विश्वमै दुर्लभ मानिएको रोग डेस्मोप्लास्टिक अभिलोबलास्ताको यसरी गरियो सफल शल्यक्रिया



Download our app to get more features

काठमाडौं, १६ असार । काठमाडौं विशालनगरकी १५ वर्षीया अप्सरा (नाम परिवर्तन) लाई दाँत राम्रो बनाउने रहर थियो । रहर पूरा गर्न उनी विभिन्न स्वास्थ्य संस्थामा पनि पुगिन । तर उनको रहर पूरा भने हुन सकिरहेको थिएन । तर उनीले हार मानेकी भने थिइनने । 

यही क्रममा उनी सम्यक डाइग्नोष्टिक पुगिन । दाँत सुन्दर बनाउन निस्किएकी उनी परीक्षणका क्रममा सोच्दै नसकेको समस्या देखियो । उनको दाँतको बिचमा मासु पलाएको रहेछ । यो मासु के हो भनि परीक्षण गर्दा विश्वमै दुर्लभ मानिएको रोग डेस्मोप्लास्टिक अभिलोबलास्ता भएको पुष्टि भयो । 
उनी रोग पत्ता लाग्ने बित्तिकै उपचारको लागि बसुन्धारास्थित कान्तिपुर जनरल तथा टिचिङ अस्पताल पुगिन् । त्यहाँ उनको सफल शल्यक्रिया पनि भयो । यो दाँतमा देखिने एक प्रकारको ट्युमर हो । यसले दाँत रहने हड्डी कमजोर बनाउँछ । यो रोग विश्वमा अहिलेसम्म एक सय १५ जनामा मात्रै भएको अस्पतालले जनाएको छ । विश्वमै दुर्लव मानिएको यो रोगको कान्तिपुर डेन्टलले पनि पहिलो पटक शल्यक्रिया गरेको हो । 

डेस्मोप्लास्टिक अभिलोबलास्ता रोग सामान्यतया ३० देखि ५० वर्षको उमेरमा देखिने गर्छ । तर अस्पताल आएको केस भने १५ वर्षीया अप्सराको हो । दाँत उम्रने बेलामा समस्या भएमा यस्तो प्रकारको रोग लाग्ने अस्पतालका डा. बुद्धिमान श्रेष्ठ बताउँछन् । यो रोगमा दुखाइ नहुने हुदा दाँतको एक्स रे नगरेसम्म थाहा हुँदैन । श्रेष्ठका अनुसार चार घण्टा लगाएर शल्यक्रिया गरिएको हो । बिरामीलाई शनिवार अस्पतालबाट डिस्चार्ज गरिएको छ । 

शल्यक्रियाको नेतृत्व अस्पतालका डा. सुमित सिंहले गरेका थिए । बिरामीको दाँत अडिने ठाउँको हड्डी निकालेर फालिएको छ । हड्डीको ठाउँमा अहिले रिकन्सट्रक्सन प्लेट राखिएको छ । यो उनको पहिलो सर्जरी हो । दोस्रो सर्जरीमा भने खुट्टाको हड्डी राखिनेछ । 

डा. श्रेष्ठले नियमित दाँत तथा मुख परीक्षण गर्न सबैलाई अनुरोध गरे । दाँत तथा मुखसम्बन्धी समस्या बेलैमा थाहा पाए जटिल रोगहरूबाट बच्न सकिने भन्दै सबैलाई नियमित परीक्षण गर्न श्रेष्ठको आग्रह छ । 
 

Last modified on 2019-07-02 06:29:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts