नेतृत्वविहीन वीर अस्पताल

ओपिडि टिकटदेखि अप्रेशन थिएटरमा सामान अभाव



Download our app to get more features

काठमाडौं, २४ मंसिर । विगत दुई महिना देखि नेतृत्वविहीन बनेको वीर अस्पतालमा अत्यावश्यक वस्तुको अभाव देखिएको छ । नेतृत्वको अभावले उपचारका लागि चाहिने अत्यावश्यक वस्तुको खरिद गर्न नसक्दा वीर अस्पतालले दिदै आएको सेवा प्रभावहीन बस्ने अवस्था आएको चिकित्सकहरुले बताएका छन् । 

गत २४ साउन देखि उपकुलपति प्रा.डा गणेश गुरुङ र २९ असोज देखि अस्पतालका निर्देशक प्रा.डा भुपेन्द्र कुमार बस्नेतको कार्यकाल सकिएपछि वीर नेतृत्व बिहीन बन्न पुगेको हो । पदाधिकारीमा आर्थिक अधिकार हुने भएकाले अहिले भएका निमित्त पदाधिकारीले खरिद गर्न सकेका छैनन । अधिकारीहरुका अनुसार तत्काल पदाधिकारी नियुक्त नगरे सेवा पूर्णरुपमा रोकिन सक्ने छ । 

स्वास्थ्य सिस्टममा समस्या
कर्मचारीले बताए अनुसार नेतृत्व नहँुदा न्यामसको एमडी एमएस, डिएन एम को पढाईमा असर परेको छ । वीर अस्पतालमा संचालन भईरहेका अरवौंका कार्यक्रमहरु अन्यौलमा परेका छन् । दुवाकोट र वीर अस्पताल नजिक बन्दैगरेका महत्वकांक्षी योजनालाई समस्या परेको छ । यस्ता विषयमा असर पर्नु भनेको सरकारी संयन्त्र कमजोर पार्दै गएर निजी क्षेत्रलाई बढवा दिनु हो । सरकारी संयन्त्रको लाचारीपनले समग्र स्वास्थ्य क्षेत्र ठप्प भई त्यहा काम गर्ने पदाधिकारी खराब हुन पुग्नेछन् । यसको फाईदा निजी क्षेत्रले लिने वीरका एक कर्मचारीले बताए ।  

ओपिडि टिकट मौजाद न्यून
कर्मचारीले बताए अनुसार वीर अस्पतालमा उपचारका लागि चाहिने ओपिडि टिकट मौजाद सकिएको छ । दुई महिनालाई मौजाद राख्ने गरिए पनि तीन महिना देखि नेतृत्व नहुदा खरिद हुन सकेको छैन । वीर अस्पताल खरिद शाखाका एक कर्मचारीले भने, ‘विगतमा दुई महिनालाई पुग्ने सामानहरु मौजाद राखिन्थ्यो । अहिले नया भवन बन्दै गरेकाले स्थान अभाव छ । त्यसैले धेरै सामानहरु मौजाद राख्ने ठाउँछैन । जसले गर्दा भएका सामानहरु सकिन थालेका छन् ।’ करिब १० हजार ओपिडि टिकट मौजाद थियो । दैनिक बिरामीको चाप बढ्दै गएकाले उक्त टिकल केही दिनमा सकिने छ । वीरमा दैनिक २५ सय सम्म बिरामी ओपिडिमा आउने गरेका छन् । 

अप्रेशन थ्रिएटरमा सामान अभाव
औजार उपकरण खरिद गर्ने अधिकार निमित्व निर्देशक र निमित्व उपकुलपतिलाई छैन । करिब तीन महिना अगाडि नै उपकुलपतिका लागि डा. डिएन शाह, डा. ढुन्डीराज पौडेल, डा. अजित रायमाझिको नाम सिफारीस भएको छ । उक्त नामलाई प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले अन्तिम रुप दिएका छैनन । लामो समय सम्म पदाधिकारी नहुदा वीर अस्पतालमा अप्रशेन थ्रिएटरमा अत्यावश्यक सामानहरुको अभाव देखिन थालेको छ । अस्पतालका अनुसार अप्रेशन थ्रिएटरमा बिग्रिएका उपकरण तत्काल बनाउने सामान सकिएको छ । एक्सरेका प्लेटहरु सकिएका छन् । 

वीर अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. भोलाराम श्रेष्ठका अनुसार तत्काल बिग्रिएका सामानहरु बनाउने अटो क्लीप सकिएको छ । त्यस्तै फोटोकपी पेपरको अभाव देखिएको छ ।  अत्यावश्यक औषधिहरु सकिन थालेका छन् । श्रेष्ठका अनुसार बिभिन्न रोग परिक्षण गर्ने टेष्ट किट सकिन लागेको छ  । अस्पतालका रेडियोलोजी विभागका डा. सरोज शर्माका अनुसार अल्ट्रासाउण्ड गर्दा आउने पेपर (थरमल) समेत सकिन थालेको छ ।

Last modified on 2018-12-11 08:29:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts