आर्थोस्कोपी वृद्धवृद्धाको लागि प्रभावकारी हुँदैन (भिडियोसहित)
समस्याग्रस्त जोर्नीमा सानो प्वाल पारी दुरविनको सहायताले हड्डीभित्रका विभिन्न समस्या पहिचान र समधान गर्ने प्रविधिलाई आर्थोस्कोपी भनिन्छ । यो प्रविधि नेपालमा अझै पनि नौलो मानिन्छ । विकसित राष्ट्रहरूले यो प्रविधिलाई धेरै अघिदेखि प्रयोगमा ल्याए पनि नेपालमा भने पाँच वर्ष अघिदेखि मात्र सुरु भएको छ ।
आर्थोस्कोपी प्रविधिबाट कसरी शल्यक्रिया गरिन्छ, यसका फाइदा र बेफाइदाहरू के के छन् भन्ने विषयमा अर्थोपेडिक सर्जन डाक्टर शैलेन्द्र दुवाल श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश :-
दुरविनको माध्यमबाट जोर्नीभित्र सानो प्वाल बनाएर आवश्यक उपकरणको सहायताले उपचार वा शल्यक्रिया गर्ने प्रविधि नै आर्थोस्कोपी हो ।
जोर्नी (कुम, घुँडा, कुहिनो वा हरेक जोर्नी) को समस्या भएको सम्भावित ठाउँमा सानो प्वाल बनाएर दुरविन छिराई त्यहाँ समस्या भए÷नभएको वा के कस्तो अवस्था छ भन्ने एकिन गरिन्छ । साथै शल्यक्रिया गर्नुपर्ने वा रोग निर्मुल गर्न के कस्तो उपचार आवश्यक पर्ने हो सोही अनुसार उपचार प्रक्रिया सुरु गरिन्छ ।
आर्थोस्कोपी शल्यक्रियाको फाइदा
विकसित राष्ट्रहरूमा धेरै पहिलेदेखि आर्थोस्कोपी प्रविधिको सुरुवात भए पनि नेपालमा यो भित्रिएको जम्मा ५ वर्ष भएको छ । अझै पनि धेरैलाई आर्थोस्कोपीको बारे जानकारी छैन् । यो प्रविधिबाट उपचार गर्दा बिरामीलाई निकै सहज र प्रभावकारी हुन्छ ।
- धेरै चिराफारा गर्नु पर्दैन । जुन ठाउँमा समस्या हो, सो ठाउँमा मात्र सानो प्वाल पारेर उपचार गरिन्छ ।
- उपचारपछि घाउ छिट्टै निको हुन्छ ।
- अस्पताल धेरै दिन बस्नु पर्दैन ।
- संक्रमण वा साइड इफेक्ट हुने सम्भावना न्यून हुन्छ ।
उपचार शुल्क
आर्थोस्कोपी सेवामा अत्याधुनिक प्रविधि भएकाले तुलानात्मक रुपमा यो प्रविधि अलि महंगो छ । रोगको प्रकृति हेरेर पनि यसको उपचारमा लाग्ने मूल्य निर्धारण हुन्छ । सबै अस्पतालमा यो सेवा सञ्चालनमा पनि छैन् । र पनि यो सेवाका धेरै फाइदा भएकाले सबै नेपालीको पहँुचमा पु¥याउन सरकारी स्तरबाटै आवश्यक पहल गर्नु पर्ने देखिन्छ ।
ध्यान दिनुपर्ने कुरा
आर्थोस्कोपीबाट उपचार गराएका वा अन्य जुनसुकै विधिबाट उपचार गराएका बिरामीले पनि खानपिन, जीवनशैलीमा ख्याल गर्नुपर्छ । कुनै पनि लिगामेन्ट बनाइसकेपछि फेरी लड्यो वा चोटपटक लाग्यो भने पुनः समस्या दोहोरिने सम्भावना प्रवल रहन्छ ।
आर्थोस्कोपी सेवा वृद्धवृद्धाको लागि भने त्यति प्रभावकारी हुँदैन । यो सेवा २०–२२ वर्षदेखि ५०–५५ वर्ष उमेरका मानिसका लागि वढी प्रभावकारी हुन्छ ।