सुधारिदै नारायणी उपक्षेत्रीय अस्पतालको प्याथोलोजी प्रयोगशाला
नारायणी उपक्षेत्रीय अस्पतालको प्याथोलोजी प्रयोगशाला सेवा अन्तर्गत इमर्जेन्सी प्रयोगशाला तथा मुख्य प्याथोलोजी प्रयोगशाला गरी दुर्इ भागमा संचालित छन् । प्रयोगशालामा दैनिक दुई सय देखि दुई सय ५० जनाले सेवा लिने गरेको अस्पतालको तथ्यांक छ । अहिले प्रयोगशालामा दशौ तहको कन्सल्टेन्ट नेतृत्वमा एक जना मेडिकल टेक्नोलोजिष्ट (प्याथोलोजी अफिसर) चार जना ल्याब टेक्निसियन (प्याथोलोजी सहायक), चार जना ल्याब असिष्टेन्ट, र एक जना करारमा ल्याब टेक्निसियन गरी १० जना जनशक्ति कार्यरत छन् । १० जना मध्ये ३ जनाले इमर्जेन्सी प्रयोगशालामा कार्यरत छन् भन्ने ७ जनाले मुख्य प्रयोगशालाको सात वटा इकाई समालेका छन् ।
अस्पतालको मुख्य प्रयोगशालामा हेमाटोलोजी, बायोकेमेष्ट्री, सेरोलोजी, इमिनोलोजी, पारासाइटोलोजी, इन्डोक्राइनोलोजी र ट्युमर मार्कर गरी सात वटा इकाइ छन् । हेमाटोलोजी इकाइमा कम्प्लिट रगतको काउन्ट (सीबिसी), पेरिफेरल ब्लड स्मियर (पीबिएस) लगायत रगतको रोगहरु र यसको विभिन्न प्रकारको जांचहरु, रगतको क्यान्सर, रगतमा हुने बिभिन्न परजिवीहरु, इएसआर, हेमोग्लोबिन र प्लेटलेट्स सम्बन्धी रोगहरु जांचहरु हुन्छन । बायोकेमेष्ट्री इकाइमा डाइबेटिज रोगको जांचहरु सुगर, फासटिंग, पोस्ट प्रैंडीयल, रैंडम, ग्लुकोज टोलेरेंस टेस्ट, ग्लुकोज चलेंज टेस्ट, मिर्गौला रोगको जांचहरु, लिभर रोगको जांचहरु (एलएफटी), शरीरमा भएको बोसोको जांचहरु (लिपिड प्रोफाइल), उपलब्ध छन् । सेरोलोजी इकाईमा विभिन्न सक्रमक रोगहरु जस्ता एचआइभी, हेपाटाइटिस् बी, सी, बाथ रोगको जांचहरु लगायत सम्पूर्ण जांचहरु उपलब्ध छन् । इमिनोलोजी इकाइमा सडि ३, सडि ४, सिडि ८ जस्ता जांचहरु शरीरको प्रतिरोधामक शक्ति सम्बन्धी जांचहरु उपलब्ध छन् । पारासाइटोलोजी इकाइमा पिसाबमा हुने बिभिन्न खालको संक्रमण, पेटमा हुने बिभिन्न खालको परजीबीहरुको जांच, पिसाबमा हुने अकल्ट ब्लड, दिशामा हुने अकल्ट ब्लड तथा रेडुसीङ्ग सुगर सम्बन्धि जांचहरु उपलब्ध छन् ्र इन्डोक्राइनोलोजी इकाई अन्तर्गत थाइराइड रोग सम्बन्धि जांचहरु, गाइनेकोलोजी हर्मोनहरुको जांच, भिटामिनहरुको जांच उपलब्ध छन् । ट्युमर मार्कर इकाइमा बिभिन्न अंगहरु जस्ता पेट, लिभर, युटेरस, स्तन र ओभरीमा हुने क्यान्सर सम्बन्धि जांचहरु उपलब्ध छन् ।
हाल प्रयोगशालामा माइक्रोस्कोपहरु, तीन पार्ट र पाँच पार्ट कुल्टर काउन्टरहरु, औटोमेटिक बायोकेमेष्ट्री एनेलाइजर, सी.डी. प्रोफाइल एनेलाइजर, सेमी औटोमेटिक बायोकेमेष्ट्री एनेलाइजर, औटोमेटिक क्लीया एनेलाइजर लगायतका उपकरणहरु छन् । यी उपकरणहरुको रिएजेंट्स आपुर्ती र मर्मत सम्बन्धी कार्य जहिले पनि चुनौतीपूर्ण हुन्छ । अहिले पनि माइक्रोबायोलोजी र हिस्टोसाइटोलोजी इकाई संचालनमा आएको छैन । यी दुइटा इकाई संचालनमा नआउनुको कारण प्रयोगशालाको जनशक्ति, भवन र अस्पतालको निर्देशकको इच्छाशक्तिको अभाव हो ।
नारायणी उपक्षेत्रीय अस्पतालको प्याथोलोजी प्रयोगशाला सेवाको गुणस्तर बढाउन निरन्तर प्रयाश जारी छ । सेवाको गुणस्तर बढाउने प्रक्रिया निरन्तर हुनु पर्दछ । आज गरेको गुणस्तर आजको लागि मात्र लागु हुन्छ भोलि त्यसको निरन्तरता भएन भन्ने गुणस्तर कायम हुदैन । तर, सेवाको गुणस्तर कायम राख्नमा बिभिन्न चुनौती पनि विद्यमान छ । सरसामानको आपूर्ति, गुणस्तर कायम राख्नको चाहिने गुणस्तर सेरा (रिएजेंट्स)को निरन्तर आपुर्ती, जनशक्तिको कमी, जनशक्तिको मनोबल उच्च कायम राख्नमा कमी, निरन्तर बदलिने अस्पतालको प्रमुख, प्याथोलोजी सम्बन्धी निर्णय लिँदा बिना प्याथोलोजी प्रमुखको सलग्नता, प्याथोलोजी विभागलाई कमाइ खाने भाँडोको रुपमा हेर्ने प्रवृति, प्याथोलोजी विभागमा लगानी गर्न नचाहने प्रवृति लगायतका चुनौती निरन्तर प्याथोलोजी सेवाको गुणस्तर कायम गर्नमा बाधक साबित हुने गर्दछ । यी सबै बाधा व्यबधानलार्इ चिर्दै प्रयोगशाला सेवाको गुणस्तर कायम राख्न प्याथोलोजी प्रमुखलाई फलामको चिउरा चपाउन जस्तै हो । यस्तै गुणस्तर कायम राख्ने क्रममा प्याथोलोजी प्रमुखले विभिन्न किसिमको लंक्षाना समेतको सिकार बन्नु पर्ने हुन्छ ्र साथै जनशक्तिको मनोबल उच्च राख्न आर्थिक अधिकार बिनाको प्याथोलोजी प्रमुख हथियार बिनाको प्रहरी जस्तै हुन्छ ।
समाधानको उपाय
प्याथोलोजी प्रयोगशालामा पर्याप्त मात्रामा लगानी गर्नु पर्दछ किनकी प्याथोलोजी रिपोर्ट रुपी प्रमाणको आधारमा गरिने उपचार बिरामीको लागि बढी उपयुक्त हुन्छ र उचित उपचार हुन्छ । प्याथोलोजी सेवाको अभिन्न अंगको रुपमा रहेको नमुना संकलन इकाई र यस इकाईमा हुने टोइलेट, युरिनल्स, महिलाको पिसाब कल्चरको लागि चाहिने सेनीटरी टोइलेट, ग्लुकोज टोलेरेंस टेस्ट तथा अन्य जाँचको लागि चाहिले खानेपानीको ब्यबस्था, फोहर ब्यबस्थापन इत्यादिको उचित ब्यबस्था हुनु पर्ने जसले गर्दा बिरामी र बिरामीको कुरुवा प्रयोगशाला जांच गराउन सजिलो महसुस गरुन ।
सबै पक्ष मिलेर गुणस्तर उपकरण, केमिकल्स, रिएजेंट्स, स्टेसनरी को ब्यबस्था गर्नु पर्ने देखिन्छ । सो ब्यबस्थापना प्याथोलोजी प्रमुखको नेतृत्वमा हुनु पर्छ । आर्थिक अधिकारसहित प्रयोगशाला प्रमुखलाई जिम्मेबारी दिइ प्रयोगशाला ब्यबस्थापन प्याथोलोजीकर्मिको नेतृत्वमा सम्बन्धित सबै पक्षले सहयोग गर्ने गरी समिति बनाइ निरन्तर सेवाको गुणस्तर कायम गर्नु पर्दछ । अस्पतालको वार्षिक बजेटमा प्याथोलोजिको छुटै बजेटको ब्यबस्था हुनु पर्दछ र सो बजेट प्याथोलोजी प्रमुखको नेतृत्वमा खर्च हुने गरी ब्यबस्था हुनु पर्छ । प्याथोलोजी सेवाको आयाम, सेवा लिन आउने बिरामीको चाप, सेवाको समबेदंसिलता, कार्य भार इत्यादिको जनशक्ति थप हुनु पर्छ । बिरामी, कुरुवा, नर्स र चिकित्सक (रिपोर्ट र सेवा लिने) र प्याथोलोजिकर्मी (सेवा दिने) बीच उचित संवादको लागि एउटा काउनसेलिंग कोठा, इन्टरकमको ब्यबस्था र उचित संचार माध्यमको ब्यबस्था हुनु पर्दछ ्र सम्बन्धित पक्षहरु बीच सहकार्य, सहअस्तित्वमा आधारित ब्यबहार हुनु पर्दछ । रिपोर्ट बिग्रेको अबस्थामा गाली गर्ने प्रवृति त्यागेर रिपोर्ट गलत हुने कारण पत्ता लगाएर त्यसलाई भविष्यमा न्यूनीकरण गर्ने अवस्थाको सिर्जना गर्नु पर्छ । रिपोर्ट सही भएर तथा चांडो उपलब्ध गराएर बिरामीको उपचारमा सजिलो भएको कुराको लागि प्याथोलोजिकर्मीलाइ सराहना पनि गर्नु पर्छ ।
बिरामीको उपचार सेवालाई केन्द्र बिन्दुमा राखेर चिकित्सक, नर्स, प्याथोलोजिकर्मी, फार्मेसी तथा अन्य स्वास्थ्यकर्मी विच सहकार्य सह अस्तित्व गरी टिम सहकार्य गरी बिरामीको उपचार राम्रो सँग गरेर स्वास्थ्य क्षेत्रलाई जनताले दिने गरेको सम्मान र यस पेशाको मर्यादा अझै उकास्नु पर्छ । को ठुलो को सानो भन्दा पनि बिरामीको उचित उपचार ठुलो मान्यताका साथ सबै पक्ष मिलेर मेडिकल क्षेत्रको शाख र मर्यादालाइ माथि उठाउनु पर्छ । यो सेवालाई अझ ब्यबस्थित बनाउन सम्बन्धित काउन्सिलहरु, सम्बन्धित एसोसिएसनहरु, प्रादेशिक, संघीय स्वास्थ्य मन्त्रालय, स्वास्थ्य बिभाग, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रास्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्नु पर्ने सहकार्य गरेर प्याथोलोजी सेवालाइ सबै जनताको पहुचमा सहि रिपोर्ट र रोगको पहिचान र चिकित्सकको उपचारलाई प्रमाणको आधारमा चिकित्सीय पेशाको मर्यादा बढाउनु पर्छ ।
(मिश्र नारायणी उपक्षेत्रीय अस्पताल, पर्साको प्याथोलोजी प्रमुखका रुपमा कार्यरत छन् ।)