मानव जिब्रो स्वादेन्द्रिय कि रोगेन्द्रिय



Download our app to get more features

आकारमा सानो भएता पनि मानविय जिब्रोले तीन निर्णायक काम गर्छ बोल्ने, स्वाद छुट्याउने र प्रशन्नता व्यक्त गर्ने । त्यसैले यसलाई स्वादेन्द्रिय, वाकेन्द्रिय र विनोदेन्द्रिय भनिन्छ ।

कतियपले यसलाई चौथो काम कामोत्तेजना बढाउने प्रयोजनमा कामेन्द्रिय भन्ने नाम पनि थपेका छन् । मानविय चेतना र मनका उपकरणहरु मध्ये सर्वाधिक शक्तिशाली यहि जिब्रो हो ।

यसको सदुपयोग र दुरुपयोगमाथि सारा सुखदुःख र उत्थान पतन टिकेको हुन्छ । 

स्वादेन्द्रिय भएका नाताले कुन स्वाद कस्तो भनि छुट्याउनु र स्वास्थ्यप्रिय एवं स्वादयुक्त खानेकुरालाई मात्र उदरप्रवेशको अनुमति दिनु जिब्रोको मौलिक संस्कार हो ।

तर, विडम्बना आधुनिक समयका कथित शिक्षित र सभ्य मानिसभित्र झाँगिदै गएको अति कृत्रिम, विषयासक्त र स्वादलोलुप बानीबेहोराले हैरान भएपछि जिब्रो पनि के गरोस? आफ्नो काम, कर्तव्य छाडेर जतातिर क्षणिक रस र तृप्ति मिल्छ, त्यतैतिर ढल्कन थालेको छ । जिब्रोमाथि नियन्त्रण गर्ने तत्व मन हो । 

जिब्रो सुखद् स्वादेन्द्रिय
नेपालीमा उखान नै छ स्वादे जिब्रो अल्छे तिघ्रो । अचेलका युवायुवती र शहरीयाको लागि यो त परिचय नै बनेको छ ।

श्रम, कर्म र पुरुषार्थ गर्नुलाई दुखी जीवन र जिब्रोले जे जे माग्छ त्यसलाई पूरा गर्नुलाई आधुनिकता मान्छन् । त्यति मात्र होइन, जसले विभिन्न किसिमका फेसनका रेडिमेड व्यञ्जन, परिकार, जंकफूड, र प्रशोधित बजारे खानामा खर्च गरेर दुनियाँलाई देखाउन सक्यो ऊ प्रतिष्ठित, खान्दानी र ठूलो मान्छे रे ।

एक पटक विकास र प्रगतिको शिखरमा पुगेका देशलाई हेरौं त त्यहाँका मानिस कति स्वस्थ र खनाप्रति सचेत छन् रु तिनलाई हेरेपछि थाहा हुन्छ, नचाहिँदो स्वाद, गरमागरम मसला, लपक्क तेल, काँचो मासु, अप्रमाणित जंगफुड, विषधीयुक्त खानेकुरामा पल्केका हामी नेपाली मात्र रहेछौं । समाजमा बढ्दो पतन परभाव र फस्टाउदो रोग बिरामीको साथै स्वास्थ्य महासंकट रुपी महामारीको खास कारण यही हो । 


यो धर्तीमा जति पनि षडरस, व्यजन, नाना किसिमका परिकार र स्वादका भेराइटी छन् । ती सबैको लेखाजोखा गर्ने अधिकार पाएको महान जिब्रोलाई सुखद् स्वादेन्द्रिय मात्र नमानेर अब दुःखद् रोगेन्द्रियको समेत दर्जा दिनुपर्ने आवश्यकता छ । 

जिब्रो स्वयं चिकित्सक पनि
एउटा कुशल डाक्टर झैं जिब्रो शरीरभित्रको रोग, मल, र कुपित दोषको संकेतक हो ।

स्वास्थ्य र सन्तसलित पाचनतन्त्र भएको प्रमाण स्वच्छ, सफा तथा प्राकृतिक रंगको जिब्रो हो ।

प्रसिद्ध आहार चिकित्साशास्त्री अर्नाल्ड इहरिटको भनाइमा जिब्रो जादुको ऐना हो, स्वास्थ्यको पहरेदार र हुलाकी हो ।

जिब्रोमा बाक्लो मैलो काइ जम्नु भनेको शरीरमा विकृत मलको उपस्थिति बढेको संकेत हो । त्यस्तो विकृत मल घुलनशिल श्लेष्माको रुपमा बाक्लिदैं जान्छ र त्यसले अन्तत रक्तरसञ्चार प्रणाली मै अप्ठ्यारो परिरहेको हुन्छ ।

समस्या निदान गर्न सक्ने जिब्रोको नैदानिक क्षमतालाई उहाँ यसरी भन्नुहुन्छ, ‘शरीरभित्रको हालचाल जान्न, बुझ्न र हेर्नलाई डाक्टरको मंहगो एक्स रे भन्दा विस्तृत जानकारी जिब्रोले दिइरहेको हुन्छ ।

जिब्रो हेरेर भित्रका शारीरिक तथा मानसिक दोषलाई सरसफाइपूर्वक खोजेर निकाल्नु होस् । 

जिब्रो स्वास्थ्यको प्रत्यक्ष ऐना
रोग निधानात्मक क्षमतालाई दृष्टिगत गर्दा भने जिब्रो स्वास्थ्यको प्रत्यक्ष ऐना भन्दा कम छैन् । निसर्ग चिकित्सक जिब्रो हेरेर राम्रोसँग भित्री फोहोरमैला तथा रोगको जानकारी लिनका लागि केहीबेर पिसाब रोकेर राख्न सल्लाह दिन्छन् ।

यसो गर्दा शरीरभित्र रहेको दुषित कफ वा श्लेष्माजन्य मल कति छ भन्ने प्रत्यक्ष रुपले जिब्रोमा र अप्रत्यक्ष रुपले मुत्रमा स्पष्ट देख्न सकिन्छ । उपवास गरेको बेला जिब्रोले झन सजिलोसंग शरीरमा भएको कफ, मल र दोषको संकेत प्रस्तुत गर्छ ।

यसकारण जिब्रो रोगेन्द्रिय वा वाकेन्द्रिय मात्र होइन् स्वास्थ्यको प्रत्यक्ष पहरेदार र हुलाकी पनि हो । आकारले सानो तर अत्यन्त महत्वपूर्ण अंग यो हाड विनाको जिब्रोको आदेश, सूचना तथा नियमलाई उल्लंघन गरेर रोग शोक पीडा र अशान्तिको शिकार बन्ने गल्ती हामी जस्तो बुद्धिमान मनुष्यलाई शोभा दिदैंन । 

डा. राजु अधिकारीको पुस्तक, खाने कसरी पिउने कसरीबाट
 

Last modified on 2019-06-28 08:28:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts