमा दुईवटा फोक्सो हुन्छन् । फोक्सोमा ठूलो श्वासनली, सानो नली, ब्रोंकाइलगायत विभिन्न खालका टिस्यु हुन्छन् । यिनै टिस्युमा कुनै कारणले संक्रमण भएर फोक्सोको कुनै क्षेत्र वा पूर्ण फोक्सोमा संक्रमण भएपछि हामीलाई निमोनिया हुन्छ । यस्ता संक्रमणले कहिले फोक्सोको तल्लो भागलाई त कहिले मथिल्लो भागलाई असर गरिरहेको हुन्छ । निमोनिया फरक–फरक कारणले लाग्छ । त्यसकारण पहिले कारण पत्ता लगाउन जरुरी हुन्छ । भाइरस, ब्याक्टेरिया र फंगल्सका कारण संक्रमण हुने गर्दछ । यिनै संक्रमणसँग जुध्न नसकेपछि फोक्सोको नियमित काममा असर पर्छ । ब्याक्टेरिया, भाइरस वा फंगल्सले फोक्सोको प्रतिरोधात्मक क्षमता नष्ट गर्छ र त्यसका टिस्युहरूमा संक्रमण फैलाउँदै जान्छन् । फोक्सोका टिस्युलाई संक्रमण गरेपछि पानी जम्ने, पिप जम्ने र कहिलेकाहीँ हावा जम्ने हुन्छ ।
बच्चा र वृद्ध बढी जोखिममा
हाम्रोमा कुनै उमेर विशेषको निमोनिया भएको देखिँदैन । विशेषगरी बालबालिका र वृद्धालाई बढी जोखिम भए तापनि युवाहरूमा पनि प्रशस्तै निमोनियाको संक्रमण भएको पाइन्छ । बच्चाहरूको फोक्सो पूर्ण रूपमा विकसित भइनसकेको हुँदा निमोनियाले सजिलै संक्रमण गर्न सक्छ । त्यसका साथै उनीहरूको रोगप्रतिरोधात्मक क्षमता पनि कमजोर हुने हुँदा सधैँ जोखिम समूहमा पर्छन् । सबैभन्दा जोखिम समूहमा नवजात शिशु हुन्छन् । त्यसैगरी, उमेर ढल्कँदै गएका वृद्धको पनि फोक्सोका टिस्युहरूमा विभिन्न कारणले गर्दा असर पुगिरहेको हुन्छ । अझ उनीहरूमा कडा खालको दम, मुटुको रोगले पनि सताउने सम्भावना रहेको हुन्छ । यस्तो समस्या भएकालाई सामान्य चिसो वा रुघाखोकी लाग्दा पनि निमोनियाको संक्रमण चाँडै हुन सक्छ । स्वभावैले उमेर ढल्कँदै जाँदा रोगप्रतिरोधी क्षमतामा पनि कमी हँुदै जान्छ र निमोनिया संक्रमण चाँडै हुन्छ ।
दीर्घरोगीहरूमा पनि उस्तै
निमोनियाको अर्को उच्च जोखिम समूह भनेको दीर्घरोग भएका र अंग प्रत्यारोपण गरेका व्यक्ति हुन् । खासगरी लामो समयदेखि औषधि सेवन गरिरहेका, अंग प्रत्यारोपण भएका बिरामी, दीर्घरोग, फोक्सो, मुटुसम्बन्धी रोग भएका बिरामीलाई चाँडो निमोनियाले सताउन सक्छ । एचआइभी एड्स संक्रमित बिरामीलाई पनि निमोनिया हुनबाट जोगाउनुपर्छ ।
निमोनियाले के गर्छ ?
