नोबेलले ९५ वर्षीय वृद्धको छातीमा राख्यो पेसमेकर 



Download our app to get more features

विराटनगर, १८ कात्तिक । नोबेल शिक्षण अस्पतालले झापा अर्जुनधाराका ९५ वर्षीय भुवान सिंह देवानको छातीमा पेसमेकर राखेर मुटुलाई साधारण अवस्थामा सञ्चालन गर्न सफल भएको छ । यसअघि नेपालमा यो उमेरका कुनै पनि व्यक्तिमा सफल रुपले पेसमेकर नराखिएको अस्पतालको दावी छ । मुटुको चाल कम भएपछि अस्पताल आएका देवानको छातीमा पेसमेकर राखेर मुटुको चाल सामान्य बनाईएको हो ।

पेसमेकर राख्नु सामान्य प्रकृया हो । तर, यो उमेरका व्यक्तिमा सफलतापूर्वक पेसमेकर राख्नु जटिल कुरा भएको नोबेल अस्पतालका निर्देशक एवं मुटुरोग बिशेषज्ञ डा. राजेश नेपालको भनाइ छ । ‘नेपालमा यो उमेरका कुनै पनि व्यक्तिमा पेसमेकर राखेको रेकर्ड अहिलेसम्म छैन ।’ डा. नेपालले भने ‘९५ बर्षीयलाई पेसमेकर राखिएको यो नै नेपालको पहिलो रेकर्ड हो ।’  काठमाडौंको गंगालाल अस्पतालका कन्सलटेन्ट कार्डियोलोजिष्ट डा. रोशन राउतले ९० बर्षसम्मका वृद्धबृद्धामा भने पेसमेकर राखिएको जनाएका छन् । तर, कति उमेरसम्मका वृद्धवृद्धामा पेसमेकर राखिएको छ भन्ने यकिन नभएको उनले बताए ।   

वयस्क निरोगी मानिसको मुटु एक मिनेटमा करिव ६० देखि एक सय पटक धड्कन्छ । मुटुको धड्कन आवश्यक भन्दा कम भएमा शरीरमा आवश्यक मात्रामा रगत पम्प गर्न नसक्ने हुन्छ । जसले रिंगटा लाग्ने, सास फेर्न गाह्रो हुने, मुर्छा पर्ने र मृत्युसमेत हुने खतरा हुन्छ । यस्तो समस्या समाधानका लागि बिरामीको छाती र मुटुमा धातुको सानो यन्त्र पेसमेकर राख्ने गरिन्छ । पेसमेकरले मुटुको धड्कन कम हुँदा पूर्व निर्धारित गतिमा करेन्ट निकालेर मुटुलाई उपयुक्त गतिमा धड्काउन सहयोग गर्छ । जुनसुकै उमेरका मानिसलाई पेसमेकर लगाउन मिल्ने भएपनि सामान्यतया ६५ देखि ८० बर्ष उमेरका व्यक्तिलाई बढी मात्रामा पेसमेकर राख्ने गरेको नोबल अस्पतालको भनाइ छ ।

उपचारपछि स्वस्थ बनेका देवानले पनि निकै सहज भएको बताए । ‘पहिले त मरिहालिन्छ कि जस्तो भएको थियो । तर, अहिले धेरै ठिक भएको छ ,’ देवानले भने । पेसमेकर लगाउँदा छाती चिरेर ब्याट्री राख्ने गरिन्छ । धेरै वृद्ध वयक्तीको छाला कमजोर हुने भएकाले चिरेको ठाउँमा सिलाई गर्न गाह्रो हुने र घाउ निको हुन गाह्रो पर्ने हुँदा समस्या हुने गर्छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts