एउटा डाक्टरको बकपत्र: मलाई डाक्टरले नै दुर्व्यवहार गरे
कुरा गत मंसिर २६ गतेको हो, श्रीमती सुत्केरी हुनका लागि हामी काठमाडौं आयौं । यो हाम्रो दोस्रो सन्तान थियो । सबै कुरा सामान्य नै थियो । सबै रिपोर्टहरु पनि सामान्य नै थियो । तर, सुत्केरी हुने दिन नजिकिँदै गर्दा जनकपुर अञ्चल अस्पतालका चिकित्सकले सल्लाह दिए कि यहाँ भन्दा राम्रो धरान वा काठमाडौं नै जानुस । त्यसपछि घरपरिवारको सल्लाहमा हामी काठमाडौं आयौं । मेरो मामाले मलाई ललितपुरको पाटन अस्पतालमा राम्रो सुविधा र उपचार हुन्छ भनेर त्यहि जान सल्लाह दिनुभयो र हामी त्यहि गयौं ।
२७ गते पाटन अस्पताल पुग्यौं । अस्पतालमा भएका डक्टरहरु मध्ये स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा।शारदा श्रेष्ठ राम्रो हुनुुहुन्छ भन्ने सबैले सल्लाह दिए र हामीले टिकट कटायौं । डा.शारदाले केहि जाँचहरु गराउन भन्नुभयो र सोमबार नभए मंगलबार नै अपरेशन गर्नुपर्छ भनेर सल्लाह दिनुभयो । श्रीमतीको रिपोर्ट सबै सामान्य छ भनेर मैले भन्दा पनि उहाँले नर्मल डेलिभरि हुन गाह्रो छ त्यहि भएर सिजेरियन नै राम्रो हुने भनेर भन्दा हामी पनि कन्भिन्स भयौं र त्यहि अनुसार सोमबार अपरेशनको लागि अस्पताल पुग्यौं ।
सोमबार अस्पताल पुग्दा डा.शारदाले आज अपरेशनको लागि हेर्नुपर्छ अपरेशन थिएटरमा के छ अवस्था भनेर बुझेर बुझ्छु भन्नुभयो । एकछिनपछि हुन्छ भर्ना हुनुस भनेर भन्नुभयो । मैले अस्पतालको सबै प्रक्रिया पुरा गरेर बिलहरु तिरेर श्रीमतिलाई भर्ना गरे । अपरेशन भोली अर्थात् मंगलबार मात्रै हुन्छ भनेर भन्नुभयो । हामीले त्यसमा पनि हुन्छ भन्यौं र मंगलबार अपरेशनका लागि श्रीमतिलाई थिएटरमा लगियो ।
अपरेशन भयो छोरी जन्मेको कुरा डाक्टरले भन्नुभयो । अपरेशनमै संलग्न एक जना बालरोग विशेषज्ञ डा.ले बच्चाको मुटु बन्द भएको र हामी सकभर प्रयास गर्दै छौं भनेर सुनाउनुभयो । मैले भने ठिकै छ डाक्टर साब प्रयास गरिदिनुस् भनेर भने उहाँले हामी लागि रहेका छौं भन्दै फेरि भित्र थिएटरमा जानुभयो । त्यसको करिब एक घण्टापछि डा.ले हामीले तपाईंको बच्चालाई बचाउन सकेनौं भनेर भन्नुभयो । मनभरि पीडाको भारि पर्यो, ६ वर्षपछिको हुन लागेको सन्तानको खुशि क्षणभरि मै उड्यो । मैले धन्यवाद दिँदै भने केहि छैन यस्तै हो भाग्यमा लेखेको थिएन भनेर आफैंलाई सान्त्वना दिए ।
त्यसपछि एकछिन बच्चालाई हेर्न पाइन्छ की भनेर म बाहिर उभ्दै मात्र के थिए मलाई डा.शारदाले नराम्रो स्वरमा बोल्दै भनिन्, ‘किन तपाईं यहाँ आको, हामीले जानेर तपाईंको बच्चालाई मारेको हो र ? जानुस तपाईं यहाँबाट, कसले बोलायो तपाईंलाई भित्र ?’
मलाई केहि बुझ्नमै आएन, आखिर मैले गरे के रु मेरो बच्चा जो अब यो संसारमा छैन उसलाई हेर्न पाउने मेरो अधिकार होइन र ? तर, यी सब प्रश्नको पोको लिएर म बाहिर निस्के ।
यो घटना एक पटक होइन अस्पतालमा होउन्जेल पटकपटक दोहोरियो । डा.शारदाको व्यवहार देखेरपनि म सामान्य अवस्थामा नै बोल्दै थिए, ‘ठिकै छ डाक्टरसाब जे हुनु थियो त्यो भइसक्यो । मैले कसैलाई कुनै आरोप लगाएको छैन । तर, पनि मलाई हेर्नासाथ उहाँको व्यवहार र बोलि बदलिन्थ्यो ।’
म पनि पेशाले डाक्टर हो र एउटा डाक्टरले आफ्नो बिरामीसँग गर्ने व्यवहार नै यदि यस्तो हुन्छ भने त्यो अस्पतालमा बिरामीको के हाल हुँदो हो भनेर यसैबाट पनि अनुमान लगाउन सकिन्छ ।
अस्पतालमै भएका एक जना चिनेकै डक्टरको नाम लिँदा पनि डा.शारदा झनक्क रिसाउने र ठूलो स्वरमा कराउन थाल्ने । उनको यो व्यवहारले गर्दा नै मैले सम्बन्धीत सबै निकायमा उजुरी गरिसकेको छु ।