फोक्सोको क्यान्सर हुनबाट यसरी जोगिनुहोस्



Download our app to get more features

पुरुषमा बढी मात्रामा देखिने फोक्सोको क्यान्सर केही वर्ष यता निकै बढेको देखिन्छ । किन यसरी बढिरहेका छन् फोक्सोको क्यान्सरका बिरामी ? यसबाट कसरी बच्ने भन्ने विषयमा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुदिप श्रेष्ठसँग गरिएको कुराकानी :-

फोक्सो शरीरको महत्वपूर्ण अंग हो । यसले शरीरलाई आवश्यक पर्ने अक्सिजन लिने र अनावश्यक कार्बनडाइ अक्साईड बाहिर फ्याल्ने गर्छ । फोक्सोको भित्री भागमा रहेका कोषहरुको जीनमा म्युटेसन भएर कोषहरु अनियन्त्रित रुपमा वृद्धि हुनुलाई नै फोक्सोको क्यान्सर भनिन्छ ।

महिलामा पाठेघरको क्यान्सर बढी देखिए जस्तै पुरुषमा तुलानात्मक रुपमा फोक्सोको क्यान्सर बढी देखिन्छ । पछिल्लो तथ्यांक अनुसार कुल क्यान्सरका बिरामी मध्ये १५ देखि २० प्रतिशत क्यान्सर फोक्सोको हुने गरेको छ ।

प्रमुख कारण:

फोक्सोको क्यान्सर हुने प्रमुख कारण धुम्रपान नै हो । नेपालको सन्दर्भमा महिलाको तुलानामा पुरुषमा फोक्सोको क्यान्सर देखिने प्रमुख कारण महिलाले भन्दा पुरुषले धु्रमपान बढी गर्नु हो । यसबाहेक अन्य कारण यसप्रकार छन् ः—

  • धुँवाधुँलोमा बढी समय काम गर्नु ।
  • प्रदुषित वातावरण ।
  • आगोमा खाना बनाउँदा त्यसबाट निस्किने धुँवा ।
  • ईट्टा, ढुंगा, माटो वा धुँलो निस्कने उद्योगमा लामो समय काम गर्नु ।

लक्षण:

फोक्सोको क्यान्सरका लक्षणहरु निकै ढिला मात्रमा देखा पर्छ । सुरुवाती अवस्थामै लक्षण देखा नपर्दा बिरामी निकै ढिला अस्पताल पुग्छन् । त्यती बेला बिरामीको अवस्था निकै कमजोर भइसकेको हुन्छ ।

साथै यसका लक्षणहरु क्षयरोगको लक्षणसँग पनि मिल्दोजुल्दो हुने भएकाले फोक्सोकै क्यान्सर भएको हो भनेर एकिन गर्न स्वास्थ परीक्षण नै गर्नु पर्छ । सामान्यतया यस्ता लक्षण देखिन्छन् ।

  • लामो समयसम्म निरन्तर खोकी लाग्ने ।
  • श्वास फेर्न गाह्रो हुने ।
  • स्वर परिवर्तन हुने ।
  • तौल घट्ने ।
  • खकारमा रगत देखा पर्ने ।
  • निकै ढिला भए क्यान्सर अन्य अंगमा पनि फैलने ।
  • खाना मन नलाग्ने ।

फोक्सोमा क्यान्सर भएको सुरुवाती चरणमै थाहा भए पूर्ण निको पार्न सकिन्छ । तर क्रोनिक भइसकेको अवस्था भए बिरामी बचाउन निकै गाह्रो हुन्छ । यसको उपचार पद्धतिमा रेडियोथेरापी र सर्जरीलाई प्रथामिता दिइन्छ । यी बाहेक पनि जुन उपचार पद्धति अवलम्बन गर्नु पर्ने हो, विशेषज्ञले निर्कोल गरि सोही पद्धति अपनाइन्छ ।

बच्ने उपाय:

फोक्सोको क्यान्सरबाट बच्ने सबै भन्दा उत्तर उपाय भनेकै धुम्रपान, मध्यपान नगर्नु नै हो । फेरी धुम्रपान, मध्यपान नगर्नेलाई फोक्सोको क्यान्सर नै हुँदैन् भन्ने होइन । तर एकदमै न्यून मात्र हुन्छ । यसको साथै सम्भव भएसम्म धुँवा धुँलोबाट बच्ने, धुँवाधुँलो भएको स्थानमा नियमित काम गर्नु पर्ने भए पनि विशेष सावधानी अपनाउने । सन्तुलित खाना खाने, नियमित व्यायम गर्ने, नियमति स्वास्थ परीक्षण गराउने ।

Last modified on 2019-01-17 19:17:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts