रगत चढाउँदा जान्नैपर्ने तथ्यहरु
नेपालमा रगतको अभाव हुने मुख्य कारण चाहिने भन्दा बढी रगतको माग पनि हो । यसरी नचाहिने अवस्थामा रगत चढाउदा बिरामीको ज्यानै समेत जान सक्छ । त्यसैले भन्ने गरिन्छ एक पोका रगत चढाउँदा बिरामी हुनसक्ने खतरा एक जटिल शल्यक्रिया बराबर हुन्छ ।
हामी कहाँ अझै पनि हेमोग्लोविनको मात्रा हेरी रगत दिने परिपाटी छ । तर विभिन्न अध्ययनहरुले बिरामीलाई हेमोग्लोविनको मात्रा भन्दा बिरामीलाई रगत कम भएको लक्षण छ भने मात्र रगत चढाउन सुझाव दिएका छन् । अझै यसमा पनि रगतलाई औषधि सेवन गरेर नै बढाउन किन्छ भने औषधि खाएर नै बढाउनु पर्छ । त्यसैगरी ती अध्ययनहरुले सघन कक्षमा भर्ना भएका बिरामीहरुलाई पनि हेमोग्लोविन ७ भन्दा कम नभई रगत नदिन सुझाव गरेका छन् । तर मुटुको रोग भएका बिरामी, मुटुको शल्यक्रिया गर्नुपर्ने बिरामीको चाहिँ हेमोग्लोविन ८ भन्दा कम भएमात्र रगत चढाउन सुझाव दिएको छ ।
त्यसैगरी हाम्रो समाजमा सकेसम्म ताजा रगत नै चढाउन पर्छ भन्ने मान्यता छ । तर यो सत्य होइन । शरीरबाट बाहिर झिकिएको रगत ताजा र बासी भन्ने हुँदैन र ब्लड बैंक मा राम्ररी स्टोर गरि राखिएको रगतले पनि ताजा रगत सरी नै काम गर्दछ ।
हामी कहाँ अझै पनि रातो रगत बढाउन होलब्लड नै चढाउने चलन छ । यसो गर्दा बिरामीलाई कुनै फाइदा हुँदैन, बरु होल ब्लड मा हुने प्लाज्माले बिरामीको फोक्सो र मुटुमा हानी पुर्याउन सक्छ । त्यसले हेमोग्लोविन कम भएको बिरामीलाई रगत चढाउनै परे प्याक्ड रेड सेल मात्र चढाउनपर्छ ।
त्यस्तैगरी हामीकहाँ प्लेटलेट अलिकति मात्र कम भएमा पनि प्लेटलेट माग गर्ने क्रम बढ्दो छ । हाम्रो शरीरमा प्लेटलेटको मात्र ३० हजार भन्दा कम भएमा मात्र रक्तस्राब हुने सम्भावना हुन्छ । १० हजारभन्दा कम भएमा मात्र टाउकोमा रक्तस्राब हुने सम्भावना रहन्छ । त्यही भएर विभिन्न अध्ययनले रोग अनुसार मात्र प्लेटलेट चलाउन सुझाव दिएका छन् । क्यान्सरका उपचार गरिरहेका बिरामीहरुको यदि प्लेटलेट घटेर ३० हजार भन्दा कम भएको छ भने मात्र प्लेटलेट चढाउनुपर्दछ । आईटिपी को बिरामीको यदित भित्र अंगबाट रक्तस्राब भएको छ भनेमात्र प्लेटलेट चढाउनु पर्दछ र यस्तै गरि डेंगु भएका बिरामीहरुको पनि यदि प्लेटलेट घटेर १० हजार भन्दा कम भएको वा रक्तस्राब भएका छ भने मात्र प्लेटलेट चढाउँदा राम्रो हुन्छ । यसैगरी हामीकहाँ शल्यक्रिया गर्नुअघि प्लेटलेट कम छ भने प्लेटलेट चढाएर गर्ने परिपाटी छ । दिमाग वा आँखाको शल्यक्रिया गर्दा प्लेटलेट एकलाख भन्दा कम भएमा मात्र रक्तस्राब हुने खतरा हुन्छ र यस्तो अवस्थामा मात्र प्लेटलेट चढाउनु उत्तम हुन्छ । त्यस्तै गरि छाति पेट वा अन्य भागको शल्यक्रिया गर्दा प्लेटलेट ५० हजार भन्दा कम भएमा मात्र प्लेटलेट चढाएर शल्यक्रिया गर्नुपर्छ । तर, यदि प्लेटलेट औषधि खाएर बढाउन सकिने अवस्थामा भएमा औक्षधिको सेवन गरि बढाउने प्रयत्न गर्नु पर्दछ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजको विशेषांकबाट साभार