हेपाटाइटिस भनेको के हो ? यसबाट कसरी बच्ने ?
हेपाटाइटिस रोग एक किसिमको कलेजो सुन्निने रोग हो । यो रोग भाइरसद्वारा कलेजोमा सक्रमण हुने सरुवा रोगको रुपमा पहिचान गरिएको छ । कलेजोमा हुने हेपाटोट्रोपिक भाइरसको संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ ।
रोगको सर्ने तरिका र दीर्घकालिन असरलाई अध्ययन गर्दा भाइरल हेपाटाइटिस ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘इ’ लाई पनि दुई समूहमा बाँड्न सकिन्छ । पहिलो समूहमा ‘ए र इ’ बिरामीको दिसाबाट प्रदुषित पानी तथा खानेकुराबाट सर्छन् र कलेजोमा असर गरेपनि दीर्घकालिन असर भने गर्दैनन् ।
अर्को समूहमा ‘बी’, ‘सी’ र ‘डी’ पर्दछन् । यो रगत, रगतजन्य पदार्थ, सिरिन्ज, शारीरिक तरल पदार्थ, असुरक्षित शारीरिक संपर्क र आमाबाट बच्चामा सर्दछ । यो दीर्घकालिन प्रकृतिको पनि हुन्छ र कलेजोलाई नराम्रोसँग असर गर्दछ, क्षत बिक्षत गराउँछ ।
हेपाटाइटिस ‘ए’ र ‘इ’
हेपाटाइटिस ‘ए’ एक जीर्ण संक्रामक रोग हो । हेपाटाइटिस ‘ए’ इन्टेरो भाइरसको कारणले गर्दा कलेजोमा संक्रमण हुने गर्छ । बिशेषगरी यो भाइरस बालबालिकामा बढी र वयस्कहरुमा कम देखिन्छ । बालबालिकाले संक्रमित दिशा भएको पानी या खानेकुरा खाएमा यो भाइरसको संक्रमण हुने सम्भावना बढी हुन्छ । जस्तै स्कुले बालबालिकालाई ।
हेपाटाइटिस ए र ई दुवै आर एन ए हुन् । हेपाटाइटिस ए बढी मात्रामा बालबालिकामा देखिन्छ भने हेपाटाइटिस इ चाँही वयस्क र विशेष गरी गर्भवति महिलामा बढी असर गरेको देखिन्छ । संसारमा हेपाटाइटिस ‘ए’ विरुद्धको खोप बनिसकेको छ भने हेपाटाइटिस ‘इ’ विरुद्धको खोप अझै बनिसकेको छैन् ।
लक्षण
अरू हेपाटाइटिस रोगहरूको जस्तै यसको लक्षणहरू शरीर दुख्ने, वाकवाक आउने, सामान्य ज्वरो आउने, थकान महसुस हुने, खाना नरुच्ने आँखा र छाला पहेँलो हुने (जण्डिस), पेट दुख्नुको साथै रुघा खोकीको जस्तो लक्षणहरु देखिन्छन् ।
दुवै भाइरस संक्रमण भएको दुईदेखि छ हप्ताको बीचमा लक्षण देखा पर्ने गर्छ । हेपाटाइटिस ‘ए’ र ‘इ’ कोे संक्रमित व्यक्तिको जुठो खानाले पनि फैलन सक्छ । एकपटक संक्रमित भएपछि उक्त व्यक्ति जीवनभर यसबाट फेरि संक्रमित हुँदैन ।
रोकथाम
हेपाटाइटिस ‘ए’ रोकथामको लागि खोप प्रभावकारी हुन्छ । रोकथामका अन्य उपायहरूमा राम्रोसँग हात धुने र खानेकुरालाई राम्ररी पकाउएर खाने र उमालेको शुद्ध पानी पिउने ।
वाकवाकी वा पखाला को लागि आवश्यकता अनुसार विश्राम र औषधिहरू सिफारिस गरिन्छ । बिरामीले खानेकुरामा मुख बार्नु पर्दैन तर धेरै चिल्लो खानेकुरा नखाने र सजिलै पच्ने खाने कुरा खानुपर्दछ । यो रोग कुनै औषधी उपचार नगरेर पनि आँफै सञ्चो हुन्छ । जटिल रुप लिएमात्र अस्पताल भर्ना गर्नुपर्दछ ।
हेपाटाइटिस ‘बी’, ‘सी’ र ‘डी’
हेपाटाइटिस ‘बी’ मानिसमा मात्र लाग्ने हेपड्ना समूहको डिएनए भाइरसबाट सर्ने रोग हो । हेपाटाइटिस ‘सी’ भन्दा १० गुणा र एड्स भन्दा १ सय गुणा बढी संक्रामक भएकोले पनि हेपाटाइटिस बिलाई बढी खतरनाक मानिन्छ ।
विश्वमा ४० करोड व्यक्ति यस रोगको सिकार भइरहेका छन् । यीमध्ये १५ देखि ४० प्रतिशत मानिस सिरोसिस वा लिभर क्यान्सरबाट पीडित छन् भने धेरैकोे अकालमा मृत्यु भइरहेको छ ।
हेपाटाइटिस ‘बी’ भाइरस मानव शरीरभित्र प्रवेश गरेपछि यसले आफ्नो उपस्थिति जनाउन वा लक्षण देखाउन चार हप्तादेखि छ महिनासम्म लाग्छ । वयस्क अवस्थामा रोग प्रवेश गर्दा ९० देखि ९९ प्रतिशत एक्युट एबिभीका रुपमा देखापर्छ । त्यसमध्ये लक्षण देखाउने २५ प्रतिशत मात्र बिरामी हुन्छन् । लक्षण र बिना लक्षणबाट प्रभावित बिरामी ९५ प्रतिशतभन्दा बढी आफैं निको भएर जान्छन् ।
आमाबाट बच्चामा सर्ने हेपाटाइटिस ‘बी’ ९० प्रतिशत क्रोनिक हुन्छ, त्यसैले ९० प्रतिशत आजिवन रोगको सिकार हुन्छन् ।
लक्षण
लक्षणका हिसाबले हेपाटाइटिस ‘बी’ रोग दुई किसिमका एक्युट र क्रोनिक हुन्छ । एक्युट हेपाटाइटिस बिको ७५ प्रतिशत संक्रमण सुषुप्त हुन्छ र बिरामीले आफूमा कुनै रोगको महसुस गर्दैन भने २५ प्रतिशत संक्रमितमा हेपाटाइटिस ए जस्तै लक्षणहरु देखा पर्छन् । यीमध्ये १ प्रतिशत जति बिरामीको एक्युट लिभर फेलिएर भएर मृत्यु हुन सक्छ ।
क्रोनिक हेपाटाइटिस बी बिरामीको शरीरमा हेपाटाइटिस बिका भाइरस नगन्यदेखि प्रसस्त मात्रामा हुन्छन् । एक्युट हेपाटाइटिस बि भएका संक्रमितबाट ५ देखि १० प्रतिशतलाई मात्र क्रोनिक हेपाटाइटिस हुने गर्दछ । सुरुको २० देखि ४० वर्षसम्म कुनै लक्षण देखिँदैन् । अन्त्यमा गएर लिभर सिरोसिस (कलेजो कडा हुने अवस्था), लिभर क्यान्सर र लिभर फेलर भएर मृत्यु हुन्छ ।
उपचार
क्रोनिक हेपाटाइटिस बिको औषधि उपचारको मुख्य उद्देश्य भनेको कलेजोको कोषिकालाई नष्ट हुन दिनबाट बचाउने र लिभर सिरोसिस, लिभर फेलिएरबाट बचाउनु साथै बिरामीको आयु बढाउने हो । यसमा प्रयोग हुने औषधिले हेपाटाइटिस बिको भाइरसलाई वृद्धि हुनबाट रोक्छन् ।
अहिले पत्ता लागेको एण्टी भाइरल औषधिले एचबिइएजीलाई नेगेटिभ बनाउँछ र एचबिभी डिएनए भाइरल लोड घटाउँछ । र थोरै प्रतिशत बिरामीमा भाइरसलाई निर्मुल पार्छ ।
हेपाटाइटिस बिको उपचारभन्दा रोकथामका लागि ध्यान दिनु सबैभन्दा राम्रो उपाय मानिन्छ । र हेपाटाइटिस बिको भ्याक्सिन लगाउनु हो । साधारण तया हेपाटाइटिस ‘बी’ भ्याक्सिन तीन डोजमा लगाइन्छ । ०, १ र ६ महिनाको अन्तरमा लिइन्छ ।
स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सक, नर्स लगायत सबै स्वास्थ्यकर्मी एवम् सहयोगीहरुले युनिभर्सल प्रेस्कृप्सन अपनाउनु पर्छ ।
हेपाटाइटिस ‘सी’
यो आरएनए फ्लभि भाइरसबाट संक्रमण हुने रोग हो । दुई किसिमका एक्युट र क्रोनिक हेपाटाइटिस ‘सी’ मध्ये २० प्रतिसतलाई एक्युट हुन्छ भने ८० प्रतिशतलाई आजिवन क्रोनिक हेपाटाइटिस ‘सी हुने गर्दछ । यो रोगले सुरुमा कुनै लक्षण नदेखाउने हुनाले बिरामी भएको थाहा नै हुँदैन । धेरै जसो स्वास्थ्य परीक्षण गर्दा र रक्तदान गर्दा रक्त परीक्षणपछि मात्र रोग सरेको थाहा हुन्छ ।
एचआईभी र हेपाटाइटिस ‘बी’ जस्तै हेपाटाइटिस ‘सी’ पनि रगत र रगतजन्य पदार्थबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । तर संक्रमित आमाबाट बच्चा जन्मँदा नवजात शिशुलाई सर्ने सम्भावना एकदम कम रहन्छ ।
धेरै जसो लिभर सिरोसिस क्यान्सर र लिभर फेलिएर भएपछिमात्र हेपाटाइटिस ‘सी’ ले भएको रहेछ भन्ने थाहा पाउँछन् । हेपाटाइटिस ‘बी’ ले भन्दा ‘सी’ ले छिटो लिभर खराब गराउँछ ।
जापान र इटालीमा लिभर क्यान्सर गराउने मुख्य श्रोत नै हेपाटाइटिस ‘सी’ हो । यो रोग सबैभन्दा बढी इजिप्ट र चाइनामा छ भने सबभन्दा कम जापानमा छ । हेपाटाइटिस सिको पत्ता लगाउनु पहिला यसलाई नन् ‘ए’ र ‘बी’ हेपाटाइटिस भनिन्थ्यो । विश्वमा २० बरोड जनसंख्या यो रोगबाट संक्रमित छ । र नेपालमा पनि यो रोगको भयाभह स्थिति छ ।
लक्षण
यो जीवाणु शरीरभित्र पसे नपसेको धेरैलाई थाहा नहुन सक्छ किनभने शरीरको प्रतिरोधात्मक क्षमताअनुसार र अन्य रोग भए नभएका अनुसार सुरुको अवस्थामा अन्य हेपाटाइटिस संक्रमणमा देखिने लक्षण हुन सक्छ ।
केही प्रतिशतमा भने शरीरको रोगसँग लड्ने क्षमताका कारणले गर्दा यसलाई शरीरले नै निर्मुल पारिदिन सक्छ । ८० प्रतिशत भन्दा बढी केही थाहा नपाइकन आजिवन रोगको क्यारीयर वा क्रोनिक हेपाटाइटिस भएर लामो समय बाँच्छन् ।
उपचार
हेपाटाइटिस ‘सी’ को उपचार हेपाटाइटिस ‘बी’ को भन्दा सजिलोे छ । र पछिल्ला वर्षहरुमा धेरै औषधि अनुसन्धान भई पत्ता लागेका छन् । औषधिको सहि प्रयोग गर्दा बिरामी पूर्ण रुपमा निको हुन्छ ।
यसको उपचारमा प्रयोग गरिने औषधि जेनोटाइप अनुसार हुन्छ । पीसीआर पद्धतिबाट जीवाणुको संख्या एकिन गरेपछि उहि पद्धतिबाट उपचार गर्नका लागि यसको प्रकार अथवा जेनेटाइप छुट्याउनुपर्ने हुन्छ ।
हेपाटाइटिस ‘बी’ को १० प्रकारको जेनोटाइप हुन्छन् भने ‘सी’ को ६ प्रकारका जेनोटाइप पत्ता लागेका छन् । हेपाटाइटिस बिको तुलनामा १ सय प्रतिशत रोग निको हुन्छ ।
हेपाटाइटिस ‘डी’
हेपाटाइटिस डि इन्कम्प्रिट आरएनए भाइरसको संक्रमणको कारणले गर्दा यो रोग लाग्दछ । र यो भाइरस एक्लै बाँच्न सक्दैन ।
यो रोग शरीरमा फैलिन अथवा भाइरसको वृद्धि हुन हेपाटाइटिस बि सँगसँगै हुनुपर्दछ । हेपाटाइटिस बि भएको व्यक्तिमा यो भाइरस थपिँदा कलेजो छिटो खराब हुन्छ । क्यान्सर र कलेजो खराबको जटिल अवस्था आउँछ ।
उपचार
हेपाटाइटिस बिको उपचार राम्रो गरेमा यो रोग पनि राम्रो हुन्छ । अन्यथा हेपाटाइटिस ‘डी’ को अन्तिम अवस्थामा भने कलेजो प्रत्यारोपण नै एउटा मात्र समाधान रहेको छ ।