निमोनियाले बिगार्ने भनेको फोक्सो हो । फोक्सोको काम भनेको बाहिरको स्वस्थ हावा लिएर शरीरलाई चाहिने अक्सिजन पूर्ति गर्ने र कार्बनडाइअक्साइड बाहिर फाल्ने हो, त्यसले श्वासप्रश्वास नियमित हुन दिँदैन । फोक्सो नै स्वस्थ नभएपछि हामीलाई श्वास फेर्न गाह्रो हुन्छ । फोक्सोमा संक्रमण भएपछि हावालाई छान्ने काम हुन सक्दैन । त्यसले आवश्यक मात्रामा अक्सिजन शरीरले पाउँदैन । यसको असरले श्वासप्रश्वास अवरुद्ध भई समस्या सिर्जना हुन्छ । जसले गर्दा मानिसको मृत्युसमेत हुन सक्छ । निमोनियाको उपचार समयमै हुन सकेन भने अन्य विभिन्न किसिमका समस्या थपिँदै जान्छन् । यस्तो अवस्थासम्म समस्या बढ्दै गए संक्रमण भएको फोक्सोको भाग नै काट्नुपर्ने हुन सक्छ ।
त्यसमा पनि नवजातशिशुको श्वासप्रश्वास एक मिनेटमा ६० पटक भन्दा बढी चलिरहेको छ भने सचेत भइहाल्नुहोस् । किनकी यो निमोनियाको संकेत हुन सक्छ । जसमा नवजातशिशुको श्वासप्रश्वास छिटोछिटो भइरहे पनि परिवारका सदस्यले वेवास्ता गर्ने गरेको छन । ढिलोगरी अस्पताल ल्याउँदा शिशुको ज्यन नै जोखिममा पर्ने चिकित्सकहरू बताउँछन ।
लक्षण पहिचान गरौं
—नवजात शिशुको नाकको चुच्चो भाग, ओठ वा हात र खुट्टा निलो देखिन थाल्छ ।
—शिशुले दुध खान छोड्छ ।
—शिशु अचानक सुस्त हुन थाल्छ ।
—शिशुको दिसा, पिसाब वा नाकबाट रगत आउछ ।
—धेरै ज्वरो हुनु र शरीरको तापक्रम कम नहुनु ।
—शरीर चिसो हुने वा शिशुलाई झट्का आइरहनु ।
—पेट फुल्नु र बान्ता गरिरहनु ।
—पैताला, हात पहेँलो हुने ।
ध्यानदिनु पर्ने कुराहरू
—शिशुको कोठा सँधै सफा हुनुपर्छ ।
—आमाको दूध र सही समयमा खोप लगाउने ।
—शिशुलाई पटकपटक छोइ राख्नु हुँदैन र बाहिरबाट आएपछि हात धोएर मात्रै छुने वा काखमा लिने ।
—बिरामी वा संक्रमित व्यक्तिबाट नवजात शिशुलाई टाँढै राख्ने ।
चिकित्सकको सुझाव
बालरोग विशेषज्ञ डा. सूर्यनारायण यादवले निमोनियाको खतरा २ महिना भन्दा बढीको शिशुमा पनि हुनसक्ने बताए । तर, २ महिनादेखि १ वर्ष सम्मका बच्चाको श्वास प्रत्येक मिनेट ५० पटक भन्दा बढी चलिरहेको छ भने तुरुन्त डाक्टरसँग सल्लाह गरिहाल्नु पर्छ । यदि बच्चा १ वर्ष देखि ५ वर्षसम्मको छ र उसको श्वास प्रत्येक मिनेटमा ४० पटक भन्दा बढी चलिरहेको छ भने सावधान हुनु आवश्यक छ । नवजात शिशु बिरामी हुनु, ठूलो बच्चा वा वयस्क बिरामी हुनु भन्दा बढी खतरनाक हुन्छ । किनकी नवजात शिशुको इम्यून सिस्टम (रोगसँग लड्ने क्षमता) ठूलो मानिस वा बच्चाको तुलनामा निकै कमजोर हुन्छ । जन्मनासाथको शिशु एक यस्तो वातावरणमा आउँछ जहाँ चारैतर्फ विभिन्न किसिमका किटाणु, ब्याक्टेरिया, भाइरस, फंगस हुन्छन् ।