किन चाहिन्छ विद्यालयमा नर्स ?
बालबालिकाको समग्र विकास र स्वस्थ्यमा प्रभाव पार्ने वातावरण भनेको घर पछि विद्यालय नै हो । यस अर्थमा विद्यालयको वातावरण बालबालिका मैत्री र उनीहरुको सर्वाङ्गीण विकासको लागि उपयुक्त हुनु पर्छ ।
सामान्यतया ५ देखि २० वर्षसम्मका बालबालिका विद्यालय जाने गर्छन । । स्वस्थ र सुन्दर भविष्यका लागि स्वस्थ्य र बालमैत्रीपूर्ण विद्यालय हुनु जरुरी छ । सन् २०११ को शिक्षा मन्त्रालयको तथ्यांक अनुसार नेपालमा प्राथममिकदेखि उच्च माध्यामिक तहसम्म गरी जम्मा ३४ हजार तीन सय ६१ विद्यालयहरु छन् ।
वार्षिक रुपमा विद्यालयको वृद्धिदर ३.९ प्रतिशत छ । भने, विद्यालयमा आउने बालबालिकाको संख्या ११ लाख छ । यो उमेरका बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, मनोवैज्ञानिक, भावनात्मक र संवेदनात्मक रुपमा हुनुपर्ने वृद्धि र विकास स्वास्थ्यको दृष्टिकोणले अत्यन्त जोखिममा हुन्छन् ।
यीनै बालबालिकाको सर्वाङ्गीण विकास र संवेदनशिलतालाई मध्यनजर गरी विद्यालय स्वस्थ्यलाई ध्यानमा राखेर प्रत्येक विद्यालयमा नर्सको व्यवस्था गर्ने परिकल्पना गरिएको हो । विश्वमा सन् १९०० को अन्ततिरबाट नै विद्यालय नर्सिङ सेवा सुरु भएको पाइन्छ भने अमेरीकामा सन् १९०२ अक्टोबरबाट विद्यालय नर्सिङको सुरुवात भएको थियो ।
हाल आएर विश्वका अधिकांश देशहरुमा विद्यालय स्वस्थ्यका लागि विद्यालय नर्सिङ कार्यक्रम लागू गरीएको छ । यो कार्यक्रम अत्यन्तै सफल पनि भएको छ । नेपालमा पनि नयाँ स्वास्थ्य नीति २०७१ ले विद्यालय स्वस्थ्य कार्यक्रमको परीकल्पना गरीसकेकोे छ । हाम्रो स्वास्थ्य सेवा प्रणालीमा सबैभन्दा ठुलो संख्याको कटिबद्ध, सर्मपित र अनुशासित जनशक्ति भनेको नर्स हो ।
विद्यालय स्वास्थ्य एवं विद्यालय नर्सिङ कार्यक्रम सबै बालबालिकाको सर्वाङगीण वृद्धि र विकासका लागि आवाश्यक पर्ने ज्ञान, सीप र व्यबहार नर्सिङ शिक्षाको पाठ्यक्रममा समावेश गरेर नर्सिङ्ग जनशक्ति तयार भएको हुन्छ । विद्यालयमा बालबालिका, शिक्षक कर्मचारीको स्वास्थ्य परीक्षण, स्वास्थ्य समस्या पहिचान र समाधान, बालबालिकाको वृद्धि र विकासका लागि खोप, पोषण वातावरणीय स्वास्थ्य, शारीरिक शिक्षा र खेलकुद, सरुवा रोगको रोकथाम तथा विपद्को लागि अग्रिम तयारी र व्यवस्थापन तथा परामर्श सेवाका लागी नर्सको भूमिका अत्यावश्यक छ ।
समग्र स्वास्थ्य शिक्षा र यस सम्बन्धी जनचेतनाका क्षेत्रमा उल्लेखनीय योगदान गर्न सक्षम नर्सिङ जनशक्तिलाई विद्यालय स्वस्थ्य कार्यक्रममा समाहित गर्नु आजको टड्कारो आवश्यक्ता हो । यहि महत्वलाई बुझेर नेपालमा नर्सको पेशागत प्रकृतिमा काम गर्ने एकमात्र संस्था नेपाल नर्सिङ संघले प्रत्यक विद्यालयमा अनिवार्य रुपमा नर्सको दरवन्दी हुनुपर्नेमा जोड दिँदै आएको छ ।
जसलाई पूरा गर्ने नेपाल सरकारको शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले पनि नेपाल नर्सिङ संघको सकारात्मक कदमलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाइसकेका छन् । तर यसका लागि सरकारको तर्फबाट आउँदो वर्षको नीतिगत कार्यक्रम र बजेटमा भने समेटिएको देखिएन ।