क्यान्सरका बिरामीमा देखिन्छ यस्तो मानसिक समस्या
क्यान्सर रोग भन्नासाथै अझै पनि धेरै मानिस झस्कन्छन् । उपचार खर्च महंगो, दीर्घकालिन उपचार प्रक्रिया र उपचारको ग्यारेण्टी नहुने हुँदा मानिसहरू यसरी झस्कने गरेका हुन् । यद्यपि, सुरुको अवस्थामै रोगको पहिचान भए बिरामी पूर्ण निको हुन्छ ।
क्यान्सर सरुवा रोग होइन तर यो रोग लागि सकेपछि निको हुने सम्भावना कम हुन्छ । त्यसमाथि धेरैजसो क्यान्सरका बिरामी क्यान्सर लागेको तेस्रो वा चौथो चरणमा मात्रै अस्पताल पुग्ने गर्छन । यो समस्या नेपाल जस्तो विकासोन्मुख देशमा अझै बढी छ । नेपालजस्ता विकासोन्मुख देशमा क्यान्सर रोग लागेपछि बिरामीलाई तिरस्कारको दृष्ट्रिले हेर्ने गरिन्छ । यो गलत व्यवहार हो । क्यान्सरलाई कतिपयले पूर्व जन्ममा गरेको पापको फल भन्दै बिरामीको छेउमा समेत नजाने धेरै मानिस छन् । यसले बिरामीलाई थप पीडा पुग्छ । कतिपय बिरामी यही कारण डिप्रेसनमा समेत जाने गरेका छन् । यस्तो व्यवहार देखाउनु हुँदैन । बिरामीको मनोवल बढाउने व्यवहार, सन्तुलित भोजन र नियमित स्वास्थ्य परीक्षण गर्दा क्यान्सर रोगबाट उन्मुक्ति मिल्छ ।
क्यान्सरको पहिलो स्टेजमा बिरामी अस्पताल पुगे ८० प्रतिशतलाई निको हुने सम्भावना छ । यस्तै दोस्रो चरणमा ६० र तेस्रोमा ४३ प्रतिशतसम्मलाई निको हुने सम्भावना रहन्छ । तर चौथो चरणमा अस्पताल पुग्ने बिरामीलाई भने निको हुने सम्भावना कम हुन्छ ।
क्यान्सर रोगबाट छुट्कारा पाएर पुनः सामान्य जीवनयापन गरिरहेका धेरै उदाहरण छन् । तर बिरामी भएर अस्पताल पुग्दा र परीक्षणका क्रममा क्यान्सर भएको थाहा पाउदा भने अझै बिरामीमा त्रास उत्पन्न भएको पाइन्छ । क्यान्सरका बिरामी आत्मविश्वास सबै भन्दा महत्वपूर्ण हुन्छ । आत्मविश्वास नभए उसमा मनोसामाजिक समस्या देखा पर्छ ।
बिरामीमा क्यान्सर लाग्यो भन्ने बितिकै कति बाँचिने हो अब म मरिहाल्छु भन्ने जस्ता सोच आउन थाल्छ । कतिपय बिरामीमा क्यान्सर उपचारमा लाग्ने खर्चले पनि पिरोल्ने गरेको छ । उपचार गर्दा कति खर्च लाग्ने हो ? खर्च गरेर पनि ठिक भएन भने के गर्ने ? खर्च कसरी जुटाउने ? जस्ता कुराले बिरामी डिप्रसनमा जाने गर्छ ।
क्यान्सरका बिरामीमा देखिने मानसिक समस्या
कतिपय बिरामीले सुरुमा क्यान्सर लागेको नै स्वीकार गर्न सक्दैनन् । के कता गल्ती भयो होला भन्ने गर्छन । पत्याउनै गाह्रो हुनेगर्छ । जब क्यान्सर भन्ने थाहा हुन्छ तब मर्छु की भन्ने डर उत्पन्न हुन्छ । त्यसपछि उपचार खर्च कसरी जोहो गर्ने ? भन्ने कुराले सताउन थाल्छ ।
बिरामीलाई रोगबारे सुनाउने डाक्टर, घरका सदस्यसाथि रिस गर्न थाल्छ । रिसलाई कन्ट्रोल गर्न सकेन भने एन्जाइटी हुन्छ । र यो एन्जाइटि बढ्दै गए डिप्रेसन हुन्छ । बिरामीलाई जीवन बेकार लाग्न थाल्छ । दिनमा निन्द्रा लाग्ने रातमा नलाग्ने, रुन मन लाग्ने, बिस्तारै आत्महत्याको भावना आउन थाल्छ र छिटै मर्न मन लाग्न थाल्छ ।
यदि बिरामी एन्जाइटीमा छ भने स्वा...स्वा... गर्ने, पसिना आउन थाल्ने, दिक्क महशुस गर्न थाल्छ । साथै उपचार राम्रो भएन की, यो उपचार गराउने राम्रो ठाउँ होइन की, डाक्टर राम्रो होइन की भनेर सबैमाथि शंका गर्न थाल्छ । बिरामीले औषधि खान मन गर्दैन । व्यथाका कारण हुने दुखाइ र उपचारका क्रममा हुने समस्या बाहेक वाकवाकी आउने, कपाल झर्ने, दुब्लाउने हुन्छ । यसले बिरामीमा थप निराशा बढ्छ ।
क्यान्सरका बिरामी अस्पतालमा भएका बेला भेट्न धेरै मान्छे आउँछन् तर बोल्न डराउछन् । यसले पनि बिरामीमा असर गर्छ । मसँग कोहि बोल्न मान्दैनन सबै परपर हुन्छन् भन्ने भावना उसमा आउछ । कतिपय बिरामीले आफुले के गर्दैछु भन्ने समेत थाहा नपाउने हुन्छ । साथै घरबाट बाहिर निस्कने, कहिलेकाही २–४ दिनसम्म बाहिरै बस्ने समेत गर्न थाल्छ । प्रायजसो बिरामी डिपे्रसन भइसकेको अवस्थामा डाक्टर कहाँ पुग्छन् । यस अवस्थामा क्यान्सर र डिप्रेसन दुबैको उपचार गर्नुपर्ने हुन्छ । जसले गर्दा उपचारमा जटिलता देखिन्छ । यसकारण नेपाल क्यान्सर अस्पतालले क्यान्सरका बिरामीमा मानसिक अवस्था देखा पर्ने बितिकै मनोविद् कहाँ पठाइने गरेको छ । सुरुमा बिरामीलाई कस्तो कुराले सताएको छ त्यो बुझिन्छ । सोही अनुसार उपचार प्रक्रिया सुरु हुन्छ । बिरामीमा देखा परेको मानसिक अवस्थालाई थेरापीमार्फत व्यवस्थापन गर्न सिकाइन्छ । थेरापीमार्फत नभए समस्या अनुसार औषधि चलाइन्छ । तर थेरापीमार्फत नै मानसिक अवस्थालाई व्यवस्थापन गर्न जोड दिइन्छ । जसमा औषधिको प्रयोग हँुदैन ।
क्यान्सरका बिरामीमा देखा पर्ने मानसिक समस्याको समाधानका लागि जति उपचारको आवश्यक छ त्यति नै आफन्त र परिवारको सकारात्मक व्यवहारको आवश्यकता पर्छ । बिरामीलाई सधैं हौसला दिइरहनु पर्छ । मनोबल गिर्न दिनु भएन । त्यसैले यस्तो अवस्था देखा परेमा चिकित्सकको सल्लाह लिनुपर्छ ।
(डा. प्रधानसँगको कुराकानीमा आधारित ।)