आत्महत्याका कारण र रोकथामबारे कुरा गरौं
आत्महत्याका सामाजिक कारणः
फ्रान्सेली समाजशास्त्री इमाइल दुर्खाइमले सन् १८९७ मा विविध खालका सामाजिक प्रतिकूलताहरुलाई आत्महत्यासँग जोडे र आत्महत्यालाई मूलतः सामाजिक समस्याको रुपमा हेरियो । अभाव, अन्याय, शोसन, उत्पिदन, भ्रष्टाचार, बिसंगतिले ग्रस्त, अव्यवस्थित, कमजोर वा बिखण्डित सामाजिक परिस्थितिमा आत्महत्यालाई बढावा दिने तत्वहरु बढ्छन् । जीवनप्रति सकारात्मक बनाउने र हौसला दिने कुरा कम हुन्छन् । अस्वस्थ प्रतिस्पर्धा, अन्ध परम्परा र अनुपयुक्त अनुशरणले तनाव बढ्छ । यस्तो समाजले आत्महत्यामा प्रयोग हुने विभिन्न माध्यमहरुप्रति उचित निगरानी र नियन्त्रण राख्तैन । खतरनाक स्थानहरुमा बन्देज गर्न सक्तैन । कमजोर नियम कानूनको कारण बन्दूक, हातहतियार, विष वा खतरनाक स्थानहरु सजिलै उपलब्ध हुन्छन् । यसबाट आत्महत्या सरल हुनजान्छ । समस्या पर्दा सहायता पु¥याउने सेवाश्रोत पनि उपलव्ध हुँदैन ।
आत्महत्याका मनोवैज्ञानिक कारणः
यसमा व्यक्ति विशेषको स्वभाव, प्रवृ्ित्त वा व्यक्तित्व तथा तनाव जस्ता मनोवैज्ञानिक तत्वहरुको पनि भूमिका प्रष्टिन थाल्यो । समस्यासँग जुझ्ने क्षमता, आत्मविश्वास, सामाजिक आडभरोसा, साथसहयोग, सम्बन्ध कम भएका, अरुको बढी भर पर्ने, अरुबाट त्यक्त अनुभव गर्ने, जो निकट भविष्यमा कुनै समाधानको आशा देख्तैन, निराश हुन्छन्, तिनीहरुमा आत्महत्याको समस्या धेरै गुणा बढी देखिन्छ । झडंग आवेशमा आउने, बिषम परिस्थिति व्यहोर्न नसक्ने, एक्लो, निराश, बेसहारा, यौन द्वन्द्वग्रस्त, ग्लानी र दल्दल्मा फँसेको सोच्ने वा पूर्वाग्रह पीडित मानसिकता भएका मानिसहरुमा आत्मघाती व्यवहार अधिक देखिएकोछ । मनोसामाजिक समस्याको रुपमा यसलाई कानूनी हिसाबले हेरेर दण्डसजायँको पनि व्यवस्था गरियो ।
आत्महत्याका जैविक कारणः
अध्ययन अवलोकनहरुले आत्महत्याको समस्या मनोसामाजिक, साँस्कृतिक वा कानूनी पक्षसँग मात्र होइन बरु जैविक र समग्र स्वास्थ्य स्थितिसँग जोडिएको पुष्टि हुँदैगयो । आत्महत्याको समस्या विकलांग बनाउने, कुरुप पार्ने,े पेशामा वा दैनिकीमा असर पार्ने, जीर्ण र अनियन्त्रित पीडा हुने खालका शारिरीक रोगहरु; विशेष गरेर उदासीन मनोरोग र अरु पनि मानसिक रोगहरु स्किजोफ्रेनिया, delirium/ dementia, आत्तिने मनोरोग (anxiety), नशा, लागू सेवन, छारेरोग पिडित व्यक्तिहरुमा बढी देखिन्छ । यस्ता व्यक्तिहरुमा स्नायु रसायनमा गड्बडी -serotonin, Noradrenaline_ अनुवांशिक रुपमा पनि हाडनातामा आत्महत्याको समस्या बढी देखिएकोछ ।
आत्महत्याको नेपाली यथार्थः
नेपालमा आत्महत्याको समस्या बढ्दैगएको देखिन्छ । आत्महत्याको समस्या औसतमा बढी हुने देशहरुको सूचीमा नेपाल सार्क मुलुकहरुमध्ये दोश्रो स्थानमा र विश्वमै पनि अगाडि देखिँदैछ । पन्ध्रदेखि २४ र ५० वर्षभन्दा माथिका उमेरमा यो समस्याको मार बढी देखिएकोछ । यस लेखकको एक समूहले गरेको एक अनुसन्धानमा आकस्मिक मनोचिकित्सा सेवा लिने चार बिरामीमध्ये एकजना (२२ प्रतिशत) मा आत्महत्याको समस्या देखिएकोेछ । आत्महत्याको दर व्यक्ति, परिवार, समाज र राज्यको तहमा विद्यमान बिसंगति, अव्यवस्था, प्रतिकूलता, अस्वस्थ प्रतिस्पर्धा, अन्ध अनुशरण र अस्वस्थताको सटिक मानक मानिन्छ । यस हिसाबले हामी नेपालीहरु बडो दुःखद् स्थितिमा देखिन्छौं ।
प्रतिकूल नेपाली पृष्ठभूमिः
नेपालका कतिपय सामाजिक र साँस्कृतिक परिस्थिति (जस्तै– पुरुष प्रधान, छोराछोरी बीचमा विभेद, दाइजो प्रथा, सति प्रथाको अवशेषको रुपमा रहेका सामाजिक मान्यताहरु, महिलाहरुले घरपरिवार मात्र सम्हाल्नुपर्ने र रोजगारी, शिक्षा जस्ता अवसरबाट बिमुख रहनुपर्ने नियति, सम्पत्तिप्रतिको असमान अधिकार, बिभेद, छुवाछुट, घरेलु हिंसा, देहव्यापार, इत्यादि) आत्महत्यालाई बढावा दिने खालका छन् । बेरोजगारी, गरीवी, भोकमरी, असुरक्षा, हत्या, हिंसा, आतंक, बलत्कार, बन्द, हडताल, भ्रष्टाचार, नातावाद, दण्डहिनता, अराजकता र भ्रष्टाचारले जर्जर भएको नेपालमा राज्यसंयन्त्रहरु गैरजिम्मेवार देखिन्छन्, लोककल्याणप्रति प्रशासन उदासीन देखिन्छ । एकातिर पहिलेका गुठी, संघ, समाज, इत्यादि जस्ता सामाजिक संरचनाहरु बिखण्डनको मारमा छन् भने अर्कोतिर पश्चिमेली हावा, जानकारी र माध्यमले गर्दा धर्मर बन्दै गएको छ । वर्षौं लामो जनयुद्ध, त्यसले जन्माएका आन्तरिक बसाईंसराई, पारिवारीक, सामाजिक बिखण्डन, विदेशको रोजगारी, शरणार्थी समस्या, बेलाबेला थपिने बाढीपहिरो, भूकम्प जस्ता प्राकृतिक प्रकोप जस्ता विषम परिस्थितिहरुले गर्दा आमजनताको बास, गास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारी जस्ता आधारभूत आवश्यकताहरु पनि पूरा गर्न कठीन बन्दै गएकोछ । अपांग, बालबालिका, वृद्ध, महिला, अल्पसंख्यक समूह अझै बढी मारमा परेका छन् । युवावर्ग पनि आधुनिकताले थोपरेका आवश्यकता, प्रविधि, बिसंगति, परिवारका आकांक्षा र वास्तविकताको दोसाँधमा व्यहोर्नपरेका भ्रम, बेरोजगारी, अवसरको कमि र अस्थिर समाजका कारणले गर्दा मानसिक बिचलन र हिनताबोधमा पलायन हुन बाध्य छन् । समग्रमा आम जनताको मनस्थिति र नैतिकता अधोगामी देखिन्छ । मनोसामाजिक समस्या र रोगहरुको भार बढी भएपनि सर्वसाधारणदेखि योजनाकार, सरकार र शिक्षितवर्ग पनि यसतर्फ पटक्कै सचेत र सजग देखिँन्नन् ।
आत्महत्या रोकथामको प्रयास :
आत्महत्यामा जैविक (biological factors), मनोवैज्ञानिक(psychological factors), सामाजिक (social factors), स्कृतिक एवम् परिस्थितिजन्य तत्वहरुको अत्यन्त जटिल अन्तरक्रिया हुने गर्दछ । हाम्रो देश नेपालमा आत्महत्याका खतराजन्य तत्व (risk factors) बढेर बचाउने तत्वहरु (protective factors) मजोर भएको भनेर बुझ्न गाहारो छैन । अब सकेसम्म चाँडो ‘आत्महत्याको रोकथाम केन्दविन्दु’मा राखेर सबै खालका प्रयासहरु थाल्न आवश्यक भएकोछ । आत्महत्याको रोकथाम प्राथमिकतामा राख्नुपर्नेतिर समग्र विश्वकै ध्यानाकर्षण भईरहेको बेला नेपालजस्तो आत्महत्याको समस्याले अत्याधिक पिडित देशले आवश्यक कदम नउठाउने हो भने शोक र क्षति बाहेक के नै हासिल होला?
आत्महत्याको समस्यालाई सम्बोधन गर्न बहुआयामिक कार्यक्रम, प्रयास र समन्वयको खाँचो छ । एक पक्ष वा एक क्षेत्रको संलग्नताले मात्र यो बिकराल समस्याबाट पार लाग्न सकिँदैन । जैविक, मनोवैज्ञानिक र सामाजिक तर्फको झुकाव, ज्ञान, सिप, तालिम र ओहदा भएका सबैले आत्महत्याको रोकथाम एक लक्ष लिएर यसलाई केन्द्रविन्दुमा राखेर समन्वय, सहभागिता, संलग्नता र साथसहयोग सहित आत्महत्या विरुद्धको अभियानमा लाग्न जरुरी भएकोछ । व्यक्ति, परिवार, समाज, राज्य, नेता, योजनाकार, सेवाप्रदायक, चिकित्सक, मनोवैज्ञानिक, परिचारीका, सामाजिक कार्यकर्ता, शिक्षक, विद्यार्थी, गृहिणी, साथीभाई, सहकर्मि, सबै सबैको इमान्दार र बहुआयामिक योगदानको जरुरत छ ।
आत्महत्यापूर्व देखाउने खतरासुचक लक्षणप्रति चनाखो रहेर उच्च खतरा रहेको व्यक्तिलाई एकछिन एक्लै नछाडी साथ रहने, आत्महानीका साधन उसको पहुँचबाट हटाउने, सम्बन्धित सबैको सहयोग जुटाउनेतिर परिवार, साथीभाई, छरछिमेक लागौं । आफ्ना आसपास रहेका व्यक्तिहरुको अवस्थाबारे सरोकार राखेर आवश्यक परेको बेलामा मानवीय साथ र सहयोगी हात बढाउने प्रवृत्ति र सँस्कृतिलाई निरन्तरता र बढावा देऔं ।
सामाजिक बिसंगति, बिकृति र बिखण्डन हटाएर अनुकूल समाजको सृजना गर्नु हामी सबैको साझा कर्तव्य हो । समाज सभ्य, उन्नत र स्वस्थ बनाउन नेता, योजनाकार र धनीमानी सबैले सामाजिक दायित्व आत्मसात् गरौं । राज्यसंयन्त्रले हरेक नागरिकको बाँच्न पाउने नैसर्गिक अधिकारको प्रत्याभूति दिनको लागि सुसाशन, शान्ति, प्रगति, समानता र आधारभूत सुविधाको जिम्मा लिएर काम गर्नसक्नुपर्छ । सबैका लागि सुरक्षा, साथ र सहयोगको सूत्रमा बाँध्नसके आत्महत्यारहित समाजको कल्पना कल्पना मात्र रहँदैन ।
हाम्रो अध्ययनले पनि यतातिर आत्महत्याको प्रयास गर्ने बहुसंख्यमा आत्महत्याको प्रयास गर्ने बेलामा तनाब हुने गरेको देखाउँछ । यस्ता धेरै मानिसहरु मनमुताब, कलह, झैझगडा, बैमनस्यता, सम्बन्धविच्छेद, बिछोड, बियोग जस्ता व्यक्तिलाई एक्लो, बेसहारा र त्यक्त महसुस गराउने अन्तरसम्बन्धका समस्याले तनावग्रस्त हुन्छन् । वर्तमान नेपालमा बेरोजगारी, वैदेशिक रोजगारी, त्यसबाट सिर्जित सामाजिक परिस्थिति, बिखण्डन, बढ्दो विश्वसँगको खुल्लापन, अनुपयुक्त प्रतिश्पर्धा, एकांकीपन, भौतिकवादी चिन्तन, पारिवारीक संरचनाको बिचलन आदिले परिवार, साथीभाई, नातागोता, छरछिमेकसँगको सम्बन्धमा दरार र दूरी बढ्दैगएको देखिन्छ । अर्को मुख्य तनाव भनेको उनीहरुकै शारिरीक वा मानसिक स्वास्थ्य समस्याले निम्ट््याएको चिन्ता हो । यी पिडितहरुमध्ये कतिलाई आत्महत्याको आवेग आएको बेला आँखा अगाडि सजिलै विष, औषधी, मट्टितेल, डोरी वा यस्तै आफूलाई हानी पुु¥याउने साधन हुनाले थाम्नै गाहारो भएको देखियो । यी मूल तत्वहरु धेरै हदसम्म न्यूनिकरण गर्न सकिने खालका छन् । एकआपस बीचको सम्बन्धमा सुमधुरता ल्याउन सामाजिक तालिम, तनाव व्यवस्थापन, समस्या समाधानका सिप अभिवृद्धिका कार्यक्रम उपयोगी हुन्छन् ।
मानसिक स्वास्थ्यसेवा सहितको आधारभूत स्वास्थ्य सेवा प्रसार गर्न आवश्यक भएकोछ । कृषिमा प्रयोग हुने वा अन्य विषको कडाइका साथ उपयुक्त व्यवस्थापन र नियन्त्रण तथा खतरनाक स्थान, हतियार जस्ता कुराहरु कानूनतः सुरक्षित व्यवस्थापन गर्दा तिनको सरल पहुँच घट्नजान्छ । हामीकहाँ हामीलाई आत्महत्यातिर ढकेल्ने तनाव र अरु मूल कारणहरु, जस्तैः डिपे्रसन जस्ता मानसिकरोग र नशालुपदार्थको सेवन÷ लतलाई पहिचान गरेर उपयुक्त कदम चालौं । आत्महत्या मानसिकस्वास्थ्य र मनोचिकित्साको लागि सधैं उच्च सतर्कताको विषय रहि आएकोछ । यस वर्ष सन् २०१९ को मानसिक स्वास्थ्य दिवसले पनि आत्महत्याको रोकथामलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता औंल्याएकोछ । हामी पनि आजैदेखि यसबारे सजग, सचेत र जागरुक होऔं ।
Email- [email protected]