यसकारण पर्छ आँखामा फूलो 



Download our app to get more features

आँखा हाम्रो शरीरको अति संवेदनशिल अंग हो भन्ने सबैलाई थाहा छ । हुन पनि आँखा केहीबेर चिम्लेर हेरौं त, संसार अध्यारो हुन्छ ? के हामी सदैव यसरी अन्धकारमा जिउन सहजै सक्छौं त ? अवश्य पनि गाह्रो छ ।

हाम्रो आँखालाई दृष्टिविहिन गराउन सक्ने कारणहरु धेरै छन् । मोतीविन्दु, जलविन्दु, चोटपटक, संक्रमण,  भिटामिन एको कमी, आँखाको पर्दा अर्थात रेटिनाका विभिन्न अवस्थालगायत थुप्रै अन्य आँखाका रोगहरु छन् । ति मध्ये यहाँ चर्चा गरौं आँखामा फुलो पर्ने समस्या बारे ।

आँखाको नानी एक प्रकारको घडीको सिसा जस्तैं पारदर्शी अर्थात प्रकाशका किरणहरू सजिलै छिर्नसक्ने हुन्छ । यो रक्तनलीविहिन पनि हुन्छ । यो आँखाको दानाको सबै भन्दा अघिल्लो महत्वपूर्ण भाग पनि हो ।

यसले आँखामा हुने प्रकाश आवर्तनमा महत्वपुर्ण भूमिका खेल्छ । यसको मोटाई ०.५२ मिमिको हुन्छ भने यसको आवर्तनशक्ति ४५ डायोप्टरको हुन्छ । यसरी आँखाको अगाडि रहेको पारदर्शीं नानी अर्थात कर्निया विभिन्न कारणले गर्दा यसको पारदर्शीतामा ह्रास आई सेतो हुने अवस्थालाई नै आँखामा फुलो परेको भन्ने बुझिन्छ । 

अन्धोपनाको समस्या अर्थात कारण मध्ये आँखामा फूलो पर्नु पनि एक प्रमुख समस्या हो ।

नेपालमा गरिएको एक अन्धोपन सर्भेक्षणले प्रति सय व्यक्तिमा करिब एक जनाअन्धो रहेको प्रष्ट पारेको छ । जसको पहिलो कारण आँखाको लेन्सको पारदर्शकत्वमा ह्रास वा कमी आएर हुने मोतीविन्दु हो, भने आँखाको नानीमा फूलो पर्नु अन्धोपनको दोस्रो प्रमुख कारण हो ।

अब लागौं आँखामा फूलो पर्नका कारणहरुतर्फ । नेपाल एक विकासोन्मुख कृषिप्रधान देश हो । जहाँ ९० प्रतिशत भन्दा बढी मानिस गाउँमा बस्छन् ।

कृषिमा निर्भर रहन्छन् । दैनिक कार्य गर्न मेलापात जाँदा, वन पाखामा धाउदा र अन्य काम गर्दा आँखामा ठूला वा सानो घाउ चोट पटक लाग्न सक्छ ।

खेतबारीमा काम गर्दा विभिन्न बालीनालीले आँखाको नानीमा घोचेर अर्थात फोहोर पसेर, खेल खेल्दा, घरायसी काम गर्दा, हेलचेक्राई आदिबाट आँखामा चोटपटक हुन सक्छ ।

आखिरी जुनसुकै कारणले आँखाको नानीमा यसरी लागेको चोटपटकको समयमै सही उपचार नपाउनाले आँखाको नानीमा फूलो बस्छ र व्यक्ति अन्धो बन्छ । 

यसबाहेक आँखा पाक्नु, आँखामा लाग्ने ट्रकोमा भनिने रोग, दादुरा, जनै खटिरा, टाईफाईड, विफर तथा कुपोषण आदिको कारणले पनि आँखाको नानीमा फूलो पर्न सक्छ । यसको अलवा आँखाको डिलभित्र फर्कि परेलाले घोचिरहने अवस्थामा नानीमा घाउ भई सही उपचारमा ढिलाई भएमा र भिटामिन ए को कमी भई आँखा सुख्खा हुन गई आँखाको नानीमा फूलो पर्न सक्छ ।

आँखाको नानीमा फूलो परी अन्धो हुनेहरूमा प्रायः बच्चा र युवाहरू देखिन्छ । तर अन्य उमेरका मानिसमा पनि फुलो नपर्ने भन्ने चाही होईन ।

आँखाको अगाडि केही वस्तुले छेके जस्तो भई कुनै पनि वस्तुलाई राम्ररी ठम्याउन नसक्नु, आँखाले धमिलो देख्दै बिस्तारै पुरै नदेख्ने हुनु ।  आँखामा देखिने कालो भाग सेतो देखिनु आदि आँखामा फुलो पर्नुका संकेत हुन् ।

फूलो पर्नुबाट बच्ने र रोकथामका उपाय 

  • आँखालाई चोटपटक लाग्नबाट जोगाउने ।
  • सानै चोटपटक लागेमा पनि आँखामा फूलो बस्न सक्ने भएकाले तुरुन्त उपचार गराई हाल्ने ।
  • बच्चालाई धारिलो वा तिखो वस्तुसँग खेल्न नदिने, कुनै पनि काम गर्दा आँखामा चोटपटक लाग्नबाट जोगाउन होसियारी अपनाउने ।
  • साधारण चोटपटक लागेमा तुरुन्तै आँखामा एन्टीबायोटिक मलम लगाउने ।
  • एन्टीवायोटिक मलमको सुविधा नभएमा वा सो मलमले आँखामा कुनै सुधार नआएमा र ठुलो चोट लागेमा अथवा दृष्टि कम भएमा तुरुन्त नजिकको स्वास्थ्य केन्द्र, अस्पताल वा आँखा उपचार केन्द्रमा गई सम्पर्क राख्ने ।
  • आँखामा ट्रकोमा रोग लागेको भए यसको पनि उपचार गराई हाल्ने । आँखाको डिल भित्र फर्किई परेलाले घोचिरहेको छ भने पनि आँखाको नानीमा घोचेर पछि गई फुलो पर्न सक्ने भएकाले यसको उपचार पनि गराई हाल्नु पर्दछ ।
  • भिटामिन ए को कमि भएमा भिटामिन ए र भिटामिन ए पाईने खाद्य बस्तुहरु जस्तंै हरियो सागपात, पहेला फलफूल, माछा, मासु, दुध, दही, अण्डा आदिको प्रर्याप्त मात्रामा सेवन गर्ने अर्थात गराउने ।

आँखामा चोट लाग्दा पनि हेलचक्राई गरी समयमा उपचार नगरेमा कहिल्यै निको हुन नसक्ने गरि दृष्टिविहिन भइन्छ । तसर्थ आँखामा चोटपटक लागेमा शिघ्र उपचारको नितान्त जरुरी हुन्छ । यदि तुरुन्तै उपचार गराएको खण्डमा भने आँखाको नानीमा कुनै पनि दाग बस्न पाउदैन ।

यदि दाग बसि हालेको भएता पनि उक्त दाग बढ्न पाउदैन । तसर्थ फूलोबाट हुने अन्धोपनाबाट मुक्त भईन्छ ।

आँखामा कुनै पनि बस्तु पसेमा त्यसलाई निकाल्नु पर्दछ ।  फोहर पसेको अवस्थामा आँखा नमाड्ने फोहर निकाल्दा आफुनजिकै रहेको मानिसलाई सफा र नरम कपडाको छेउले फोहर झिक्न लगाउने वा सफा पानीले मुख धुने ।

यदि फोहर वस्तु फलाम तथा सिसाका टुक्राहरु भई आँखाको नानीमा गाडिएको अवस्थामा अर्थात फोहर निकाल्न नसकिएको अवस्थामा भने तुरुन्तै सुबिधायुक्त स्वास्थ्य केन्द्र वा आँखा उपचार केन्द्रमा गई सम्पर्क गर्ने ।

नवजात शिशुमा आँखा पाकी पीप बगिरहेमा यथाशिघ्र उपचार गराउनु पर्दछ । आँखा पाकेर  आँखामा नै  हुने नानीमा घाउ भएमा फुलोे पर्ने हुँदा यसको उपचार गराउनु पर्दछ ।

अन्य रोगका कारणले पनि आँखामा फुलो पर्न सक्छ तसर्थ, सम्बन्धित रोगको पनि उपचार गर्नु पर्छ । यस्ता रोगहरु दादुरा, जनै खटिरा,  छालाको रोग, कुपोषण, टाईफाईड आदि हुन् ।बच्चा गर्भमा रहदाँ आमाले स्वास्थ्यकर्मीको सल्लाहविना कुनै पनि औषधि सेवन नगर्ने ।

आँखाको नानीमा फुलो परीसकेपछि कुनै किसिमको उचित औषधिमुलो छैन र एक मात्रै विकल्प भनेको आँखाको नानी फेर्नु हो । जसले गर्दा अन्धाले फेरी देख्न सक्ने हुन्छ  ।

आँखामा फुलो परिसकेको अवस्थामा भने आँखाको नानी पछाडिको भागहरु जस्तै, आँखाको लेन्स, आँखाको भित्र रहेको तरल तथा अर्धठोस पदार्थ, पर्दा, स्नायु तथा दृष्टि नशा लगायतका वस्तुहरु राम्रो रहेको अवस्थामा भने फुलो पर्नुको उपचारको एउटै विकल्प भनेको आँखाको नानी प्रत्यारोपण हो ।

आँखा प्रत्यारोपण के हो ? 
आँखा फेरियो अथवा आँखा प्रत्यारोपण गरियो भनेको सुन्दा कता कता आँखाको डल्लो नै फेर्ने पो हो कि भन्ने भान पर्नसक्छ । तर वास्तविकता भने फरक छ । आँखा फेर्नु वा प्रत्यारोपण भनेको आँखाको डल्लो नै फेर्ने नभई केवल आँखाको नानी (र्कोनिया) मात्र प्रत्यारोपण अथवा फेर्ने हो । जसलाई आँखाको प्रत्यारोपण भन्ने गरिन्छ ।

आँखाको सबै भन्दा बाहिर पट्टि रहेको पारदर्र्शी झिल्ली नै आँखाको नानी हो ।

यसरी कुनै कारणवश आँखाको नानीमा फूलो पर्न गई दृष्टिहिन भएकालाई दृष्टि प्रदान गर्ने उद्देश्यले त्यस्तादृष्टिबिहिनको फूलो परेको आँखाको नानीलाई काटेर झिकिन्छ र बदलामा दाताबाट मृत्यूपछि प्राप्त सफा आँखाको नानी आवश्यकता अनुरुप काटेर झिकिन्छ र त्यसलाई सुरक्षित तवरले राखी दृष्टिविहिन ब्यक्तिको आँखामा समयमा नै प्रत्यारोपण गरिन्छ ।

अन्तमा : कतिपय मानिस अझै पनि आँखामा चोटपटक लागेमा र आँखामा फूलो बसेमा धामीझाक्रीको भरपरि आँखाको उपचारमा ढिलाई गर्छन ।

फूलो बसेपछि मात्र स्वास्थ्य केन्द्रमा वा आँखा उपचार केन्द्रमा आउने गरेको पाईन्छ । धेरैजसो मानिस गाउँमै रहेका र कतिपयले आँखा नदेख्ने हुनाको कारण पूर्वजन्मको पाप वा देवीदेवताको श्राप जस्ता अन्धविश्वास सम्झेर उपचार नगराई सधैका लागि दृष्टिविहिन भईबसेका छन् ।

तसर्थ, यसरी कुरा नबुझी बसेकाहरुलाई स्वास्थ्य केन्द्र वा आँखा उपचार केन्द्रसम्म पुग्ने वातावरण सृजना गरेको खण्डमा र आँखामा सानै चोट पटकबाट वा उपचार गर्न सकिने रोगबाट हुने अन्धोपनालाई रोक्न सकिन्छ ।

 

Last modified on 2019-06-19 16:32:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts