धन्वन्तरी जयन्ती

के हो आयुर्वेद ? यस्तो छ नेपालमा इतिहास



Download our app to get more features

के हो आयुर्वेद ?
आयु र वेद शब्दको योगले आयुर्वेद बन्छ । शरीर इन्द्रिय मन र आत्माको संयोगलाई आयु भनिन्छ । आयु भनेको जीवन हो । हिन्दुशास्त्र अनुसार सामाजिक, सांस्कृतिक तथा मानसिक रूपमा स्वस्थ आयुसम्बन्धी ज्ञान दिने शास्त्रलाई आयुर्वेद भनिन्छ । शरीरका सबै अंग सुन्दर, स्वस्थ र सबल रहेर व्यक्तिगत, पारिवारिक, सामाजिक र मानसिक सबै पक्षमा आनन्दसाथ जीवनयापन गर्नु स्वस्थ आयु हो । स्वस्थ मानिसको स्वास्थ्यको रक्षा गर्नु र रोग लागेको अवस्थामा रोगको निवारण गर्नु आयुर्वेदको उद्देश्य हो । समष्टिगत रूपमा आयुर्वेदशास्त्रले मानव प्राणीको आयुमा बाधा पु¥याउने रोगका कारण, लक्षण र उपचारविधिको विस्तृत रूपले विवेचना गरेकोे छ ।

आयुर्वेदको इतिहास
आयुर्वेदको रचनाकाल ईसापूर्व ३ हजारदेखि ५ हजार वर्षपहिले भएको मान्यता छ । प्राचीन समयमा ऋषि अत्रेयले आयुर्वेदको विद्या आफ्ना ६ शिष्यलाई बाँडेका थिए भन्ने कथन छ । ती ६ शिष्यहरूमा– अग्निभेष, भेल, अतुकर्ण, पराशर, हारित र क्षारपाणी थिए । सुश्रुतसंहिताअनुसार भगवान् इन्द्रले आफूले प्राप्त गरेको आयुर्वेदको ज्ञान धनवन्तरीलाई दिएका थिए । अन्त्यमा धनवन्तरीले आयुर्वेदको ज्ञान आफ्ना सातजना शिष्य औषधेनव, वैतरण, उरभ गोप्ररक्षित, पौषकलावत, करविर्य र सुश्रुतलाई दिएका थिए । कश्यपसंहिता अनुसार इन्द्रले आफूले प्राप्त गरेको आयुर्वेदको ज्ञान कश्यप वशिष्ठ भृगु अत्रीलाई दिएका थिए । यसरी बिभिन्न कालखण्डमा आयुर्वेदको ज्ञान एकबाट अर्कोमा हस्तान्तरण हुँदै आएको धर्मग्रन्थहरूमा उल्लेख छ ।

नेपालमा आयुर्वेद
परम्परागत चिकित्सापद्धति आयुर्वेदले जडीबुटी प्रयोग गरी गाउँघरमै विभिन्न रोगमा उपचार गरी स्वास्थ्यसेवा प्रदान गर्ने प्रचलन नेपालको अति प्राचीन परम्परा हो । संवत् १७९० को दशकमा राजा रणजित मल्लले पादरीमार्फत पश्चिमा संसारमा लोकप्रिय बन्दै गरेको औषधि तथा आधुनिक चिकित्साविधि नेपाल भित्र्याएको मानिन्छ । त्यसताका नेपालमा करिब ८० प्रतिशतभन्दा बढी मानिसले प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा आयुर्वेद चिकित्सापद्धतिमार्फत जडीबुटीद्वारा उपचार गर्ने गर्थे । नेपालमा चार हजारभन्दा बढी प्रभावशाली जडीबुटी पाइन्छन् । नेपालको माटो दल्दामात्रै शरीरको ७५ थरीका रोग निको हुने आयुर्वेद चिकित्सकहरू बताउँछन् । विभिन्न हरिया वनस्पतिको धूवाँ सुँघाएर मात्रै १३ वटा रोग निको पार्न सकिन्छ ।

सिंहदरबार वैद्यखाना 
काठमाडौंको अनामनगरस्थित सिंहदरबार वैद्यखाना मुलुकको एकमात्र सरकारी आयुर्वे्दिक औषधि उत्पादन गर्ने उद्योग हो । उसले आयुर्वेदसँग सम्बन्धित सम्पूर्ण परामर्श निःशुल्क दिने गरेको छ । वैद्यखानालाई व्यवस्थित बनाउन औषधि व्यवस्था विभाग, आयुर्वेदिक विभाग तथा उत्पादक संस्थाको महत्वपूर्ण भूमिका रहन्छ । वैद्यखानाका आयुर्वे्दिक औषधिको माग बजारमा अत्यधिक भए पनि वैद्यखानाले पूर्ति गर्न सकेको छैन ।

आयुर्वेद औषधि उद्योग बढ्दै 
आयुर्वे्दिक औषधिको बढ्दो मागसँगै स्वदेशी कम्पनीको संख्या पनि बढिरहेको छ । नेपालमा हाल करिब ८० वटा आयुर्वे्दिक औषधि कम्पनी उत्पादनका लागि दर्ता गरिसकेका छन् । यसमध्ये ४२ कम्पनीले आफ्नो उत्पादन बजारमा पठाएका छन् । केही वर्षअघिसम्म अधिकांश आयुवेर्दिक औषधि भारतबाट आयात हुँदै आएको थियो । तर, अहिले कुल मागको २५ प्रतिशत औषधि नेपाली कम्पनीबाटै उत्पादन हुन थालेको आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीले बताए । शास्त्रीय प्रणाली (आयुर्वे्दिक प्राचीन ग्रन्थमा दिइएको) बाट उत्पादित आयुर्वे्दिक औषधिको माग नेपालमा मात्र नभई विश्व बजारमा समेत बढेको छ । तर, नेपाली कम्पनीले ठूलो मात्रामा औषधि उत्पादन गर्न सकेका छैनन् । हाल नेपालको कुल मागको करिब २५ प्रतिशत औषधि नेपाली कम्पनी उत्पादन गर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय क्षेत्रमा पनि माग बढ्दो 
अहिले पनि हामी आयुर्वे्दिक औषधिका लागि भारतकै भर पर्नुपरेको छ । त्यसैले लगानीका लागि आयुर्वेद औषधि उत्पादन ठूलो सम्भावनाको क्षेत्रका रूपमा रहेको छ । एलोपेथिकका तुलनामा आयुर्वे्दिक औषधिको ‘साइड इफेक्ट’ कम हुने भएकैले पछिल्लो समय युरोप तथा अमेरिकी मुलुकमा समेत आयुर्वे्दिक औषधिको प्रयोग बढ्दै गएको डा. ज्ञवालीको भनाइ छ । परम्परागत ढंगबाट सञ्चालन हुँदै आएका आयुर्वेदिक औषधि कम्पनीले पछिल्लो समय आधुनिक प्रणाली अपनाउन थालेसँगै विदेश निर्यात पनि बढेको छ । नेपालबाट युरोपका विभिन्न देशमा करिब ३० भन्दा बढी प्रकारका जडीबुटीजन्य सुगन्धित तेल र जडीबुटीजन्य उत्पादन निर्यात भइरहेको छ ।

कच्चा पदार्थको कठिनाइ 
आयर्वेदको तीन स्रोत रहेको छ । वनस्पतिजन्य, प्राणीजन्य र खनिजजन्य । नेपालमा स्थापित कतिपय आयुर्वे्दिक औषधि उद्योगले अहिले पनि भारतबाट कच्चा पदार्थ ल्याउने गरेका छन् । उता, नेपालबाट भने ठूलो परिमाणमा जडीबुटी विदेश निर्यात भइरहेको छ । नेपालबाट सबैभन्दा बढी चीनमा जडीबुटी निर्यात हुने गरेको छ ।

नेपालमा आयुर्वेदिक औषधि उत्पादनका लागि आन्तरिक कच्चा पदार्थ जडीबुटी कति खपत हुन्छ भन्ने कुनै तथ्यांक न सरकारसँग छ न निजी क्षेत्रसँगै छ । नेपालमा जति जडीबुटी संकलन हुन्छ, त्यसको ९० प्रतिशत विदेश निर्यात हुने र बाँकी १० प्रतिशतमात्र नेपालमा खपत हुन्छ । नेपालबाट विदेश खासगरी भारत र चीन वार्षिक करिब सात हजार पाँच सय मेट्रिक टन निर्यात हुने गर्छ । निर्यात हुने जडीबुटी ६५ देखि ७० प्रकारका छन्, जसमध्ये २० प्रकारको जडीबुटी माग एकदम उच्च छ । स्वदेशी गुणस्तरीय जडीबुटी विदेश निर्यात हुने र विदेशी कमसल जडीबुटी स्वदेश भित्रिने क्रम बढिरहेको छ ।

कच्चा पदार्थका लागि सरकारले के गर्यो  ?
आर्थिक वर्ष २०७३/०७४ को बजेटमा जडीबुटी एवम् गैरकाष्ठ प्रजातिको उत्पादन, प्रशोधन र बजारीकरणका लागि पकेट क्षेत्र निर्धारण गरिने, कर्णालीलगायतका विभिन्न भौगोलिक क्षेत्रमा पाइने टिमुर, लप्सी, लौठसल्ला, बोधिचित्त, रुद्राक्ष, तेजपात, अर्गेली, च्युरी, चिराइतो, श्रीखण्ड र मेन्थाजस्ता विशेषप्रकारका जडीबुटीको व्यावसायिक उत्पादन वृद्धि गर्न किसानलाई ज्ञान, सीप, प्रविधि र अनुदान उपलब्ध गराइने र यी सबै कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेट विनियोजन गरेको अर्थमन्त्रीले घोषणा गरेका थिए । तर, अझैसम्म कर्णालीमा जडीबुटी कुहिरहेका छन् । प्राकृतिक जडीबुटीको अत्यधिक दोहन भइरहेको छ । उदाहरणकै लागि हेर्ने हो भने यार्सागुम्बाको चोरी निकासी तथा अव्यवस्थित संकलनलाई हेर्न सकिन्छ ।

वर्तमान अवस्था 
आयुर्वेदको विकासका लागि भन्दै सरकारले यो वर्ष योगमाया विदुषी आयुर्वेद विश्व विद्यलाय स्थापनाकोे काम अगाडी बढाउने, सातै प्रदेशमा केन्द्रिय स्तरको आयुर्वेद अस्पतालको स्थापना गर्ने, सातै प्रदेशमा आयुर्वेद औषधालय अनुसन्धान केन्द्र स्थापना गर्ने लगायतका कार्यक्रम पनि समावेश गरेको छ । तर, काम भने कुनैपनि अघि बढेको छैन ।

आयुर्वेदको विकास र जडीबुटीको प्रवद्र्धन कागज र भाषणमा मात्र सीमित भइरहेको छ । जसबाट आयुर्वेद चिकित्सा क्षेत्रमा काम गरिरहेका निजी क्षेत्र समेतमा नैराश्य छाएको छ । देशबाट जडीबुटी अवैध रूपमा सस्तोमा बिदेसिन्छ र ती जडीबुटीबाटै बनेका औषधि महँगोमा विदेशबाट आयात गरी सेवन गर्न हामी बाध्य छौं । आमसर्वसाधारणको आयुर्वेदप्रति चासो छ तर सरकार, आयुर्वेद स्वास्थकर्मी, आयुर्वेदका क्षेत्रमा काम गर्ने संघ–संस्था जनताको चाहनाबमोजिम आयुर्वेदको क्षेत्रलाई फराकिलो बनाउन सकिरहेका छैनन् ।

अन्त्यमा, 
आयुर्वेदको उपचार आधुनिक चिकित्साविज्ञानभन्दा फरक छ । सबै औषधि जडीबुटीबाट बनाइन्छ । हरेक रोगको उपचारमा प्रयोग हुने औषधि, रोगका कारण र बिरामीको अवस्थाअनुसार फरक–फरक हुन्छन् । त्यसैले कुनै पनि आयुर्वे्दिक उपचारका लागि आयुर्वेदका डाक्टरलाई जँचाएर मात्र उपचार गर्नुपर्ने द्रव्यगुण विज्ञान विशेषज्ञ प्रा.डा. श्याममणि अधिकारीले बताए । बजारमा पाइने तयारी आयुर्वे्दिक औषधि आफूखुसी सेवन गर्नु हानिकारक हुने अधिकारीको जिकिर छ । त्यसैले जथाभावी आयुर्वे्दिक नाम सुन्नेबित्तिकै औषधि सेवन नगरौं । चिकित्सकको सल्लाहमा मात्र आयुर्वे्दिक औषधि सेवन आयोग्य जीवनका लागि लाभदायक हुने प्रा.डा. अधिकारीको ठहर छ ।

Last modified on 2019-10-27 08:22:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts