एक्स–रे प्रविधिः जान्नैपर्ने केही तथ्यहरु...
‘एक्स–रे’ शब्द हाम्रो जनबोलीको सामान्य शब्द जस्तै भइसकेको छ । यो शब्द नबोल्ने वा नसुन्ने मानिस बिरलै होलान । तर कमैलाई मात्र यसको बारेमा वास्तविक जानकारी हुनसक्छ । एक्स–रे र एक्स–रे प्रविधिको बारेमा जान्नैपर्ने केही तथ्यहरु :
एक्स–रे के हो ?
एक्स–रे एक प्रकारको विद्युत चुम्बकीय किरण (इलेक्ट्रोम्याग्नेटिक रेडिएसन) हो । अर्को शब्दमा भन्नुपर्दा,एक्स–रे सुर्यको प्रकाश जस्तै तर हजारौं गुणा बढी आवृति र शक्ति भएको अदृश्य विकिरण हो ।
एक्स–रे के केमा प्रयोग हुन्छ ?
एक्स–रे चिकित्सा प्रविधिमा विभिन्न रोगहरुको निदान (रेडियो–डायग्नोसिस) एवं उपचार (रेडियोथेरापी) गर्न प्रयोग गरिन्छ । यस बाहेक एयरपोर्ट,मेट्रो टेन आदिमा सामानहरुको सुरक्षा चेकजाँच र उद्योगहरुमा पनि एक्स–रे प्रयोग हुन्छ ।
चिकित्सा प्रविधिमा कुन कुन उपकरणमा एक्स–रे प्रयोग गरिन्छ ?
साधारण एक्स–रे मेसिन,मेमोग्राफी, सिटि स्क्यान, सिआर्म, क्याथ ल्याव, डेन्टल एक्स–रे, बोन डेन्सिटोमेट्री (डेक्सा स्क्यान) जस्ता निदानात्मक (डायग्नोस्टिक) उपकरणहरुमा एक्स–रे प्रयोग हुन्छ । त्यस्तै, क्यान्सरको उपचार (रेडियोथेरापी) का लागि प्रयोग गरिने लिनियर एसेलेरेटरले पनि उच्च शक्तिको एक्स–रे उत्पन्न गर्दछ । ‘साइबर नाइफ’ भन्ने रेडियोसर्जरी प्रविधि लिनियर एसेलेरेटरमा आधारित अत्याधुनिक रेडियोथेरापी प्रविधि हो,जसमा कुनै चिरफार बिना शरीरको भित्री भागमा रहेको ट्युमरको उपचार गरिन्छ ।
रेडियोथेरापीमा प्रयोग गरिने कोबाल्ट–६० मेसिन र ब्राकिथेरापीमा एक्स–रे जस्तै उच्च आवृति र शक्तिको ‘गामा रे’ भन्ने विकिरण प्रयोग हुन्छ ।
एक्स-रे युक्त उपकरणहरुबाट के कस्ता जोखिम उत्पन्न हुन्छन ?
एक्स–रे,गामा रे जस्ता विकिरण मानव स्वास्थ्यका लागि हानिकारक हुन्छन् । विकिरणको शक्ति र मात्रा अनुसार यस्ता विकिरणहरुको जोखिम फरक फरक हुन्छ । डेक्सा स्क्यान मेसिनमा विकिरणको शक्ति र मात्रा एकदम कम हुने भएकाले जोखिम पनि अत्यन्त न्यून हुन्छ । मेमोग्राफी,साधारण एक्स रे मेसिन,सि–आर्म,क्याथ ल्याब, सिटि स्क्यान मेसिनमा विकिरणको मात्रा र जोखिम दुबै तुलनात्मक रुपमा बढी हुन्छन । रेडियोथेरापीमा क्यान्सर भएका कोष र तन्तु नष्ट गर्न अत्यन्त बढि शक्तिको विकिरण प्रयोग हुने भएकाले विकिरणको जोखिम पनि एकदमै उच्च हुन्छ ।
साधारण एक्स–रेमा कुन कुन प्रविधि प्रचलनमा छ्न ?
साधारण एक्स–रेलाई ‘रेडियोग्राफी’ भनिन्छ । रेडियोग्राफी प्रविधिलाई परम्परागत (एनालग) र डिजिटल गरि दुई भागमा छुट्ट्याउन सकिन्छ । परम्परागत प्रविधिमा बिरामीको अंगहरु प्रत्यक्ष एक्स–रे फिल्ममा खिची त्यसलाई अध्यारो कोठामा लगेर धुलाई एक्स–रेको तस्वीर बनाइन्छ । डिजिटल प्रविधिमा बिरामीको एक्स–रे इमेजिङ्ग प्लेटमा कैद गरि त्यसलाई डिजिटाइजर र कम्प्युटर प्रविधिमार्फत डिजिटल प्रारुपमा रुपान्तरण गरिन्छ । डिजिटल प्रारुपमा रहेको एक्स–रे तस्बिरलाई आवश्यक सम्पादन,रुपान्तरण र स्थानान्तरण गर्न सकिन्छ । डिजिटल प्रविधिमा एक्स–रेको तस्बिर फिल्म वा कागजमा छुपाउनुका अलावा सिडि,डिभिडी,पेन ड्राइभमा सार्न,इमेल गर्न र विभिन्न प्रारुपमा एक कम्प्युटरबाट अर्को कम्प्युटरमा पठाउन सकिन्छ । परम्परागत रेडियोग्राफिको तुलनामा डिजिटल रेडियोग्राफीको उपयोगिता र मूल्य दुबै बढी हुन्छ ।
डिजिटल रेडियोग्राफी पनि कम्प्युटेट रेडियोग्राफी (सि.आर) र डाइरेक्ट डिजिटल रेडियोग्राफी(डि.डि.आर. वा डि.आर) गरि दुई प्रकारको हुन्छ । डाइरेक्ट डिजिटल रेडियोग्राफी तुलनात्मक रुपमा अरु प्रविधि भन्दा महँगो हुनुका साथसाथै बढि गुणस्तरीय र कम विकिरणको प्रयोग हुने प्रविधियुक्त हुन्छ ।
त्यसैले,उपलब्ध उपकरण र प्रविधि अनुसार परीक्षण शुल्क र गुणस्तर फरक पर्न सक्दछ ।
रेडियोग्राफी (एक्स–रे) उपकरणहरु कसले संचालन गर्छन ?
रेडियोग्राफी उपकरण सञ्चालन गरि बिरामीको एक्स–रे तस्वीर निकाल्ने व्यक्तिलाई ‘रेडियोग्राफर’ भनिन्छ । रेडियोग्राफर बन्न रेडियोग्राफी विषयमा कम्तिमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भइ नेपाल स्वास्थ्य व्यवसायी परिषदबाट लाइसेन्स प्राप्त गरेको हुनुपर्छ । रेडियोग्राफी विषयमा व्यावसायिक शैक्षिक योग्यता हासिल गरि नेपाल स्वास्थ्य व्यवसायी परिषदबाट अनुमतिपत्र प्राप्त गरेका व्यक्ति (रेडियोग्राफर) मात्र एक्स–रे सेवा प्रदान गर्न ‘कानुनी’ रुपमा ‘योग्य’ र ‘व्यावसायिक’ रुपमा ‘दक्ष’ मनिन्छ्न ।
विकिरण जोखिम,प्रविधिको जटिलता र मुल्य एवं परिक्षणको संवेदनशिलताका कारण दक्ष व्यक्तिहरुबाट मात्र एक्स–रे गराउदा सुरक्षीत र गुणस्तरीय सेवा प्राप्त गर्न सकिन्छ । दक्ष र योग्य रेडियोग्राफरले मात्र प्रविधिको अधिकतम र सुरक्षित प्रयोग गरि गुणस्तरीय र प्रभावकारी नतिजाका दिनुका साथ साथै उपकरणको सुरक्षित प्रयोग र किफायतमा पनि प्रत्यक्ष योगदान गर्ने भएकाले सेवा प्रदायकहरुले दक्ष र क्षमतावान जनशक्तिलाई नियुक्त गर्नु फलदायी हुन्छ ।