किन बढ्दैछ आत्महत्या ?
प्यूठानका २८ वर्षे एक यूवक, ६ महिनाअघि मलेसियाबाट नेपाल फर्किए । त्यसपछि गाउँमा बुबाले सञ्चालन गरेको पसलमा काम गर्न थाले । रक्सी खाने बानीका कारण बुबाले गाली गर्दा झगडा गरी पसलबाट डोरी लगेर गतहप्ता भुण्डिएर आत्महत्या गर्ने प्रयास गरे । तर, भाग्यबस डोरी चुडिँदा बच्न सफल भए । तुरुन्तै उनलाई टिचिङ अस्पताल काठमाण्डौं ल्याइयो । परीक्षणको क्रममा थाहा हुन आयो उनलाई बोर्डर लाइन पर्सनालिटी डिस अर्डर भनिने आत्महत्या प्रयासका कारण हुने मानसिक समस्या उत्पन्न भएको थियो ।
नेपाललगायत विश्वका अधिकांश मुलुकमा शारीरिक स्वास्थ्यको चर्चा प्रशस्त गरिएतापनि मानसिक तथा सामाजिक स्वास्थ्यको बारेमा कमै मात्रामा उल्लेख गरेको पाइन्छ ।
आत्महत्या अर्थात आफैले जानी जानी गरिने आफ्नै हत्याको समस्याहरु पत्रपत्रिकाहरुमा झण्डै प्रत्येक दिन देखिरहने कुरा हो । अकालमा हुने मृत्युका कारणमध्ये यो एक प्रमुख माध्यम भएपनि हाम्रो देशमा आत्महत्याको बारेमा निकै कम मात्र अध्ययन गरिएको छ । बिगत वर्षहरुमा दर्ता भएका आत्म हत्याको संख्यालाई तुलनात्मक अध्ययन गरिने हो भने वर्षेनी झण्डै ५ देखि १० प्रतिशतको हिसाबले आत्म हत्याको वृद्धि भइरहेको छ ।
भारतलगायतका पश्चिमी मुलुकहरुमा मृत्युको दश प्रमुख कारणहरु मध्ये आत्माहत्या एक प्रमुख कारण रहेको पाइएको छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार विश्वभरी कमसेकम १० लाख व्यक्ति प्रतिवर्ष आत्महत्या गर्छन् । त्यसमाथि तथ्य के पनि छ भने अधिकांश आत्महत्याका घटनाहरु दर्ता भएका हुँदैनन् ।
राष्ट्रिय क्राइम व्यूरोको तथ्यांकअनुसार भारतमा आत्महत्या प्रति वर्ष १० प्रतिशतको हिसाबले बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा भारतमा हरेक ६ मिनेटमा १ जनाले आत्माहत्या गर्ने र त्यसमा अधिकांश १५ देखि २९ वर्ष उमेरका मानिसहरु छन् । आत्महत्याको वृद्धिदर नेपाल र भारतमा पनि करीव समान देखिन्छ ।
नेपालको आत्महत्याको दरलाई हेर्ने हो भने इलाम पहिलो र प्युठान दोस्रो नम्बरमा रहेका छन् ।
हाम्रो देशमा आत्माहत्या गर्नेहरु प्रायजसो झुण्डिएर मर्ने गरेको देखिएको छ, एक आकडा अनुसार दर्ता भएको आत्महत्याको घटवनाहरु मध्ये करीव ६७ प्रतिशत झुण्डिएर मरेको पाइएको छ । पश्चिमी मुलुकहरुमा भने विस्फोटक हतियारको प्रयोगद्धारा ७० प्रतिशत भन्दा बढी आत्महत्या हुने गर्दछन् ।
महिला र पुरुषहरुमा पनि आत्महत्या गर्ने तरिकामा फरक विधिहरु अपनाउँछन् । जस्तै पुरुषले आत्महत्याको क्रममा झुण्डिने, हतियारको प्रयोग गर्ने विधि अपनाउँछन् भने महिलाहरुले प्रायजसो विष सेवन गर्ने, पानीमा डुब्ने जस्ता तरिकाको प्रयोग गर्ने गर्दछन् ।
आखिरमा मानिसले आत्महत्या किन गर्छन् भन्ने बारेमा मृत्युपश्चात गरिएको अध्ययनहरुबाट दिमागका कोषहरुबाट निस्कने एक किसिमको पदार्थ सेरोटोनिनको कमि मख्य रुपमा भेटिएको छ । त्यस्तै वंशाणुगत कारणहरुले पनि आत्म हत्यासँग सम्बन्धित रहेको विभिन्न अनुसन्धानहरुले देखाइसकेका छन् ।
यसका साथै मानसिक रोगबाट पीडित व्यक्तिहरुमा आत्महत्या गर्ने संभावना बढी रहेको कुरा विभिन्न तथ्यांकबाट स्पष्ट भइसकेको छ । जस्तो डिप्रेसनबाट ग्रसित १५ देखि २० प्रतिशत व्यक्तिहरु आत्महत्याद्धारा मर्छन् । जुन सामान्य समुदायको आत्महत्या दर भन्दा १५ गुणा बढी दर हो ।
डिप्रेशन बाहेक मानसिक रोगहरु जस्तै पागलपनद्धारा ग्रसित व्यक्तिहरु, आँत्तिने रोग, असामाजिक व्यक्तित्व तथा आवेशमा आउने, मानिसहरुमा आत्महत्या गर्ने संभावना बढी पाइएको छ ।
रक्सी सेवन गर्ने बानी लागेका ३ प्रतिशत व्यक्तिहरु आत्महत्या गर्ने गरेको अध्ययनले देखाएको छ । त्यसरी नै नेपालमा लागू पदार्थ विशेषत हिरोइन नामक लागू पदार्थ सेवन गर्नेहरु पनि प्रशस्तै छन् र हेरोइनको सेवन गर्नेहरुको आत्महत्याको दर समस्त समुदायको भन्दा २० गुणा बढी पाइएको छ ।
यी सबै तथ्यहरुलाई नियाल्दा आत्महत्याको कारणहरु सामाजिक, शारिरीक तथा मानसिक मध्ये कुनै एक वा यो भन्दा बढी हुन सक्ने निस्कर्ष देखिन्छ । वर्षेनी दशौं हजार मानसिकरुहको मृत्यु अकालमा आत्म हत्याबाट हुने गरेको तथ्यलाई नजर गरेर हाम्रो जस्तो अल्पविकसित मुलुक जो नयाँ संविधानको ढांचा तयार गर्ने कार्यमा जुटिरहेको छ, आत्महत्याको रोकथामको लागि एक बृहत् जनचेतनामूस्लक अवधारणको विकास गर्न जरुरत देखिन्छ ।
आत्म हत्या रोकथामको लागि राज्यको दायित्व महत्वपूर्ण हुन जान्छ । विशेषगरी राज्यले यस्को रोकथामको लागि अपनाउनु पर्ने मुख्य उपायहरुमा सर्वसुलभ मानसिक रोगको उपचारको व्यवस्था, आत्महत्यको कारण र रोकथामको बारेमा जनचेतना जगाउन जरुरी देखिन्छ ।
त्यसैगरी २४ सै घण्टा हटलाईन तथा काउन्सिलिङ केन्द्रको स्थापना गरी सेवा प्रदान गर्न सकेको खण्डमा पनि आत्महत्याको रोकथामको लागि सहायक हुन सक्छ ।
आत्महत्या एउटा राष्ट्रिय र विश्वव्यापी समस्या भएकाले अपराधको अवधारण भन्दा आत्महतया तर्फ उन्मूख व्यक्ति मानसिक रोग वा सामाजिक रोगबाट ग्रसित छ भन्ने सोंचेर हामी सबैले यो समस्याको निराकरणको लागि आ–आफ्नो यक्षेत्रबबाट सकारात्मक भूमिका खेल्न सके अकालको मृत्युबाट अहिलेको यूवा जामातलाई केही मात्रामा कम गर्न सकिन्छ र यो बारेमा हामी सबैले आ–आफ्नो ठाउँबाट साच्ने बेला आइसरेको छ ।