अफ्ठ्यारो खटिरा ‘पिलो’: गर्मीमा किन बढी आउँछ ?

कस्ता व्यक्तिलाई आउँछ पिलो ? यसरी गरौं स्याहार



Download our app to get more features


गर्मीको मौसमसँगै छालाका विभिन्न समस्याहरू देखिने गर्दछन् । यसमध्ये  पिलो पनि एक हो ।

पिलो एक किसिमको छालाको सङ्क्रमण हो, जसलाई खटिराको रूपमा लिइन्छ । खटिराको मध्यभागमा मुख हुन्छ । त्यसको वरिपरि पीप जमेको देखिन्छ । 

हाम्रो छालामा भएका रौंको जरा वा तेल ग्रन्थीमा ब्याक्टेरियाले गर्ने संक्रमणका कारण पिलो आउने गर्दछ ।

जुन ठाउँमा घुमुर्केको, बाक्लो, कालो कपाल हुन्छ, त्यही ठाउँमा पिलो आउँछ । पिलो  प्राय  अफ्ठायारो ठाउँमा आउँछ । जसले गर्दा असाध्यै दुख्ने र अफ्ठ्यारो महशुस हुन्छ । कुनै–कुनै पिलोमा एकभन्दा बढी मुख हुन्छन् ।

त्यसको कारण एकभन्दा बढी रौंका जराहरू वा तेलग्रन्थीहरूमा सङ्क्रमण हुनु हो । विशेषगरी पुरुषहरूमा धेरैवटा मुख भएको पिलो आएको पाइन्छ ।

पिलो साधारणतया किशोर–किशोरीहरू तथा बयस्कहरूमा आएको पाइन्छ । कसैकसैलाई बारम्बार पनि पिलो आउने गर्दछ ।

गर्मीमा के कारण बढी आउँछ पिलो ? 
पिलो  नाकमा, मलद्वारमा, ढाडमा, घाँटीको पछिल्लो भागमा, काखीमा, गुप्ताङ्गमा आउने गर्छ ।

 अझै गर्मी महिनामा शरीरका यी अंगमा पसिना बढी आउने, आद्रता बढेर धुलो टाँसिने हुँदा त्यस्ता अंगका कपालमा लिसो बस्छ । यसकारण किटाणु बढी सक्रिय भएर संक्रमण हुन्छ ।

यस्तो अवस्थामा हामीले शरीरका ती अंगहरुमा सरसफाई नगरेमा पिलो आउने गर्छ । 

कस्ता व्यक्तिमा आउँछ पिलो ? 
किशोरकिशोरीहरूमा हर्मोनको प्रभावले गर्दा छालामा रहेका तैलीय ग्रन्थीहरूबाट धेरै तैलीय पदार्थ निस्किएर फोहोर हुने हुनाले पनि त्यस्ता उमेर समूहका व्यक्तिहरूमा यो समस्या देखिन सक्छ ।

कहिलेकाहीँ केमिकलयुक्त पदार्थहरू जस्तो कस्मेटिकहरू आदिको कारणले पनि पिलो आउछ ।  खानपानमा ध्यान नदिने, अत्याधिक मद्यपान गर्ने व्यक्तिहरू र लागूऔषध प्रयोग गर्ने व्यक्तिहरूमा पनि पिलो आउने सम्भावना धेरै हुन्छ ।

यसैगरी, जसमा रोग सँग लड्ने क्षमता कमजोर हुन्छ, त्यस्ता व्यक्तिमा पनि पिलो आउँछ । पटक–पटक पिलो आइरहने व्यक्तिमा मधुमेह, थाइराइड, कुपोषणको भएको हुनसक्छ ।

 शरीरको रोग प्रतिरोधात्मक क्षमता कम हुने अवस्थाहरू जस्तै एड्स, क्यान्सरजस्ता रोगहरू र स्टेरोइड भएका औषधिको प्रयोग गरिरहेका व्यक्तिमा पनि पिलो आउन सक्छ । 

पिलोलाई ठट्टा नगरौं
सामान्यतया पिलो हेर्दाखेरि डरलाग्दो, पीप भरिएको, रातो, तातो, ठूलो हुन्छ । पिलो जो व्यक्तिलाई आएको छ उसलाई एकदमै दुख्ने भए पनि पिलोलाई कहिलेकाहीँ ठट्टाको रूपमा लिने गरेको पाइन्छ ।

सुरुमा पिलो आउँदा रौंका जरा वरिपरि सुन्निएको जस्तो देखिन्छ ।

विस्तारै यो ठूलो हुन्छ, पाक्छ र पीप निस्किन्छ । पिलो आएदेखि पूरै निको हुन करिब दुई हप्ता  लाग्दछ । पिलोलाई हातले छुनुभन्दा अघि र छोइसकेपछि  साबुनपानीले हात धुनुपर्छ ।

पिलोलाई जबर्जस्ती निचोर्दा यसवरिपरिको छालामा चोट पुग्न गई सक्रमण, शरीरको अन्य भागमा सर्ने तथा रगतमा जाने खतरा हुन सक्दछ ।

नाक तथा मुखवरिपरिको पिलो त अझ कहिले पनि निचोर्नुहुँदैन । यस ठाउँमा आएका पिलोबाट सक्रमण सरेर मस्तिष्कमा समेत सक्रमण सङ्क्रमण हुने खतरा हुन्छ । पीप बगेको खण्डमा सफा कपडाले सोसेर लिनुपर्छ ।  

पिलो आउँदा साबुन लगाएर नुहाउनुहुन्छ । अझ किटाणुनाशक औषधि भएका साबुनले नुहाउँदा राम्रो हुन्छ । पिलोमा जथाभावी झारपात जडीबुटीहरू राख्नुहुँदैन ।

चिकित्सकको सल्लाहाबमोजिम औषधि सेवन
चिकित्सकको सल्लाहविना घरायसी उपचार गर्ने, मनलाग्दि तरिकाले निचोेर्ने गरेमा संक्रमण भएका किरा मर्दैनन् । यसकारण किराको संक्रमण अन्य ठाउँमा फैलिएर पटक–पटक पिलो आउने गर्छ ।

घरेलु उपचारले किरा नमर्ने हुँदा परीक्षण गरी कुन किटाणुको संक्रमण भएको हो, सोहीअनुसारको औषधि सेवन गर्न जरुरत हुन्छ ।

चिकित्सकको सल्लाहाबामोजिम एन्टिवाइटिक खाएमा पिलो अर्को ठाउँमा सर्न सक्दैन ।

पिलो आएका व्यक्तिले खानेकुरामा भिटामिन ए युक्त खानेकुराहरू जस्तैः मेवा, फर्सी, सागपातजस्ता खानेकुराहरू प्रशस्त खानुपर्छ । चिल्लो तथा मसलादार खानेकुरा कम खानुपर्छ ।

बिरामीले प्रयोग गरेको साबुन, रुमाल, लुगा, ओछ्यान कपडा, कस्मेटिक सामानहरू भने अन्य व्यक्तिले प्रयोग गर्नु हुँदैन । 
 

Last modified on 2019-06-07 07:39:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts