अस्पतालमा बेवारिसे बिरामी : समस्या र समाधान
नेपाल प्रहरी, समाजिक संघ संस्था, नागरिक समाज वा व्यक्तिको पहलमा सडकमा बेवारिसे अवस्थामा रहेका बिरामीको उद्धार गरी सरकारी अस्पतालमा उपचार तथा औषधिमूलोका लागि ल्याइने गरिएको छ । सडकपेटीमा कष्टकर जीवनयापन गरिरहेका अनाथ, अपाङ्ग, अशक्त, असहाय, वृद्धवृद्धा तथा मानसिक सन्तुलत नभएका सहयोगापेक्षी व्यक्तिहरूको उद्धार र स्वास्थोपचार सभ्य समाजको सूचक पनि हो । तर त्यस्ता बिरामीको उपचार भइसक्दा पनि व्यवस्थापन नहुँदा अस्पतालमा समस्या हुने गरेको छ । उनीहरूको आफ्नो घर परिवार पत्ता लाग्न नसकी मनोविमर्श, संरक्षण, सामाजिकीकरण पारिवारिक र सामाजिक पुनःमिलन, पुनःस्थापना तथा पुनःएकीकरण हुन नसक्दा ति व्यक्तिहरू लामो समयसम्म अस्पतालहरूमा नै आश्रय लिदै आएका छन् ।
देशभरका सबै सरकारी अस्पतालमा यस्ता व्यक्तिहरु उल्लेख्य संख्यामा छन् । यस्ता व्यक्तिहरू स्वास्थोपचार पश्चात पनि लामो समयसम्म अस्पतालकै शय्यामा बसिरहँदा नयाँ बिरामीको तथा उपचाररत अन्य बिरामीको व्यवस्थापनमा प्रतिकुल असर पर्ने गरेको छ । अस्पतालका स्वास्थ्यकर्मीहरूमाथि उल्लेखित व्यक्तिहरूको सेवा सुश्रुषामा अधिकांश समय खट्नु पर्ने अवस्थाका कारण अन्य बिरामीहरूको व्यवस्थापनमा असर पर्ने गरेको छ ।
यसरी व्यवस्थापन गरांै बेवारिसे बिरामी :
- सडकमा रहेका अनाथ, अपाङ्ग, अशक्त, असाहाय एवं मनोरोगीको एकीन तथ्याङ्ग संकलन गर्ने र उनीहरूको अवस्था अध्ययन गर्ने ।
- स्वास्थ्योपचार, मनोविमर्श, पारिवारीक पुनर्मिलन लगायतका सुविधा भएका बेवारिसे गृहहरू ७७ वटै जिल्लामा तत्कालै स्थापना गर्ने । त्यस्ता गृहहरूमा विशेषज्ञ चिकित्सकको घुम्ती टोली बेला वखत पठाउने ।
- संविधानले हरेक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई मौलिक हकको रुपमा व्याख्या गरेको छ । सो परिप्रेक्षमा आवश्यक कानून बनाई खुला आकाशमुनी कष्ठपूर्ण जीवनयापन गरिरहेका व्यक्तिलाई सो गृहमा स्थानान्तरण गर्ने ।
- विभिन्न जीवनोपयोगी, उत्पे्ररणात्मक, प्रेरणदायी एवं रचनात्मक सिपमूलक तालिमको व्यवस्था गर्ने ।
- सुधारपश्चात परिवार खोजी पारिवारिक पुनर्मिलन गराउने ।
- देशका रेडियो र टिभिबाट सूचना प्रशारण गरि सामाजिक पुनर्मिलनमा सहयोग पुर्याउने ।
- राष्ट्रिय मानवता प्रवद्र्धन कोष खडा गर्ने ।
- स्वयंसेवी समूह तयार गर्ने ।
- ‘सडक मानवविहीन नेपाल’घोषण गर्ने ।
- सरकारी अस्पतालहरूमा आएका बेवारिसे बिरामीहरूलाई लामो समयसम्म अस्पतालमै राख्नुपर्ने भएको सन्दर्भमा राष्ट्रिय ट्रमा सेन्टर सामाजिक सेवा एकाईले उठाएको मागको सम्बन्धमा बेवारिसे बिरामी व्यवस्थाको लागि राष्ट्रिय योजना आयोगको संयोजकत्वमा गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र गैरसरकारी संस्थाहरूबीच समन्वय गरी समस्या समाधान गर्नको लागि एनडिएसी (राष्ट्रिय विकास समस्या समाधान समिति) मा पेश गरिएको प्रस्तावलाई कुनै ढिला नगरि अघि बढाउने ।
अन्त्यमा, बेवारिसे व्यक्तिहरूको व्यवस्थापन कुनै एक निकायले मात्र सम्भव हुँदैन । तसर्थ अन्य सरकारी निकाय, गैरसरकारी संघसंस्था, सञ्चार माध्यम, नागरिक समाज र सर्वसाधारणसँग समन्वयात्मक वातावरण तयार गर्ने तथा आवश्यक स्थानमा उपचारात्मक सेवासहितका बेवारिसे गृहहरू निर्माण गर्ने दिशामा अघि बढ्न कानूनी, नीतिगत र संस्थागत व्यवस्थाका लागि राज्यले आफ्नो जिम्मेवारीबोध गर्नै पर्छ ।