स्पार्कको २७ औं वार्षिकोत्सव, अस्पतालकै बिरामी प्रमुख अतिथि



Download our app to get more features

काठमाडौं, १२ फागुन । प्राकृतिक चिकित्सा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल नेपालकै पुरानो र ठूलो स्पार्क अस्पतालले २७ औं वार्षिकोत्सव मनाएको छ । 

सोल्टीमोड कालिमाटी स्थित अस्पताल प्राङ्गणमा शनिबार आयोजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालमै उपचारपछि निको भएका बिरामीहरुलाई प्रमुख अतिथि बनाईएको थियो । 

वार्षिकोत्सव कै अवसर पारेर अस्पतालले अस्पतालमा उपचारपछि निको भएका बिरामीहरुको विचार, उनिहरुको भोगाइ र अस्पताल बसाइको बारेमा समेटेर तयार पारिएको पुस्तक, स्पार्कले दिएको नयाँ जीवन नामक पुस्तक विमोचन गरिएको छ । कार्यक्रममा बोल्दै कलाकार एवम् पत्रकार शैलेन्द्र सिंखडाले आफ्नै बिरामीलाई अग्रसर गरेको फरक कार्यक्रम  गरेको भन्दै प्रशंसा गरेका थिए ।

योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष जनक बस्नेतले  प्राकृतिक चिकित्सा पद्धतिबाट अगाडि बढेको अस्पतालले २७ वर्ष पार गर्नु सामान्य कुरा नभएको बताए । प्राकृतिक चिकित्सा पद्धतिका अस्पताल आजको दिनमा समेत टिक्न गार्हो हुने अवस्थामा स्पार्क अस्पतालले पाएको सफलता आफैमा आश्चर्यजनक रहेको बताए ।

कार्यक्रममा सभापति एवम् अस्पतालका अध्यक्ष टंक नाथ पौडेलले अस्पतालको यो सफलता र यो यात्रा आफ्नो भन्दापनी सहयात्रीहरुको कारणले सम्भव भएको र बिरामीहरुको विश्वास र मायाकै कारणले सम्भव भएको बताए । 

कार्यक्रममा अस्पतालमा कार्यरत डाक्टर विजय फुँयाललाइ नगद पुरस्कार सहित उत्कृष्ट कर्मचारीको पुरस्कार दिइयो । त्यस्तै विगत २६ वर्षदेखि स्पार्क अस्पतालले सञ्चालन गरेको योगा कक्षामा सहभागी भै आएका द्वय मोहनचण्डी श्रेष्ठ र कृष्णप्रशाद श्रेष्ठलाई समेत सम्मान गरियो ।

पुस्तक विमोचन कार्यक्रम पछि अस्पताल बाट निको भएका बिरामी केदार भट्टराईले ३२ दिन अस्पताल बस्दाको क्षण  अविस्मरणीय रहेको बताए । प्यारालाइसिस भएर आफू अब जिवनभरीको लागि थला परे भन्ने सोचेको थिए । तर अस्पतालले आफुलाई नयाँ जीवन दिएकोमा आफुले प्रशंसा गर्ने ठाउँ नै नरहेको बताए ।  

वार्षिकोत्सव कै अवसरमा नेपाली स्वास्थ क्षेत्रमा अनवरत कलम चलाउँदै कान्तिपुर पत्रिकामा कार्यरत पत्रकार अतुल मिश्रलाई पनि सम्मान गरियो ।

Last modified on 2019-02-25 09:16:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts