५५ वर्षसम्म संचित गर्न सकिन्छ शुक्रकिट !

किन गर्ने शुक्रकिट संचित ? कति प्रभावकारी हुन्छ ?



Download our app to get more features

निःसन्तान उपचार केन्द्रमा उपचारको लागि आउने कतिपय दम्पतिहरु लामो उपचार प्रकृया लगायत अन्य विभिन्न कारणले श्रीमान् समयमा उपस्थित हुन नसक्ने हुँदा उपचार निरन्तर राख्ने कि नराख्नेलगायतका धेरै समस्याहरु लिएर आउने  गर्छन् ।

यसैक्रममा उक्त समस्या भएका त्यस्ता दम्पतिहरुलाई विर्य तथा शुक्रकिट संचित सम्बन्धि सल्लाह प्रदान गर्ने क्रममा अनेकौं जिज्ञासाहरु उत्पन्न हुने गरेको पाइन्छ ।

शुक्रकिट संचित कसरी गरिन्छ ? शुक्रकिट कति प्रभावकारी हुन्छ ? संचित शुक्रकिटबाट प्राप्त सन्तानमा शारीरीक तथा मानसिक समस्याहरु देखिन्छ कि देखिदैन ? लगायतका जिज्ञासाहरु रहेको पाइन्छ ।  

सामान्य भाषामा शुक्रकिटलाई परिभाषित गर्दा यो पुरुष प्रजनन कोष (रिप्रोडक्टिीभ सेल) हो, जसले फेलोपिन ट्युबको माध्यमबाट महिलाको अण्डासँग मिलेर गर्भाधान गराउँदछ ।

स्पर्म (Sperm) ग्रिक शब्द स्पर्मा (Sperma) बाट आएको हो, जसको अर्थ बिउ (Seed)हुन्छ ।

इतिहास खोतल्दै जाँदा सन् १६७७ मा एन्टोनि भ्यान लिउवेनहक (Antonie van leeuwenhoek) ले माइक्रोस्कोपको माध्यमबाट शुक्रकिटको परीक्षण गर्नु भएको थियो ।

सामान्यतया एक मिलिलिटर विर्यमा ४० मिलियनदेखि ३०० मिलियन शुक्रकिट भएको अवस्थामा यसलाई औषत शुक्रकिट संख्या (Normal Sperm Count) मानिन्छ । त्यसैगरी,  प्रति मिलिलिटर विर्यमा १५ मिलियन भन्दा कम स्पर्म र शुक्रकिटको बनावट -Morphology) ४ प्रतिशत भन्दा कम भएमा केही समस्या छ भन्ने बुझिन्छ ।

जसरी मानिसको रगतलाई  ब्लड बैंकमा भण्डारण अथवा संचित गरेर राख्न सकिन्छ । त्यसैगरी, कुनै पुरुषबाट संकलन भएको शुक्रकिटको विश्लेषणपछि लिक्युड नाइट्रोनको प्रयोग गरी १९६ डिग्री सेल्सियसमा विशेष प्रकारको भाडोमा राखिन्छ भने, यो सम्पूर्ण प्रकृयालाई स्पर्म फ्रिजिङ वा क्रायोप्रिजरभेसन (Sperm  Freezing and Cryopreservation) भनिन्छ, जुन विषयलाई भविष्यमा निःसन्तान उपचारको लागि अथवा अन्य निःसन्तान दम्पत्तिलाई दान गर्न प्रयोग गरिन्छ ।

स्पर्म फ्रिजिङ सबैभन्दा सफल पद्दती हो । यसले पुरुषको प्रजनन क्षमतालाई सुरक्षित राख्न सक्छ जसको माध्यमबाट भविष्यमा आवश्यकता अनुसार सन्तान सुःख प्राप्त गर्न सकिन्छ । 

कति समयसम्म संचित गर्न सकिन्छ ?
शुक्रकिट संचित गरेर राखिने समयको सन्दर्भमा सामान्यता शुक्रकिटलाई केहि घण्टादेखि १० वर्षसम्म संचित गरेर राख्न सकिन्छ तर, विशेष अवस्थामा विशेष प्रविधिको प्रयोग गरी ५५ वर्षसम्म पनि संचित गरेर  राख्न सकिन्छ ।

साधारणतया स्पर्म फ्रिजिङको मुख्य उद्देश्य भविष्यको लागि पुरुषहरुको प्रजनन क्षमतालाई जोगाउनु हो । 

के सबै पुरुषले स्पर्म फिजिङ गर्न जरुरी छ ?

पुरुषले स्पर्म फिजिङ गर्न जरुरी छ वा के–कस्ता पुरुषहरुले स्पर्म फ्रिजिङ गर्नुपर्छ भन्ने प्रश्नको सन्दर्भमा त्यस्ता पुरुषहरु जो पुनः सन्तान प्राप्तिको लागि भविष्यसम्म पनि आफ्नो प्रजनन क्षमता जोगाउन चाहन्छन्, त्यस्ता पुरुषहरुको लागि स्पर्म फ्रिजिङको आवश्यक हुन्छ ।

किनिकि पुरुषहरुमा सामान्यता ४० वर्षपछि विभिन्न कारणहरुले विर्यमा शुक्रकिटको संख्या कम हुँदै जान्छ । जसले गर्दा प्रजनन क्षमतामा असर पुग्दछ ।

साथै क्यानसर (Cancer) को उपचार गराइरहेका पुरुषहरुमा भविष्यमा सन्तान प्राप्त गर्ने चाहना भएमा  स्पर्म फ्रिजिङ गर्नुपर्छ किनकी क्यानसरको उपचारको क्रममा प्रयोग गरिने केमोथेरापि तथा रेडियसनले शुक्रकिट उत्पादन क्षमतालाई क्षती पुर्याउँछ ।

त्यसैगरी, बन्ध्याकरण (भ्याक्सोटोमी) गरेका पुरुषहरुले भविष्यमा पुनः सन्तान प्राप्त गर्न चाहेमा बन्ध्याकरण गर्नुभन्दा अगाडि आफ्नो शुक्रकिट संचित गरेर राख्न सक्छन् ।

वैदेशिक रोजगारीमा भएमा पुरुषहरु लामो समयसम्म विदेशमै बस्ने र कतिपय अवस्थामा अत्याधिक गर्मिमा बसेर काम गर्नाले शुक्रकिटलाई असर गर्ने हुनाले त्यस्ता पुरुषहरुको शुक्रकिट फ्रिजिङ गरेर राख्दा उपयुक्त हुन्छ ।

त्यसैगरी, घर परिवारबाट प्राय टाढा रहने वा युद्धमा खटिएका सैनिकहरु (सुरक्षाकर्मी) फायर फाइटरहरु जो घाइते वा मृत्युको अत्याधिक जोखमिमा हुन्छन् साथै अत्याधिक परिश्रम गर्नुपर्ने खेलमा संलग्न खेलाडीहरु एक्स–रेमा संलग्न प्राविधिकहरु आदिले पनि स्पर्म फ्रिजिङ गरेर राख्न सक्छन् ।

, यस्ता पुरुषहरु जसको लो स्पर्म काउन्ट (low sperm count) छ, स्पर्मको बनावट पनि कमजोर छ भने त्यस्ता पुरुषहरुले पनि स्पर्म फ्रिजिङ गर्दा उपयुक्त हुन्छ ।

निः सन्तान उपचार पद्धतिबाट सन्तान प्राप्त गर्ने सिलसिलामा रहेका दम्पत्ति जसको फर्टिलाइज गर्ने बेलामा श्रीमान उपस्थित हुन नसक्ने भएमा वा  उपचारको क्रममा चाहेको समयमा विर्य दिन समस्या हुने भएमा त्यस्ता  पुरुषहरुले पनि स्पर्म फ्रिजिङ गरेर राख्नुपर्दछ ।

यसको साथसाथै Trarissexul अन्तर्गत पुरुषबाट महिला लिङग परिवर्तन गर्नेहरुले पनि स्पर्म फ्रिजिङ गर्दा भविष्यमा सन्तान सुख प्राप्ति गर्ने बेलामा प्रयोग गर्न सक्छन् ।  

फ्रिजिङ र फ्रेस शुक्रकित उत्तिकै प्रभावकारी हुन्छ त ?

काउन्सिलिङकोक्रममा के फ्रिजिङ गरेर राखेको शुक्रकिट उत्तिकै प्रभावकारी हुन्छ जति फ्रेस शुक्रकिट हुन्छ भन्ने जिज्ञासा अत्याधिक रहेका पाइन्छ । वास्तवमा विभिन्न अध्ययनहरुले देखाएअनुसार निःसन्तान उपचार पद्धति अबलम्बन गर्दा संचित शुक्रकिट हुन्छ ।

जसबाट जन्मिने बच्चाहरुमा कुनै पनि किसिमको शारीरीक तथा मानसिक असामान्यपन हुँदैन । 

अन्त्यमा, आजको व्यस्त जिवनपद्धती, व्यवसायिक जिवन, वातावरणीय प्रदुषण, असुरक्षित खानपान (मद्यपान, धुम्रपान) क्यानसर जस्ता कुनै दीर्घ रोगहरुले पनि भविष्यमा शुक्रकिटको क्षमतामा असर पर्न सक्ने हुँदा भविष्यमा सन्तान प्राप्त गर्न चाहनेहरुको लागि स्पर्म फ्रिजिङ सन्तान सुख प्राप्त गर्ने एउटा उपयुक्त माध्यम हो ।
 

Last modified on 2019-06-06 06:18:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts