टीएमटी चेकले हर्ट अट्याकबाट बचाउन सक्छ 



Download our app to get more features

लानो त हिँड्दा हिँड्दै ढलेछ, अस्पताल पुर्याउन नपाई मृत्यु भएछ । फलानो त सुतेको, बिहान उठ्दा त मरिरहेको रहेछ । बिचरा ३८ वर्षकै उमेरमा हार्ट अट्याक भएर मरेछ । यी र यस्ता किसिमका घटनाहरु पहिले पहिले कतै कतै मात्र सुनिन्थ्यो भने अचेल हरेक दिनजसो । 

पहिले पहिले ६० वर्षभन्दा माथिका व्यक्तिहरुमा हुने भनिएको हार्ट अट्याक अहिले ४० वर्षभन्दा मुनिका व्यक्तिमा पनि प्रसस्त देखापर्न थालेको छ । फलस्वरुप सानै उमेरमा मृत्युवरण गर्न बाध्य भइरहेका छन् । हुन त यस्ता किसिमका अचानक मृत्यु हुने कारणहरु त धेरै छन् तर सबैभन्दा खतरनाक र प्रमुखमा हार्ट अट्याक नै हुन आउँछ ।

 

के हो त हार्ट अट्याक ?

मानिसको मुटुमा तीन मुख्य रक्तनलीहरु हुन्छन । यी तीन नलीहरुको काम मुटुका मांसपेशीहरुमा रक्तसञ्चार गराउनु नै हो । रगतकै माध्यमबाट मुटुका मांसपेशीलाई चाहिने अक्सिजनको पूर्ति हुन्छ । मुटुले बढी काम गर्नुपर्दा रक्तनलीहरु फुलेर बढी रगत प्रवाह गरेर बढी अक्सिजनको आपूर्ति गर्छन् । 

विभिन्न कारणहरुले गर्दा रक्तनलीहरु सांगुरिन गयो र त्यो सांगुरिएको नलीमा रगत जम्न गई मांसपेशीमा रक्तप्रवाह बन्द हुन पुगेमा मांसपेशीहरु मर्न गई कामै नगर्ने अवस्थामा पुग्छ । यो अवस्थालाई हार्ट अट्याक भनिन्छ । समयमै छिटो भन्दा छिटो उपचार गरी बन्द रक्तनली खोल्न सकिएमा मुटुको अवस्थालाई सामान्य अवस्थामा ल्याउन सकिन्छ भने उपचार ढिला भएमा मांसपेशी पूर्ण रुपमा मर्न गई कामै गर्न नसक्ने हुन्छ, जस्को कारण मानिसको मृत्यु हुन्छ । 

मुुटुका रक्तनलीहरु सांगुरिने प्रक्रिया वर्षौ लागेर हुने प्रक्रिया हो र सांगुरिने क्रम सानो अवस्थाबाट बिस्तारै बढ्दै ठूलो रुप लिने किसिमको हुन्छ । उच्च रक्तचाप, सुगर भएका, मोटोपना बढी भएका, रगतमा बोसो कोलेष्ट्रोलको मात्रा अनियन्त्रित भएका व्यक्तिहरुमा रक्तनली सांगुरिने समस्या बढी हुन्छ । यसका साथै मासुको अत्याधिक सेवन गर्ने, तेल चिल्लो बढी खाने, सूर्तीजन्य पदार्थ सेवन गर्ने तथा बढी समय तनावमा रहने मानिसहरुमा पनि रक्तनली सांगुरिने समस्या बढी हुन्छ । अझ परिवारको नजिकको सदस्यमा कसैलाई हार्ट अट्याक भएको थियो भने त्यस्ता व्यक्तिमा पनि वंशानुगत नै सांगुरिने समस्या हुनसक्छ । 

निदान के त ?

मुटुका रक्तनलीहरु सांगुरिने समस्या पहिचान गर्न सकिने धेरै किसिमका जाँचहरु उपलब्ध छन् । सबैको पहंँच भित्रको र धेरै खर्च पनि नलाग्ने साथै भरपर्दो जाँच भनेको ‘टे«डमिल टेष्ट’ हो । ट्रेडमिल एक किसिमको मेसिनको जुन हामीहरु घरमा वा फिट्नेस सेन्टरमा शारिरीक सुगठनको लागि पनि प्रयोग गर्न सक्छौं । ट्रेडमिल टेष्टमा चाँही यसै मेसिनसँग इसिजी पनि जोडिएको हुन्छ । बिरामीलाई मसिनमा हिँड्न लगाइन्छ र लगातार मुटुको इसिजी अध्ययन गरिन्छ । इसीजीको साथै बिरामीको मुटुको चाल, रक्तचाप आदि पनि साथै अध्ययन गरिन्छ । 

यो जाँचको मुख्य उद्धेश्य बिरामीलाई हिँडाएर मुटुलाई बढी काम गराउनु नै हो । मुटुलाई बढी काम गर्नुपर्दा मुटु बढी धडकिन्छ । बढी धड्किंदा बढी अक्सिजनको आवश्यकता पर्दछ । साधारणतया माथि भनिएजस्तै रक्तनली स्वस्थ छ भने मसिनमा हिँड्दै जाँदा रक्तनलीहरु फुक्दै खुल्दै बढी रक्त प्रवाह गर्छन् र बिरामीलाई कुनै किसिमको समस्या महसुस हुँदैन । तर यदि रक्तनलीहरु सांगुरिन थालेका छन् भने बिरामी हिँड्दै जाँदा मुटुका मांशपेशीमा आवश्यक मात्रामा रक्त प्रवाह हुन पाउँदैन । 

बिरामीलाई छाती दुखेको, सास फेर्न गाह्रो भएको महसुस हुन थाल्छ । यसका साथै आवश्यक मात्रामा रक्तप्रवाह नभएपछि मुटुको मांसपेशीमा अक्सिजनको कमी हुन्छ जुन कुरा इसीजीमा देखिन्छ । यसैको आधारमा रिर्पोट दिइन्छ । यस जाँचको रिर्पोटमा नेगेटिभ भनेको राम्रो हो भने पोजिटिभ भनेको मुटुमा समस्या देखियो भनेको हो अर्थात् नराम्रो भन्ने हो । 
छोटकरीमा टीएमटी (TMT) भनिने यो जाँच मुटुरोग विशेषज्ञको प्रत्यक्ष निगरानीमा गरिने जाँच हो । यो जाँचको लागि खाली पेट हुनु जरुरी छैन । यो जाँचमा कुनै किसिमको सुई दिने, घोच्ने काम गरिंदैन र बेहोस पनि पारिंदैन । १५ देखि २० मिनेटमा सकिने यो जाँच गर्न कुनै तयारीको जरुरी पर्दैन । 

तर यो जाँच गर्नुअघि मुटुरोग विशेषज्ञसँग आफ्नो स्वास्थ स्थितिबारे सल्लाह गर्नु जरुरी छ । विशेषगरी पहिल्यै अन्य समस्याले मुटुको अवस्था कमजोर भएका, विभिन्न भल्भका समस्या भएका, रक्तचाप अनियन्त्रित भएको अवस्था आदि विभिन्न अवस्थामा यो जाँच गर्नै मिल्दैन । साथै यो जँंच गरिने ठाउँमा आपतकालिन स्थितिमा चाहिने डिफिव्रिलेटर तथा अन्य उपकरणहरु पनि तयारी हालतमा रहेको हुनुपर्छ । 

ट्रेडमिल टेष्ट नेगेटिभ वा पोजिटिभ आए के गर्ने ?

नेगेटिभ आएमा हाललाई मुटुका नलीहरु सांगुरिने समस्या रहेनछ भन्ने कुरामा ढुक्क हुन सकिन्छ । यसको मतलब मुटुका नली सांगुरिएर हृदयाघात हुने संभावना अहिलेलाई छैन भन्ने बुझ्नु पर्दछ । पोजिटिभ आएमा बिरामीलाई कोरोनरी एन्जियोग्राफी भन्ने जाँच गर्ने सल्लाह दिइन्छ । यो जाँचमा मसिनो तारको माध्यमबाट मुटुका कुन कुन रत्तनलीहरु कहाँ कति प्रतिशत सांगुरिएको छ भन्ने प्रष्ट देखिन्छ । 

सांगुरोपन साधारण मात्रै छन् भने खाने औषधीहरु मात्र दिइन्छ भने नलीहरु धेरै सांगुरइसकेका छन् भने अवस्था हेररेर त्यसलाई एन्यिोप्लाष्टि गरेर खोल्ने, स्टेन्ट राख्ने वा बाइपास अपरेशन गर्ने आदि उपायहरु अवलम्बन गरिन्छ । यसरी भविष्यमा हुन सक्ने हृदयाघातबाट समयमै जोगिन सकिन्छ ।  

टीएमटी कस्ता व्यक्तिले गर्ने ?

चुरोट तथा सूर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिहरु ।

उच्च रक्तचाप तथा सुगरको समस्या भएका व्यक्तिहरु ।

रगतमा बोसोको मात्रा बढी भइरहने व्यक्तिहरु ।

मोटोपना बढी भएका व्यक्तिहरु ।

शारिरिक व्यायाम पटक्कै नगर्ने तथा कम गर्ने व्यक्तिहरु ।

कसैलाई ह्दयाघात भएको थियो भने त्यसता व्यक्तिका नजिकका नातेदारहरु ।

यस्ता समस्याहरु भएका व्यक्तिहरु हृदयाघात हुनसक्ने समूहमा पर्ने भएकोले अवस्था हेरेर बढीमा छ महिनाको एकचोटी टीएमटी गर्न भनिन्छ भने यी माथिका समस्या नभएकाहरुमा वर्षको एकपट भएपनि मुटुको अवस्थाको बारेमा चेकजाँच गरेमा हृदयाघातको खतराबाट केही हदसम्म निश्चिन्त रहन सकिन्छ ।

१५ मिनेट समय खर्चेर हृदयाघात्को जोखिमबाट बच्न सकिन्छ भने किन नगर्ने ? आजै नजिकको अस्पतालमा गएर यो जाँच गराइहालौं र ढुक्क बनौं । 

 

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका कन्सल्ट्यान्ट कार्डियोलोजिष्ट डा. श्रेष्ठसँग हाम्रो डक्टरले गरको कुराकानीमा आधारित । 

Last modified on 2016-06-01 13:35:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts