उमेरमै दिमाग जोगाऔं    



Download our app to get more features

विश्वभर नै ज्येष्ठ नागरिकको संख्या उल्लेखनीय हिसाबले बढ्दैछ । यो क्रमबाट नेपाल अछुतो रहने कुरै भएन । यहाँ पनि मानिसको औसत आयू बढ्दो छ । पाको उमेरका आफ्नै विशेषता, चुनौती र समस्या छन् । देश खाएर ‘शेष’ भएको खारिलो अनुभव, परिपक्वता र विवेक तथा परिवार, समाज र देशप्रतिको योगदानले गर्दा यो उमेर आदरणीय हुनेगर्छ । उमेरसँगै शरीरका सबै अंग, मानिससँगको सम्बन्ध र आफ्नै मनका विविध पक्षमा पनि सकारात्मक र नकारात्मक परिवर्तन आउने गर्छन् । अनुभव र विवेकका कारण पाको उमेरमा घरपरिवार र समाजमा व्यक्तिको कुरा सामान्यतया अरुले ससम्मान सुन्छन् र मान्छन् । उपलव्ध साधनस्रोत र सम्पत्तिमा पनि पहुँच रहने गर्छ । पहिलेको कमाइ, पौरख र कर्मका कारण व्यक्तिको परिचय स्थापित भएको यस्तो स्थितिमा धेरै हदसम्म आत्मविश्वास र निश्चितता दरो रहन्छ ।

बढ्दो उमेरले शरीरका हरेक अंग, तिनको काम गराई र मनमस्तिष्कका क्षमता क्षीण बन्दै जान्छन् । आफ्ना सहकर्मी र समवर्ति व्यक्तिको मृत्यु, पहिलेको भूमिका वा कामबाट अवकास, नयाँ पिँढीको आफूप्रतिको प्रतिकूल व्यवहार तथा सन्तान र परिवारजनसँगको दूरीले भने यो उमेरमा कतिपयको जीवन धर्मराउने गर्छ । उमेरसँगै पहिलेदेखिका समस्या पनि एकपछि अर्को गर्दै थपिँदै जान्छन् । उमेरले ल्याउने भन्दा ज्यादा अस्वाभाविक रुपमा थपिने अस्वस्थता र रोगहरुले गर्दा त यो समय धेरैको निम्ति कष्टकर सावित हुन्छ । यद्यपि, अरु बहुसंख्य स्वस्थ जीवनशैली र वातावरणमा जिउनेहरुका लागि भने यो समय अब्राहम मास्लोले भनेजस्तै आधारभुत आवश्यकता, सुरक्षा, मायाममता, प्रेम र आत्मसन्तुष्टिभन्दा माथिको आत्मज्ञान र आत्मबोधको स्वर्णीम काल पनि हुनेगर्छ ।

मानिसको मस्तिष्क २५ वर्षको उमेरतिर सबैभन्दा उच्च विकासविन्दुमा रहन्छ । त्यस उपरान्त क्रमिकरुपमा न्यूरोनको संख्यामा ह्रास आउन थाल्छ । यो क्रम मृत्युपर्यन्त चल्छ । उमेरको हिसाबले स्वाभाविक क्षयभन्दा ज्यादा भई समस्याको रुप लिएको अवस्थामा विविध लक्षणका साथमा डिमेन्सिया देखापर्छ । सामान्यतया ६० वर्षपछि क्षयको यो प्रक्रिया अरु तिव्र भई ६५ पुग्दा झण्डै ५ प्रतिशत मानिसमा त डिमेन्सिया नै देखापर्छ । अब उपरान्त यो प्रक्रिया निरन्तर रुपमा बढ्दै गएर ७५ मा १५ प्रतिशतमा र ८५ वर्षको उमेरसम्म त करिब ४५ प्रतिशतमा अल्जाइमर देखापर्छ ।

मस्तिस्कमा विभिन्न कारणबाट निरन्तर आघात भई यसका कोष न्यूरोनमा हुने क्षयले गर्दा उत्पन्न हुने डिमेन्सिया अर्थात् विस्मृति भनिने यो रोगमा सामान्यतया व्यक्ति होसमा भए पनि नयाँ कुराहरु र बिस्तारै अरु कुरा भुल्ने, बिर्सने, मानिस नचिन्ने, बाटो बिराउने, दैनिक कामकाज गर्न मुस्किल पर्ने, योजना बनाउन, सोचविचार गर्न र निर्णय लिन नसक्ने हुन्छ । यस्तै समग्र व्यक्तित्वमा नै बदलाव भई समस्या उत्पन्न हुने हुन्छ । कडा अवस्थामा मतिभ्रम, आभासभ्रम, उदाशीनता लगायत बोल्न, खान, निल्न नै समस्या हुने, दिसापिसाब नियन्त्रण नहुने तथा रोग लागेको १०–१५ वर्षमा कसैलाई नचिन्ने, हुँदाहुँदा पतिले पत्नी र पत्नीले पतिसम्म नचिन्ने हुन जान्छ ।

मस्तिष्कमा एमाइल्वाइड भनिने प्रोटिनको खट् र न्युरोफिब्रिलरी ट््यांगल भनिने रेसाहरु देखा परी उमेरको हिसाबले स्वाभाविक भन्दा ज्यादा न्युरोन क्षय भई उत्पन्न भएको डिमेन्सियालाई अल्जाइमर भनिन्छ । डिमेन्सियाका अधिकांश बिरामी अल्जाइमरले नै हुने भए पनि अरु कारणले पनि हुने गर्छ । उच्च रक्तचाप वा अरु मुटु तथा रक्त संचारका रोगमा मस्तिष्कघात वा रक्तश्राव भई, एचआईभी एड्स, भिरंगी जस्ता यौनरोग संक्रमण, नशालु वा मादक र लिड जस्ता बिषाक्त पदार्थको सेवन, अक्सिजन, भिटामिन आदिको कमी, विभिन्न हर्मोन र जिर्ण रोगहरु वा मस्तिष्क खिइने अरु रोगहरु वा मस्तिष्कमा चोट लागेर पनि डिमेन्सिया उत्पन्न हुनेगर्छ ।

डिमेन्सियाको उपचारमा मनोसामाजिक विधि

के कस्ता कारण र रोगले डिमेन्सिया भएको हो त्यसै अनुसार उपचार तय हुन्छ । उच्च रक्तचाप, निश्चित रोग वा निश्चित तत्वको कमी जस्ता प्रष्ट कारण जसको निदान र उपचार व्यवस्थापन सम्भव छ, तिनको उपचार अबिलम्ब गरिनु आवश्यक हुन्छ । अल्जाइमर जस्तो अवस्थामा रोगजन्य गति धिमा बनाउने तथा रोगबाट उत्पन्न लक्षणहरु र जटिलताहरुको व्यवस्थापन प्रभावकारी र सुरक्षित तवरले गर्ने लक्ष्य हुन्छ । दवाई लगायत मनोसामाजिक विधिहरु सहित यस्ता बिरामीको हेरविचार गर्ने व्यक्तिका लागि आवश्यक सहारा सञ्जाल र साधनश्रोतको विकास हुँदै गएको छ । नेपालमा पनि यस्ता बिरामीको उपचारमा सघाउन सरकारले देशका चार अस्पतालमा एक लाखसम्मको सहयोग उपलव्ध गराउने व्यवस्था गरेको छ ।

स्वस्थ जीवनशैली मनमस्तिष्कको सुरक्षाकवच

हरेक मानिसले जीवनभर शुरुदेखि नै स्वस्थ जीवनशैली अपनाउनु नै वास्तवमा मनमस्तिस्कको क्षय रोक्ने र डिमेन्सिया लगायत सबै खालका मानसिक रोगको रोकथाम गर्ने उपयुक्त उपाय हो । डिमेन्सियाका रोकथाम हुनसक्ने कारण र समग्र स्वास्थ्यका हिसाबले केही तरीका उल्लेखनीय छन् । उमेर छँदै र भरजीवन ती उपाय हाम्रो जीवनशैली बनाउनसके हाम्रो मनमस्तिस्क स्वस्थ र सन्तुलित राख्न सहयोग पुग्छ ।

१. नियमित व्यायाम : हरेक दिन नियमित रुपमा शारीरिक व्यायाम, जस्तै, ३०–४५ मिनेट जति छिटोछिटो हिँड्ने, योग वा रिल्याक्सेसन र सकारात्मक सामाजिक व्यवहार गर्ने गरौं । यसबाट समग्र स्वास्थ्य र मनमस्तिष्कलाई स्वस्थ र स्फूर्त राख्न बल मिल्छ ।  

२. स्वस्थ सन्तुुलित आहार : नुन, चिल्लो कम भएको, पर्याप्त गेडागुडी, फलफुल, हरिया तरकारी, पानी लगायत ओखर, नट्स, र बेलामौकामा सामुद्रिक खाना सेवन गरौं । सन्तुलित, स्वच्छ, सफा, ताजा खानाले मस्तिष्क र समग्र स्वास्थ्य ठिक हालमा राख्न सहयोग पुग्नेछ । 

३. मानसिक उत्तेजना र अभ्यास : हरेक दिन केही न केही नयाँ कुरा सिक्ने, दिमागलाई सोच्न उत्तेजना हुने काम, जस्तैः शब्दजाल खेल, अध्ययन गरांै । यसबाट हाम्रो ध्यान, एकाग्रता, समझ, तर्क, स्मृति, भाषा, ज्ञान र बुद्धि चुस्त राख्न सकिन्छ ।   

४. मिठो गहिरो निद्रा र गहिरो सास : नियमित समयमा आफ्ना लागि पर्याप्त हुने गरेर हरेक दिन सुत्ने गरौं, निद्रा नबिथोलौं । ठिक पोजिसनमा सुत्ने, बस्ने र बेलाबेला गहिरो रुपमा पेटसम्म सास तान्ने गर्नाले अक्सिजन पनि पुग्छ, शरीरको अलाइनमेन्ट पनि मिल्छ ।    

५. तनाव व्यवस्थापन र बहन : तनाव व्यवस्थापनको उपयुक्त विधि बच्चा बेलादेखि नै सिक्न सिकाउन आवश्यक हुन्छ । समस्या समाधान, समस्या व्यवस्थापन र बहनका स्वस्थ तरीका, रिल्याक्सेसन, सहयोग आदानप्रदानले तनावको प्रतिकूल असर कम गर्न र अनुकूल प्रवृत्ति निर्माणमा बल मिल्छ । 

६. सक्रिय सामाजिक जीवन : सकारात्मक, हौसलापूर्ण र सहयोगात्मक सामाजिक माहोलबीच सक्रिय जीवन अन्तर्गत अरुलाई सघाउने, सामाजिक क्रियाकलापमा सहभागी हुने र आफूलाई चाहिएको बेलामा अरुबाट पनि सहयोग मिल्ने व्यवस्था मिलाउँदा समग्र स्वास्थ्य र मनमस्तिष्कलाई फाइदा पुग्छ ।  

७. मधुमेह र रक्तचापको नियन्त्रण: रगतमा चिनी र रक्तचाप नियन्त्रित राख्नु र चिकित्सकको सल्लाहमा मधुमेह र उच्च रक्तचापमा समयमै उपचार थालिहाल्नु सम्पूर्ण स्वास्थ्य र डिमेन्सिया रोकथामको दृष्टिले अति आवश्यक हुन्छ ।

८. मद्य, नशा तथा मादक पदार्थको सेवनदेखि टाढा रहौं ।

९. संयमित, अनुशासित र मर्यादित यौन आचरण र जीवन अपनाऔं ।

१०. टाउकोमा चोटपटक लाग्नबाट बचौं, बचाऔं ।

११. कुनै पनि रोगको शंका भएमा शिघ्र सल्लाह र उपचार खोजौं । 

कुनै पनि समस्याको रोकथामको शुरुवात, यसको प्रयासको निरन्तरता र रोकथामका हरेक तहमा त्यससम्बन्धी जानकारी, ज्ञान वा जनचेतनाको महत्व अहम् हुन्छ । अल्जाइमरको हकमा पनि जनचेतना बिस्तार गर्नका लागि अल्जाइमर डिजिज इन्टरनेशनल लगायतका सम्बन्धित संघसंस्थाले यससम्बन्धी जनचेतना जगाउनु पर्ने कुरालाई प्राथमिकता दिएर २१ सेप्टेम्बरमा अल्जाइमर चेतना दिवस र पूरा सेप्टेम्बरको महिनालाई अल्जाइमर महिना भनी घोषणा गरेको छ । हरेक वर्ष यस अवसरमा यसतिर लक्षित भएर स्थानीय, राष्ट्रिय र विश्वस्तरमा नै विविध कार्यक्रमको आयोजना गर्ने सकारात्मक अभियान नै चलेको छ ।

यसै अवसरमा सहि, आफ्नो दिमागलाई सम्झिने र जोगाउने दिशामा यसले हामीलाई पनि सचेत र सजग तुल्याओस् । शुभकामना ।       

प्रा.डा. धनरत्न शाक्य, एमडी

वरिष्ठ स्नायु, दुव्र्यसन तथा मनोरोग विशेषज्ञ

   

Last modified on 2019-10-02 09:29:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts