यी घटना सम्झिरहन्छु ...
हँसिलो चेहरा, सुमधुर बोली वचन, मिलनसार स्वभाव र आकर्षक व्यक्तित्व सबैले पाउँछन् भन्ने हुँदैन । यस्ता सबै गुण भएका एक व्यक्ति हुन् हाडजोर्नी विशेषज्ञ डा. अभय यादव ।
०३७ मा जनकपुरमा मध्यमवर्गीय परिवारमा जन्मिएका डा. यादव सानैदेखि मिहिनेती, अनुशासित र पढाइमा अब्बल थिए ।
शिक्षित परिवारमा जन्मे–हुर्केका डा. यादवले अभावको अनुभव कहिल्यै गर्नुपरेन । तर, उनी सुखमा नमात्तिनु र दुःखमा नआत्तिनु भन्ने उखानबाट बालकैदेखि परिचित थिए । पढाइमा होस् वा अन्य विषय डा. यादवको मिहिनेत कम हुँदैन थियो ।
विद्यालय तहको पढाइ भने डा. यादवले काठमाडौंबाटै सकेका हुन् । डा. यादवलाई कहिल्यै भविष्यमा डाक्टर भन्छु भन्ने लागेको थिएन । बाल्यकालका इच्छा डा. यादवले यसरी स्मरण गरे, ‘पढाइमा राम्रो विद्यार्थीमा गनिन्थेँ । साथै खेलकुदमा पनि उत्तिकै रुचि थियो ।
अतिरिक्त क्रियाकलापमा प्राप्त धेरै पुरस्कार अझै पनि सुरक्षित छन् । बुबा वकिल हुनुहुन्थ्यो । सायद त्यसैको प्रभाव हुन सक्छ मलाई पनि वकिल बन्ने इच्छा थियो । तर, परिवार र समाजको इच्छा भने फरक ।’
डा. यादवका अनुुुसार त्यतिखेरको समयमा पढाइ राम्रो भए डाक्टर बन्नुपर्छ भन्ने थियो ।
मेरो परिवार र समाज पनि यसबाट बिटुलो थिएन । सबैको अपेक्षा थियो– अभय तिमी डाक्टर नै बन्दा राम्रो हुन्छ । तर, करकापचाहिँ थिएन ।
सायद धेरैले भनेर होला मेरो मानसिकता पनि डाक्टर नै बन्नुपर्छ भन्ने लाग्थ्यो ।
१० वर्षको हुँदा आमाको मृत्यु भयो । उपचारका क्रममा वीर अस्पतालमा जब आमाको मृत्यु भयो, तब म सोच्थेँ कि कतै डाक्टर भएको भए आमालाई बचाउँथे कि ।
आमाको यो उमेरमा नै मृत्यु हुँदैन थियो कि । आमाको असामायिक मृत्युले पनि मलाई डाक्टर पढ्नु राम्रो हो भन्ने लाग्यो । भविष्यमा यही बाटो रोज्न प्रेरणा मिल्यो ।
डाक्टर यादवले आइएस्सी काठमाडौंबाटै गरे भने एमबिबिएस भारतीय दूतावासको सहयोगमा वनारस हिन्दू युनिभर्सिटीबाट गरे ।
उनले सन् २०१२ मा भारतीय दूतावासको सहयोगमा इन्डियन स्पाइन इन्जुरी सेन्टरबाट स्पाइन सर्जरीको तालिम लिए । सन् २०१४ मा डिआएस्सी इन्डोस्कोपी स्पाइन सर्जरी गरे ।
त्यसपछि उनले सन् २०१४ बाट काठमाडौंको बल्खुस्थित वयोधा अस्पतालमा काम सुरु गरे ।
अहिले पनि उनी वयोधा अस्पतालमै हाडजोर्नी विशेषज्ञका रूपमा कार्यरत छन् ।
यसैबीच उनले सन् २०१६ मा अमेरिकाको न्युयोर्कबाट एमआइएस स्पाइन सर्जरीको तालिम लिए ।
बच्चादेखिकै कानुन पढ्ने रहर एमआइएस सकेर पूरा गरे ।
डा. यादव अहिले आफ्नो पेसाप्रति पूर्ण सन्तुष्ट छन् । चिकित्सकका साथै समाजसेवा पनि उनको रुचिको विषय हो । डा. यादव भन्छन्, ‘आफ्नो क्षेत्रबाट सकेजति सेवा गरेको छु । सेवा नै धर्म हो भन्ने कुरामा पनि सहमत छु ।’
यी घटना सम्झिरहन्छु–
उपचारका क्रममा दुई–चारवटा घटना अहिलेसम्मै स्मरणीय छन् । घरनजिकैको एक साधुको खुट्टा भाँचिएको धेरै भएछ ।
छिमेकीले उहाँको कष्ट देखेर मेरो सम्पर्कमा ल्याइदिनुभयो ।
खुट्टा भाँचिएको ६ महिना भएको रहेछ । जोर्नी नै प्रत्यारोपण गर्नुपर्ने अवस्थाको रहेछ । निःशुल्क जोर्नी प्रत्यारोपण गरिदिए ।
अर्का एक बिरामी टाढाबाट आउनुभएको थियो ।
उहाँको निःशुल्क उपचार गरी गाडीभाडासमेत दिएर पठाएको छु ।
यस्तै–यस्तै जो समस्यामा परेका छन्, त्यतिखेर थोरै भए पनि सहयोग गर्न सक्दा धेरै खुसी मिल्छ ।
इन्डोस्कोपी स्पाइन सर्जरीमा विशेषज्ञ हुँदा धेरै खुसी
डा. यादवलाई सबैभन्दा धेरै खुसी लागेको क्षण भनेको इन्डोस्कोपी स्पाइन सर्जरीमा विशेषज्ञता हासिल गर्दाको हो । उनको अनुभवमा चिकित्सा क्षेत्र धेरै राम्रो भए पनि सुधार गर्नुपर्ने ठाउँ धेरै छन् । पछिल्लो समय चिकित्सा क्षेत्रमा धेरै प्रतिस्पर्धा भएको उनले सुनाए ।
उनले भने, ‘यस्ता प्रतिस्पर्धाले नयाँ–नयाँ कुरा त भित्र्याउँछ नै, तर देखासिकी भए नराम्रो असर पनि पर्छ ।’
चिकित्सक, अस्पताल, आवश्यक मेसिन औजार, बजारमा पाइने औषधि, बिरामी र आफन्तसँगको बुझाइ राम्रो भयो भने मात्रै चिकित्सा क्षेत्र राम्रो हुन्छ । साथै सरकारी निकायबाटै विशेष नीति–नियम बनाई कार्यान्वयन गर्नुपर्छ ।
यसो गर्दा चिकित्सकमा पनि पेसाप्रति लगाव बढ्छ भने विदेश पलायन हुने क्रम घट्छ ।
चिकित्सक पेसालाई कमाइभन्दा बढी सेवाभावले हेर्नुपर्छ । अनि मात्रै सन्तुष्टि मिल्ने उनको अनुभव छ ।
उनले भने, ‘पछिल्लो समय खुसीको कुराचाहिँ अब नेपालमा हाडजोर्नीसम्बन्धी प्रायः सबै समस्याको उपचार सम्भव छ । नयाँ प्रविधि भित्र्याउँदै जानुपर्छ ।’