खोप लगाउनु त यसरी पो...



Download our app to get more features

विराटनगर, २७ कात्तिक । ‘खोप लगाइसकेपछि सामान्य ज्वरो आउन सक्छ । २४ घण्टापछि आफैँ ठीक हुँदै जान्छ ।’ खोप प्रमाणपत्र कार्डमा यी जानकारी लेखिएको हुन्छ तर भ्याक्सिनेटर हरि घिमिरेले लगाएको खोपले आजसम्म बालबालिकालाई कुनै सङ्क्रमण भएको छैन । किन त ? ‘उहाँ खोप लगाउँदा हातलाई कपासजस्तो हल्का पार्नुहुन्छ । हल्का रुपले खोपको मात्र दिनुहुन्छ । जति हल्का रुपले खोप दियो बालबालिकालाई दुःखाइ कम हुने रहेछ । खोप लगाउँदा नदुखाउने उहाँको अनौठो कला र सीप छ’ अभिभावकहरुको भनाइ छ । 

करिब ३२ वर्षको अवधिमा भ्याक्सिनेटर घिमिरेले लगाएका खोपले बालबालिकालाई कुनै सङ्क्रमण हुन पुगेको छैन । ‘मैले स्वास्थ्य मन्त्रालयबाट खोप तालीम लिई ०४२ सालको अन्त्यतिरबाट खोप लगाउन शुरु गरेको हुँ । यस अवधिमा करीब करिब १५ लाखभन्दा बढी पटक बालबालिकालाई खोप लगाइसकेँ । आजसम्म मेरो बालबालिकालाई सङ्क्रमण भयो भनेर क्लिनिकमा अभिभावक आउनुभएको छैन ।’ नेपाल परिवार नियोजन सङ्घ, मोरङ शाखाद्वारा सञ्चालित परिवार स्वास्थ्य क्लिनिकमा कार्यरत घिमिरेले भने । 

उनले क्लिनिकमा सेवा दिन थाल्नुभएको ३३ वर्ष बित्नलाग्यो । उनको हातबाट खोप लगाउन क्लिनिकमा अहिले अभिभावकको भीड लाग्ने गर्दछ । विराटनगर जतुवाबाट नातिनीलाई खोप लगाउन आएकी शान्ति राजवंशी भन्छिन्, ‘मेरो छोरालाई पहिला यही सुई (खोप) लगाएको थिए । त्यतिबेला केही भएन । अहिले नातिनीलाई पनि सुई लगाएँ । सुई डाक्टरले सुई हाल्दा नानी धेरै रुन्नन् । सुई दिएको ठाउँमा पाक्दैन । सुनिँदैन ।’ 

बालबालिकालाई खोप सेवा लिन आउने प्रायः अभिभावक दोस्रो पुस्ताका बढी भेटिएका थिए । खातुन परिवारबाट पहिलो नर्स बनेकी विराटनगर शान्तिचोककी अप्सरा खातुन निजी अस्पतालमा सेवा गर्दछिन् । ‘सासू आमाले मेरो श्रीमानई यही खोप लगाउनुभएको रहेछ । अहिले यहाँ जाउ भन्नुभयो । छोरालाई खोप लगाए । निजीको भन्दा सेवा छिटो छ’ उनले भनिन् । 

सङ्घले खोप सेवाका साथमा सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्य, गर्भवती जाँच, एचआइभी परीक्षण तथा परिवार नियोजनका सेवा प्रदान गर्दै आएको छ । सङ्घ यी सेवा दिने जिल्लाको सबैभन्दा पुरानो र लोकप्रिय गैरसरकारी संस्था हो । क्लिनिकमा कार्यरत चिकित्सक ऋतु चौधरीका अनुसार ती सेवा लिन प्रायः सेवाग्राही अन्यत्र जाँदैनन् । क्लिनिकमा सेवा लिन दैनिक भीड लाग्ने गर्दछ । सङ्घका जिल्ला शाखा व्यवस्थापक शङ्कर दाहाल भन्छन्, ‘खोप, सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्य, गर्भवती जाँच, एचआइभी परीक्षण तथा परिवार नियोजनका सेवा गुणस्तरीय र छिटो दिन्छाँै । सेवाग्राहीको सन्तुष्टि पहिलो प्राथमिकतामा छ ।’ 

बालबालिकालाई खोपका साथमा भ्याक्सिनेटर घिमिरेले महिलालाई परिवार नियोजनको तीन महीने सुई तथा गर्भवती महिलालाई धनुष्टङ्कार तथा भ्यागुते रोगविरुद्धको टिडी खोप सेवा दिँदै आए का छन् । ‘मानवीय सेवाभन्दा ठूलो धर्म अरु केही छैन । मैले पैसाभन्दा सेवालाई उच्च सम्झेको छु । मेरो कामले अभिभावक खुशी र सन्तुष्ट हुनुहुन्छ । सम्मानले हेर्नुुहुन्छ । यही ठूलो कमाइ होइन र ?,’ उनले भने ।  

दुई वर्षभित्रका बालबालिकालाई क्षयरोगविरुद्धको बिसिजी, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमाफिलस बी बाट हुने क्वेक्टे रियल मेनिनन्जाइटिस र निमोनियाविरुद्धको डिपिटी र हेपाटाइटिस बी हिव, पोलियोमाईलाइटिस विरुद्धको पोलियो (ओपिभि), निमोनियाविरुद्धको पिसिभी, दादुरा रुबेला, जापानी इन्सेफलाइटिसलगायतका १० प्रकारका खोप अनिवार्य लगाउनुपर्छ । बिसिजी खोप दाहिने हातको मासुभित्र, डिपिटी र पिसिभी देब्रे तिध्राको माथिल्लो भागमा लगाइन्छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च प्राथमिकताको कार्यक्रमभित्र खोप, सुरक्षित गर्भपतनलगायत परिवार नियोजनका कार्यक्रम पर्दछ । प्रदेश १ स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत तोयनाथ घिमिरे सरकारी निकायको समन्वयमा सङ्घले प्रदान गर्ने गरेका स्वास्थ्य सेवाको योगदान उच्च रहेको बताए ।  ‘खोप, सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्य, गर्भवती जाँच, एचआइभी परीक्षण तथा परिवार नियोजनजन सेवामा सङ्घले जन विश्वास आर्जन गरिसकेको छ । आगामी दिनमा सरकारले सङ्घसितको सहकार्यलाई अझ बलियो बनाउँछ,’, उनले भने । रासस

Last modified on 2018-11-14 07:05:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts