बिसन्चो दसैँ
यसपालि दसैँ सुरु भइसक्दा पनि पानी पर्न रोकिएको छैन । चिसो नि कति चाँडै बढेको । ग्लोबल वार्मिङ र वातावरण परिवर्तनको प्रभाव देखिन थालेजस्तो छ ।
यो रुघाखोकीले पनि कहिल्यै नछाड्ने भयो । सुँक्क नाकबाट चुहिन लागेको पानी तान्दै मनमनै सोचेँ । समाचारमा जताततै डेंगु र स्क्रब टाइफसको बिगबिगी मात्रै सुनिएको छ । यसपालि दसैँमा बिरामी परिन्छ झैँ लाग्यो । खासै कहिल्यै बिरामी नहुने म परिहालेँ भनेचाहिँ ओछ्यानमै सुत्नुपर्ने खालको बिरामी पर्थेँ । जति बिरामी हुनुपरे पनि यो दसैँ सकिएपछि भइदिए हुने, मनमनै सोचेँ ।
दिन बित्दै गयो । सामान्य रुघाबाट सुरु भएको बिमार खोकी, घाँटी दुख्ने हुँदाहुँदै छाती दुख्ने र ज्वरो आउनेसम्म पुग्यो । त्यसपछि आलस्य हुने, जिउ दुख्ने र टाउको दुख्ने समस्या पनि थपिए । हेर्दाहेर्दै फूलपाती पनि आयो । बिमारी झन्झन् बढ्दै गयो ।
ज्वरो नाप्दा थर्मोमिटरले १०४ डिग्री फरेनहाइट देखाउन थाल्यो । ज्वरोसँगै घरिघरि शरीर चिसो हुने र काम्ने समस्या नि देखिन थाल्यो । खोकी नि उस्तै, फोक्सै निस्किएलाजस्तो । गएर मेडिकलबाट केही दबाई किनेर खानुप¥यो । प्रायः औषधि खान मन नलाग्ने म यसपालि भने हार खाएँ ।
घरनजिकैको मेडिकल गएँ । दसैँले गर्दा होला बन्द भइसकेको रहेछ । अलिक तलको पोलिक्लिनिकको फार्मेसी भने खुला रहेछ । फार्मेसीकाले एजिथ्रोमाइसिन भन्ने एन्टिबायोटिक दिए । दिनको एउटा औषधि खान थालेँ, तर त्यसले झन् शरीर गलाउने रहेछ । थकित र शक्तिहीन बनाउने रहेछ । शिथिल र पूरै दुखेको शरीर आफैँलाई भारी भएको थियो ।
यसपालिको दसैँ कटाउन गाह्रो पर्ला झैँ लाग्यो । गरिबहरूको दसैँ दसा बनेर आउँछ भन्थे, यसपालि मेरो नि कम होला झैँ लागेन । दसैँ सुरु भएकाले अस्पतालका ओपिडी त बन्द भइसकेका थिए । इमर्जेन्सीमै जानुपर्ने झैँ बिरामी त भएको थिइनँ । अष्टमीमा घरमा पूजा गर्ने, खसी काट्नेलगायत धेरै काम थिए । अघिल्लो साल प्रायः काम आफैँ गर्न अघि सर्ने म यसपालि भने केही गर्न नसक्ने अवस्थामा थिए । ज्वरो घरि आउने घरि छोड्ने भइरहेको थियो । बुबा, भाइ, आमाले काम गरिरहँदा म भने ओछ्यानमै पल्टिरहेँ । मन थियो, तर जाँगर थिएन । आखिर जाँगर नभएपछि कसको के नै लाग्दोरहेछ र ? मुख तीतो थियो र केही खान मन थिएन । जाउलो र तातो झोलबाहेक अरू केही खाइनँ । यसपालिको दसैँ खाटकै बास हुने भयो भन्ने लाग्यो ।
नवमीको दिन बेलुका साह्रै गाह्रो भयो । स्याँ–स्याँ बढ्यो र खोकी नि भित्रैदेखि लगातार लाग्यो । ज्वरो नि १०४ पुग्यो । आमाको मन, के मान्थ्यो । बुबा र भाइलाई लिएर तुरुन्त टिचिङ अस्पतालको इमर्जेन्सीमा दौडाउनुभयो ।
अस्पताल पुगेर एक्सरे, रगत जाँच आदि गरियो । फोक्सोमा निमोनिया देखियो र अस्पतालमा तीन दिन भर्ना हुन डाक्टरले सुझाब दिए । अब यस्तो गाह्रो हुँदाहुँदै घर जाने कुरा मनासिव थिएन ।
दसैँको बेला । अस्पताल भर्ना भएर बस्नुपर्ने भो । के दुःख आइलाग्यो नि यो झैँ लाग्यो । नजिकैको अरू बिरामी, डक्टर, नर्सहरूलाई हेरेँ । आखिर यिनीहरू पनि त दसैँ छोडेर अस्पताल नै बसिरहेका त छन् । म, अन्य बिरामी त आफ्नै कारणले बस्यौँ, ती डक्टर, नर्सहरू त अरूको सेवा गरेर बसिरहेका छन् ।
यही अस्पतालमा रमाउने हो यसपालिको दसैँ । अस्पताल भर्ना भए । भोलिपल्ट टीकाको दिन अस्पतालमै बुबा र आमाको हातको टीका लगाए र आशीर्वाद लिए । तीन दिन भर्ना भएर घर फर्केँ । घर फर्केपछि मामाघर र ठूलोबुबाको हातको टीका लाउन गए ।
अस्पतालको दसैँ अनुभव कठिन, तर पृथक् रह्यो । जीवनका हरेक आयामहरूका बेग्लाबेग्लै मजा छन् । यो समयलाई पनि एउटा यस्तै पाटोका रूपमा लिएर तीन दिन बिताइयो । आखिर जिन्दगी यस्तै सुख र सुखको सँगालो त रहेछ नि ।