विश्व बायोइथिक्स दिवस

सांस्कृतिक विविधताको सम्मान      



Download our app to get more features

मानिसले आफ्नो अस्तित्व र पहिचान स्थापना गर्ने प्रयास स्वभावतः शुरुदेखि नै गर्दै आएको देखिन्छ । सभ्यता र विकासको क्रममा विभिन्न ठाउँ र कालखण्डमा धेरै प्रभावशाली र शान्त संरचना, घटना, प्रकरण, प्रथा, चलन, परम्परा र प्रवृत्तिहरुले आफ्नो उपस्थिति र प्रभाव देखाएका छन् । मानिसद्वारा यसरी सिर्जित यावत् कुराहरु सांस्कृति अन्तर्गत् समाहित र संरक्षित रहने गर्छन् र पुस्तौं पुस्तामा हस्तान्तरण हुँदै जान्छन् । 

मूलतः समय, स्थान र मानवीय सन्दर्भ र पृष्ठभूमिको विविधताले गर्दा संस्कृति र सांस्कृतिक कुराहरुमा पनि विविधता रहनु स्वाभाविक हो । यस्तो विविधताले नै वास्तवमा निश्चित परिवेस, कालखण्ड र मानवीय समुदायको पहिचान पनि निर्माण गरेको हुन्छ । अतः, संस्कृति मानव अस्तित्व र पहिचानको आधार हुनेगर्छ । 

संस्कृति के हो?
समाज, समुदायमा मानिसले बनाएका चलाएका कुराहरु, संरचना, चालचलन, परम्परा, चाडपर्व आदि संस्कृतिका पहलुहरु हुन् । संस्कृति अन्तर्गत पाटी, पौवा, मन्दिर, गुम्बा, चर्च, मस्जिद, चैत्य, धारा जस्ता सामुहिक भौतिक संरचनास नाचगान, लोकगीत, नाटक, लोक कथा, आख्यान, लोकोक्ति, ग्रन्थ, पुस्तक, भाषा, भेषभुषा, लवाइखवाइ आदि जस्ता लोक साहित्यस चाडबाड, दिवस, जयन्ती, यज्ञ, मेला, भेला, भोज, मानव जीवनका विविध अवसरहरुसँग सम्बन्धित पास्नी, सँस्कार, परम्परा  जस्ता अवसर विशेष तथा गुथि, सामुहिक बेलविवाह जस्ता अवधारणाहरु साँस्कृतिक अवयब र धरोहर हुन् । 

सांस्कृतिक समानता 
संस्कृतिमा विश्वजनिन समानता र विविधता दुवै भेट्न सकिन्छ । सार्वजनिन र समान कुराहरुले विश्वबन्धुता, एकता, समानता र प्रकृति धर्मको मर्मबाट सबैलाई एक सूत्रमा बाँध्ने सन्देश, हौसला र दर्शन मिल्छ । यसले विश्व भाइचारा र बन्धुताको लागि झक्झकाइरहन्छ । सडक, पुस्तकालय, यातायात, विद्यालय, भवन, इमारत, कार्यालय, विद्युत, मोबाइल, इन्टरनेट, वैज्ञानिक सेवासुविधाले अब दुनियाँ एक समान हुँदैछ । विश्वका कुनैपनि कुनामा अब यी कुराहरु उस्तै लाग्छन् । 

सांस्कृतिक विविधता
विश्वका शहरहरु त्यहाँका सडक, भवन वा यातायात जस्ता सार्वजनिन भन्दा पनि त्यहाँका अतुलनीय वा बेजोड वा फरक साँस्कृतिक कुराले गर्दा चिनिने हुन्छ, जस्तैः भक्तपुर शहर पाँचतल्ले मन्दिर, स्वर्णद्वार, पचपन्न झ्याले दरवारले गर्दा चिनिन्छस ललितपुर कृष्ण मन्दिर, बहाबहि तथा काठमाडौं पशुपतिनाथ मन्दिर, स्वयम्भू, बौद्धनाथको चैत्यले गर्दा अद्वितीय छ । नेवारहरु आफ्ना परम्परा, भोजभट्टेर, खानाको परिकार, गुथि, आदिका लागि चिनिन्छ । हरेक समुदायका आआफ्ना फरक चालचलन र सँस्कृतिहरु हुन्छन् । नेपाल भोगोलिक रुपमा त्यति बिशाल नहोला तर साँस्कृतिक विविधताको हिसाबले भने अत्यन्त धनी देखिन्छ । नेपालमा अहिले पनि एक सय भन्दा बढी भाषाभाषी र १ सय २५ भन्दा बढी खालका सांस्कृतिक जातीय समुदायहरु रहेको प्रतिवेदन छ । 

एकै बोटका पनि हाँगा बिंगा परस्परमा धेरै हदसम्म समान भएपनि केही हदसम्म, रुपरंग र हिसाबले भिन्न र फरक हुने गर्छ । यस्तो भिन्नता बिल्कुलै स्पष्ट र मूल पक्षको पनि हुनसक्छ, जस्तैस् नेवार जातिमा कुमारी प्रथाको चलन । कतिपय विभिन्नता र विविधता हल्का, परिमार्जित स्वरुप वा कम प्रष्ट खालका पनि हुन्छन्, जस्तैः ठाउँ विशेषमा पनि केहि शव्दहरुको उच्चारण र विन्यासमा भिन्नता । 

विविधताको सकारात्मकता
यस्ता भिन्नता र विविधताले गर्दा बोल्नै र भन्नै नपर्ने गरेर र कतिपय सूक्ष्म कुराको भने अध्ययन अबलोकनद्वारा त्यस ठाउँ, व्यक्ति र समाजको परिचय, पहिचान गर्न सकिने हुन्छ । मलाई याद छ, बाल्यकालमा काठमाडौं वा ललितपुरतिर जाँदा त्यहाँका नेपालभाषीहरु पानीलाई ’ल’ भन्ने, भक्तपुरका हरु ’ना’ भन्ने र बोलीबाटै थाहा हुन्छ को कहाँबाट आएका भनेर । यो कुरा नेपाली, अंग्रेजी वा अरु भाषाहरुमा पनि लागु भएको पछि थाहा हुँदै र देख्दै गएको थिएँ । यसरी भाषा, साहित्य, लवाइखवाइ, भेषभुषा, चालचलन, परम्परा, विधिव्यवहार, कला, आदिमा रहने विविधता एक हिसाबले विशेषता होस यो पहिचान र परिचयको माध्यम हो ।
 
यस्तो पहिचानका लागि प्रेरित भएर विभिन्न कालखण्डमा विभिन्न ठाउँमा स्वस्थ प्रतिस्पर्धात्मक हिसाबले धेरै खालका मठमन्दिर, पाटीपौवा, जात्रा, गुठी, चाडपर्वहरुको शुरुआत, विकास र निरन्तरता भएको त हामी नेपालीकै पनि इतिहास छ । अहिले पनि कति धार्मिक, साँस्कृतिक र लोककल्याणकारी क्रियाकलापहरु यहि अबधारणामा अगाडि बढिरहेका छन् ।

विविधतामा आवश्यक सतर्कता 
यसरी फरक भएका विभिन्न पक्ष वा कुरालाई लिएर एक समुदाय, समाज वा राज्यका मानिसले अर्कोलाई गिज्याउने, होच्याउने, मान मर्दन गर्ने, दबाउने गरेको पनि दुनियाँमा देख्दै, भोग्दै र जीवनको कटुसत्यको रुपमा धेरैथोरै हुँदै आएको कुरा हो । ठूला साना झगडा मात्रै होइनन्, युद्धसम्म संस्कृतिको नाउँमा भएर जन, धन र संस्कृतिकै खति भएको कुरा इतिहासमा धेरै छन् । नेपाली समाजमा पनि साँस्कृतिक विभिन्नता एकातिर पहिचान भएको देखिन्छ भने यदाकदा भेदभाव, विवाद र झगडाको कारण पनि बनिरहेको देखिन्छ । यसमा साँस्कृतिक विविधता भन्दापनि त्यस ठाउँ र समय विशेषका मानिसहरुको अहम, स्वार्थ र असमझदारी वास्तवमा समस्याको जरो हुने गर्दछ । आफ्नो समाज सँस्कृतिमा रहेका राम्रा नराम्रा पक्ष केलाएर आफ्नै सँस्कृति चिन्नुपर्याे । अनि, कसैको मानव अधिकार र राष्ट्रिय, अन्तर्रा्ष्ट्रिय कानुन मान्यतालाई खलल नपुग्ने गरी अवलम्बन गर्नुपर्याे । अरु समाज संस्कृतिलाई सम्मान गर्न सिक्नु पर्याे ।

सांस्कृतिक शिक्षा
विविधता भनेको स्वाभाविक र अकाट्य कुरा हो । त्यसलाई सामान्य र स्वस्थ हिसाबले बुझेर, व्यवहारमा परस्परमा सम्मानजनक हिसाबले उतारेर सामाजिक, राष्ट्रिय र विश्वस्तरमा नै अगाडि बढ्दा मानवमात्रको कल्याण हुने कुरा युग र इतिहासले सिकाएको पाठ हो । यस दिशातिर बेलामौकामा छलफल, चिन्तनमनन, नितिनियमहरुको निर्माण भएको देखिन्छ । युनेस्को बायोइथिक्स मानव अधिकार सम्बन्धि डिक्लेरेसनको मुलभुत सिद्धान्तहरुमा बाह्रौं बुँदाका रुपमा ’साँस्कृतिक विविधताको सम्मान’ रहेको छ । 

यो वर्षको विषय 
यो वर्ष २०१९ को विश्व बायोइथिक्स दिवसले यहि महत्त्वपूर्ण सिद्धान्तलाई नाराको रुपमा अघि बढाएर विभिन्न स्थानीय, राष्ट्रिय लगायत अन्तर्राष्ट्रिय कार्यक्रमहरुको माध्यमबाट यसबारे चिन्तन मनन, अध्ययन र अबलम्बन गर्न झक्झकाएको छ । बायोइथिक्स नेटवर्कको नेपाल एकाईले पनि स्वास्थ्य विज्ञानका विद्यार्थी, शिक्षक र जनसाधारणबीच चेतना र जारुकताको लागि विविध कार्यक्रमहरुको आयोजना गरेको हो । अक्टोवर १९ का दिन विश्वभरि नै बायोइथिक्स दिवस मनाइँदैछ । नेपालमा पनि यस वर्षको नारामा केन्द्रित रहेर विविध चेतनामुलक कार्यक्रमहरुको समापन कार्यक्रम वि.पि.को.स्वा.वि.प्र., धरानमा राखिएको छ । 

विभिन्न फूलहरुको साझा फूलबारी नेपाल देशमा शान्ति, विकास र समुन्नतिका लागि बाँचिरहेका हामी नेपालीका लागि योभन्दा सान्दर्भिक अवधारणा अरु के हुनसक्छ र ! सबैलाई हार्दिक शुभकामना ।

Last modified on 2019-10-20 09:52:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts