एसएलसीपछि डाक्टर पढ्ने विचार छ ? त्यसो हो भने यो पनि पढ्नुस्



Download our app to get more features

स वर्षको फलामे ढोका अर्थात एसएलसीको परीक्षाको नतिजा भर्खरै सार्वजनिक भएको छ । एसएलसी परीक्षाको नतिजा कुरेर विद्यार्थी अभिावक र शिक्षक मात्र नभई कलेज तथा विभिन्न इन्स्टिच्युटहरुको धैयर्ता पनि एसएलसीको रिजल्टसँगै अन्त्य भएको छ । 

एसएलसी दिएर दुई महिनादेखि फुर्सदिला भएका भाइ बहिनीलाई कतिले के डाक्टर, कतिले इन्जिनियर, कतिले पाइलट, त कतिले चार्टर एकाउन्टेन्ट वा अन्य केही बन्ने सल्लाह दिए होला । कति विद्यार्थीका आफ्नै सपना पनि होला । यहि सिलसिलामा धेरैजसो विद्यार्थीले ब्रिजकोर्स पनि गरीरहेका होलान् । आफ्नो मेहनत र परिश्रमको मिठो फल पाएपछि सन्तुष्ट भएर अगाडि बढ्ने क्रममा विभिन्न किसिमका सल्लाह र सुझाव पाउनु स्वभाविक नै हो । निर्णय गर्न गा¥हो भए पनि यो आफैंले लिनु पर्छ । 

एसएलसीमा उत्कृष्ट नतिजा ल्याउने अधिकांश विद्यार्थीले डाक्टर बन्ने उद्देश्य रहेको बताउँछन् । उनीहरु मात्र होइन, अधिकांश विद्यार्थी तथा बालबालिकाहरु विभिन्न अन्तवार्ता वा कार्यक्रमहरुमा भविष्यमा डाक्टर बन्ने सपना रहेको बताउँछन् । पढ्ने विद्यार्थीहरु मात्र होइन, कति अभिभावकको चाहना पनि आफ्ना सन्तानलाई डाक्टर नै बनाउने हुन्छ ।  

आखिर किन ? के छ डाक्टरी पेशामा जुन अरु पेशामा छैन ? पैसा, मान–सम्मान वा आत्मसन्तुष्टि के पाउन बन्न खोज्छन् ‘डाक्टर’ ? हामीले अपनाउने पेशा सम्मानित, मर्यादित हुनुपर्छ । हाम्रो पेशाले हाम्रो आवश्यक्ताहरु इमान्दारीका साथ पूरा गर्न सक्नुपर्छ । सबै भन्दा महत्वपूर्ण कुरा जुन पेशा अपनाएपनि आफू त्यसमा सन्तुष्ट हुनुपर्छ । यसो विचार गर्दा डाक्टरी पेशा सम्मानित छ, पैसा पनि राम्रै छ अनि बिमारीको दुःख पीडा कम गर्न पाउँदा आत्मसन्तुष्टि पनि हुन्छ । त्यसैले डाक्टर बन्ने चाहना राख्नु स्वभाविक हो ।  

जीवनमा आफ्ना आवश्यक्ताहरु पूरा गर्न तथा जिविकोर्पाजन गर्न कुनै न कुनै आयमुलक काम गर्नै पर्छ । यो हाम्रो बाध्यता हो । तर, आफूले रोजेको वा मन पराएको आयमुलक काम (पेशा) अपनाए, जीवनमा छुट्टै आनन्द आउँछ । त्यसैले समयमा नै आफूलाई मन लागेको पेशा रोज्ने र त्यसै सम्बन्धि अध्ययन गर्नु अत्ति उत्तम कुरा हो । मानिस बिमारी भएपछि उपचारका लागि डाक्टरसँग परीक्षण गराउँछ । रोग पहिचान गर्न र सहि उपचारको लागि विभिन्न परीक्षणहरु गर्नुपर्छ । त्यसपछि उचित औषधिहरुको सेवनले उनलाई आराम हुन्छ । उसलाई आराम भएपछि आफू बिमारी भएको अवस्थामा भएको खर्चलाई सम्झन्छ । समान्य बिमारीमा पनि निकै रकम खर्चिएको देख्छ । कमाई त डाक्टरीमा छ भन्ने कल्पना गर्छन् र आफ्नो सन्तानलाई डाक्टर नै बनाउने लक्ष्य लिन्छ । 

तर न त डाक्टर बन्न त्यति सजिलो छ, न त उसले खर्चिएको सबै रकम डाक्टरको हुन्छन् । डाक्टरले एउटा बिमारीबाट पाउने ओपिडी शुल्क वा कल्सल्टेसन चार्ज मात्र हो । बिमारीले औषधिहरु र विभिन्न परीक्षण (रगत, दिशा, पिसाव, एक्स रे, भिडियो एक्स रे, आदि) मा खर्चिएको पैसा पनि डाक्टर कै सम्झन्छ, जुन यथार्थ होइन । 

‘डाक्टर’ बन्नका लागि प्लस टुमा जीव विज्ञान समुहबाट कम्तिमा ५० प्रतिशत अंक ल्याएर उतीर्ण गर्नुपर्छ । त्यसपछि एमबिबिएसको प्रवेश परीक्षा (इन्ट्रान्स) दिन पाइन्छ । प्रवेश परीक्षमामा उत्कृष्ठ ठहरिएका विद्यार्थीले मात्र सोको लागि भर्ना पाउँछ, जुन काम त्यति सजिलो छैन ।  

एमबिबिएसको साढे चार वर्षको कडा मेहनत र परिश्रमपछि पाएको सफलता र एक वर्षको इन्र्टनसिपपछि मात्र डाक्टर बन्न सकिन्छ । एक जना विद्यार्थीले जति समय डाक्टर बन्नमा खर्चिन्छ उति नै समयमा कुनै अर्को संकायको विद्यार्थीले ‘डिग्री’ सजिलै सकाउने हुन्छ । त्यसैले एक जना विद्यार्थीले डाक्टर भएर मेडिकल अधिकृत भएर सेवा सुविधा पाइरहेको अवस्थामा अर्को राम्रो विद्यार्थी मेनेजर वा प्रमुख भएर सो भन्दा बढीको सेवा सुबिधा पाइरहेको हुन सक्छ ।  

तर डाक्टर भएर पनि पछुतो तब हुन्छ, जब आफूसँगैका साथीहरुको पढाई, जागिर, घर—व्यवहार सबै सुनिश्चित हुन्छ तर आफ्नो अध्ययन (एमडि वा एमएस) पनि सकिएको हँुदैन । डाक्टरी पेशा अन्य पेशा जस्तो होइन । यो पेशामा नौ वा दश बजेदेखि चार वा पाँचबजे सम्मको ड्युटी मात्र हुँदैन । हाम्रो जस्तो कम जनशक्ति भएको देशमा भनेको बेला बिदा पाइन्छ भन्ने पनि छैन । 

दशैं, तिहार, चाडपर्व, सार्वजानिक बिदा, बन्द, हडताल सबै अवस्थामा पालो मिलाएर ड्युटी गर्नुपर्छ । तर पिडा त तब हुन्छ जब चौबिस घण्टाको ड्युटी सकेर बिश्राम गर्न गएको बेला आफ्नो नजिकको मानिस बिमारी भएर आफ्नै अस्पतालमा ल्याएको खबर आउँछ । बिमारी भेट्न जाउँ, रातभरीको निन्द्रा र दिनभरीको थकान, नजाउँ, आफ्नो मान्छे बिमारी हुँदा पनि भेट्न नआउने ? कस्तो स्वार्थी, घमण्डी......।  अझ आफ्नो मान्छे डाक्टर हो, यसै अस्पतालमा छ, राम्रो उपचार एवम् सहयोगको आशामा आएका बिमारीलाई निरास कसरी बनाउने ? अनि दौडधुपमा बित्छ अर्को चौबिस घण्टा, आफ्नो नियमित ड्युटी त छँदैछ । फेरी थकित छु भनेर बिमारीको जीवनसँग खेल्ने कुरा पनि भएन ।  

आफूले परीक्षण गरेको कुनै कुनै बिमारीले त आफूसँग उनको जीवनको ग्यारेन्टी नै खोज्छन् । जीवनको ग्यारेन्टी नगरे पनि जुन रोगको लागि परीक्षण गराएको हो, त्यो रोगको उपचार पद्धतिमा सहयोगी बन्नु डाक्टरको दायित्व हुन्छ । पिडा त तब हुन्छ जब आफैले निरन्तर, पूर्ण जिम्मेवारी र लगावका साथ उपलब्ध सबै स्रोत र साधन प्रयोग गर्दा पनि बिमारीको ज्यान बचाउन सकिँदैन वा आफ्नो बिमारीले उसको आर्थिक वा अन्य कारणले अत्ति आधुनिक उपचार पद्धतिबाट वञ्चित भएर ज्यान गुमाउनुपर्छ । 

आफ्ना मान्छे बिमारी भएर वेदनाले छट्पटाई रहेको अवस्था होस् या एउटा गरिब असाहयको पीडामा होस्, डाक्टरको औषधिले आराम महसुस गराउँछ । त्यो आरामले डाक्टरलाई आत्मसन्तुष्टि र आशिर्वाद पाएको देख्दा मनमा डाक्टर बन्ने र दिनदुखीको सेवा गर्ने बिचार पलाउछ । तर डाक्टरले काम गर्ने ठाउँ राम्रो होइन ।  अस्पताल मानिस खुशी भएर रमाइलो गर्न आउँदैनन् । सधै बिमारीको पीडा सुन्नु, बुझ्नु, हेर्नु र सधैं रोग र रोगका जिवाणुसँग काम गर्नु सानो कुरा होइन । त्यस्तो वातावरणमा पनि जिम्मेवारी पूर्वक बिमारी र बिमारीका आफन्तलाई रोग अनि रोगीका बारेमा बुझाउनु पर्छ । उनीहरुको जिज्ञासाको उत्तर दिनु पर्छ ।  

एक दुई दिन मात्र होइन, सधै बिमारी, रोग र रोगका जीवाणुसँग लड्ने, खेल्ने अनि रमाउने गर्नुपर्छ । यस्तो मर्यादित र सम्मानित कार्य पूर्ण जिम्मेवारीका साथ गर्दा गर्दै पनि बेला बेलामा अनावश्यक भीडले विभिन्न प्रश्न गर्ने, लान्छना लगाउने अनि बिना कुनै गल्ति नै आरोप लगाउने, धम्कियाउने, तर्साउने वा हातपात गर्ने हुन्छ । राजनीतिक दल तथा संघ संस्थाहरुले डाक्टरहरुको पीडा बुझ्न खोज्ने भन्दा पनि जिम्मेवारी थप्नमा बढी अग्रसर हुन्छन् । 

सबै किसिमका पेशामा आ–आफ्नै किसिमका समस्याहरु हुन्छन् । हरेक किसिमका पेशामा राम्रो र नराम्रो दुवै पक्ष हुन्छ । पेशा कुनै नराम्रो हुँदैन । अन्य पेशाहरुमा पनि पक्कै आफ्नै किसिमका समस्याहरु हुन्छन् । एउटा पीडाले छट्पटाई रहेको बिमारीलाई आफ्नो कुशल उपचार पद्धतिबाट निको बनाउँदा, बिमारीलाई मात्र होइन डाक्टरलाई पनि आनन्द आउँछ ।  

यो यर्थात हो । त्यसैले आफू के बन्ने र कसरी त्यसमा सफल्ता पाउने भन्नेमा राम्रो छलफल गर्नुपर्छ । आफू के बन्ने भन्ने जीवनको महत्वपूर्ण निर्णय लिइसकेपछि सोहि सम्बन्धि अध्ययनको शुरुवात गर्नुपर्छ । 

डाक्टर मात्र होइन, चिकित्सा क्षेत्रका अन्य अध्ययनहरु जस्तै पब्लिक हेल्थ, ल्याब, नर्सिङ, रेडियोग्राफी, फार्मेसी जस्ता विषयमा स्नातक अध्ययन गर्न जीवविज्ञान विषय लिएर प्लस टु गर्नुपर्छ भने यिनै विषयका प्रमाणपत्र तह एसएलसीपछि सोझै अध्ययन गर्न सकिन्छ । जीवनको महत्वपूर्ण यस अवस्थामा  हतारमा निर्णय लिने अनि फुर्सदमा पछुताउने गर्नु हुँदैन ।

Last modified on 2016-06-17 08:11:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts