डाक्टरको सुगम मोहः टेकु अस्पतालमा डाक्टर फालाफाल, सरुवा रोग अस्पतालमा अर्थोपेडिक सर्जन समेत 

म आएपछि काठमाडौंमा पोष्टिंग दिएको छैनः महानिर्देशक पोखरेल



Download our app to get more features

काठमाडौं, ७ कात्तिक । चिकित्सकहरु कसरी सुगममै टासिँन खोज्जन् भन्ने नमूना भर्खरै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा देखिएको छ । 

१८ जनाको दरवन्दी भएको अस्पतालमा ४५ जना जना डाक्टर भएपछि डाक्टर फालाफाल भएको हो । मौसमी इन्फ्ल्युयन्जा लगायत विभिन्न संक्रामक रोगको उपचार हुने अस्पतालमा बिरामीको उपचार सहजताका साथ गर्न भनेर सरकारले ४५ जना डाक्टर व्यवस्था गरेको होइन । राजधानीको अस्पताल र महामारीका समयमा बाहेक खासै चाप नहुने अस्पताल भएकाले अधिकांशले टेकु मिलाएर बसेका हुन् । टेकु अस्पतालमा भएकै दरवन्दीहरु भने खाली छ । दरबन्दीमा भएका चिकित्सकहरुले कतिपय अध्ययन बिदा मिलाएर पढ्न गएका छन् भने कतिपयले उच्च अधिकारीहरु काज मिलाएर घरपायक बसेका छन् । 

अस्पतालमा अहिले चिकित्सकको चाप हुनुमा भने प्राय करारका मेडिकल अफिसर र विशेषज्ञ थुप्रिनु हो । सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकले दुईवर्ष सरकारले तोकेको ठाउँमा अनिवार्य काम गर्नुपर्ने शर्तका आधारमा आएका चिकित्सकहरु टेकुमा थुप्रिएपछि अस्पताल अस्तव्यस्त भएको हो । त्यतिधेरै डाक्टरहरुले के काम गर्छन भन्ने प्रश्नमा अस्पतालका एक कर्मचारीले ठट्यौली पारामा भने- भिटामिन डी बनाउँछन् जाडोमा पनि सुरु भयो । घाम ताप्दा शरीरलाई भिटामिन डी प्राप्त हुने भएकाले उक्त कर्मचारीले व्यंग्य गरेका हुन् । 

अस्पतालमा यतिधेरै डाक्टरलाई काम पुग्छ त भन्दा अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेले काम नभएको र तलव समेत खुवाउन नसक्ने अवस्था हुनेभन्दै मन्त्रालयलाई जानकारी गराइएको बताए । उनले भने- डेंगु महामारी भएका बेलामा डाक्टरहरु केही मागिएको थियो । तर, त्यसपछि त ग्वार ग्वार यता पठाउन थालियो । हामीलाई सेवा प्रवाह गर्न यहाँ उपलब्ध डाक्टरले नै पुग्छ । ४५ जना चाहिँदैन । 

सरुवा रोग अस्पतालमा अर्थोपेडिक सर्जन समेत 
हुँदा हुँदा टेकु अस्पतालमा अर्थोपेडिक सर्जन (हाडजोर्नी शल्यचिकित्सक) समेत पुगेका छन् । अस्पताल स्रोतका अनुसार सरकारी छात्रवृत्तिमा पढेका हाडजोर्नी विशेषज्ञले समेत अस्पतालमा हाजिर गर्छन । जबकी सरुवा रोग अस्पतालमा अर्थोपेडिक सर्जनको खासै भूमिका हुँदैन  । यहाँ हाजिर गरेर काम नगर्ने कर्मचारी अधिकांश कि त पहुँचवाला हुन् कि त कर्मचारी नेता हुन् । एकजना कर्मचारीले आक्रोश पोखे । 

म आएपछि काठमाडौंमा पोष्टिंग दिएको छैनः महानिर्देशक पोखरेल
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. रोशन पोखरेलले आफु आएपछि कुनै पनि करारका चिकित्सकलाई काठमाडौंमा पोष्टिंग नदिएको दावी गरे । उनले भने- म आउनुभन्दा पहिले भएका निर्णयहरु होलान् । मैले त चिकित्सक आवश्यक भयो भनेर माग आएका राजधानी बाहिरमात्र पठाइरहेको छु । भर्खरै नयाँ आएका करिब ७० जना मेडिकल अफिसरलाई चिकित्सक आवश्यक भएको जिल्लाहरुमा पठाएको छु ।

महानिर्देशक पोखरेलले सरकारी छात्रवृत्तिमा पढेकाहरलाई करार अवधिको अन्तिमतिर केही समयलाई सुगम बस्ने व्यवस्था मिलाईदिने व्यवहारिक पक्षका कारण पनि राजधानी र आसपासमा केही बढि चिकित्सक हुनेगरेको स्वीकार गरे । 

Last modified on 2019-10-27 08:20:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts